Chovar Blues Mobile Size

चोकसँगै रहेको ताराको भट्टीमा मनवीर, जसुवा नपुगेको कुनै साँझ हुँदैनथ्यो । जसुवा, मनवीर मात्र होइन धेरै जना पुग्थे भट्टीमा । त्यो ताराको भट्टीबाट तारा रेष्टुरेण्ट एण्ड लज भैसकेको थियो । भट्टीको तीनपाने छ नै त्यसैमा ताराको रुप यौवन ,हसिलो मुहार सँगैको न्यानो आतिथ्यले थप ग्राहकको आकर्षण बढेको थियो । धेरै थिए नियमित ग्राहकहरु । चिया, नास्ता ,खानाभन्दा पनि माछा मासु र मदिरा बढी बिक्री हुन्थ्यो । तारालाई सघाउने उसको पति भक्तबहादुर र एउटा कान्छो राखेको थियो । जो जे भए पनि पूरा व्यवस्थापन ताराको नै हुन्थ्यो । नियमित ग्राहक मध्ये अलि मत्तिएको सन्ते थियो । सानोतिनो नोकरी ,मासिक तलब आउने अलिअलि दायाँ बायाँ गर्न पनि हुने कार्यालयका कर्मचारी भए पनि आफूलाई हाकिम भनेमा रमाउने थिए । नित्यकर्मझैँ थियो ताराको भट्टीमा उनको बसाइ।

तारा रेष्टुरेण्ट एण्ड बार धेरैका लागि जमघट गर्ने थलोजस्तै थियो । राजनीतिको चर्चा गर्न पनि कम थिएनन ताराका ग्राहकहरु । कोही मार्क्सवादका सिद्धान्त भन्थे भने कोही उग्रराष्टवाद तेर्साउथे, कोही सिद्धान्तको ह्रासको कुरा उठाउँथे । राजनीतिकर्मीको जमघटसँगै राजनीतिका कुरा पनि हुने गर्थे । युक्रेनको युद्धको कुरा हुन्थ्यो । केजरिवालले दिल्लीमा गरेको तरक्की भन्थे कोही । समसामयिक चर्चा पनि खुबै हुन्थ्यो । नेपाली राजनीतिमा उरालका रूपमा आएको युवा लहर,दलका नेताभन्दा स्वतन्त्र उम्मेदवारको चर्चा तथा जित्न सक्ने, जितिसके जस्ता कुराले निकै समय लिएको हुन्थ्यो । स्थापित पुराना पार्टीसँगै नवोदित पार्टीले बढी सिटमा जित्यो । सरकार कसको बन्ने,को रास्ट्रपति बन्ने, प्रधानमन्त्रीमा कसको सम्भावना छ । समानुपातिकमा यति सिट यसले ल्याउँछ । ऊ पर्छ,ऊ पर्छे जस्ता निकै माथिल्लो स्तरकै कुरा गर्थे, राष्ट्रिय स्तरका नेताका चरित्र र व्यवहारको चित्रण गर्थे । समानुपातिकमा पर्ने आधार प्रस्तुत हुन्थे । फलानोको श्रीमती कसो नपर्ला ,उसको छोरो,छोरी,भाइ,साला,जस्ता कुरासँगै उसको त प्रेमिका हुन् । तिनी त जसरी नि पर्छिन् । साँच्चिकै तिनैले भेटेको जस्तो गरी कुरा गरिरहेका हुन्थे । त्यहाँ मात्र होइन अन्य ठाउँमा पनि तारा होटलको चर्चा हुन्थ्यो । चोक चोक,र गाउँ समाजभरि सकारात्मक नकारात्मक धेरै खाले बहस हुन्थे । चर्चा परिचर्चासँगै खानपिन पनि दरो जान्थ्यो । रात छिप्पिँदै जाँदा माहोल रंङ्गिन बन्दै जान्थ्यो र कुरा पनि ठुलठुला हुने गर्थे । रात बढ्दै मानिस घट्दै जाने गर्थे । सधैँ जसो अन्तिम ग्राहक सन्तवीर नै हुन्थे । भक्तबहादुरको बाल सखा नै हो सन्ते, भक्तलाई दाइ भन्थ्यो र तारालाई भाउजु । सँगैको पुरानो साथी सरकारी कर्मचारी भएको भर पनि मान्थे भक्तबहादुर पनि । अवेर राति रक्सीले मातेर भुत भएको बेला पनि भक्तले सकुशल उनको घर छोडेर आउथेँ । त्यसै परिहाल्यो बढी नै होसबिहोस भएको अवस्था रहेछ भने त्यही सुत्थे राति ।

कैलासकुमार पाण्डेय

स्वरोजगारको सुरुआत ताराले नै गरेकी थिइन् । चिया चाउचाउबाट बढाएर होटल एण्ड लज पुगाइन् । ताराका लागि त्यो गाउँमा आउँदा केही रीतिरिवाज मन परेको थिएन । समाजको महिलालाई हेर्ने दृष्टिकोण र दलितका प्रति भेदभावको पराकाष्ठा निकै खड्किएको थि यो। समाजको अति विकृत रुप थियो छुवाछुत । मान्छेमान्छे बिचको विभेद सामाजिक कलंक नै थियो । छोएमा पानी छर्किनु पर्ने,छोएको पानी नचल्ने ,कत्ति निष्ठुरी समाज ,समाजको अभिन्न सदस्यप्रति पूर्वाग्रही । चिया पसलमा लालु सार्कीले चिया खाएपछि गिलास आफैँले धोइ पखाली गरेको , गोपी भेरकारले पानी पिउन हातले थापेर कसैले खान्याइदिएर पिएको । गाउँबाट घर फर्किदा दैलोमा तामाको भाडोमा पानी राखेको हरियो स्याउलाले आफ्नो जिउमा छर्किदै विष्णु विष्णु भनेर चोखिएको । यस विरुद्धमा आवाज उठाउँदा एक्लो भइने अवस्था थियो । चिया पसल राखेदेखि सबै विभेद तोड्दै जाने काम पनि भयो । परिवर्तित अवस्थामा बाहुन,क्षेत्री, दमाई ,कामी एकैसाथ बसेर खाने भएका छन् ।

समाजको यो अवस्था त्यतिकै आएको होइन । परिवर्तनका लागि धेरैको योगदान छ । यो परिवेशमा परिवर्तनका लागि संघर्षरत छन् उमा वादीहरु र त्यही अभियानमा जुटेका छन् रत्नाहरु । समाजको साँघुरो घेरा चिर्दै परिवर्तनको नयाँ मोडमा उभिन्छन् रत्नाहरु । सँगैका धनुके ,आमगौडातिर घाँस काट्दै छन् सँगैका हट्वानी, त्रिसुलेतिर दाउरा काट्दै छन् तर रत्नाहरु नेतृत्व गर्दै अधिकारको लडाइँ लड्दै छन् । एक विपन्न दलित महिला राजनीतिक क्षितिजको पिलपिले तारा जहाँ हात तान्ने कोही हुँदैनन् ,जहाँ तीव्र गलाकाट प्रतिस्पर्धा छ त्यहा निख्खर खारिएर समाजको नेतृत्व लिन त्यति सरल छैन, सहज पनि छैन समाज हेयले हेर्दछ भाडो थापेर पानी माग्नु पर्ने पिएर भाडो घोप्ट्याउनु पर्ने, विद्यमान छ समाजमा छुवाछुत गडेर बसेको छ विभेदको घाउ कसैले बदलिँदो भने पनि ,रुपान्तरित भने पनि, विभेद विभेदै छ । डर छ,कुण्ठा छ,पीडा पनि छ र गडेर रहेको उचनिचको भावना । नरभान कामीले संविधानमा लख्दैमा, चक्रप्रसाद स्नेहीले राष्ट्रियसभा बोल्दैमा, निरा जैरुले सार्वजनिक महत्त्वको प्रस्ताव संसदमा लैजादैमा ज्ञानु गैरीले सदनमा बोल्दैमा दुईचार जना आरक्षणमा अटाउँदैमा विभेदको अन्त हुँदैन

उमा वादीले खेपेको नारकीय अवस्था ,रत्नाले भोगेको विभेद मीन बिश्वकर्माले बुझ्दैनन् । रत्नादेवीले देखेको छुवाछुत जीवन परियारले देखेका ,भोगेका छैनन् ।

आरजु राणा देउवाले सायदै सुनेको होला वहाँले उठाउने अधिकारमा कत्तिको समेटिएको हुन्छ विभेदको मुद्दा ।

मान्छे मान्छेका बिच बनाइएको पर्खाल सितिमिति त भत्कदैन विभेद छ, छोइछिटो गरिन्छ, अपमान छ घृणा गरिन्छ तैपनि समाज हो मिलेर बस्नु पर्ने हुन्छ।

दलित बस्ती ,तल्जातीको घर त्यही बिचमा परिवर्तनका लागि जन्मिन्छन् रत्नाहरु । नारकीय जीवन जिउने त धेरै छन् उपत्यकाका पोडे हुन् वा तराईका डोम । परिवेश फरक भए पनि परिस्थिति उहीँ हो । विभेद त धेरै तोड्नु छ अझै छाउघर भत्काउनु छ। छुवाछुत रोक्नु छ । सामाजिक सद्भाव कायम पनि राख्नु छ ।

नारीले पनि हरेक पक्ष बदल्न सक्छे जसले असमानतामा समानता खोज्छे विभेद चिर्दै सद्भाव निर्माण गर्छे

उमादेवी वादीहरु निरन्तर निरन्तर छन् । द्वारिकादेवी ठकुरानीले पनि एउटा पर्दा चिरेकै हुन् । सहास,आँट चाहिन्छ रुपान्तरणका लागि त्याग पनि जरुरी हुन्छ । अदम्य साहास ,अथक परिश्रम गरी एउटा नारीको अगुवाइमा व्यवसाय गरिनु सामान्य विषय होइन । समाजले एउटा सिमारेखा कोरेको छ महिला पुरुष बिचको त्यो तोड्न सरल र सहज छैन । विभेदको पर्खाल पनि बनाएको छ त्यो भत्काउन पनि सरल छैन । सबै खाले चुनौती एकै साथ सामना गर्दैछे तारा।

परिश्रम र समर्पण भावले ताराले व्यवसाय गरी रहेकी छिन् । महिला साथीभन्दा पुरुष साथी बढी नै छन् । त्यसैमा पनि असामान्य अवस्थामा भेटिन्छन् । सबैसँग अनुकूल व्यवहार गर्नु पर्ने नै हुन्छ । सबैको हेराइबुझाइ सकारात्मक हुन्छ भन्ने होइन । महिला महिला नानाथरि कुरा हुने गर्थे । ताराले गरेको प्रगतिप्रति धेरैमा आगो दन्केको थियो ।अरुहरु भन्दा सन्तवीरको हिचमिचलाई अर्कै अर्थमा लिइएको थियो । जड्ँयाहाहरुको जमघटले सकारात्मक सोचको विकास त गर्दै गर्दैन त्यसैमा सुरा सुन्दरीको मानसिकता बोकी भट्टी छिर्नेहरु त्यही व्यवहारमा प्रस्तुत भइरहन्छन् । कुरा मच्चाए, तीलको पहाड खडा गरे । जसुवा, मनवीर सि बि आइ का सि आइ डि जस्ता भई आउथे बलेको आगोमा घ्यू थप्ने काम गर्थे । हुँदा हुँदै सन्तवीरकी श्रीमती कहाँ पनि कुरा पुर्‍याइसके । तारा होटल एण्ड लजमा देहव्यापार हुन्छ भन्नेसम्म कुरा चल्यो । जसुवाले आफ्नै आखाले देखेको भन्दै हिँडे । मनवीरले पनि शंकाको लंका निर्माण गरे । ताराको व्यापारभन्दा पनि सामाजिक अभियान धेरैलाई चित्त दुखाइ थियो । रोक्न चाहान्थे सामाजिक कार्यलाई ,बदनाम गर्न खोज्थे अभियन्ताको । राजनीतिका पात्रलाई पनि अछुतो राखिएन । सामाजिक अभियान्ताहरु पनि त्यो डढेलोबाट बाच्न सकेनन् । तारा जसले जेसुकै भनुन् जे जे गरुन् हातमा विष ,पातमा विष,खाए पो बीस नखाए के गर्ला बीस भनी दृढ संकल्पका साथ आफ्नो गतिमा थिई । हात्ती चलता रहता है कुत्ता भुक्ता रहता है भनी उसको दैनिकी चलेकै थियो ।

भुसको आगोझैँ सल्केको थियो कुरा गाउँभरि । कानेखुसी मात्र होइन, सिधैँ चर्चा-परिचर्चा हुन्थे । एक कान दुई कान मैदान भैसकेको थियो । नराम्रा कुरा मात्र बाहिर सुनिन लागे । रक्सी बेच्ने त धेरै थिए । किराना पसलबाट पनि रक्सी बेचिन्छ । चन्द्रे, भाने, हर्के सबैकहाँ विभिन्न ब्रान्डका रक्सी छन् । तर ताराको व्यवसाय धेरैका लागि आँखाको कसिङ्गर भएको थियो । विरुद्ध नाराबाजी भए । रक्सी भट्टी बन्द गर, वेश्यावृति बन्द गर – एक हुल महिला आए, आक्रामक रुपमा प्रस्तुत भए । साथमा पुलिस पनि आए । तारा, भक्तबहादुर र काम गर्ने कान्छोलाई गाडीमा राखेर लगे ।उत्तेजित हुल तारा होटल एण्ड लजतर्फ हानियो । तोडफोड गर्‍यो, आगो सल्कायो । प्रतिशोधको आगो दन्कियो र पुरै घर खरानी भयो । त्यहीँ बाटो रक्सीले मातेर आउँदै गरेका मनवीर र जसुवा झसङ्ग भए ।

“ताराको भट्टी ।”

“ए के भएको ताराको भट्टी ?”