प्राक्कथनः

यदि म भाग्यवादमा विश्वास गर्थेँ भने यो मामिलामा आफूलाई भाग्यमानी भन्थेँ; आजसम्म मेरो घरबाट कसैको लास उठेको छैन । मेरो कोही प्रियजनले मृत्युवरण गरेको छैन,मेरो आँखाअगाडि ऊ मान्छेबाट मुर्दा भएको छैन । म जन्मेदेखि मैले देख्दै आएका सबै आफन्तहरू कुशल छन् । खेप्नुजति पीडा मेरा बाआमाले खेपिसकेछन्, जानेहरू जति म जन्मिनु अघि गइसकेछन् । अति सम्भावित प्राणी, वृद्व र बालक ! घरको सबैभन्दा सानो बालक त मै थिएँ, हजुरबा र हजुरआमालाई त मेरा दाइहरूले पनि देखेनन् । बा र आमालाई त धिरमिर–धिरमिर सम्झना मात्रै छ रे । तसर्थ, संसारबाटै कोही प्रियजनले चटक्कै छोडी जानुको पीडाबोध मलाई भएको छैन,थिएन । त्यसपछिको संसार कस्तो हुन्छ ? मैले देखेको थिइनँ । भिडमा पनि आफूलाई एक्लै पाउने अवस्था सामना गरेको थिइनँ । सास किन र कसरी घाँटीमा आई अड्किन्छ, चाल पाएको थिइनँ ।

यतिबेला यी सबै प्रयोगहरू ममा भइरहेका छन् । मलाई मेरो जीवनकै सबैभन्दा ठूलो मुस्किल परिरहेछ– उनको मृत्यु पत्याउन । र उनी बेगरको संसार स्वीकार गर्न ।

प्रारम्भः

त्यतिबेला हामीलाई एसएलसीको चटारो थियो । २०६९ सालको जाडो–ताका सबै निदाइसकेपछि सल्यानको कर्णाली गाउँमा रेडियोको ट्युनिङ बटारिरहँदा पहिलोपल्ट मैले उनलाई भेटेँ । र टक्क रोकिएँ । त्यतिबेला उनी भन्दै थिए–“हाँसो थोरै आँसु धेरै..पिर छ आज पनि,पारी भोजराज वारी महावीर छ आज पनि ।”

महावीर विश्वकर्मा

मोटो,मिठो र कर्णप्रिय थियो उनको स्वर । नयाँलाई पनि बानी लागेजस्तै बाँधेर राख्नसक्ने जादुयी थियो उनको स्वर । बहकिने मनको फ्रम्याट खोजेस्तै थियो; पृथक् । लाइभ कार्यक्रममा सहभागीहरूका मुक्तकका जवाफ मुक्तकमै दिने उनको क्षमतावान कदम प्रशंसनीय थियो । यसले जो–कोहीलाई पनि आकर्षित गथ्र्यो । र, मलाई पनि नगरिरहन सकेन ।

सुन्दै जाँदा थाहा हुन्छ– पारिका भोजराज र वारिका महावीर विश्वकर्मा हुन्छन् । मेरो आफ्नै हकमा यहीँ कुराले पनि आत्मगौरवको र अपनत्वको फिल हुनु अस्वाभाविक होइन । हजारौँ वर्षदेखि हाम्रो समुदायलाई राज्यसत्ताले प्रताडित गर्दै पिँधमा पुर्याएको छ । जब झुक्किएर कोही अगाडि आइपुग्छ, तबको क्षण बडो नौलो लाग्छ । महावीर देशभरिका सयौँ रेडियोहरूले एकसाथ बजाउने कुनै चर्चित कार्यक्रमका प्रस्तोता थिए । करोडौँलाई एकसाथ सुनाउन सक्ने ठाउँमा पुगेका थिए ।

म किरोशावस्थामा थिएँ । माया र प्रेमका कुरामा रुचि हुनु स्वभाविक हुने नै भयो । बहकिने मनको आगामी शृखलाको प्रतीक्षा हुन थाल्यो । पहिलोपल्ट उनले सुनाएको चरीको कथाले रुवाएको थियो ।

दोस्रो हप्ताको सोमबार साँझ बिबिसीपछि मेरो प्रतीक्षाकै समयमा उनी बहकिने मन लिएर आए । र कार्यक्रमको प्रारम्भमै भने–“जसको बारेमा तपाईँले यो एकहप्ताभरि कसै–न–कसैसँग कुरा गर्नुभएको,एउटा त्यस्तो रेडियो कार्यक्रम बहकिने मन लिएर आइसकेको छु म महावीर विश्वकर्मा ।”

ओहो ! अरुले के गरे थाहा भएन, मैले त कुरा गरेकै हो । उनको कन्फिडेन्स –लेभल साँच्चै अद्भुत लाग्यो ।

अर्को हप्ताको कार्यक्रमको प्रारम्भमा उनले भने–“यो एकहप्ताभरिमा साथीभाइ,आफन्त वा अरुकोहीलाई सुन्न सुझाउनु भएको एउटा त्यस्तो रेडियो कार्यक्रम बहकिने मन लिएर आइसकेको छु म महावीर विश्वकर्मा ।”

ओहो ! उनको यो कुराले अचम्भित बनायो । अरुले के गरे थाहा भएन,मैले त सुझाएकै थिएँ ।

झनै अर्को हप्ता उनले भने–“तपाईँले आफ्नो मोबाइलमा रेकर्ड गरेर दोहोर्याइ–तेहर्याइ सुन्नु हुने एउटा त्यस्तो रेडियो कार्यक्रम बहकिने मन लिएर आइसकेको छु म महावीर विश्वकर्मा ।”

ल..! अब चैँ कुनै शंका बाँकी रहेन; यो मान्छे मनमा बसिसकेछ ।

दिन दुई र रात चार हुँदै बहकिने मनले यति प्रभावित बनायो कि, म पनि मुक्तककारका रुपमा दरिनँ थालेँ । यसको यात्रा २०७१ को असारमा “उर्लिएर धड्कन,बहकियो मन”नामक मुक्तक सङ्ग्रह प्रकाशनसम्म पुग्यो । जसको भूमिकाको अन्तिममा मैले कृतज्ञता व्यक्त गर्दै लेखेको छु–“रेडियो कार्यक्रम बहकिने मन र प्रस्तोता महावीर विश्वकर्मालाई सुनेर म मुक्तक लेख्न सक्ने भएँ,जसको कारण यो पुस्तक आज बजारमा आएको छ ।”

–––

त्यतिबेला सल्यानको कर्णाली गाउँमा भारतको हिमाचल प्रदेश मजदुरी गर्न गएका मान्छेहरूमार्फत लाभा र माइक्रोम्यासका क्याटक्याटे मोबाइलहरू भित्रिन थालेका थिए । मेमोरी कार्डमा भएका भिडियो हेर्न,गीत बजाउन र खासगरी रेडियो सुन्न ती प्रयोगमा आउथे । फोनले काम गर्दैन थियो । इन्टरनेटको परिकल्पना सोच बाहिरको थियो ।

बहकिने मनको फेसबुक पेज खुलेको,आफू पनि फेसबुकमा भएको कुरा महावीरले भन्न थाले । म त उनको फ्यान भइसकेको थिएँ । अवस्था बदलिएर म पनि इन्टरनेट र फेसबुकको पहुँचमा पुगेको पहिलो दिन मैले खोजेका चार पाँचओटा नाम मध्ये पहिलो नाम उनकै थियो— महावीर विश्वकर्मा ।

इन्टरनेटले सजिलो बनाइदियो । उनलाई झन् नजिक ल्याइदियो । चिन्न र बुझ्न भन सहज बनाइदियो । हामी फेसबुकमा साथी बनियौँ । उनका स्टाटसहरू पढ्ने र प्रतिक्रिया दिने म गरिरहन्थेँ । उनले मेरोमा पहिलोपल्ट रियाक्ट गरेको बखत मलाई वणर्नातीत खुसी मिलेको थियो ।

समय गतिशील छ । संसारका सबै कुराहरू परिवर्तशील छन् । बहकिने र बहकाउने कुराबाट अघि बढ्दै हामी वैचारिक बहससम्म आइपुग्यौँ । पछिल्लो चरणमा बहकिने मन कार्यक्रमभन्दा पनि म उनको विचार र बाटोसँग नजिक र परिचित थिएँ । म उनको समर्थकको कित्तामा उभिएँ ।

रेडियो कार्यक्रम प्रस्तोता सँगसँगै सिनेमामा अभिनयको यात्रा थालेका उनी रिलको हिरो बन्ने दौडमा थिए । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालको केन्द्रिय सदस्य र जातव्यवस्था उन्मूलन मोर्चाको केन्द्रिय सचिवको भूमिका जब उनी उदाए, माइती घर मण्डला र नयाँ बानेश्वरको आन्दोलनको अग्रणी मोर्चामा जब देखिए, उनी रियल बने ।

प्रत्यक्ष संवाद गर्ने र उनलाई भेट्नेभन्दा–भन्दै निकै वर्षहरू फुत्किदै गए । मैले चिन्न थालेको निकै वर्षपछि मात्रै उनलाई फोन गर्ने गरेँ । त्यो पनि विशेष कारणले मात्रै ।

आजभन्दा लगभग दुईवर्ष अघिको कुरा । उनले दिएको समय दिनको २,३ बजेतिर सिरेटो चलिरहे पनि मोरङ्गमा गर्मी नै थियो । घर पछाडिको आँपको बगैँचाको विशाल वृक्षको छहारीमा बसेर उनलाई फोन लगाएँ । रिङ बज्यो ।

“हेलो..हजुर को बोल्नुभएको ?” मेरो कानमा उनको त्यही आवाज गुञ्जियो जुन वर्षौ पहिले मेरो रेडियोमा गुञ्जिन्थ्यो । तर त्यो आवाज सबैको लागि थियो । यो भने मेरो लागि मात्रै । मलाई यो कुराले रोमाञ्चित बनायो ।

“मैले अघि फेसबुकमा मेसेज गरेर फोन गर्छु भनेको थिएँ नि ! हो त्यहीँ मान्छे ।”मलाई ठ्याक्कै अरु केही भन्न आएन, यतिमात्रै भनेँ ।

“अँ..,त्यो त होला ! तर यसरी धेरै साथीहरूले मेसेज गर्ने भएको कारणले मलाई ठ्याक्कै ठम्याउन मुस्किल पर्यो । हजुरले नाम भनिदिनु भयो भने मलाई अलिकति सजिलो होला कि !”आवाजलाई जतिसक्दो मुलायम बनाउँदै उनी अति शिष्टताका साथ बोले । ठ्याक्कै जसरी उनी स्रोताहरूसँग रेडियोमा बोल्थे ।

मैले नाम मात्रै हैन,आफ्नो सम्पूर्ण परिचय बताएँ । उनलाई विषयवस्तुमा लिएर गएँ । वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपाल र जात व्यवस्था उन्मूलन मोर्चा सल्यानमा लैजाने बारेमा छलफल भयो । अन्तिममा उनले मेरो नाम र नम्बर डायरीमा टिपे र भने–“शेर बहादुर जी ! हामी सम्पर्कमै रहनेछौँ । तपाईँको क्षेत्रतिरबाट पनि थुप्रै साथीहरू सम्पर्कमा हुनुहुन्छ । तपाईँको नम्बर म उहाँहरूलाई उपलब्ध गराउनेछु, उहाँहरूको नम्बर पनि तपाईँलाई । म फोन गर्नेछु, है त !”

२०७८ को कात्तिकमा सल्यानको थारमारेमा भएको साहित्य उत्सव र दलित नागरिम समाज बागचौरले गरेको प्रशिक्षण कार्यक्रममा उनी सहभागी हुन सल्यान आए । त्यतिबेला म रुकुममा थिएँ । उनीसँग भेट्ने उत्कट इच्छा हुँदाहुँदै पनि समय मिलाउन सकिएन । मन कुडियो ।

केही महिनापछि मलाई एउटा नयाँ नम्बरबाट फोन आयो । उताबाट आफूहरू सुर्खेतबाट यतिबेला बागचौरमा आइपुगेको र कमरेड महावीरले नम्बर दिएको बताउँदै थिए । बोल्दै जाँदा केहीक्षणमा थाहा हुन्छ, पार्टीका कर्णाली संयोजक कमरेड सर्वजित पो हुनुहुँदोरहेछ । मैले चिनिहालेँ । तर हामी दुईको प्रत्यक्ष सम्पर्क पनि कमरेड महावीरकै माध्यमबाट भयो ।

–––

जात व्यवस्था उन्मूलन मोर्चाको बाग्लुङ्ग जिल्ला कमिटी बनाइसकेपछि कमरेड महावीर पश्चिम रुकुम आउँदै थिए । रुकुममा कमरेड विवेक लगायत टिमले तयारी थालिसकेको थियो । सल्यानबाट म पनि गएँ । महावीरको र मेरो पहिलो भेट पश्चिम रुकुमको खलंगामा कमरेड विवेकको घरमा भयो ।

म पुग्दा समय तीन/चार जति भएको हुनुपर्छ । विवेक र उनी टटेलाबाट भर्खरै नुहाइ–धुवाइ गरेर आइपुगेका थिए । कपडा सुकाइसकेर बिच आँगनमा उभिएका उनले फुङ्ग भएको कपालमा तेल लगाउन हात टाउकोतिर लिनु अघि मलाई दिएका थिए । हामीले हात मिलायौँ । उनले कपालमा तेल घसे । जाडोको महिना थियो । चिसोको असरले छालाको अवस्था असन्तुलित हुनु सामान्य थियो । त्यतिबेला उनको अनुहार फुस्रो थियो ।

अघिदेखि उनलाई निरन्तर कसैको फोन आइरहेको थियो । कसैले भेट्न खोजिरहेको र बजारकै कुनै कफी सपमा अघिदेखि पर्खिएर बसेको उनले हामीलाई बताए । विवेक उनी र म बराहटाकुरा देखि सिधैँ उभो जिप्रका किनारका सिडी उक्लिन थाल्यौँ । बिचमा पुगिसकेपछि एकछिन उभिएर मतिर हेर्दै भने–“अनि शेरबहादुर जी ! परिवारमा को–को हुनुहुन्छ नि ?”

मैले आफ्नो बारेमा बताएँ । उनले चकित पर्दै हामीलाई हेरेर भने–“देख्नु भयो नि तपाईँहरूले ! लक्ष्मीजीको बुवाआमाले विद्रोह गरेर अन्तरजातीय बिहे गरेको कारण तपाईँहरूले आफ्नो पालामा त्यो समस्या झेल्नुपरेन । एउटा न एउटा पुस्ताले विद्रोह गर्नैपर्छ । हामीसँग त पाइला–पाइलामा विभेद खेपेक अनुभवहरू छन्, भोलिको पुस्ताका लागि आज हामी लड्नैपर्छ ।”
यति भनेर उनी सिडी उक्लिन थाले ।

कालिकाथान किनारको कफी सपमा हामी गयौँ । कालो जुत्ता,कालो पेन्ट,कालो हुडी र कालै कपाललाई कुम–कुमसम्म पार्नुभएकी आफूलाई अनेरास्ववियुको जिल्ला उपाध्यक्ष बताउने एक युवती हुनुहुँदोरहेछ, अघि फोन गर्ने । उहाँसँगको सामान्य शिष्टाचार पछि हामी बस्यौँ । कमरेड महावीर र म चिया र कफी नलिने कित्तामा उभ्भिसकेपछि हामी दुईको लागि तातो पानी आउने भयो । उनलाई आफ्ना साथीहरूले पनि भेट्न चाहिरहेको बताउँदै युवतीले कता हो, फोन गर्न थालिन् । अर्कोपट्टि बसिरहेका तिनजना पुरुषहरू हामीलाई हेर्दै खासखुस गरिरहेका थिए । महावीरलाई हेर्दै एकजना बोलिहाल्यो–“उहाँको त बोली कता सुने–सुनेजस्तो लाग्छ त !”

“उहाँ बहकिने मनको प्रस्तोता महावीर विश्वकर्मा हो ।”युवती बोलिन् । उनीहरू ट्ँवा परे ।

रेडियो कार्यक्रम बहकिने मन अत्यधिक सुन्ने जिल्लामा पर्थ्यो, रुकुम । कार्यक्रममा सहभागीहरूको तथ्याङ्कले पनि यही देखाउँछ । पाइलै पिच्छे प्रशंसकहरू थिए, यहाँ । त्यसपछि त्यहाँ फोटो सेसन सुरु भइहाल्यो । एकजना खुसी हुँदै भने–“मेरी श्रीमती तपाईँको ठूलो फ्यान हो । तपाईसँगको यो फोटो साँझ म उसलाई देखाउछु ।”

कफी सपबाट हामी निस्कियौँ । अबको उनको काम बहकिने मनको आगामी शृङ्खलाको निम्ति यहीँका मुक्तककार कर्ण बहादुर खत्री ’आइडिया’जीको इन्टरभ्यु लिनुपर्ने उनले बताए । आकाशमा घाम डुबिसकेको थियो । विवेकले हामीलाई जिप्रका रोडकै घारीपट्टि रहेको माटोको घरको माथिल्लो तलाको एउटा अँध्यारो कोठामा लिएर गए । त्यही भेटिए— कर्ण बहादुर खत्री आइडिया । उनी शारीरिक हिसाबले विशेष क्षमताका रहेछन्, हामीलाई कुरेर खाटमा बसिरहेका रहेछन् । भाइ पनि आजै घर गएको र भुँइभरी कसिङ्गर,जुठाभाँडा र कोठाको अवस्था रुग्न भएको भन्दै हामीलाई देख्नसाथ उनी साँघुरिए । हामी पनि यही धरातलबाट आएको भन्दै उनको छेउमा गएर उनको वरिपरि हामी बस्यौँ र उनलाई सहज बनायौँ । महावीर बोले– “आइडिया जि ! खै तपाईँले कार्यक्रममा वाचन गर्ने भनेर ठिक पार्नुभएका पन्ध्र मुक्तक हेरौँ त !”

आइडियाजीले मुक्तकहरूको लामै सुची दिए । त्यसमध्ये महावीरले केही–केही हटाइदिए र भने–“आइडिया जी ! कुनै जात, धर्म, समुदाय, लिङ्ग र व्यक्ति विशेषलाई आक्षेप लगाउने किसिमका कुनै रचना बहकिने मनबाट वाचन हुनुहुँदैन भनेर हामी सजग छौँ । अब मैले छानिदिएकाबाट हजुरले जुन–जुन वाचन गरे पनि हुन्छ, है त !”

इन्टरभ्यू ससिकेपछि आइडियाजीसँग हामी फोटो खिचेर छुट्टियौँ । बाहिर पुरै अँध्यारो भइसकेको थियो । सडकभरि बत्तीहरू बलिरहेका थिए । कालिकाथान, बालमन्दिर,माथिल्लोबजार,नेपाल राष्ट बैंक हुँदै हामी तिनजना गफ गर्दै खलंगाको तल्लोबजारमा हिँडिरहेका थियौँ । उनको बाग्लुङ्गदेखि रुकुमसम्मको यात्रा कस्तो रह्यो भन्ने मेरो जिज्ञासामा जवाफ दिँदै उनी बोले–“म त हिजै आइपुग्ने भनेको मान्छे, काँक्री भन्ने ठाउँमा आइपुग्दा गाडी बिग्रियो । फोनले पनि काम नगर्ने ठाउँ रहेछ । बल्लतल्ल नेटवर्क दिने ठाउँमा आइपुगियो र सबैलाई सम्पर्क गरियो । नजिकै एउटा होटेल रहेछ, त्यही बसेँ । कोठामा दुईतिन ओटा खाट थिए । राती सुतिरहेको बेला कोही ढोका हान्न आइपुग्यो । नौलो ठाउँ डर–डर लाग्यो । जे पो होला,ढोका उघारेँ । एकजना मान्छे रहेछ, सुत्न आएको भनेर कोठामा छिर्यो । मलाई अचम्म लाग्यो यहाँको सिस्टम, एउटा गेष्टलाई एउटा रुम पो दिनुपर्ने, तर एउटा खाट दिइदो रहेछ । नचिनेको मान्छेसँग एउटै रुममा कसरी सुत्नु ! सुरक्षाको दृष्टिकोणले यो विल्कुल ठिक होइन । तर बाध्यता थियो । तत्क्षण आफू कस्तो अवस्थामा रहेको बारेमा आफन्त साथीभाइहरूलाई ग्रुपमा मेसेज छोडिदिएँ । र ऊसँग परिचय गर्नथालेँ । ऊ पनि मजस्तै रहेछ, अलपत्र परेर आएको । बोल्दै गएपछि राम्रै साथी बन्यो ।”

के–के किनमेलको गर्नुछ भन्दै विवेक पसलतिर पसे । हामी दुईजना कुरा गर्दै धिमा गतिमा रोक्किँदै–हिँड्दै गरिरहेका थियौँ । महावीरले भने–“शेर बहादुर जी ! यहाँपछि कार्यक्रम दाङ्गमा छ । तपाईँका चिनजानका साथीहरूलाई सम्पर्कमा आउन भन्नोस् है !”

महावीर अध्ययनशील उत्तिकै छन् । धारा प्रवाह बोल्न सक्छन् । तार्किक क्षमता पनि छ । कम्युनिजम र जातव्यवस्थालाई यतिबेला गम्भीर तरिकाले अध्ययन गरिरहेका विद्यार्थी पनि हुन् । मैले किताबका कुरा निकालेँ । पार्टी संयोजक आहुतीको पछिल्लो पुस्तक जातवार्ता पढ्नैपर्ने र आफूले केहीप्रति लिएर आएको र साथीहरूलाई बाँड्ने उनले बताए । आहुतीका नयाँ घर,स्खलन, गहुँगोरो अफ्रिका र नेपालमा वर्णव्यवस्था र वर्ग संघर्ष आफुले पढिसकेको र जातवार्ता पढ्दै गरेको बताउँदै मैले भनेँ– “कमरेड ! कम्युनिजम र जातव्यवस्थालाई बुझ्न कुन–कुन पुस्तक पढ्नपर्ने होला ? तपाईँलाई थाहा भएसम्म भनिदिनोस् है ।”

उनले आफ्नो मोबाइलको नोट एप खोले । केही किताबका सुची देखाए । मैले पढिसकेका जति औल्याएँ । ती हटाएर बाँकी कपी गरेर मलाई म्यासेन्जरमा पेस्ट गरिदिए । जो अहिले पनि त्यहाँ सुरक्षित छ ।

घरमा पुग्नासाथ विवेकले आँगनमा आगो जोडे । आगो ताप्दै केहीबेर आइडियाजीका मुक्तक र उहाँले सुनाएको उहाँको साहित्य यात्रा,बहकिने मन, जसका सहभागी र त्यसमा प्राप्त हुने मुक्तकको स्तरता र भोलि हुने जातव्यवस्था उन्मूलन मोर्चा रुकुम(पश्चिम)को प्रथम जिल्ला भेलाबारे छलफल गरियौँ । विवेकले भोलिको भेलाको केही पूर्व तयारी र महावीरले साढेआठ बजेको फेसबुक लाइभको तयारी गर्न थाले । म भोली भेलामै भेट्टिने वाचा गर्दै त्यो दिन त्यहाँबाट बागबजार फर्किएँ ।

भोलिपल्ट एघार बजे होटेल एसियनको सभाहल पुग्दा थुप्रै साथीहरू जम्मा भइसकेका थिए । गेटदेखि नै साथीहरूले संकेत सहित महावीर विश्वकर्मालाई भेट्न जाने यता भनेर लेखेका पर्चाहरू हलसम्मै टाँसिसकेका थिए । उनको नाम मात्रै सुनेका मान्छेहरू पनि त्यो देखेर आइरहेका थिए । विवेकको दौडधुप जारी थियो । महावीर हलको अगाडि साइडतिर बसेर ल्याप्टपमा केही लेखिरहेजस्ता देखिन्थे । म पुग्नासाथ मलाई देखाउँदै एकजना अपरिचित मान्छेलाई भने–“हाम्रो सल्यानको मित्र शेर बहादुर जी भनेको उहाँ नै हो ।”

अपरिचित आएर मलाई हात दिए, मैले हात मिलाएँ । उनलाई देखाउँदै महावीरले मलाई भने–“मोर्चाको कर्णाली संयोजक निश्चल परियार उहाँ नै हो ।”
ओहो ! निश्चल !

नदेखे पनि निश्छलको बारेमा म अलिअलि जान्दथेँ । हामीले राम्रोसँग एक–अर्कासँग परिचय गर्यौँ । सल्यानमा मोर्चाको प्रथम जिल्ला भेला हालै सम्पन्न भइसकेको र पार्टीको प्रथम जिल्ला भेला गर्ने तयारीबारे छलफल गर्यौँ ।

होटेल एसियनको सभाहलमा कार्यक्रम प्रारम्भ भयो । भेलाको संयोजन विवेक विश्वकर्माले गर्नुभयो । सामान्य औपचारिकता पछि मासलाई कन्ट्रोल गर्दै महावीर धाराप्रवाह बोल्न थाले । सारा हल शान्त भयो । उनले भनेको एउटा कुरा म हरेक दिन स्मरण गरिरहन्छु–“साथीहरू ! हाम्रो मुक्तिको निम्ति हामी क्रान्ति र विद्रोहको अग्रणी मोर्चामा आउन अपरिहार्य छ । अबको दश वर्षपछि आहुतिजस्ता दश जना लिडर यही बिचबाट जन्मिनुपर्छ ।”

भेलाका सम्पूर्ण कार्यक्रमहरू सकिए । विवेकको संयोजकत्वमा मोर्चाको जिल्ला कमिटी गठन भयो । गाडीहरू छुटिसकेको कारण उनको त्यहीदिन दाङ फकिर्ने योजना रद्द भयो ।

झिमझिम पानी पर्न थाल्यो । मोर्चाका रुकुम जिल्ला कमिटी सदस्य तथा पार्टीका रुकुम जिल्ला सचिव कमरेड कमलको फर्निचरमा हामी आयौँ । जाडो थियो । कमलले फर्निचर भित्रै केही ठाउँ खाली गरे । त्यहाँ आगो जोडे । हामी छ जना जति थियौँ । गोलबद्व भएर हामी उभिएर आगो तापिरहेका थियौँ । बस्नलाई एउटा काठको कुर्सी र एउटा सानो बेन्च मात्रै भेटिए । मैले त्यो कुर्सी बस्नुस् भन्दै कमरेड महावीरलाई दिएँ । तर उनी अलि आक्रोशित मुद्रामा देखिए–“त्यो कुर्सी मलाई किन दिनुभएको ? तपाईँ बस्नु न । तपाईँ पनि उभिरहनु भएको त छ नि ! म को नैँ हुँ र ! म त भुँइमा भए नि बसिहाल्छु नि !”

मैले पुनः एकपल्ट आग्रह गरेँ । उनले बस्न मानेनन् । बरु साथीहरूलाई बेन्चतिर व्यवस्थापन गरेर आफू आरामले भुँइमा बसे । विवेकले सबैतिर हेर्दै भने–“पिउने पानी पनि आफै सारेर बस्नु हुन्छ, खाएको थाली पनि आफै धुनुहुन्छ । अरुलाई धुन दिनुहुन्न । हामीले उहाँबाट धेरै कुरा सिक्नुछ । साँच्चिकै कम्युनिष्ट भएर बाँच्न सिक्नु छ ।”

विवेकले ठिकै भने । कमरेड महावीर साँच्चिकै अनुसरणीय पात्र हुन् । त्यो दिन म कुर्सीमा बसेँ,केही साथीहरू बेञ्चमा र महावीर लगायत केही साथीहरू भुँइमा । त्यो पललाई कसैले क्यामेरामा कैद गरिदिएको छ । त्यो अवस्थाको,त्यतिबेलाको त्यो फोटो अझै पनि मेरो मोबाइलमा सुरक्षित छ । बिचमा धुवाँ पत्ताइरहेको छ । कमरेड निश्चलको उतापट्टि बसेका महावीर मन्द मुस्कुराइरहेका छन् ।

कमरेड कमलको आग्रहमा कसैले कालो चिया ल्याएर दियो; र त्यसमा चोबल्ने चिज पनि । मैले चिया मात्रै लिएँ । म अघिदेखि हत्तारिरहेको थिएँ । उठ्दै भनेँ–“कमरेडहरू ! अब म जान्छु ।”

“कमरेड महावीरको गाडी छुट्यो । दाङको कार्यक्रम भ्याउन गाह्रो हुन्छ कि भनेर छट्पट्टिरहनुभएको छ ।”विवेकले महावीरतिर हेर्दै भने–“कमरेड ! आज शेर बहादुरजीसँग तपाईँ सल्यानसम्म जानुस् । त्यहाँबाट दाङ पुग्न छिटो पनि सजिलो पनि ।”

ओहो ! साथीहरूलाई जानकारी रहेनछ । मैले आफू सिम्रुतुसम्म मात्रै जान लागेको कुरा बताएँ । र हिडेँ । छुट्टिनेबेला महावीरलाई भनेको थिएँ—“भोलि तपाईँ गाडीमा गइरहँदा सिम्रुतु भन्ने ठाउँ आयो भने मलाई फोन गर्नुहोला, म त्यहीँ भेट्टिनेछु ।”

उपसंहारः

२०७९ मंसिर ५ गतेको साँझ सुत्नलाई मोबाइल स्लिपमा राख्नै आँट्दा फेसबुकमा उनको एउटा पोस्ट टुप्लुक्क आइपुग्यो । स्टुडियो भित्र रातो हाफ सर्ट लगाएर उभिएको फोटोको माथि क्याप्सनमा उनले लेखेमा थिए–“आफ्नो विचार प्रष्टसँग राख्ने हो । विचार मिल्नेहरू जोडिँदै जान्छन्,नमिल्नेहरू छोडिँदै । यो आवश्यक छ जीवनमा । सबैको प्रिय बन्न खोजेर हुँदैन । यदि कोही त्यस्तो बन्न खोज्छ भने त्यो दोगला हुन्छ ।”

यसमा रियाक्ट गरेर सुतेको म, जब बिहान आँखा खुल्नासाथ मोबाइलमा कमरेड जसिन्द्रको त्यो पोस्ट देखेँ; अत्तालिदै उठेँ ।

र, एकैछिमै सुरु भइहाल्यो– अलविदा र श्रद्धाञ्जलीको वर्षा । सारा संसारले एकसाथ उद्घोष गर्यो— अब महावीर विश्वकर्मा हामी माझ रहेनन् ।

मलाई भाउन्न छुटेर आयो । अगाडिको धरती भासिएजस्तै भयो । आँखाका दृश्यहरू धुमिल बने । ओहो ! मृत्यु यति सजिलै छ ? मृत्यु यति नजिकै छ ? मृत्यु यति अनिश्चय छ ?

प्रिय कमरेड ! तिमीले भन्ने गरेजस्तै, सम्हाल्नै गाह्रो भइरहेको छ झन्, बहकिने मन । तिमीसँग गर्न बाँकी धेरै सहकार्यहरू थिए । तिमीलाई सुनाउन बाँकी धेरै कुराहरू थिए । तिमीलाई सोध्न बाँकी धेरै प्रश्नहरू थिए, डियर कमरेड !

आखिर त्यो दिन सिआइएनको स्टुडियोमा के भएको थियो ? जहाँ लाइभ कार्यक्रममै तिमी डाको छोडेर त्यतिधेरै रोएका थियौ । दोस्रोपल्ट तिमीलाई त्यहाँबाट कसले गलहत्याएको थियो ? बहकिने मनको पोको बोकेर तिमी त्यहाँबाट रुँदै निस्किएका थियौ । तिमीलाई त सुनाउन बाँकी थियो– दुरदराजको कर्णालीमा बसेर त्यतिबेला तिमी सँगसँगै हामी पनि रोएका थियौँ । तिमीबाट प्रभावित भएर मैले लेखेको मुक्तकसङ्ग्रह जो आजभन्दा आठवर्ष पहिले नै प्रकाशनमा आइसकेको छ, जसको भूमिकामा मैले तिम्रो नाममा शब्दहरू खर्चिएको छु,जो कुरा मैले तिमीलाई भेटमा पनि भनिनँ, जो तिमीलाई कुनैदिन सुटुक्क उपहार दिन मन थियो । अस्ति भर्खर, बाइक बिग्रिएर बसमा यात्रा गरिरहँदा मेरो एकघण्टाको यात्रा अवधीभरि बसमा कुनै गीत बजेन, तिम्रै रेर्कडेड कार्यक्रम बहकिने मन बजेको थियो,मैले खुसी हुँदै त्यो माहोललाई मोबाइलमा रेकर्ड गरेको थिएँ, जो तिमीलाई सेन्ट गरिदिन मात्रै बाँकी थियो । र अँ, तिमीलाई नबिर्सी सोध्न मन थियो—तिमीले यतिधेरै प्रेम कसलाई गरेका थियौ ?

डियर कमरेड ! वैज्ञानिक समाजवाद निमार्ण र जातव्यवस्था उन्मूलनको यात्रामा सँगसँगै हिड्ने मन थियो । तर अब हामी तिमीलाई बाटोभरि स्मरण गरिरहने छौँ, मिस गरिरहनेछौँ ।

अतः हामीलाई थाहा छ,तिमी साह्रै इमान्दार मान्छे छौ । तिमी झुट बोल्न सक्दैनौ । २०७९ साल कात्तिक २८ गतेको बहकिने मनको त्यो शृङ्खलाबाट जाने बेलामा अन्तिममा तिमीले भनेका छौ– “जान्छु । अर्कोहप्ता आउँछु नि ! नमस्कार ।”

तिमी मेरो प्रिय भएको कारण । कतै बिर्सिएयौ कि भनेर तिमीलाई स्मरण गराउन यति शब्द खर्चिएको हुँ । तिमीले माथी भनेजस्तै, तिमी पक्कै आउँछौ नि हैन ?