Chovar Blues Mobile Size

पुल तरेर पारी पुगेपछि अकस्मात् पानी पर्यो । यो पानीलाई यतिबेला नै किन पर्न परेको होला ? गर्मी थियो। त्यसैले पर्यो । पर्नु उसको धर्म हो । भिज्नु हाम्रो बाध्यता । छाता थिएन। छाता नहुनु हाम्रो कमजोरी । तर हिंड्दा आकाशमा हेरेकै हो। खाली थियो आकाश । थिएन कतै उडन्ते भुवा । म भिजेँ । उनी भिजिन् । बाटो भिज्यो । घाँसहरु भिजे । बाटो चिप्लो भयो । जस्तो रुँदा आँखाको कोष भिज्छ लपक्कै । आँखा रुँदा गालाको भिर भिजे जस्तै भिजिरह्यो त्यो पहाड । ओत लाग्ने स्थान थिएन । मपछि छु । उनी अघि छिन् । पहाडी बाटो । रातो माटो । एउटा रुख आयो । बाक्लो हागाबिगा भएको । एक झर पानी ओत्ने । उनको लुगा निथ्रुक्क भिजेको थियो । कपालबाट पानी तर्किरहेको । जिउमा लुगा टासिदा अर्कै राम्री । एउटा अर्कै सुन्दरता । कस्तो गुलाफी मुहार । पानी पर्दा भिजेर उठेको त्यसको इन्द्रेणी । सर्वाङ्ग भिजेकी । उनको निधार। अर्ध चन्द्रमाकारको । उनको सर्वाङ्गमा एउटा माद थियो।

कस्तो बैशाखी आँखा । पानीले भिज्दा अलिकति उठेको उनको वक्षस्थल अर्कै झन्झनाहट । अर्कै इन्द्रेणी । अर्कै उभार। भिजिरहन मन लाग्यो । पानी बौलाहा हो। म पनि बौलाहा हुँ । यो सारा सारा उत्ताउलो उभार उत्ताउलो जगत । यसरी पहिलोचोटि भिज्दै छु म प्रकृतिसँग । अलिकति बाटो लम्बिदिए हुन्थ्यो । अलिकति समय लम्बिदिए हुन्थ्यो । सारा कम्पन । यो खुसीको चपल दहमा पौडिन मन लाग्यो । धोइएको शरीरबाट प्राकृतिक अत्तर मगमगाइरहेको छ । छोउ छोउ लाग्यो । बोलाउन मन लाग्यो। पानीको सरसराहटले म बोलेको उनी सुन्दिनन् । कानैमा गएर तातो श्वास फ्याक्तै भने – “ओत लागौं न है ! ”

लक्ष्मण सिटौला

उनी रोकिइन् । मलाई हेरिन् । मुस्कुराइन्। रुख नजिकै पुग्यौँ । पानी झन बढ्न थाल्यो । बादल उडिरहेको आकाश । कुहिरोले छोपेको पहाड । अलिकति पर पनि केही देखिन्न । चकमन्न छ । एकान्त छ। यो निकटता पनि किन यति मीठो ! सिर्सिर बतास छ्ल्केको छ उनको कपालबाट । उनी चिसो अनुभूत गरिरहेकी थिइन् । त्यो कालो केशराशि हावाले उडाएर बिगारिदियोस् भन्ने चाहन्थेँ म । अहिले त पानीले भिज्यो । पानीको छिटाले भिजाएको त्यो दिव्य मुहारमा मेरो खुसीको मखमली छल्केको छ । हावाको बेगसगै दर्किरहेको छ । छड्के पानीको धारले रेटेको छ उनको छिनेको कम्मरलाई । सलक्क परेको रुखको फेँद । त्यही फेँदको फेरोलाई च्याप्प समातेर उभिरहेका हामी दुई । निरन्तर हावाको झोक्काले छोइरह्यो उनलाई । पातलो हावा तर चिसो । पानीको कण मिसिएको । जहाँ छुन्थ्यो हावाले म त्यतै हेरिरहन्थेँ । मलाई हावाको छुवाइ देखेर ईर्ष्या लाग्न थाल्यो।

मलाई छलेर उनलाई छुने त्यो बतास । अहँ, मलाई मन परेन । तर बेला बेलामा त्यो प्रवेगले सलक्क अगाडि आएको कपाललाई पछाडि धकेलिदिन्थ्यो । खोइ किन पो हो मलाई यो दृश्यले निकै रोमाञ्च बनाउथ्यो । निधारबाट ओठ हुँदै चिउडोबाट तप्किरहेको पानी हेर्दै छु । कस्तो आनन्दको त्यो मुहार। त्यसमाथि पनि मलाई हेरेर मुस्काएको त्यो कम्पित आँखा ।

गाजलको धार बगेर तप्केको पानी । अन्जुलीमा थापेँ । सँगै छौँ। छोइएको छौँ । पानीको पातलो धर्सा बगिरहेको छ हाम्रो छुवाइ बिचबाट । इन्द्रेणी पर्यो ।पारि शिव मन्दिर छेउमा । आउने जाने कोही छैन । बाटो एक्लै छ । यो विराट् पृथ्वीमा हामी एक्लै एक्लै । आहा ! हामी । यो हामी भित्रको एकै किरण । एकै उज्यालो !

अगाडि देखिएको पुल एक्लै छ । सँगैसँगै उभिएका रुखहरु साक्षी छन् । हामीले छोएको यो रुखलाई अरु रुखहरुले हेरिरहे जस्तो लाग्यो । एउटा पुरुष मनको अगाडि उभिएको स्त्री स्वरुप ! अलिकति लज्जा ।अलिकति संकोच ।अलिकति डर। अलिकति सन्देह । अलिकति माया । अलिकति काउकुती सबै सबै मिसिएको । पानी झन् झन् बर्सिदिए हुन्थ्यो भनेर सोचे। भुइँ कुहिरो अझै बाक्लो गरेर लागिदिए हुन्थ्यो भनेर सोचेँ । समय अझै लम्बिदिए हुन्थ्यो भनेर सोचेँ । मनभित्र सोचाइको नदी उर्लिन थाल्यो । यो एकान्त कति प्यारो । यो घनघोर वर्षा कति मीठो । उनको यो सामीप्यता कति मीठो । त्यो छल्केर चिसो बोक्तै डुलिरहेको हावा कति प्यारो। प्यारो मान्छेसँग उभिँदा सँगै उभिएको त्यो पहाड अझै कति मायालु ।

पानी थामिएन । नथामियोस् पनि । भुइँ कुहिरो हटेन नहटोस् यो पनि । हामीलाई कसैले नदेखून् । हामी कसैलाई नभेटून् । यो समय किन यति धेरै प्रीतिकर लागेको । पानीले गाएको गीत किन यति प्रीतिकर । निथ्रुक्क छिन् उनी । लाली पखालिएको पानी चुहिनु अनौठो त के हो र । गाजल पखालिएको पानी आँखा भएर बगिदिनु त के हो र ! तर ती सबै दृश्यले अकिन्चन आक्रमण गरिरह्यो मलाई । आँखा पखालिएको पानी । आखाको नानी छोएर बगेको बतास । त्यही रोकिदिउँ कि जस्तो लाग्यो। नजिकै छौँ। यति नजिक कि हामीले फेरेको श्वास पनि सुन्छौँ एक अर्काको । धड्कन धेरै बडेको सुनेँ उनको । सँगै छौँ हामी । सपक्कै टासिएर पानी छल्दै उभिएको रुखको फेँदमा ।

आनन्द के यही हो ? उत्फुल्लता के यही हो ? यो के हो ? अलिकति माद लागेजस्तो । धेरै त मायाको नशा लागेजस्तो । मुहारको दिप्ती यति बलिरह्यो कि वरिपरि नै बलेजस्तो । नजरबाट बिस्तारै उठेर आयो एउटा अनमोल उभार । त्यो चकमन्नतामा एक्कासि बोलेछु- “मैले मागेको दिन्छ्यौ ?”

प्रश्न नसकिँदै मौन स्वीकृति आयो । म खुसी भएँ । सायद यति धेरै खुसी पहिलोचोटि हुँदैछु । मुटुको धड्कन बढ्यो । श्वास फुलेर आयो मानौँ प्रभातको कलिलो घामले फूललाई छोइरहेछ । ओठ छोएर बगिरह्यो त्यति नै बेला एउटा कलिलो हावा । अलिकति मिसिएको थियो सुगन्धित मायाको अत्तर । महकायो सारा परिदृश्य । भुइँ कुहिरो डम्म लागेको थियो । रुखको हागाबाट तप्केको पानी हामी दुवैको ओठमा परिरहेको थियो । एकछिन त केही सुनिएन । शून्य जस्तो । कहीँ कतै केही देखिएन । भुइँ कुहिरोले सघायो हाम्रो शरीरलाई छोप्न। वरिपरि उठेर हेरिरहेका घाँसका मुनाहरु पनि आफैँ लजाए । त्यो नीलो गुलाफी बैँस जगमगायो।

एकान्त पनि यति प्रीयकर लागेको यो पहिलोचोटि हो । उनको आँखाको भृकुटीबाट एउटा उज्यालो छायाँ मैतिर विस्फारित भयो। रुखबाट एक जोडी चरी भुरुरु उडेर गए । भुइँ कुहिरो बिस्तारै हट्न थाल्यो । पारि शिवालय मन्दिर अलिकति देखिन थाल्यो। पानी थामियो । पारि मन्दिरमा बजेको घन्टको ध्वनिले एउटा अर्कै प्रमोदिता लहराउन थाल्यो कानमा ।

असरल्ल परेको कपाल मिलाउँदै कम्पित स्वरले बोल्छिन् उनी – “पानी त थामियो नि अब जाने होइन ?”

केहीबेर अघिको बोली र अहिलेको बोलीमा फरक छ उनको । पहिलेको बोली प्यास मिसिएको बोली । अहिलेको बोली तृप्तिको बोली । अहिलेको आवाज मधुरता मिसिएको आवाज । अहिलेको कम्पन माया मिसिएको कम्पन । पहिलेको ध्वनि चाह मिसिएको ध्वनि । अहिलेको ध्वनि प्राप्तिको ध्वनि । गुलाफ भिजे जस्तै त्यो मुहारको दिव्य दर्शन पाउँदा आज कति खुसी भएँ म । कस्तो यो तृप्तिको झन्कार ! शरदको तारबाट बजिरहेको सुखद आलापजस्तै । शरीर भरिभरि भरिएको आनन्द बिसाएर शान्त निर्मल आकाश जस्तै स्वच्छ सानन्द भएँ म । अघिअघिको तातो सबै सबै निख्रिएर एउटा प्रशान्त उज्यालोतर्फ लम्कियौँ हामी । भुइँ कुहिरो हट्यो बल्ल देखिए घरहरू । पृथ्वीबाट न्यानो बाफ माथिमाथि नीलो आकाशतर्फ उठिरहेको थियो।