लेखक परिचयः 

पाब्लो नेरुदाको जन्म जुलाई सन्‌ १९०४ मा दक्षिणी चिलीमा भएको थियो । उनको वास्तविक नाम रिकार्डो एलिसेर नेफताली रेयस बासोल्टा थियो । जन्मिएको एक हप्तामै उनी मातृविहीन भए । सानै उमेरदेखि कविता लेख्न शुरु गरेका रिकाडोलाई उनका बाबु र परिवारले कविताकर्म गर्न हतोत्साही गर्ने गरेकाले उनले पाब्लो
नेरुदाको नामले लेख्न थालेका थिए ।

सन्‌ १९२३ मा नेरुदाले आफ्नो पहिलो पुस्तक ‘स्रेपुस्युलारो’ (गोधुली उज्यालो) प्रकाशन गर्नका लागि आफ्नो नाममा भएको सम्पूर्ण सम्पत्ति बेचे । अर्को वर्ष उनले आफ्नो दोस्रो पुस्तक ‘भेन्ते पोएमा दे आमोर इ उना कान्सिअन देसेस्पेरादा’ (बीस प्रेम कविता र उदाशीको एउटा गीत) का लागि प्रकाशक भेट्टाए । त्यस पुस्तकको चर्चाबाट उत्साहित भएर उनले कविता लेख्नका लागि भनेर आफ्नो पढाइ नै छोडिदिए ।

पाब्लो नेरूदा

कविहरूलाई कुटनीतिक ओहदा प्रदान गरेर सम्मान गर्ने दक्षिण अमेरिकी परम्परा स्वीकार गर्दै सन्‌ १९२७ मा नेरुदा परराष्ट्र सेवामा प्रवेश गरे र विभिन्न देशमा रही काम गरेर सन्‌ १९३८ मा चिली फर्किए । सन्‌ १९३९ मा मेक्सिकोका लागि कन्सुलर भएर सन्‌ १९४३ मा फर्किएपछि उनी सिनेटमा निर्वाचित भए र कम्यूनिस्ट पार्टीसँग आबद्ध भए ।

नेरुदाले कवितासङ्ग्रहहरू ‘पोएसिया पोलिटिका’ (राजनैतिक कविता), ‘लास पिएद्वास दे चिले’ (चिलीका चट्टानहरू लगायत अन्य सैँतीस वटा पुस्तकहरू आफ्नो जीवनकालमै प्रकाशित गराए । ‘हार्दिन देल इन्भ्येर्नो’ (हिउँदको बगैँचा) लगायत सात वटा पुस्तकहरू उनको मृत्युपश्चात्‌ प्रकाशित भए ।

सन्‌ १९३० मा प्रेमिका होसेइ ब्लिससँराको सम्बन्ध चुडिँएपछि नेरुदाले स्पेनिस बोल्न नजान्ने डच युवती मारिया एन्तोनिएता हा’हेनायसँग विवाह गरे । सन्‌ १९३६ मा सो विवाह विच्छेद भएपछि अर्जेन्टेनियाली चित्रकार देसिया देल क्यारिलसँग सात वर्ष सँगसँगै बसेर सन्‌ १९४३ मा विवाह गरे र सन्‌ १९४४ मा अलग्गिए । त्यसपछि साथ दिइरहेकी चिलीकी गायिका मातिल्दे उरुतिआसँग नेरुदाले सन्‌ १९६६ मा विवाह गरे ।

पाब्लो नेरुदाले सन्‌ १९७१ को साहित्यतर्फको नोबेल पुरस्कार प्राप्त गरे । उनको २३ सेप्टेम्बर सन्‌ १९७३ मा क्यान्सरका कारण चिलीको सान्तिएगोमा देहान्त भयो ।

तिमीले मलाई बिर्सियौ भने

मैले
मेरा झ्यालको बाटो हुँदै
मन्द गतिमा हिँडेको शिशिरको चम्किलो जून हेर्दा,
आगाछेउको
धड्कनविहीन खरानी
अथवा
चाउरिएको दाउराको शरीर छुँदा
ती सबैले मलाई तिमीसम्म पुन्याउँछन्‌,
मानौँ
अस्तित्वमा रहेका जुनसुकै चिज
सुगन्ध, प्रकाश वा जेसुकै
मलाई खियाएर तिम्रा भावनासम्म पुग्याउनका लागि
पर्खेर बसिरहेका नाउ हुन्‌ ।

र अब, यदि
तिमी मलाई माया गर्न बिस्तारै छोड्छ्यौ भने
म पनि बिस्तारै तिमीलाई माया गर्न छाड्नेछु ।
तिमीले मलाई बिर्सियौ भने
मेरो आशा नगर्नू,
मैले तिमीलाई उहिल्यै बिर्सिसकेको हुनेछु ।

यदि तिमी यसलाई
मेरो जीवनको बाटो हुँदै दौडिएको बहुलठ्ठीपन ठान्छ्यौ

मलाई मेरो हृदयको जरा भएकै किनारमा छोड्ने ठान्छ्यौ भने
सम्झिराख
त्यस दिन, ठीक त्यही बेला
म मेरा पाखुरालाई सार्नेछु
र मेरा जरा अर्को उपयुक्त माटोको खोजीमा लाग्नेछन्‌ ।

तर यदि
हरेक दिन
हरेक पल
तिमी आफूलाई कठोर मीठाससहित
मेरो गन्तव्य ठान्छ्यौ भने,
हरेक दिन
मेरो खोजीमा एउटा गुलाफ तिम्रा ओठसम्म उक्लिन्छ भने
ए मेरी प्रिया, ए मेरी प्यारी
मेरो सम्पूर्ण प्रेम उसै गरी दोहोरिनेछ ।

मभित्र केही निभेको हुने छैन, केही विस्मृत भएको हुने छैन
मेरो प्रेम तिमीभित्रै बाँच्नेछ, मेरी प्रिया !
र तिमी बाँचुन्जेल
मलाई नछोडिकन बाँचिरहनेछ तिम्रा पाखुरामा ।

अनुवादः सुमन पोखरेल ।