Chovar Blues Mobile Size

११. भकुन्डे भाइको आपत

त्यसपछि धेरै दिनसम्म उनीहरूले मोहिनी वन र इन्द्रजाली रूखतिर जाने उत्साह देखाएनन्‌ । किनभने त्यस रातको उत्तेजक अनुभव अलि बढी नै भएको थियो ।

तर उनीहरू आफ्ना साथीहरू, खासगरी भकुन्डे भाइसँग भेट्न ज्यादै उत्सुक थिए । त्यसैले फुर्सत मिल्नासाथ उनीहरू मोहिनी बनतिर दगुरिहाले । चाँडै नै उनीहरू इन्द्रजाली रूखमुनि पुगे । तर यसपल्ट त्यस रूखमा डोरीको भर्याङ झुन्डिएको थिएन । त्यो डोरी त मेलाको रातमा वनका प्राणीहरूलाई तलमाथि गर्न मात्र खसालिन्थ्यो । त्यसैले अमरहरूलाई रूख चढ्नु पर्यो ।

उनीहरू रूख चढ्न थाले । तर आश्चर्य ! आज रूखका कुनै झ्याल ढोका पनि खुला थिएनन्‌, न त त्यहाँ कुनै प्राणी नै देखियो । चारैतिर चकमन्न थियो । उनीहरू जिल्ल पर्दै माथि-माथि उक्लँदै गए । आखिर उनीहरूले हिमानीको घरको ढोका पनि बन्द पाए । उसले गाएको पनि सुनिँदैनथ्यो । उनीहरूले ढोका घच्घच्याए । तर उत्तर आएन ।

“के हो यस्तो ? …’ उनीहरू जिल्ल पदै माथि उक्लँदै गए । भकुन्डे भाइको ढोका पनि बन्द थियो । अमरले ढोका घच्घच्यायो, तर कसैले ढोका खोलेन । अनि गीताले ढोकामा कान थापेर सुनी । उसले भित्र कसैले रोएजस्तो मसिनो आवाज सुनी ।

“भित्र कोही रँदै छ । तर भकुन्डे भाइको स्वर त होइन । जाऔँ भित्र गएर हेरौं ।’ गीताले भनी र सबै ढोका खोलेर भित्र पसे । भित्र भकुन्डे भाइ थिएन । हिमानी एउटा कुनामा बसेर रोइरहेकी थिई । अमर उसको नजिक गएर सोध्यो “किन रोएकी हिमानी ?… के भयो तिमीलाई ?… भकुन्डे भाइ कहाँ छ ?’

“बिचरो भकुन्डे भाइ’ हिमानीले सुँक्क-सुँक्क गर्दै भनी “उसलाई के-नाम- के-रे बूढोले बादलपारि धरतीमा फँसाइदियो ।’

“के रे ?… के त्यही आफ्नो घरबाहिर मेचमा घुरिरहने अल्छी, दुष्ट बूढाले ?… किन !.. के गर्यो भकुन्डे भाइले ?’ अमरले झोक्किदै सोध्यो । हिमानीले आँखाको आँसु पुछ्दै सुँक्क-सुँक्क गर्दै भनी भकुन्डे भाइ पनि उपद्रय्हा छ । ऊ मलाई पनि उपद्रो गर्न रौस्याउँछ । बूढो आफ्नो घरअगाडि घुरिरहेको थियो । भकुन्डे भाइ र म चाल मार्दै त्यहाँ गयौँ । बूढोको मुख हाँसो उठ्तो गरी खुल्दै बन्द हुँदै गरेको देखेर हामीले आफ्नो उपद्रो रोक्न सकेनौँ । झाडीबाट केही तीतो मयल टिपेर उसको मुखमा कोचिदियौँ । हामी बाक्लो पातको आडमा लुक्यौँ ।…’

बूढो टर्रो मयल निल्न नसकेर प्याक्ल्याक प्याक्ल्याक गर्न थाल्यो होला होइन ?’ गीता बूढो प्याक-प्याक परेको कल्पना गर्दै खितखित् हाँस्न थाली ‘खुब मजा आयो होला… हि: हि: हि ।’

‘मजा त भयो’ हिमानीले अहिले पनि बूढोको हालत सम्झेर हाँस्तै भनी “तर बूढो बिउँझ्यो । हामी हाँस्न लागेको देखेर ऊ रिसले आगो भयो । हामी भकुन्डे भाइको घरतिर भाग्यौँ । तर उसले भकुन्डे भाइलाई फेला पारिहाल्यो अनि उसलाई त्यस बादलपारिको धरतीमा फालिदियो ।’

“त्यसो भए त बित्यास पर्यो’ अमरले दुःखी हुँदै भन्यो ‘आज त्यहाँ कुन खाले धरती छ कुन्नि ? … अब के गर्ने ?… के भकुन्डे भाइ बादलको भर्याङबाट ओर्लन सक्तैन ?’

‘सक्न त सक्थ्यो होला, तर त्यो बूढो भर्याङकै मुखमा बसिरहेको छ’ हिमानीले भनी ‘अब के गर्ने ?… भकुन्डे भाइ उम्कन सकेन भने ?…’

“त्यहाँ माथि आज कुनचाहिँ धरती छ !… तिमीलाई थाहा छ ? ‘ गीताले सोधी । हिमानीले त्यहाँ आज काम्टेको धरती छ भनेर बताई । “ऊ असाध्यै सोझो छ । उसले कसैलाई केही गर्दैन । तर बूढाले उसलाई तल झर्न दिएन भने ?… ऊ त ससैँ घुम्ने धरतीमा कैदी भएर रहनेछ ।’

अमरले एकैछिन सोचेर भन्यो ‘त के हामी उसको कुनै मद्दत गर्न सक्तैनौं ?… बूढालाई भर्याङको मुखबाट हटाउन सकिन्न ? उसलाई हटाउन सके त भकुन्डे भाइ भर्याङबाट ओर्लन सकिहाल्छ ।’

“काम्टे र बूढाको खुब मिल्ती छ। काम्टेलाई बूढाले चिया खान बोलाएको छ भनेर ल्याउन सक्यो भने… हिमानीले भनी । सबै केटाकेटी रमाउँदै उफ्रन थाले ‘हो, त्यसो भए हामी सबै माथि धरतीमा गएर कम्पारेलाई बूढाकहाँ पठाउनु पर्छ ।’

‘हो, हामी सबै जाने’ अमरले भन्यो । अनि सबैजना इन्द्रजाली रूखको टुप्पातिर उक्ले । बादलको दुलोमा लागेको भर्याङ त्यहीं थियो । त्यसैको मुखमा बसेर बूढो के-नाम-के-रे एउटा पुस्तक पढ्दै थियो । ऊ मुखमा नली लाएर बुङबुङ तमाखु उडाउँदै थियो । तमाखुको बाक्लो धुवाँ बादलको दुलोबाट छिरेर मास्तिर उडिरहेको थियो ।

‘बूढा बा, हामीलाई माथि जान दिनोस्‌ न ।’ गीताले नरम बोलीले -भनी ‘हामी हाम्रो साथी भेट्न जान चाहन्छौं ।’

‘अहँ’ बूढोले बडो जङ्गली तालले भन्यो । तर आशिषले अगाडि सरेर अलि हठिलो स्वरले भन्यो ‘हामी नगई हुन्न ।… तिमीले नदिए हामी नाघेर पनि जान्छौं ।’

बूढो भद्दा भएकोले हतपती ओल्टोकोल्टो गर्न सक्तैनथ्यो । त्यसैले उसले हे: हे: भन्दाभन्दै केटाकेटीहरू हाहा र हिहि गर्दै उसलाई फटाफट नाघेर त्यस भर्याङबाट उक्ले।… माथि पुगेर सबैले चकित भएर वरिपरि हेरे । त्यो एउटा हरियो घाँसको चौटो बादलको समुद्रमा पौडिरहेको सानो टापुजस्तै लाग्थ्यो ।

त्यो काम्टेको धरती ?’ गीता खितखित् गर्दै हाँस्न थाली ‘क्या हाँसो उठ्तो नाउँ, काम्टे । थोत्रो ताप्के । हिः हिः हि.

“ज्यादा उत्ताउली नहोऊ गीता’ आशिषले गीतालाई हपार्यो ‘छेउतिर गएर खस्लिस्‌ ।’

‘हि: हिः हिः’ एउटा खितखिते हाँसो सुनियो । सबैले मुन्टो घुमाएर हेरे । यसपल्ट हिः हि: गर्ने गीता नभएर भकुन्डे भाइ थियो । ऊ परैदेखि हि: हिः गर्दै दगुर्दै आइरहेको थियो । ऊ उनीहरूको नजिक आएर रोकियो र सोध्यो ‘तिमीहरू कसरी आयौ ?’

‘हामी त सजिलैसँग आयौं ।’ अमरले हात मिलाउँदै भन्यो ‘हामी तिम्रो केही मदत गर्न सक्छौं कि भनेर आएका । यो धरती काम्टेको रे । ऊ बूढो के-नाम- के-रेको मिल्ने साथी हो । उसलाई बूढाको तर्फबाट चिया खाने निम्तो दिएर तल पठाउन सके हामी यहाँबाट भाग्न सक्छौं ।… तिमीलाई थाहा छ ?… काम्टे यहाँ कहाँ बस्छ ?’

‘जुक्ति त गजबको हो, तर त्यो काम्टे कहाँ बस्छ मलाई थाहा छैन’ भकुन्डे भाइले भन्यो “खोज्नु पर्छ ।’

“हो, खोज्नु त पर्यो’ अमरले चारैतिर हेरेर भन्यो यति सानो धरतीमा यतै कतै त बस्ला !… कहाँ जाला र ?… तर हामीले छिटो गर्नु पर्छ । यो घुम्ने धरती कुनबेला यहाँबाट सर्केर इन्द्रजाली रूखबाट टाढा पुग्ने हो । … टाढा पुग्यो भने फेरि उम्कन मुस्किल छ ।’

अनि उनीहरू चारैतिर काम्टेको घर खोज्न थाले । तर त्यस धरतीमा न कतै एउटा छाप्रो देखिन्थ्यो न कतै कुनै जीवात । त्यो पूरै शून्य र चकमन्न थियो ।… निराश भएर घुम्दाघुम्दै बल्ल उनीहरू एउटा गुफानिर आइपुगे । उनीहरू खुब खुसी भएर गुफाको मुखमा पुगे ।

यहीं हुनु पर्छ काम्टेको घर’ अमरले खुसी हुँदै करायो । उनीहरूले गुफाभित्र चियाए । त्यहाँ भित्तामा केही थोत्रा काम्टा (थोत्रा ताप्के र भाँडाकुँडा) टाँगिएका थिए । भित्रपट्टि अर्को कोठरीबाट भाँडाकुँडा बजेको टाङटाङ टुङटुङ स्वरहरू आइरहेको थियो ।

‘हिँड भित्र पसौं’ अमरले भन्यो र सबै भित्र पसे । भित्रपट्टिको कोठरीको ढोकामा उभेर उनीहरूले त्यस साँगुरो र अर्ध उज्यालो कोठरीमा हेरे । त्यहाँ एउटा काम्टाको माला लाएको, काम्टैको टोप लाएको एउटा अनौठो सानो मान्छे ताप्के बजाउँदै मस्तसँग नाच्दैथियो ।