Chovar Blues Mobile Size

होटलको आठौँ तलाको कोठा नं ४०८ मा पल्टिएकी छु यति बेला । नेपालबाटै कार्यक्रममा भाग लिन आएका उपन्यासकार दीपिका श्रुति, कथाकार कञ्चन दीप्ति, कवि रमा प्यासी र म छौँ कोठामा । मेरा आँखामा निद छैन । र, ती पनि सुतेका छैनन् ।

रातको लगभग १२ बजिसकेको छ । झ्यालबाट देखिने ग्याल्बस्टोन सहर बिजुली बत्तीमा चम्किरहेको छ । समुद्रमा बिजुलीको टहक परेर तिरमिर गरिरहेको छ । समुद्रका छालहरू आएर यो होटललाई छुँदै-जाँदै छन् । त्यो निर्मग्न समुद्रलाई हेर्छु । समुद्रले एउटा सम्भोगीय आवाज निकाली रहेको छ । वातावरण मादक भएको छ ।

यत्तिकैमा श्रुतिले भनिन्, “बुझ्यौ साथी हो ? साहित्यकारको यो महामेलामा एउटालाई फसाउने हो । देश पनि हेर्ने हो मुख पनि फेर्ने हो ।”

दीप्तिले थपिन् , “हो त नि । यी पुरुषलाई फसाउन धेरै प्रयत्न नै गर्नु पर्दैन । अघिपछि जति डुक्रे पनि महिला देखेपछि स्वात्त सकिन्छन् बिचरा ।”

मरीमरी हाँसेका छौँ ।

खेमराज पोखरेल

ती त कति मजाले प्यासा कुरा गरिरहेका छन् । उच्छृङ्खल हुँदै छन् । उन्मुक्त पो छन् । पुरुष लेखकहरूको को महिला लेखकसँग विशेष सम्बन्ध छ । को कोसँग पल्किएका छन् ? को कोसँग सल्किएका छन् ? कसको कृति कसले लेखिदिएको भन्ने कुराको पोथी नै रहेछ उनीहरूसँग । कुन पुरुष लेखकले लेखिदिएर कुन महिला लेखकलाई पुरस्कार हात लगायो ? कुन महिला लेखकले लेखिदिएर त्यो पुरुष लेखक भयो ? भन्ने बारेमा धेरै ज्ञान रहेछ उनीहरूको । लेखन, प्रकाशन तथा पुरस्कारका लागि कसरी साहित्यकारहरू आफ्ना-आफ्नीलाई सहयोग गर्छन् भन्ने कुराको त इन्साइक्लोपेडिया नै रहेछन् ।

ती त पुरुष लेखकलाई पटाउने कुरा पो गर्छन् । मौकामा चौका हान्ने कुरा गर्छन् र मरीमरी हाँस्छन् । ती कतिसम्म छाडा हुन सकेका हुन् कुन्नि ? तिनीहरूको कुरा सुनेर म आफैँ तीन छक्क परेकी छु । नेपालमा त यी कोही पनि यस्ता थिएनन् बाबै ।

सम्मेलनको कार्यक्रम भव्य छ । जीवन र जगतप्रति सारगर्वित साहित्यवाचन र चर्चा-परिचर्चा हुँदैछन् । संसारभरिबाट साहित्यकारहरू आएकाले सबैसँग साँच्चैको परिचय गर्न सम्भव छैन । परिचय भएकासँग पनि औपचारिक मात्र त हो ।

कार्यक्रमपछि एकदम गजबको पार्टी सुरु भएको छ । खाने तथा पिउने कुनै कुराको पनि कमी छैन । भेज-ननभेज, अमेरिकी एसियाली, अल्कोहल ननअल्कोहल सबै प्रकारका खाद्य तथा पेय पदार्थ छन् । जिन्दगी मग्नमस्ती छ यति बेला । फुकाफाल भएको छ जिन्दगी ।

ऊ त्यही पार्टीमा भेट भएको छ । स्कचको ग्लास बोकेर त्यही हुलमा छ ऊ । अग्लो । कपाल लामो पारेर चुल्ठो बनाएको । हाँसिरहने । गम्भीर पटक्कै नदेखिने छ ऊ । ऊ जोसँग पनि फ्याट्ट फोटो खिचिहाल्छ । फ्याट्ट बोलिहाल्छ । उटपट्याङ कुरा गरेर हाँस्छ । हँसाउँछ । हाँसिरहन्छ । कस्तो होला जति बेला पनि हाँसिरहने ? मान्छे ऊसँग धडाधड फोटो खिचिरहेका छन् । मलाई पनि किन किन ऊसँग फोटो खिच्न मन लागेको छ । र, समूह फोटोमा उसैसँग टाँसिएरै उभिएकी छु । मेरो घ्राणशक्तिले उसको शरीरबाट आउने इटालियन अत्तरको मन्द सुवास चाल पाएको छ ।

अचम्म त के भएको छ भने एकैछिनपछि ऊ मनजिक आएको छ । र, परिचय गर्छ ,” म राजाराम ‘विन्दास’ । उपन्यास लेख्न-पढ्न मन पराउँछु ।”

मैले पनि परिचयकै लागि औपचारिक तबरले भनेँ , “म वन्दना ‘बन्दी’ । कविता, मुक्तक, गजल लेख्छु ।”

उसले मलाई तलदेखि माथिसम्म हेर्दै भन्छ ,” कविवर वन्दना ! तपाईँसँग परिचय भएर म धन्य भएको छु ।”

कस्तो मिठो बोलेको छ उसले ।

त्यसो त ऊ जोसँग परिचय भए पनि यही भाषा बोल्छ । कुरालाई चिप्लित्त पारेर हल्का तबरमा बोल्छ । म उसलाई फरासिलो भनूँ कि फितलो भनूँ, उत्ताउलो भनूँ कि शालीन ?

अनि मैले भनेँ ,” तपाईंको जस्तो उपनाम त्यस्तै स्वभाव रहेछ । कस्तो मिलेको ? कसले राखिदियो यस्तो उपनाम ‘विन्दास’ ?”

उसले मलाई “तपाईँको उपनामको बारेमा भन्नु पर्दा …” भन्दै थियो । अर्को समूहबाट तानियो ऊ ।

साहित्यिक कार्यक्रम चलिरहेको छ । कार्यक्रमकै मध्यमा ऊ अचानक मनजिक आयो र भन्यो — “परिचय हुन पाएकोमा फेरि पनि धन्यवाद । यही बहानामा यहाँको अनुमति पाए कफीका लागि आमन्त्रण गर्छु । के भन्नु हुन्छ ?”

म अकमकिएँ । र भनेँ, “हुन्छ । अहिले नै हो र ?”

उसले भन्यो, अहिले होइन । कार्यक्रम सकिएपछि । होली डे क्लब रिजोर्टमा मेरो बसाइ छ । त्यहीँ गए हुन्न ?

सोचिरहेकी थिएँ कि साथी पनि भएपछि उसले केही नराम्रा कुराहरू गर्न पाउन्न । यदि उसको गलत ध्येय रहेछ भने त्यो पूरा हुनेछैन । त्यसैले कार्यक्रम सकिएपछि मैले पनि श्रुति, दीप्ति र प्यासीलाईसँगै लिएर गएँ ।

समुद्रले बजाएको छालको आवाज आइरहेको छ । रिजोर्टबाटै समुद्रको बालुवा किनारामा पुगिने व्यवस्था छ । त्यहाँ लगभग नाङ्गा महिला तथा पुरुषहरू समुद्रको छालसँग डुबुल्की मारिरहेका छन् । हामी एसियाका मान्छेलाई त यही दृश्य पनि कम रोमाञ्चक छैन । त्यसमाथि कोही समुद्रको नुनिलो पानीमा आफूलाई सुताएर चिसो बियरको चुस्की लिइरहेका छन् । सामुद्री किनारमा बग्रेल्ती मान्छेहरू पल्टिएका छन् । रमाइलो पनि कति गर्न जानेका हुन् कुन्नि यिनले ? तातो बलौटोमाथि पल्टिएर चिसो बियर पिउने कस्तो रमाइलो ? म त त्यसैत्यसै छक्क परेकी छु । सोचिरहेकी छु कि बियरका रन्कामा मनपरेको मान्छेलाई यही समुद्रका किनारमा न्युनवस्त्रमा टाँसिएर म्वाइँ खान पाउँदाको स्वर्गीय आनन्द कस्तो होला ? तर मलाई पक्कापक्की थाहा छ कि यो जुनीमा त यो कुरा सम्भव छैन ।

कफी समयमा जीवनजगतका बारेमा धेरै कुराहरू भए । साहित्य रचनाका बारेमा अन्तरनिहित कुराहरू भए । त्योभन्दा धेरै त श्रुति, दीप्ति र प्यासीले मस्किएर मजा लिए । छोएर मजा लिए । टाँसिएर मजा लिए । फोटो खिचेर मजा लिए । छँडुल्लीहरू ।

उसले भन्ने कुराहरू नवीन छैनन् । सुनिरहेकै कुरा छन् । तर कुरा भन्ने अन्दाज भने गजबको छ । ऊ भन्दै छ, “म असत्य हुँ । जन्म सत्य हो । मृत्यु सत्य हो । ती दुवै कुरा मेरा वा हाम्रा वशमा छैनन् ।

 -जन्म र मृत्यु बिचको यो श्वास फेर्ने जीवन सत्यभित्र असत्य हो । असत्यभित्र सत्य हो । जसरी बुझे पनि भयो ।

 -हामीलाई जे बुझेजस्तो लाग्छ त्यो भ्रम हो । हामीले हिँडिरहेको बाटो सही हो जस्तो लाग्छ त्यो भ्रम हो । त्यो भ्रम हो, त्यसैले सत्य हो । सत्य भन्नु पनि अनुमान मात्र त हो । भौतिक कुरा केही होइन ।

-अध्यात्मवाद तथा भौतिकवाद दुवैले यही भन्छन् । तर मान्छेले त्यसको अलग र आफूअनुकूल व्याख्या गरेर आफ्नो जीवनलाई रुमलिरहन्छन् । दुःख पाइरहन्छन् । दुःख पाएको अनुभूति लिएर जीवन चलाउँछन् । लडेर जाने गाईलाई रामराम भन्न सकिन्छ सँगै मर्न त सकिन्न नि !

 -एक पल्टको जुनी हो हाम्रो भन्ने कुरा पनि बिर्सन्छन् । अनि आफ्नै जीवनलाई विविध साङ्लाले बाँधेर पिल्सिन्छन् । आफैँलाई चिन्दैनन् । आफ्नै पिरलोको खोर आफैँ निर्माण गर्छन् । न त अध्यात्मवादले भनेको ‘आफैँलाई चिन’ भनेको कुरा बुझ्छन् न त भौतिकवादले भनेको ‘एक पल्टको जुनी हो, मोज गर’ भन्ने कुरा बुझ्छन् । र, त्यसैत्यसै समग्र जीवनसँग डराएर आफूलाई सुली चढाउँछन् ।

उसले अचम्मकै दर्शन फलाकेको छ । कफीको निम्तो पनि सकिएको छ । र हामी फिरेका छौँ । दिनभरिको थकानले चुर भएकाले ओछ्यानमा पल्टिएकी छु । मेरा मनमा कुराहरू आइरहेका छन् । आज किन व्यर्थै साथीहरू लिएर गएँ ? केही अपुग भयो कि ? सायद केही गल्ती पो गरेँ कि ?

अनि उसलाई म्यासेज लेखेँ, “आजको कफीको लागि धन्यवाद विन्दासजी ।”

उसले पनि तत्काल जबाफ फर्कायो, ” रमाइलो भयो । के थाहा यो संसारमा कतिन्जेलको पाहुना हौँ हामी ? बाँचुन्जेल न हो हामीले रमाइलो गर्ने ? म यो सहरमा बसुन्जेल कम्तीमा कफीका लागि सधैँ निम्तो छ । श्रुति, दीप्ति तथा प्यासी म्यामहरू पनि रमाइला हुनुहुँदो रहेछ । आउँदा सँगै लिएर आउनु भए पनि हुन्छ ।”

उसको यो कुराले मलाई कताकता इर्ष्या लागेर आएको छ । महिला देखेपछि कसरी लेपासिन सकेको हो कुन्नि ऊ ? कसरी छिल्लिन सकेको हो कुन्नि ? तर फेरि पुरुष लेखक पटाउन तयार रहेका श्रुति, दीप्ति तथा प्यासीले मेरो नै केही भाग खोसेकी भन्ने किन लागेको होला मलाई ? अचम्म लागिरहेको छ, उफ ! मेरो मनोदशा किन यस्तो भएको होला ?

चौथो दिन पनि कार्यक्रम चलिरहेको छ । म अनायास ऊनजिक पुगेकी छु । कार्यक्रम सकिएपछि म एक्लै ऊसँग कफीको लागि निस्किएकी छु । उसलाई भनिदिएकी छु कि श्रुति, दीप्ति तथा प्यासीको काम छ रे ।

यो सुनेर उसमा कुनै हर्ष वा विस्मात्का रेखाहरू देखिएनन् । होली डे क्लब रिजोर्टमा पुगेका छौँ ।

एकछिन सन्चो सुबिस्ताको आदानप्रदान हुनेबित्तिकै उसले मलाई भन्यो, “हेर्नु होस् कविवर ! मलाई त तपाईँको यो ‘बन्दी’ उपनाम नै मन परेको छैन । कसरी जीवनसँग निराशा उत्पन्न हुने उपनाम राख्नु भयो तपाईँले ? तपाईँको उपनाम त अबन्दी हुनुपर्ने । बन्द हुन नचाहने । विद्रोह गर्ने । हो कि होइन ? लौ भन्नु त ? जीवनलाई बन्दी किन बनाउने हँ ?”

अनि मैले भनेकी छु, “यो उपनाम राख्ने मुख्य कारण दुई छन् । प्रथमतः यसरी उपनाम राख्यो भने नेपालको चरम जातिवादी संस्कृतिको मारबाट टाढा हुन पाइन्छ । अर्को कुरा यो समाजमा महिला हिजो पनि बन्दीकै अवस्थामा थिए । आज पनि छन् । सायद भोलि पनि रहिरहने छन् । हो कि होइन ? लौ भन्नु त ?”

मेरो प्रश्न सुन्नेबित्तिकै उसले भन्यो, “परम्परागत रूपले तपाईँले भनेका कुरा हुन् । तर मान्छेले आफ्नो बन्दी अवस्थाको निर्माण आफैँले गर्छ । त्यही बन्दीपनलाई आदर्श ठान्छ । जिन्दगी ठान्छ । व्यवहार ठान्छ । एक झट्कामा चुँडिन्छ त्यो । तर चुँडाल्न पनि नखोज्ने अनि बन्दी पनि भएँ भन्ने नेपाली मान्छेको प्रवृत्ति हो । तपाईँको यो उपनामले त्यही कुराको सङ्केत गर्छ ।”

“भो भो, तपाईँ पुरुष हुनुहुन्छ । अमेरिकामा बस्नुहुन्छ । त्यसकारण तपाईँलाई महिलाको बन्दी जीवनको कुरा के थाहा ? नेपालको सामाजिक सांस्कृतिक अवस्थाको जटील कुरा के थाहा ?” मैले पनि उसलाई घैँटामा घाम लाग्ने गरी भनिदिएकी छु ।

उसले भन्यो, “कविवर बन्दी ! म आफ्नो बारेमा बताइदिन्छु ताकि हामीलाई कुरा गर्न सजिलो होस् । म खुला विचार राख्ने मान्छे हुँ । खुला विचार भन्नाले तपाईँ मलाई स्वतन्त्रतावादी भन्न सक्नु हुन्छ । समानतावादी पनि भन्न सक्नुहुन्छ । स्वच्छन्दतावादी पनि भन्न सक्नु हुन्छ । म बोस्टनमा बस्छु । तर मैले बाँचेको संसार नेपाल नै हो । नेपालका सबै सांस्कृतिक, सामाजिक, राजनीतिक तथा मनोवैज्ञानिक कुराहरू सँगै लिएर आएका छौँ । तिनै कुराको बन्दी हुने हो भने यहाँ पनि बन्दी नेपाली मान्छेको कुनै कमी छैन । त्यो बन्धन त तोड्ने हो । आफूलाई ठिक लागेको गर्ने हो । आफ्नो जीवनसँग आफैँ इमान्दार हुने हो । आफ्नै जीवनलाई बन्दी उपमा दिएर कतिन्जेल पिल्सने हो र ?”

म एकछिन चुप लागेको छु । अलि ऊतिर सर्दै उसलाई नजानिँदो तरिकाले छोएकी छु । मैले उसलाई छोएको चाल नपाएजस्तो गरेको छ उसले । थप नछोइयोस् भनेर नजानिँदो तरिकाले अलि पर सरेको छ । र, उसले मेरो अनुहारमा हेरेर भनेको छ, “कविवर बन्दी ! पहिले तपाईँ र मैले अनौपचारिक कुरा गर्नका लागि हाम्रो बिचको सम्बन्धको तात्पर्य बुझ्नु पर्छ ।”

“सम्बन्धको तात्पर्य किन खोज्नु पर्छ र ? कुरा गर्ने त भाषाले हो नि ।” मैले प्रतिप्रश्न गरेकी छु ।

उसले उत्तर दिएको छ, “भाषा त भाषा नै हो । तर एउटै भाषामा पनि बाबुआमा, साथीभाइ, श्रीमती, छोराछोरी, बहिनी वा गर्ल फ्रेन्डसँग बोलिने भाषा तथा शैली फरक हुन्छ । यो कुरा बुझ्नु आवश्यक छ ।”

“सम्झनु न म तपाईँकी एउटा साथी हुँ ।” मैले सरल तरिकाले भनेँ ।

उसले थप्यो, “साथी भनेर मात्र पनि हुन्न । अन्तरङ्ग र बहिरङ्ग साथी हुन्छन् । बहिरङ्ग साथीसँग त फेरि पनि औपचारिकता मात्र हुन्छ ।”

“सम्झनुहोस् न म अन्तरङ्ग साथी हुँ ।” मैले पनि भनेकी छु ।

“अन्तरङ्ग साथीसँग त जे पनि कुरा हुनसक्छ । जे पनि भनेको जे पनि हो । त्यसमा रिसाउन, अर्ती उपदेश वा घृणा गर्न पाइन्न नि फेरि” उसले कुराको गम्भीरता झिक्यो ।

मेरा मनमा लाग्यो कि हद होला यौनका कुरा गर्ला । कुरै गर्दा त के बिग्रन्छ र ? यत्तिको मान्छेले यौनको निम्छरो भाषा प्रयोग नगर्ला नि । अनि मैले भनेकी छु, “कुरै गर्न त केको आपत्ति र ?”

अनि उसले भन्यो, “घरमा पत्नी छिन् । तर म एक पत्नीवाला मान्छे होइन ।”

अचम्म रहेछ ऊ त । कति सजिलै विवाहेत्तर सम्बन्धका बारेमा भन्न सकेको हो । अनि यही मौकामा मैले पनि सोधेकी छु, “एउटा प्रश्न गर्छु तपाईँलाई । भन्नुहोस् त मान्यवर ! विवाहेत्तर सम्बन्ध स्थापना गर्न तपाईँ किन हिचकिचाउनु हुन्न ?”

“यो प्रश्नको जबाफ दिनका लागि कुन समाजलाई आधार मान्ने हो भन्ने प्रमुख कुरा हो । अमेरिकी समाजलाई आधार मानेर भन्ने हो भने विवाहेत्तर सम्बन्ध अपराध हो । धोखा हो । ठगी हो । आवश्यकता पूरा नभए पारपाचुके गरेर आआफ्नो बाटो लागे भयो । तर नेपालको समाजलाई हेरेर भन्ने हो भने विवाहेत्तर सम्बन्ध बाध्यता हो ।” उसले एक सट्कामा जबाफ दिएको छ ।

“किन र ? नेपालका श्रीमान् श्रीमतीले पारपाचुके गरेर बसे हुन्न ? गरिआएकै छन् । अनि विवाहेत्तर सम्बन्धको आवश्यकता किन ?” मैले पनि प्रतिप्रश्न राखेकी छु ।

‘हुन्छ । तर नेपालमा पारपाचुकेपछिको महिलाको जीवन झन् दर्दनाक हुन्छ नि । भएको बनाएको सबै भत्कन्छ र नयाँ बन्ने प्रक्रिया धेरै दुरुह छ । जोखिमका हिसाबले पारपाचुकेभन्दा विवाहेत्तर सम्बन्ध नै ठिक होला ।’ उसले भनिहाल्यो ।

अनि फेरि भन्यो, “विवाहको अर्थ धेरै गहन हुन्छ । शारीरिक सम्बन्ध मात्र पनि विवाह होइन, साथी मात्र पनि विवाह होइन, सुख दुःख साट्ने मात्र पनि विवाह होइन । हिन्दु दर्शनमा विवाह भनेको प्रणय हो । प्रणय भनेको श्रीमान् तथा श्रीमती एकअर्कामा अन्तरघुलन हुने हो । तर प्रश्न त्यति बेला उठ्छ कि जब नेपाली दम्पती अन्तरघुलन हुनका लागि अलगअलग स्वार्थ राख्छन् तब अन्तरघुलन हुने कुरा नै आउँदैन । अनि पारपाचुके गर्न  पनि समाजले दिँदैन । अन्तरघुलन हुन पनि सकिँदैन भने के गर्ने त ?”

उसले मलाई सोध्यो, “कविवर वन्दना ! साँच्ची भन्नु त, तपाईँ आफ्नो श्रीमानसँग सन्तुष्ट हुनुहुन्छ ?”

उसको अनपेक्षित प्रश्नले म आत्तिएकी छु । म के भनूँ ? ढाँटूँ कि साँच्ची भनूँ ? तर पनि केही त भन्नु नै थियो । अनि मैले भनेँ, “कस्तो एकदम निजी प्रश्न सोध्नु भएको मान्यवर ? यस्तो प्रश्नको म के उत्तर दिऊँ ?”

अनि उसले भन्यो, “हो त्यो तपाईँको निजी कुरा हो । भन्न नचाहने हुँदा नभने पनि भयो । तर भन्नु र नभन्नुले समस्यामा त केही फरक पर्दैन नि । नभनेर समस्या समाधान हुने कुरा पनि त भएन । अब एउटा अन्तिम प्रश्न, “के मन मिल्यो भने तपाईँ र म सहवास गर्नसक्छौँ ?”

“मान्यवर ! तपाईँलाई थाहै छ कि म कसैकी श्रीमती हुँ ।”

“हो त्यो कुरा थाहा छ । म पनि त कसैको श्रीमान् हुँ ।”

“समाजमा मेरो इज्जत छ ।”

“इज्जतै नभएको त म पनि कहाँ हूँ र ?”

“साँच्ची भनूँ मान्यवर, म लोग्नेसँग असन्तुष्ट भएर नै बाँचेकी छु ।”

“प्रकारान्तरले मेरी स्वास्नी पनि कामयावी छैनन् । म पनि असन्तुष्ट छु । अब के गर्ने ?”

हामी दुवैले निधो गरेका छौँ कि यो समस्या जटिल छ ।

ऊ फेरि त्यही समस्याका बिचोबिच घुम्दैछ । अनि मैले उसलाई भनेकी छु, “यस्तो अवस्थामा के गर्नु श्रेयस्कर होला ?

उसले त सहज तरिकाले भनेको छः

—पहिलो र सबभन्दा राम्रो तरिकाले समस्याको समाधान भनेको पारपाचुके गर्ने हो । यसका लागि सांस्कृतिक, सामाजिक, आर्थिक आँट चाहिन्छ । जिन्दगीका दलानमा लागेको त्यो भत्कोस् झेल्ने आँट छ छ तपाईँमा कविवर ?

—दोस्रो कुरा भनेको विवाहेत्तर सम्बन्ध राख्ने हो । नेपालतिर व्यापक मात्रामा अवलम्बन गरिएको यही तरिका हो । यो तरिकामा मनभित्र आँट मात्र भए पुग्छ । गोप्यता जरुरी हुन्छ यसमा । गोप्यता राख्न सके जोखिम न्युन हुन्छ यसप्रकारको समाधानमा । तपाईँमा त्यो खाले आँट छ ?

—तेस्रो तरिका भनेको विज्ञानले दिएको कृत्रिम साधनको प्रयोग हो । यो तरिकामा पैसा र मन भए पुग्छ । जोखिम केही छैन । केवल कुरौटे समाजमा कुरा चुहाउन हुन्न । तर त्यो अप्राकृतिक प्रकृया हो । के तपाईँ तयार हुनुहुन्छ यसका लागि ?

—चौथो याने कि अन्तिम कुरा भनेको आदर्शवादी भएर कुण्ठामा जीवन चलाए भयो । जसरी कि नेपालका आम पुरुष तथा महिला यस्तै कुण्ठामा बाँच्छन् । यसका लागि रोदन, क्रन्दन तथा गुनासा मात्र गरे पुग्छ । आँसु र गुनासामा बाँच्ने बानी पर्छ बिस्तारै । हो यो तरिकामा बाँच्नु हुन्छ भने तपाईँको बन्दी उपनाम एकदम ठिक छ ।

         ***********

 

छैटौँ दिन कार्यक्रम थिएन । तर म तानिएर उसको होटल पुगेकी छु । समुद्रमा करिबकरिब नग्न मान्छेहरू पानीसँग खेल्दै छन् । बेलाबेलामा तिनीहरू म्वाइँ खाइरहेका छन् । म एकाग्र भएर ती म्वाइँ खाइरहेका जोडीलाई हेरिरहेकी छु ।

उसले मौनतालाई तोड्दै भनेको छ, “कविवर ! यत्ति सहज चुम्मा खान पनि नेपालमा अश्लील मानिन्छ । अनि भुत्रो स्वतन्त्रताको कुरा गर्नु ?”

मैले भनेँ, “हो नि ।”

अनि उसले भन्यो, “अमेरिकामा म्वाइँ खाने पनि अर्थ हुन्छ । त्यही म्वाइँका आधारमा तिनीहरूको सम्बन्ध केलाउन सकिन्छ ।”

मलाई अचम्म लागेको छ । अनि मैले सोधेकी छु, “म्वाइँ भनेको म्वाइँ त हो नि । केको अर्थ होला र ?”

अनि उसले भनेको छः

गाला घर्षण मात्र — औपचारिकता मात्रको सम्बन्ध हो ।

 गालामा म्वाइँ खाने — मिल्ने साथी वा प्रिय जनको सङ्केत हो ।

ओठमा तथा जिब्रोमा म्वाइँ खाने — शारीरिक सम्बन्ध भएको वा हुन तयार रहेको भन्ने अर्थ हो ।

बुझ्नु भयो ? अब भन्नुस् कवि वन्दना, तपाईँ मलाई कुन खालको म्वाइँ खानुहुन्छ ?”

सातौँ दिन कार्यक्रम चलिरहेको छ । म आफैँले उसको रिजोर्टमा गएर कफी पिउने प्रस्ताव राखेकी छु । समुद्र परपरसम्म देखिँदै छ । कामुक भएको छ परिवेश । म ऊसँग नजिकै गएर बसेँ । उसको ढाड सुम्सुम्याएँ । अनि त अहिलेसम्म मलाई छुनसम्म आँट नगरेको उसले मेरो शरीर छाम्यो—मैले नाइँ भनिनँ । ओठमा ओठ जोड्यो—मैले नाइँ भनिनँ । जिब्रोमा जिब्रो जोड्यो—मैले नाइँ भनिनँ । अनि उसले मलाई भन्यो, “अब अन्तिम खुट्किलो बाँकी छ ।”

म चुप लागेको देखेर उसले फेरि भन्यो, “मलाई थाहा छ, अलिकति इमोस्नली प्रयत्न गरेँ भनेँ तपाईँ अहिले नै त्यो खुट्किलोको लागि तयार हुनुहुन्छ । तर तपाईं नेपाली चलनमा पाइने महिलाले दिने र पुरुषले लिने मान्यताबाट प्रभावित हुनुहुन्छ । म त्यो मान्यतालाई हेट गर्छु । दुत्कार्छु । प्रकृतिले महिला र पुरुषलाई विशिष्ट प्राकृतिक गुण दिएको छ । ती दुवै एकअर्कामा आकर्षित हुन्छन् । महिलालाई पुरुष नै चाहिन्छ । पुरुषलाई महिला नै चाहिन्छ भने केको लिने र दिने ? हामी दुवैसँग भएका प्राकृतिक कुराको एकअर्काले बराबरीको हैसियतमा भोग गर्ने हो । यो कुरा प्राकृतिक अधिकार पनि हो ।”

म फेरि पनि चुप लागेकी छु । म चुप लागेको देखेर उसले भनेको छ, “तपाईँ फेरि पनि जीवनलाई मजाले सोच्नुहोस् । आफूले गरेको निर्णयमा आफैँ पछुताउने मान्छे बेकामे हो । फाल्तु हो । आज रातभरि यो बारेमा सोच्नुहोस् । भोलि फेरि यही बेला यही होटलमा आउनू । त्यसको अर्थ हुन्छ कि तपाईं अन्तिम खुट्किलोको लागि भौतिक, मानसिक तथा समग्र दृष्टिले तयार हुनुहुन्छ । मनमा कुनै कुराको द्विविधा नराखीकन आउनू । आफ्नो जिन्दगी आफैँले बाँच्ने हो । नवौँ दिनको आगमन यसरी हुँदैन । कार्यक्रम सकिन्छ । मैले बोस्टन फर्किनु पर्छ । सायद तपाईँले पनि फर्किहाल्नु पर्छ । त्यसपछि पृथ्वी गोलो छ भन्दैमा भेटिन्छ भन्न पनि सकिन्न । भेटियो भने सुखद संयोग मात्र हो । भेटले मात्र पनि अन्तिम खुट्किलो चढ्न पाइन्छ भन्नु छैन । समय उसैगरी आउन्न । अनेकन चाँजो मिलाउनु पर्छ । रमाइलो मान्नुहोस् या नरमाइलो, तपाईँको आफ्नो कुरा हो । आफ्नो निर्णय हो । बन्दी बन्नुहोस् या अबन्दी तपाईँको कुरा हो ।”

आठौँ दिनको कार्यक्रमको समापनपछि म उसको होटलको गेटबाट भित्र पसेकी छु । ऊ बसेको कोठा देखिएको छ । पर्दा खोलिएको कोठालाई सिसाका पारदर्शिताबाट प्रस्टसँग मेरा आँखाले नियालेका छन् । ऊ मलाई पर्खेर मस्तसँग बसेको छ । कपाललाई पछिल्तिर लगेर लामो पारेर बाँधेको छ । हल्का गुलावी कुर्ता लगाएर बसेको छ । हेर्दा झन् कामुक देखिएको छ । उसको कोठाको ढोकामा पुगेकी छु । कलबेल थिच्न चोर औँला सोझ्याएकी छु । र, टक्क अडिएकी छु । उफ ! म बन्दी कि अबन्दी ?