हुन त सबै कवि आआफ्नै भावको गङ्गामा सयर गर्दछन्, सबै यात्रालाई उतारिरहेका हुन्छन् । हड्सनले भनेझैँ सबै कवि आफैँलाई अभिव्यक्त गरिरहेका हुन्छन्, यात्रा नै गरिरहेका हुन्छन्, त्यो यात्रा भूगोलको होस् वा भावको, सागरको होस वा सगरको । यात्रा कल्पनाको पनि हुन्छ वा यथार्थको पनि । कहिलेकाहीँ त कविहरु स्वेरकल्पनामा पनि यात्रा गर्छन । यहाँ चर्चा गर्न खोजिएको चाहिँ यात्राको भन्दा पनि यात्राकाव्यको हो र सन्दर्भमा समेट्न खोजिएका छन् यात्राकाव्यकार प्रह्लाद पोखरेललाई । कवि पोखरेलको पूरै काव्ययात्रालाई होइन, उनको यात्राकाव्यलाई मात्र हो । आफ्ना काव्ययात्राका केही सिर्जनालाई यात्राकाव्यको स्वरुप दिएका छन् कवि प्रह्लाद पोखरेलले ।

कवि पोखरेलले वि. सं. २०३५ तिर नै कविता सिर्जना गरेका थिए । कृतिका रुपमा भने २०४२ मा संयुक्त कविता सङ्ग्रह ‘आजको आकाश’ प्रकाशन गरेका थिए । त्यसपछि ‘गीति–यात्रा’ (गीति कविता सङ्ग्रह, २०५१), ‘जीवन्त यात्रा’ (कविता सङ्ग्रह, २०५२), ‘सारथि’ (कविता सङ्ग्रह, २०५८), ‘खोटाङ डायरी’ (डायरीकाव्य, २०६१), ‘कुहिराको कम्बल’ (कविता सङ्ग्रह, २०६२), ‘जनकपुरधाम’ (लघुकाव्य, २०६१) ‘आजको आकाश’ (संयुक्त कविता सङ्ग्रह), ‘नव–शेष गाथा’ (स्मृतिकाव्य, २०६८) र ‘अक्षर आरधना’ (कविता सङ्ग्रह, २०७५) काव्यकृतिहरु प्रकाशन गरिसको छन् । यात्राकाव्यका रुपमा भने तीन कृतिहरु ‘गोसाइँकुण्ड’ (२०५६), ‘काव्ययात्राः गोसाइँकुण्ड’ (२०६५) र ‘आस्थाको गन्तव्य’ (२०७१) सिर्जना गरेका छन् । अक्षर आराधनामा उनका यात्राकाव्य नभनिएका कृतिहरुमा पनि यात्रा विम्ब पाइन्छ, प्रकृति–जीवन–अनुभूतिको गतिशील चित्र पाइन्छ ।

कवि प्रह्लाद पोखरेल

विश्व साहित्यको इतिहास केलाउँदा यात्राकाव्य, यात्रा आख्यान, यात्रा वर्णन लेखहरु साहित्य सिर्जना इतिहासदेखि नै पाइन्छन् । यात्राका इतिहास र यात्राकथनहरु पाइन्छन् । पूर्वीय साहित्यमा त श्रुति–स्मृतिका रुपमा पनि तिनीहरु जीवन्त देखिन्छन् । पश्चिमी साहित्यमा होमरको ‘ओडिसी’ र दाँतेको ‘डिभाइन कमेडी’ यात्रा र यात्री र युगको वर्णन पाइन्छ । जोहन व्यूनानको ‘पिल्ग्रम्स प्रोग्रस’ मा आत्मिक यात्राको कलात्मक प्रस्तुति छ । त्यस्तै जोनाथन स्वीफ्टको ‘गुलिभर्स ट्राभल’ यात्राको उत्कृष्ट प्रस्तुति हो । पश्चिमी साहित्यका उपन्यासहरुमा यात्राले गहकिलो प्रवेश पाएको छ । जस्तो कि मिकोलिन आहारोनियनको ‘द न्यू अमेरिका’, तावेइ सालिनको ‘माइग्रेसन टु द अर्थ’, इटालिाये काल्भिनोको ‘इन्भिजवल सिटी’ आदि । यात्रा साहित्य त थिएन तर सन् १४९२–१५०४ सम्म इटालियन खोजकर्ता क्रिस्ठोफर कोलम्बसले गरेको यात्राले अमेरिका मात्र पत्ता लगाएन, जसले विश्वलाई ज्ञान र सम्बन्धको क्षितिज उघारिदियो । त्यस्तै सन् १८३० मा फ्रेन्च समाजशास्त्री अलेक्सी डी टुकेभेलीले अमेरिकाको यात्रा गरेपछि त्यहाको नागरिक सङ्गठन र नागरिक सक्रियता बारेमा लेखेको पुस्तक ‘डेमोक्रेसी इन अमेरिका’ ले प्रजातन्त्रका बारेमा विश्वलाई नै गहन शिक्षा दिन पुग्यो । यसर्थ यात्राले ज्ञान र शिक्षाको प्रवाह गर्छ, दृश्य मात्र टिप्दैन, दृश्यमाथि दृष्टि दिन्छ र संसारलाई केही भए पनि सन्देश दिन्छ । यात्रा साहित्यले यात्राले यी कुरालाई कलात्मक कलेवरका साथ नयाँ प्रभाव समेत उत्पादन गर्ने गरी काव्यिक व्यापार गर्दछ ।

नेपाली साहित्यमा अगिल्लो शताब्दीको अन्ततिरबाट यात्रा साहित्य सुरु भएको पाइन्छ । तर यस सम्बन्धी विस्तृत खोज अनुसन्धान भएको पाइँदैन । साहित्यकार जय छाङ्छाले आलेख साहित्यिक मासिकको अङ्क ४८ (गुरुप्रसाद मैनाली विशेषाङ्क) मा साहित्यिक त्रैमासिक ‘उन्नयन’ को २०५१ को अङ्कमा विद्वान् प्रकाश ए राजको लेखलाई यसरी उद्धरण गरका छन् ‘…सिद्धहस्त कथाकारका रुपमा नेपाली भाषाको साहित्याकाशमा उदाउनुभन्दा एक दशकअघि नै यात्रासाहित्यकारका रुपमा मैनाली देखा पर्दछन् । यस पङ्क्तिकारलाई थाहा भएसम्म उनको पहिलो साहित्यिक यही (नियात्रा ?) हो र यसलाई लेख्न प्रेरणा दिने हेमराज देखिन्छन् ।’ नियात्राकार गुरुप्रसाद मैनालीले वि. सं. १९८१ पौष २८ देखि ए फागुन ८ गतेसम्मको यात्रालाई दैनिक्यात्मक नियात्राका रुपमा ‘श्री ५ मुमाबडामहारानीका तीन धाम सवारीको दैनिक विवरण’ अन्तर्गगत सिर्जना गरेका छन् (जय छाङ्छा, आलेख मासिक ४८ अङ्क) । गुरुप्रसाद मैनालीको कथाव्यक्तित्व तारानाथ शर्माका कारण प्रकाशमा आयो तर यात्रा साहित्यको विषय छाँयामा परेको कतिपयको ठम्याइ छ । तर तारानाथ शर्माको रत्नश्रीमा २०२३ मा छापिएको ‘मेनाइ साँघुको मेला’ लाई बालकृष्ण पोखरेलले ‘नियात्रा’ नामकरण गरेको देखिन्छ, जुन त्यसपछि छापिएको ‘बेलाईततिर बरालिँदा’ नियात्रा निबन्धसङ्ग्रहमा समावेश छ । यात्रा साहित्यमा निजीकुरा समेत भएपछि नियात्रा हुन्छ भन्ने धारणा बालकृष्ण पोखरेलको थियो । यस अर्थमा पहिलो (नि) यात्रानिबन्ध ‘बेलाईततिर बरालिँदा’ हो र प्रथम प्रयोक्ता थिए तारानाथ शर्मा । तारानाथ शर्माको यस कृति प्रकाशनपछि नियात्रासाहित्यको पहिचान र महत्त्व विस्तार भएको पाइन्छ ।

गोपी मैनाली

तर यात्राकवितालाई यात्राकाव्यको रुप दिने काम कहिले भयो भन्ने अनुसन्धान नभए पनि प्रह्लाद पोखरेलको गोसाइँकुण्ड (२०५), काव्ययात्राः गोसाइँकुण्ड (२०६५), आस्थाको गन्तव्य (२०७१), भुवनहरि सिग्देलको खगोल (२०६६), ठाकुरप्रसाद छाँगाको ‘लण्डन आइबाट’ (२०६९) र ‘नायग्रा छाँगा’ (२०६९), रामप्रसाद ज्ञवालीको ‘हिँडी रहूँ हिँडी रहूँ’ (२०७२), शम्भुकुमार मिलनको ‘आँखामा जापान मनमा नेपाल’ (२०७३) उल्लेख्य छन् ।

पूर्वीय हुन् वा पश्चिमी साहित्यको यात्राकाव्यमा तीन चरित्र समान रुपमा रहेको पाइन्छ । पहिलो बिम्बहरुको प्रयोग, प्रकृति र परिवेशको वैयक्तिकरण र प्रस्तुतिमा प्रतीकात्मकता । अर्को शब्दमा भन्दा यात्राकाव्यले जीवनयात्रा, प्रकृति र अनुभूतिलाई कलात्मक ढङ्गले प्रस्तुति गर्दछ । यात्राकथन सबैले गर्न सक्दछन्, तर त्यसलाई कला–कलेवर, लय–गेयात्मकता, शाब्दिक दृश्य संयोजन यात्राकाव्यले मात्र गर्न सक्तछ । यही कलाकर्म कवि प्रह्लाद पोखरेलले गरेका छन् ।

यात्राकाव्यकार प्रह्लाद पोखरेल वृत्तिसेवा र सार्वजनिक जिम्मेवारीमा जहाँजहाँ पुगे, त्यहाँको आफ्नो यात्रा, त्यहीको प्राकृतिक भावोच्छालमा डुबुल्की मारेर अनुभूति उठाउन खप्पिस छन् । उनलाई थाहा छ यात्रा जीवन हो, यात्राले शक्ति, ऊर्जा र उत्साह दिन्छ । सपना देखाउँदैन तर सामर्थ्य दिन्छ, संस्कृति र संस्कार सिकाउँछ र व्यावहारिक ज्ञान दिन्छ । यात्राको सन्दर्भमा उनको धारणा छः

‘यात्रा जीवन हो अमूल्य धन हो भण्डार हो ज्ञानको
यात्रा जीवनको नयाँ क्षितिजमा पस्ने खुला द्वार हो
यात्रा जीवन–राजमार्ग पनि हो यात्री सबै दौडिने
गैह्रो जीवन–पोखरी छ, कसरी यात्राविना पौडिने ?’

(प्रस्थान यात्रा, काव्ययात्रा गोसाइँकुण्ड) ।

प्रसिद्ध धार्मिक स्थल गोसाइँकुणको यात्रा त कैयनले गरेका छन्, त्यहाँको जटिल भूगोल र मीठा दृश्यहरुलाई धेरैले क्यामरामा कैद पनि गरेका होलान । यात्राका स्वाद सौन्दर्यलाई शब्दमा भने कमैले उठाएका छन् । गोसाइँकुण्डको यात्रामा सबै यात्रीले यस्तै अनुभूति संगालेको हुन्छ, एकसाथ थकाइ र आनन्दको अनुभूति, जसलाई कवि पोखरेलले शब्दमा उतारेका छन्ः

‘यात्राको थकाइ रम् रम् अहो ? विश्राममा स्वाद छ
मीठो भोजनको छ गाँस गतिलो स्वर्गीय आस्वाद छ
वार्ताको क्रममा छ पर्यटनको चासो गुनासो पनि
हाम्रा जाग्रत पाइला अघि सरे उत्फुल्ल यात्री बनी ।’

(आरोहण यात्रा, काव्ययात्रा गोसाइँकुण्ड) ।

कविले यात्रालाई प्रतीकीय रुपमा जीवनको सापेक्ष्यमा हेरेका छन् । प्रत्येक यात्राको थालनी, आरोहण, अवरोहण समाप्ती हुन्छ । जीवनरुपी यात्रामा मानिसले जीवनको यात्रा गर्छ, थालनीका पाइलाहरु सजिला हुन्छन्, आरोहण सङ्घर्षमय हुन्छ तर सकी नसकी आरोहण गर्नुपर्छ । सफलताको स्वाद मीठो हुन्छ, तर सधैँ त्यही अड्न कहाँ पाइन्छ र ? गोसाइँकुण्ड यात्राको प्रस्थानका पाइला, आरोहणको चढाइ, परिभ्रमणको आनन्द, अवरोहण झराइ र आगमनको फिर्ती, जसले यात्रालाई समापनमा पुर्याइ यात्रालाई स्मृतिचित्रमा सीमित पारिदिन्छ । गोसाइँकुण्डलाई प्रतीक बनाएर कवि सबै यात्री (जीवनयात्रा गर्ने) लाई सत्कर्मको सन्देश दिन्छन्ः

आफ्नो कर्म खुला छ शिवको ‘सत्यं शिवं सुन्दरम्’
आफनो कर्म उदार नित्य उनको ‘सत्यं शिवं सुन्दरम्’
भित्री मर्म सधैँ जागृत हुने ‘सत्यं शिवं सुन्दरम्’
प्राणी पालनमा समर्पित हुने ‘सत्यं विं सुन्दरम्’ ।

(परिभ्रमण यात्रा, काव्ययात्रा गोसाइँकुण्ड) ।

‘आस्थाको गन्तव्य’ कवि प्रह्लाद पोखरेलको अर्को बेजोड यात्राकाव्य हो । उनी सरकारी कामको सिलसिलामा दोलखा रहँदाको यात्रा र अनुभूतिको शब्दचित्र हो यो । शब्दभन्दा माथि भावचित्र हो, भावभन्दा पनि माथि प्रकृतिप्रेम र ग्रामीण जीवनसंस्कृतिको बिम्ब हो । नेपालको स्वीजरल्याण्ड मानिने जिरी, नेपालको दार्जिलिङको छनक दिने चरिकोट,पौराणिक महत्त्वको दोलखा भीमसेन, धार्मिक महत्त्वको कालिञ्चोक, देउलाङ्गेश्वर, प्रकृतिकका मनोरम स्थल जटापोखरी, सैलुङ, च्छोरोल्पा, विगु, लाप्ची, भोर्ले छाँगो, तामाकोशी, खरिढुङ्गा र दोलखाकै ताजमा रहेको आकाशबिम्ब गौरीशङ्कर हिमाल ‘आस्थाको गन्तव्य’ का पात्र हुन् । हरियाली, नदीनाला, खोलाखहरे, सुरेल–जिरेल, धामीको जीनशैली र प्राकृतिक मनमोहकतासाथ रहेको जटिलता काव्यको परिवेश हो । पात्र र परिवेशलाई प्राकृतिक स्वाद र काव्यिक सौन्दर्यमा पोख्न प्रह्लाद पोखरेल खप्पिस छन् । शब्द र सुर खेलाएका छन्, आस्था र अनुभूति सलल्ल पोखेका छन् । कृति पढ्दा लाग्छ जोकुनै पाठक दोलखाको प्रकतिमा आफैँ डुबुल्की मारिरहेको छ । आस्थाको गन्तव्यको सारको रुपमा उनी दोलखालाई यसरी देखाँउछन्ः

‘गौरीशङ्करबाट झर्छ कुहिरो वर्षा दिने बादल
चुम्छन् जाग्रत चेतना लहरले यो दोलखाको स्थल
छन् भीमेश्वर भव्य ईश्वर जहाँ बस्छन् सुरक्षा गरी
कालिञ्चोक कृपावती भगवती छन् दोलाखा–ईश्वरी’ ।

(१.१, आस्थाको गन्तव्य, यात्राकाव्य) ।

काव्यका प्रारम्भका यी श्लोकहरुले नै पूरै काव्यलाई सारमा चित्रण गर्दछ, पूरै दोलखालाई प्रतिनिधि अभिव्यक्ति गर्दछ । आस्थाको गन्तव्यले दोलखाको आदर्श पक्षलाई उद्घाटन गरेका छन् तर त्यहाँको जटिल प्राकृतिक परिवेश, उवडखावड भूखण्ड, कठोर जीवन निर्वाहका र प्राङ्गरिक जीवनशैलीका पाटोहरु समेटिएका छैनन् । यात्रामा त दुखाइहरु, पीडा र भग्नासाहरु पनि हुन्छन् । जर्जर प्रकृतिको यात्रा झनै भयङ्कर हुन्छ, जसलाई यात्राकाव्यमा समेटिएका छैन । आस्थाको गन्तव्य नामैले आदर्श र स्नीग्घ पक्षमात्र चित्रण गर्दछ । सायद जीवनयात्रा सरल होस् भन्ने कवि चाहना छ ।

उनका सबै काव्ययात्रामा नछुट्ने विषय देश प्रेम हो । प्रकृति, त्यसमा पनि ग्रामीण परिवेशको चित्रणमार्फत देश प्रेम गर्दछन् । उनी जनकपुर पुगुन् कि, दोलखा वा गोसाइँकुण्ड वा रामेछाप वा चित्लाङ, चन्द्रागिरि वा अन्यत्र जतासुकै ग्रामीण प्रकृतिलाई मुग्धकण्ठले प्रशंसा गर्न भुल्दैनन् ।

‘झर्छन् झर्झर शैलबाट झरना छाँगा जहाँ कञ्चन
देख्दा दृष्य रमाइलो छिनछिनै क्या धन्य भो जीवन
हेर्दा यो रमणीय रुप रचना प्रत्यक्ष आँखाअघि
केही छैन अपूर्ण पूर्णमय भो सम्पूर्ण यो जिन्दगी’ ।

(आस्थाको गन्तव्य, ५.८) ।

‘आँखाभित्र सुरम्य दृश्य छ आहा हेरौँ न हेरौँ सधैँ
यस्तो लागि रहेछ कुण्ड नगिचै आएर घेरौँ सधैँ
क्या राम्रो छ विहानको जल अहो लाग्दछ हेरौँ सधैँ
हाम्रा लोचन यी सुशीतल भए हेरेर यो दृश्य नै ।

(परिभ्रमण, काव्ययात्रा गोसाइँकुण्ड) ।

छन्दीय शास्त्र विधानमा परिष्कृत शैलीमा सिद्धहस्त कवि प्रह्लाद पोखरेल नेपाली जीवन र मनका चित्रकार त हुँदै हुन्, यात्राकाव्य मार्फत यात्रा र जीवन, जीवन र प्रकृति, अनुभूति र उच्छालहरुलाई अक्षरदृश्यमा उतार्न सिपालु छन् । ती अक्षरदृश्यभित्र लयसन्धान पनि छ । अक्षरदृश्यमा थाहा नपाउने गरी जीवनको आदर्श उद्घाटित छ । संस्कृति, धर्म र परम्पराका दृश्य छन् । स्थानीयता–रैथाने मौलिकता पारिस्थितिक विविधता टिपिएको छ । उनले कुन उद्देश्य–आशयमा भाव–प्रकृति बिम्ब संयोजन गरेका हुन्, तर पाठक मनले उनले सोचे–लेखेभन्दा अरु धेरै कुरा प्राप्त गर्दछ । पाठक मनले भावको पुनर्उत्पादन गर्न सक्नु, दृश्यिक सादृश्यतामा ल्याउन सक्नु, त्यो परिवेशमा कविताले पाठक मनमा अन्तरशक्ति दिन सक्नुकाव्यकारको सफलता हो । ‘जहाँ पुग्दैन रवि, त्यहाँ पुग्छ कवि’ भनेझैँ पाठक मन शब्द, भाव र परिवेशलाई गमन गर्दै कता हो कता पुग्छ र मनभरि दृश्यानुभूति सजाउँछ । भनौँ काव्यिक सौन्दर्यको पुनर्उत्पादन गर्नपुग्छ । सर्जकको सफलता त्यही देखिन्छ ।

यात्रा साहित्य, त्यसमा पनि यात्राकाव्य जहाँ छन्द र लयजस्ता शास्त्रीय काव्य सिद्धान्त अवलम्बन गरेर सिर्जना गर्नुपर्छ, त्यो निकै जटिल विषय हो । कवि प्रह्लाद पोखरेलका यात्राकाव्य र कविताहरु छन्दका पनि यात्रा हुन् । स्रग्धरा, भुजङ्गप्रयात, शिखरिणी, शार्दूलविक्रिडित, मन्दाक्रान्ता, वसन्ततिलका, अनुष्टुप लगायतका छन्दमा प्रकृति, वनस्पति, संस्कृति, जातजाति, यात्रा अनुभूति सरल, सरस, गेय–लयात्मक शैलीमा अभिव्यक्त गर्नु निकै जटिल विषय हो । कवि प्रह्लाद पोखरेलमा त्यो जटिलतालाई सरल अक्षर आकृतिमा उतार्ने क्षमता देखिएको छ । समकालीन कविहरुमा यो क्षमता कमैमा मात्र देखिएको छ ।

यात्रा साहित्य आफैँमा बिम्ब हो । त्यसैले यो भाव/प्रभाव उत्पादनका दृष्टिमा शक्तिमान हुन्छ । यसले परिवेश र अनुभूतिलाई, दृश्य र दृष्टिलाई, अझ भनौँ इमेज र एक्सनलाई संयोजन गरेको हुन्छ, र पाठक मन यसैको यात्रास्थलमा पुग्छ । उनका काव्यमा ‘यात्रा’ औधि मन पराइएको शब्द र कर्म हो । कर्मका क्रममा गरिएका यात्रा, स्मरण र कर्म गरिएको ठाउँ उनका सिर्जनामा छताछुल्ल छन् । उनी कवितामा नयाँ प्रयोग गर्न चाहन्छन्, स्मृतिकाव्य, लघुकाव्य, यात्राकाव्य, काव्ययात्रा आदिका नाममा । ‘जनकपुरधाम’ लघुत्तम काव्य हो, यो चतुर्भाषिक छ । एकै कृतिमा चार भाषा (नेपाली, संस्कृत, मैथिली र अङ्ग्रेजी) प्रयुक्त यो सम्वभत् पहिलो सिर्जना हो । अक्षरबाट सुरु भएर आरधनामा टुङ्गिएको अक्षर यात्रा (साधना) को ‘अक्षर आराधना’ अर्को प्रयोग हो । यहाँ सङ्किलत अधिकांश कविता यात्रा हुन्, अक्षर त हुने नै भए । ‘जीवन्त यात्रा’ विचार यात्रा हो । चतुभार्षिक लघुत्तम काव्य ‘जनकपुरधारम’ संस्कृति र धामको यात्रा प्रयोग हो । स्थायी र अन्तरा मिलाएर लेखिएको ‘गीति–यात्रा’ अर्को प्रयोग हो । त्यसैले कवि प्रह्लाद पोखरेल नेपाली साहित्यमा नयाँ प्रयोगमा नयाँ स्वाद दिन क्रियाशील छन् ।