Chovar Blues Mobile Size


पाकिस्तानलाई बेलाबेलामा मनोरञ्जनमार्फत सिकस्त दिनु बलिउडको काइदा हो । काइदाभन्दा बढी यो फाइदा हो किनभने यसमा गरिएको लगानी कहिल्यै खेर जाँदैन । अपवाद त जहाँ पनि लागू हुन्छ ।

पछिल्लो समय दक्षिण भारतका प्रतिभाशाली कलाकार प्रकाश राज जीफाइभ ओटिटी प्लेटफर्मका लागि बनाइएको मुखबिर शृंखलामा निकै प्रभावशाली भएर देखिएका छन् ।

मलय धरको उपन्यास मिसन टु कस्मिरः एन इन्टेलिजेन्ट एजेन्ट इन पाकिस्तानमा आधारित यो शृंखलामा सन् १९६५ को युद्धपछि गोप्य रूपमा एउटा जासुसलाई पाकिस्तानको लाहोर शहरमा पठाएर गरिएको जासुसी क्रियाकलाप र त्यसमा आएका उतारचढाव देखाइएको छ । यसमा मुख्य जासुसका रूपमा जाइन खान दुर्रानी छन् भने उनको हाकिमका रूपमा प्रकाश राज देखापरेका छन् ।

आठ भागको यो शृंखला निकै रोचक बन्न पुगेको छ तर यसमा प्रकाश राजबाहेक अन्य प्रभावशाली कलाकार नभएकाले सोचेजस्तो हल्ला हुन नसकेको प्रस्टै देखिन्छ ।

खैर, दक्षिण भारतीय फिल्ममा कमल हसनपछि वास्तविक अभिनय क्षमता प्रस्तुत गर्ने भन्दै प्रशंसा पाएका प्रकाश राजसँग इन्डिया टुडे म्यागेजिनले गरेको कुराकानीको अनुवादित अंशः

मुखबिरमा तपाईंको भूमिका के छ ?
अचेल नायकका हिसाबले कथा लेख्ने चलन बसेको छ तर मुखबिरमा कथाले नायक जन्माउँछ । यसमा म एउटा जासुसको भूमिकामा छु । देशहरूबीच संघर्ष भइरहन्छन् तर यो जासुसको चरित्र छ, उसभित्रको संघर्षको कथा हो । जासुसीको यात्रामा उसमा आउने परिवर्तनको कथा हो । हाम्रो मुखबिर हाम्रो देशका लागि देशभक्त छ । तर दुस्मन देशका लागि त हामी पनि दुस्मन भयौं नि ! उसले आफ्नो स्वार्थ रक्षाका लागि हामीलाई गोली हान्नुपर्ने हुन्छ । ऊ पनि त उसको देशको देशभक्त हो । मलाई यो कथाले निकै छोयो । यो हामी सबै मानिसहरूको जीवनकथा हुनसक्छ ।

हिन्दी फिल्म छिर्दा यहाँ तपाईंलाई कसले बाटो देखायो ?
हिन्दी फिल्म उद्योगमा काम गर्नु कुनै उपलब्धि होइन । तपाईं कलाकार हुनुहुन्छ भने, तपाईंको कन्टेन्ट र विषयवस्तु मन छुने छ भने तपाईं दक्षिणको भएर पनि उत्तरसम्म लोकप्रिय बन्न सक्नुहुन्छ । तपाईंका लागि बलिउड र साउथ होला तर एउटा कलाकारका लागि त्यस्तो हुँदैन । म त्यस्तो फरक देख्दिनँ । यहाँका कलाकारहरू त्यहाँ र त्यहाँका यहाँ काम गरिरहेकै हुन्छन् । यो त धेरै अघिदेखि र अमिताभ बच्चनकै पालादेखि भइरहेको छ । दुवै फिल्म उद्योगबीच गहिरो सम्बन्ध छ । बलिउड मेरालागि घरजस्तै हो । म यहाँ हुँदा भारतमै हुन्छु, अन्त हुन्नँ । परदेशमा हुन्नँ ।

अचानक दक्षिण भारतीय फिल्मले निकै राम्रो व्यापार गर्न थाल्यो । कारण के होला ?
कन्टेन्टका कारण । महामारीभन्दा पहिले अढाई घण्टाको फिल्म हुन्थ्यो । त्यसको ओपनिङ र इन्डिङ हुन्थ्यो । जुन भाषामा बनेको हुन्थ्यो, त्यही भाषाका दर्शकले गएर फिल्म हेर्थे । महामारीपछि जब ओटिटीमा दर्शक ओइरिन थाले, दर्शकले पनि बुझ्न थाले, वास्तवमा भाषा होइन, कन्टेन्ट ठूलो कुरा रहेछ । दक्षिण भारतीय भाषा मलयालम, उत्तर भारतीय हिन्दी या बाङ्ला या कोरियाली या अन्य जे सुकै भए पनि दर्शकले बुझे कि सिनेमा नयाँ समयको एउटा नयाँ भाषा हो । त्यसलाई बेग्लाबेग्लै तरिकाले रोक्ने प्रयास भइरहेको हुन्छ । तर जनताले मोबाइलमा डाउनलोड गरेर हेर्न सक्ने भए । अब संसारका कुनै पनि फिल्म उद्योगले आफूमा परिवर्तन गर्न निकै जरूरी भइसक्यो । अब पुरानो तरिकाले चल्दैन ।

तपाईंको अभिनयको बेग्लै शैली देखिन्छ । खासमा यसलाई कसरी परिभाषित गर्नुहुन्छ ?
म त फिल्मको विधा के हो, कस्तो किसिमको फिल्म हो त्यो हेरेर अभिनय गर्छु । फिल्मको विधासँगै यसको लेन्स के हुन्छ ? सटहरू कस्तो हुन्छ ? सम्पादन कसरी गरिन्छ ? कस्ता दर्शकलाई हामीले टार्गेट गरिरहेका छौँ ? यी सारा कुराले अभिनयमा प्रभाव पार्छ । सिंघम जस्तो मसला फिल्ममा अलि बढी नाटकीय अभिनय गर्नुपर्ने हुन्छ । कांचीवरमजस्तो या मणिरत्नमजस्ता निर्देशकका कुनै फिल्म गर्दा नाटकीयता कम हुन्छ । टोन डाउन हुन्छ । निर्देशकले भनेअनुसारको काम गर्नु कलाकारको धर्म हुन्छ । तर मेरालागि फिल्म गर्नु भनेको अभिनय मात्र गर्नु होइन । त्यहाँ कुनै राजनीतिक एजेन्डा घुसाइएको त छैन ? यी सारा कुराहरू ध्यान दिनुपर्छ । किनभने, दर्शकले त भोलि केही प्रश्न सोधे भने हामीले जवाफ दिन सक्नुपर्छ । दर्शकले मन पराइरहेकाले यो काम गरिरहेको छु भनेर टक्टकिनु चाहिँ बेइमानी हो । हामीले फिल्ममार्फत एक युगलाई दस्तावेजीकरण गरिरहेका हुन्छौँ । हामी कलाकार मात्र होइनौं, हामी त सांस्कृतिक राजदूत पनि हौँ ।

तपाईंले बलिउडमा धेरैसँग काम गर्नुभयो, कोसँग काम गर्दा बढी मज्जा लाग्यो ?
सलमान खानसँग । उनी निकै प्यारा छन् । म त उनलाई अभिनेताका रूपमा भन्दा पनि प्यारा मानिसका रूपमा हेर्छु । उनी त खासमा बदमास बालकझैँ छन् । धेरै किसिमका ठट्टा गरिरहेका हुन्छन् । उनी कुनै पनि कुरालाई गम्भीरताले लिँदैनन् । रिस उठ्यो भने पनि उनलाई थाहा हुँदैन, खुसी भए पनि थाहा हुँदैन । उनमा फिल्टर भन्ने कुरा छैन । रिस उठे रिसाउँछन्, खुसी भए खुस हुन्छन् । उनी कसैसँग पनि डराउँदैनन् । उनीसँग हुँदा म रमाइलो मान्छु ।
उनको एउटै कमजोरी, सुटिङमा ढिला आउँछन् । तर उनलाई थाहा छ, ढिला भएर केही फरक पर्दैन । उनको बजार यति ठूलो छ कि १० करोड रूपैयाँ भन्दा बढी खर्च भए पनि होस्, आरामले काम गर्नुपर्छ भन्ने उनको मान्यता छ ।