‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

हाम्रो उदेश्य, साताभरिमा प्रकाशनमा आएका साहित्यिक पुस्तकहरुलाई यस विधामा समेट्नु हो । हामी चाहन्छौं – नेपाली साहित्यअन्तर्गत प्रकाशनमा आएका कुनै पनि पुस्तक नछुटून् । तर पुस्तकको उपलब्धता नहुँदा केही छुट्ने गरेका छन् । प्रकाशक तथा लेखकहरु सम्भव भएसम्म आफ्ना नवीनतम साहित्यिक कृतिहरु साहित्यपोस्टको कार्यलयमा उपलब्ध गराइदिनुहुन अनुरोध गर्दर्छौं ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता चार पुस्तक । ‘सत्ता सङ्घर्ष’देखि ‘समुद्री जूनकीरी’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

====

१. सत्ता सङ्घर्ष – रामहरि भण्डारी

रामहरि भण्डारीकृत नवीनतम पुस्तक हो, ‘सत्ता सङ्घर्षः ३० वर्षमा २८ सरकारका नालीबेली’ । पुस्तकमा पत्रकार भण्डारीले २८ सरकारका प्रधानमन्त्री लगायत महत्वपूर्ण राजनीतिक व्यक्तिसँग विभिन्न घटनाक्रमलाई लिएर प्रत्यक्ष कुराकानी गरेर प्राथमिक स्रोतलाई महत्व दिएका छन् । रोचक र तथ्यपरक शैलीमा लेखिएको यो पुस्तक नेता, राजनीतिशास्त्रका विद्यार्थी, अध्ययन-अनुसन्धानकर्ता, पत्रकार तथा आमपाठक समेतलाई नेपालको सरकार गठन, विग्रह र संचालन बुझ्ने ह्यान्डबुक हुनेछ । पुस्तकमा प्रस्तुत अनेकौं दृष्टान्तले पुस्तकलाई पठनीय मात्र बनाएको छैन दल तथा तिनका नेताको सत्तामोहमा घनिभूत विमर्श हुनुपर्ने आवश्यकता पनि पहिल्याएको छ ।

‘२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि शासन व्यवस्था जनप्रतिनिधिका हातमा आएपछि जनतामा अब केही हुन्छ भन्ने आशा पलायो । तर दलीय दाउपेच र अन्तर्द्वन्द्वले मुलुक दिशाहीन मात्र बनेन अस्थितरताको दलदलमा फस्यो । २०४८ सालको निर्वाचनदेखि २०७८ सालसम्मको ३० वर्षको अवधिमा २८ सरकार बने । यही विषयवस्तुलाई केन्द्रमा राखेर प्रस्तुत गरिएको पुस्तक हो, सत्ता सङ्घर्ष ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘व्यवस्था सजिलै फेरिने तर शासक नफेरिने अचम्मको चक्रव्यूहमा देश कसरी फस्न पुग्यो भन्ने देखाइएको यस पुस्तकमा प्रजातन्त्र पुनःस्थापनादेखि हालसम्म बनेका सरकारहरूको नालीबेली प्रस्तुत गरिएको छ ।’

पुस्तकलाई साङ्ग्रिला पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । पुस्तकको मूल्य ६ सय ७५ नेपाली रूपियाँ रहेको छ ।

 

२. उमिहोतारू – कृष्ण बजगाईं

कृष्ण बजगाईंकृति नवीनतम नियात्रा कृति हो, उमिहोतारू । उमिहोतारू जापानी शब्द हो, जसको नेपाली अर्थ ‘समुद्री जूनकीरी’ हुन्छ । पुस्तकमा जापान, अमेरिका र बेलायतका नियात्राहरू सङ्ग्रहित छन्, जसले फगत यात्रा विवरण नभएर सूचनामूलक र ऐतिहासिक तथ्यहरू बोकेको छ ।

“जापानी शब्द ‘उमिहोतारू’ को नेपाली अर्थ हुन्छ – समुद्री जूनकीरी । तीन दशक लामो नेपाली नियात्रा लेखनबाट अनुभवप्राप्त कृष्ण बजगाईंको यो चौथो नियात्रापरक कृति समुद्री जूनकिरीझैँ नेपाली साहित्यको विशाल आयतनभित्र चम्किरहने विश्वास गरिएको छ ।”, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, “जापान, अमेरिका र बेलायतका यात्राजन्य अनुभूति र यायावरीय विषयवस्तुको साधारणीकरणका कारण पनि यो आफैंमा सूचनामूलक र ऐतिहासिक बनेको छ । नेपाली नियात्रा परम्परामा यसले समेटेका विषयवस्तु, स्थानीय रङ र ऐतिहासिक तथा सांस्कृतिक झाँकीहरू निश्चय नै अतुलनीय छन् । अघिल्ला तीन नियात्रासङ्ग्रह जस्तै यस नियात्रासङ्ग्रहभित्रका एक्काइस नियात्राहरूले पनि उचाइ कायम राख्नेछन् ।”

भुँडी पुराण प्रकाशन गृहले प्रकाशनमा ल्याएको यस नियात्रा कृतिको मूल्य ३ सय रूपियाँ रहेको छ ।

 

३. अनमोल कृतिमाला – ध्रुवतारा

ध्रुव पण्डित ‘ध्रुवतारा’कृति खण्डकाव्य हो, ‘अनमोल कृतिमाला’ । ध्रुवताराले गीतिलयमा लेखिएको खण्डकाव्यमा रोगव्याध तथा महामारीमा पिल्सिरहेको देश, समाज र वस्तुस्थितिको चित्रण गरेका छन् ।

‘‘साहित्यले समाजमा ऐनाको काम गर्छ । त्यसैले साहित्यलाई समाजको दर्पण भनिन्छ ।’’, पुस्तकको अन्तिम कभरपृष्ठमा रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपाने लेख्छन्, ‘‘ध्रुवतारा साहित्यिक नाम भएका ध्रुव पण्डितको नवीनतम कृति ‘अनमोल कृतिमाला’ प्रकाशित हुनलागेको खबरले म हर्षित छु । उहाँले विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ लगायत हाम्रो समाजभित्र रहेका विभिन्न पाटाहरुलाई समेटेर साहित्यिक कृति प्रकाशित गर्नु अर्थपूर्ण कर्म हो । उनका कविताले अझ उचाइ चुमून्, हार्दिक शुभेच्छा ।’’

कृतिलाई लेख स्वयंले प्रकाशनमा ल्याएका हुन् । ९६ पृष्ठमा फैलिएको कृतिको मूल्य रु. १५० (व्यक्तिगत) र रु. ३०० (संस्थागत) रहेको छ ।

 

४. आँखीझ्यालबाट नेपालको राजनीति (भाग २) – महेन्द्र पराजुली

नेपाली समकालीन राजनीतिका महत्त्पूर्ण घटनाहरूको दस्ताबेजीकरण हो महेन्द्र पराजुलीकृत ‘आँखीझ्यालबाट नेपालको राजनीति (भाग २)’ । पुस्तकमा नेपालको समकालीन राजनीतिको इतिहासको तथ्यमा आधारित भएर बयान गर्ने प्रयत्न गरिएको छ । यसअघि, यो कृतिको भाग एक प्रकाशनमा आइसकेको छ ।

“समकालीन राजनीतिमा घटेका महत्त्वपूर्ण घटना अनि चर्चित प्रसङ्ग समेटेर इन्जिनियर महेन्द्र पराजुलीले लेखेको ‘आँखीझ्यालबाट नेपालको राजनीति, भाग – २’ पुस्तक ऐतिहासिक समष्टि दस्तावेजको रूपमा रहेको छ ।”, पुस्तकको भूमिकामा मोहनविक्रम सिंह लेख्छन्, “लेखकको भाग एक पनि गम्भीर, अध्ययन लायक र सङ्ग्रह योग्य रहेको छ । त्यसमा समकालीन नेपालको राजनीतिको मोटामोटी इतिहासको बयान दिने प्रयत्न गरिएको छ । त्यसैले ऐतिहासिक अध्ययनका दृष्टिले त्यो महत्त्वपूर्ण पुस्तक बन्न गएको छ । अब पाठकहरूका सामु ‘भाग – २’ आएको छ । यसमा समावेश गरिएका सामग्री र चलाइएका बहसले नेपालको एउटा कालखण्डको राजनीतिक परिस्थितिलाई बुझ्नका लागि धेरै मद्दत पुर्‍याउने कुरा स्पष्ट छ । त्यसैले यो पुस्तकको पनि राजनीतिक र ऐतिहासिक दुवै प्रकारले महत्त्व रहेको छ ।”

शिखा बुक्सले प्रकाशनमा ल्याएको पुस्तकको मूल्य १ हजार ९५ रूपियाँ रहेको छ ।