हामी सबैलाई थाहा छ कि व्यभिचार एउटा मनोरोग हो ।
व्यभिचार अपराध पनि हो। व्यभिचारले विवाहित व्यक्तिहरू हुन् वा अविवाहित व्यक्ति हुन् यी सबैको जीवनमा भयानक प्रभाव छोडिरहेको हुन्छ । कानुनले दिएको, समाजले मान्यता दिएको , धर्म र कर्मले योग्य मानेको कामभन्दा बाहेकका कर्महरु गर्नु नै व्यभिचार हो। व्यभिचार यौनजन्य क्रियाकलापसँग मात्रै सम्बन्धित छैन यो कानुनीले अवैध करार गरेको जुनसुकै कुरा पनि व्यभिचार हो । स्त्रीमाथि हुने बलात्कारको कारण पनि व्यभिचारको दोस्रो रुप हो । व्यभिचार पहिला मनोभाव हो । त्यसपछि क्रिया अर्थात Action मा गएर यसले आफ्नो रुपभाव परिवर्तन गर्छ । व्यभिचारी भाव यौनजन्य क्रियाकलापसँग मात्रै जोडिएको हुँदैन अपितु यो खराब सोचको खराब परिणामसग सम्बन्धित हुन्छ कसैले कसैको हत्या गर्नु अगाडि वा चोरले चोरी गर्नु अगाडि वा त्यस्तै कुनै पनि खराब काम गर्नु अगाडि खराब कर्म गर्ने कर्तामा व्यभिचारी भाव जागृत हुन्छ र उसले आफूले आफैँलाई यस्तो दुस्कृत काम गर्न अन्त: प्रेरित गर्दछ। व्यभिचारलाई हामीले पहिलेदेखि नै यौनजन्य कुरासँग जोड्दै आएकाले पनि विशेष यो यौनसँग मात्रै सम्बन्धित छ भन्ने कुरामा हामीले सहमति जनाउँदै आयौँ ।
महिला र पुरुषको जननांग, शरीरका अन्य अंगहरूभन्दा बढी सचेत, जीवित, नरम, सूक्ष्म, जीवन दायिनी शक्तिले भरिपूर्ण परिपूर्ण भएको हुन्छ । मानव शरीरको सूक्ष्म तत्त्व जान्नेहरूले भन्छन्– महिलामा ऋणात्मक (ऋण) र पुरुषमा घनात्मक (धन) तत्त्व हुन्छ। स्पर्शको दृष्टिले पनि, यो विद्युतीय रूपमा पनि महिलाहरुमा पुरुषहरूलाई अनौठो प्रेमको कम्पन उत्पन्न गराउन सक्ने शक्ति हुन्छ । त्यसैले पनि स्त्रीलाई शक्तिस्वरुपा भनी वैदिक कालदेखि पुजिएको र मान्यता दिइँदै आएको हो । तर जब दुवै जीविततम प्राण केन्द्र शरीरका गोप्य स्थानहरू एक अर्कासँग मिल्छन् , तब शरीरमा एक प्रकारको रसायन उत्पादन हुन्छ तर त्यो रसायन चाहिँ प्रेमसहितको यौन क्रियाकलापमा मात्रै सम्भावना छ। जस्तो बलात्कारको बेलामा यस्तो प्रकारको जीवनदायिनी रस र रस उत्पादन गर्ने ग्रन्थीहरु कृयाशील हुँदैनन् । त्यो अवस्था नहुँदा नहुँदै पनि एउटा नारीमाथि बलात्कार हुन्छ भने त्यो पीडादायी हुन्छ त्यो नै व्यभिचार हो ।
प्रेमसहितको यौन-सम्बन्ध रहँदा दुबैको शरीरको विद्युतीय परिमाणहरू प्रमोदितका साथ अन्तप्रवेश हुन्छ र दुबैका बीचमा शक्तिशाली घनिष्ठ सम्बन्ध (प्रेम) सिर्जना गर्दछ। एकअर्काका सूक्ष्मतम तत्त्वहरू आपसमा मिल्न पुग्छन्, र यो सुखदायी हुन्छ । तर ठिक विपरित बलात्कारमा चाहिँ क्षोभ,घृणा,आवेग, द्वन्द्व, छटपटीका कारण यो अत्यन्तै विकृत र घृणास्पद हुने भएकोले शारीरिक मानसिक दुवै रुपबाट पीडादायी हुन्छ । त्यसैले पनि बलात्कारपछि स्त्रीको हत्या हुनु अर्को प्रकारको क्षोभ भय र व्यभिचारको परकाष्ठा हो। व्यभिचारी हुनु भनेकै बर्बर हुनु हो।
जो भित्र व्यभिचारको भाव प्रबल हुन्छ, उसको पतन अन्ततः निश्चित हुन्छ ।
प्रेमले एक आकर्षण र सद्भाव सिर्जना गर्दछ जुन हटाउन वा तोड्न असाधारण रूपमा गाह्रो छ। यौन सम्बन्धले दुई व्यक्तिको सूक्ष्म अत्यावश्यक तत्त्वहरूको भावुक आदान प्रदान गर्दछ। त्यसैले पनि देह सेवा र यौन सम्बन्ध एउटै भन्न मिल्दैन ।
जब पुरुष कुनै महिलाको सम्पर्कमा आउँछन् देह र आत्माको जब मिलन हुन थाल्छ तब दुबैमा प्रेमको भावना बढ्छ । एउटाको शक्ति निश्चित मार्गबाट अर्कोमा सर्छ । गुण र कर्म प्रकृतिमा एक अर्काको नजिक आउँछन् र एउटै जीवन दुई शरीर बन्छ। यौनसम्पर्कबाट दुवैको रगतमा जीवन्त मिश्रण हुन्छ,प्रेम सहितको सहवास व्यभिचार होइन र त सहवासका कारण दुई शरीरमा समान तत्त्वहरु प्रचुर मात्रामा मिश्रण भइरहेको हुन्छ । प्रेम एउटा यस्तो भावना हो जसका कारण दुइटा भिन्न जीवन मिलनको अभिन्नतामा एकता पैदा भएको हुन्छ। फलस्वरूप शरीरको रगत नै एकै ग्रुपमा परिवर्तन हुनसक्छ र आजको विज्ञानले पनि यही भन्छ ।
एउटी महिलाले धेरै पुरुष वा पुरुषले धेरै महिलासँग गोप्य सम्बन्ध कायम गरेमा उनको शरीर, रगत, मन, मस्तिष्कमा अनेक तत्त्व मिसिएर अस्थिरता, तान, आकर्षण, प्रतिकर्षण आदि हुन थाल्छ । यस्तो अवस्थामा साँचो प्रेम, वफादारी र आत्मीयता असम्भव छ। व्यभिचारी पुरुष र व्यभिचारी महिलाको जीवन , छल, भ्रम र कपटले भरिएको हुन्छ।
चोरी, डर, लाज र पापको हिचकिचाहटमा व्यभिचारको भाव प्रबल रहन्छ र यो लुकाउने प्रयास गरिन्छ। उपयुक्त अवसरको खोजी मनमा उठ्छ । यी पापी प्रवृत्तिहरू केही समय निरन्तर चलिरहँदा मानिसको मनमा गहिरिएर जरा गाड्छन् । त्यसपछि ती चीजहरू व्यक्तिको स्वभावमा समावेश हुन्छन् र जीवनको विभिन्न क्षेत्रमा देखा पर्छन् । यही कारणले गर्दा व्यभिचारीहरू प्रायः चोर, निर्लज्ज, दुस्साहस, कायर, झूटा र ठग हुन्छन् । आफ्नो व्यापार र लेनदेनमा समय-समयमा तिनीहरूले आफ्नो खराब प्रवृत्तिको परिचय दिइरहेका हुन्छन् । तिनीहरूको विश्वास गुमेको हुन्छ ।, तिनीहरूमा प्रतिष्ठा र सम्मानको भावना मरिसकेको हुन्छ , तिनीहरूले साँचो समर्थन पनि पाउँदैनन्, फलस्वरूप जीवन विकासका महत्त्वपूर्ण मार्गहरू बन्द हुँदै जान्छन् । मनमा पापी प्रवृत्ति जम्मा हुँदा विवेक दूषित हुन्छ । प्रतिष्ठा र निष्ठा नष्ट हुन्छ र हरेक क्षेत्रमा साँचो मित्रता वा सहयोगको अभाव हुन्छ। यी कुरा नरकको कठोर पीडाजस्तै हुन्, व्यभिचारीले यस जीवनमा आफ्नो कर्मको परिणामको फल आफू पनि भोग्छन् र अरुलाई पनि भोगाउँछन् ।
स्त्री र पुरुषमा एकको प्रभाव अर्कोमा सर्छ । एउटाको दुर्गुण अर्कोमा प्रवेश नगरी रहँदैन । सेक्सको आनन्दसँगै अर्को पक्षले पनि आफ्नो कामवासनाको छाप छोड्छ, यो तह दिनप्रतिदिन बलियो हुँदै जान्छ र दिनप्रतिदिन खराब हुँदै जान्छ । व्यभिचार पुरुष र महिला दुवैको लागि घातक छ, तर विशेष गरी महिलाहरूको लागि घातक छ । कारण यो हो कि महिलाहरूले पुरुषको वीर्य आफ्नो शरीरको सबैभन्दा सूक्ष्म, चेतनशील र प्राणयुक्त स्थान गुह्येन्द्रियमा प्राप्त गर्छन् । वीर्य पानीको थोपा मात्रै होइन, यो मानिसको शरीर र मनको सार तत्त्व पनि हो। यसको प्रत्येक थोपा मानव उत्पादन गर्ने अथाह शक्तिले भरिएको हुन्छ । त्यो पराक्रमी, शक्तिशाली अत्यावश्यक प्राणीमा पुरुषको गुप्त र प्रकट शक्ति केन्द्रित हुन्छ। यो तरल जीवन शक्तिलाई योनिमार्गमा राख्नु भनेको आफ्नो सद्गुण र अवगुणको सार इन्जेक्सन गर्नु जस्तै हो । यो निश्चित छ कि पापी र पतित व्यक्तिहरू मात्र व्यभिचारी हुन्छन्, तिनीहरूको पाप र पतन, वीर्य सहित प्राण सत्वले नारीको आध्यात्मिक क्षेत्रमा समेत प्रवेश गर्छन। त्यसकारण पनि स्त्री व्यभिचारी पुरुषबाट जोगिनका लागि हिजो सीता मातालाई देवर लक्ष्मणले आफ्नो अनुपस्थितिमा लक्ष्मण रेखाभित्र सुरक्षित गरेका । वास्तवमा नारीको सुरक्षाको जिम्मेवारी पुरुषको हो कारण नारी भिडन्त गर्ने शक्ति जसलाई आफ्नै कोमलताले पनि दिँदैन। पुरुष काँडा हो भने नारी त्यही काँडाको सुरक्षा घेराभित्र संरक्षित गुलाफ हुन् । तर अहिलेका डिजिटल नारीहरुमा यो अहंकार छ कि पुरुष केही होइन, ऊ बिना पनि हामी पूर्ण छौँ । यो अहम् पनि एक प्रकारको व्यभिचार हो। जसरी जंगली फूलहरु एक आपसमा जोडिएर पनि बिना अहंकार एकले अर्काको अस्तित्व स्वीकार गरी फक्रिरहेका छन् । हामी मनुष्य आफूलाई बुद्धले भरिएको भन्छौ तर वर्तमान यस्तो निराश हुँदै गइरहेको छ ।
धेरै व्यभिचारी पुरुषहरुसँगको मिलनले आफ्नो सूक्ष्म शरीरमा अनेक प्रकारका दोषहरू जम्मा भएर नारीको कमजोर भित्री चेतना समेत निकै विकृत हुन्छ । एउटै म्यानमा धेरै तरवारहरू राख्दा भयानक अवस्था सिर्जना भए जस्तै नारीको शरीरमा विभिन्न किसिमका गुण, कर्म, प्रकृति र प्रभाव प्रवेश गर्दा एक अर्कासँग टक्कर आउँछन् । यसको प्रभावले मूड बिग्रन्छ । पुरुष मात्रै होइन व्यभिचारी महिलाहरू पनि सीधा स्वभावका हुँदैनन्, चिडचिडापन, रिस, घबराहट, जोश, अस्थिरता, क्रोध, झूट, छल, अतृप्ति आदि खराब गुणको मात्रा बढ्छ, त्यसको कारण टाउको दुख्ने, कब्जियत, पीडा, सुख्खापन, तिर्खा, अनिद्रा, थकान, दुःस्वप्न , दुर्गन्ध आदि शारीरिक विकार पनि बढ्न थाल्छ उनीहरूमा, एउटै शरीरमा धेरै पुरुषको जीवन स्थापना हुनु, यस्ता धेरै पीडादायी नतिजाहरू प्रस्तुत हुन्छन् । वेश्यावृत्तिमा संलग्न महिलाहरूको संगत यति हानिकारक हुन्छ कि यसले पुरुषलाई धेरै बलियो प्रहार गरी नरकीय यातनाको पोखरीमा धकेल्छ।
व्यभिचारी पुरुष मात्रै हुँदैनन् स्त्री पनि हुन्छन् । झन् अहिलेको डिजिटल संसारमा हामी धेरै कुरामा अगाडि छौँ भन्छौँ, आफूलाई भलै चेतनाको स्तरमा अगाडि बढे पनि हामीभित्र अनुशासन र चरित्र भने दिनानुदिन च्युत हुँदै गइरहेका छ।
हामीभित्रको आदर्श र सँस्कारहरु क्रमशः मर्दै गइरहेको छ । हामी एक्लो हुँदै गइरहेका छौँ। हामीलाई जीवन्त मान्छेभन्दा मोबाइलको पर्दा भित्रको मान्छे मन पर्न थालेको छ । मानिसको सङ्गतबाट प्राप्त हुने सुखद् प्रेम र स्पर्शभन्दा मोबाइलको स्पर्शबाट मिल्ने सुखलाई स्थायी भन्न थाल्यौँ । भौतिक रूपमा साथमा रहेको साथीसँग कुरा गर्न छोडेर मोबाइलको पर्दाभित्रको साथीलाई महत्त्व दिन थाल्यौँ । व्यवहारमा मानवीयता मर्न थालेपछि व्यभिचारले प्रवेश पाउँछ नै र आजको डिजिटल युगमा मानिसहरुमा एक प्रकारको दिग्भ्रमताले जरा गाडिसकेको अवस्था छ।
पाँच हजार वर्षअगाडि असल व्यक्तिहरुद्वारा भनिएका कुराहरू आज जस्ताको त्यस्तै रूपमा हाम्रो सामु छन् । जतिबेला सञ्चार केही पनि थिएन । असल कुराहरु,आदर्श चरित्र र चेतना कसरी विस्तारित हुन्छ के ती कुराहरू जोगाउन आजको डिजिटल युगको गुगल आवश्यकता रह्यो त ? आजको मान्छे सहवास कसरी गर्ने भनेर गुगलमा खोज्छ । अरु ज्ञान र आदर्शका कुराहरू त परै छोडुँ। हामी जति आधुनिक, हामी जति डिजिटल त्यति नै व्यभिचारी र समाज त्यति नै मात्रामा असमाजिक बनिरहेको छ। होटेलमा पाहुना सुत्ने ओछ्यानमा सिसिक्यामरा जडान गरी अर्काको यौनजन्य क्रियाकलाप आफ्नो मोबाइलमा कैद हुन थालेका छन् । अब विश्वास कसलाई गर्ने ? संविधानले दिएको मौलिक हक अन्तर्गत पर्ने हाम्रो गोपनीयताको सुरक्षा खै ? हामी अब कहाँ सुरक्षित छौँ ? यो व्यभिचारको हदैसम्मको पराकाष्ठा हो र मानिस आफैदेखि दिनानुदिन पराजित हुँदै छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।