गालाहरू निकै राता भएछन् – उसलाई देखेपछि मलाई एउटा लामो इतिहासको सम्झना भयो । त्यति बेला उसका गालामा हाडका चोसाहरू देखिन्थे । म सधैँ जिस्काइरहन्थे- “यस्तै हो भने केही दिनमा तिमी अस्थिरपञ्जर हुन्छौ, ख्याल गर…।”
ऊ हाँसिरहन्थ्यो । हाँस्न भनेको त्यति बेला पीडाहरू बिर्सने प्रयास जस्तै थियो र वास्तवमा हामी पीडा बिर्सनै हाँस्थ्यौँ ।
“निकै मोटाएछौ ।” मैले एकाएक उसलाई भनेँ । ऊ निकैबेर बोल्न सकेन ।
“मैले त चिन्नै नसकेको…तमी त बूढो जस्तो देखिएछौ नि किन ?”
मैले उसको यो प्रश्नलाई सहज रूपमा लिने प्रयास गरेँ । वास्तवमा मलाई थाहा छ म बूढो हुँदै गएको छु । ठीकै पनि हो उससँगका दिनहरूमा मेरो कपाल एउटा पनि पाकेको थिएन । तर अहिले यो सेतो कपाल देख्दा उसलाई म बूढो लाग्नु के आश्चर्य र !
“किन केश सबै पाकेको हँ ?”
फेरि पनि मैले उसको प्रश्नसलाई सहज भएर लिएँ । के जवाफ दिऊँ उसलाई ? उसलाई थाहा छ छैन, मलाई त के थाहा छ
भने पीरहरूले आक्रमण गर्न थालेपछि मान्छे बूढो हुँदो रहेछ । उमेर नपुगी नै केश पाक्दो रहेछ ।
“खै किन हो केश पाकेछ…।” मैले उसलाई हाँस्दै जबाफ दिएँ । ऊ त्यसै पनि मुस्कुराइरह्यो । तर मलाई के लागिरह्यो भने दस वर्षपछि उसलाई यसरी देख्दा उसको हाँसोमा, बोलाइमा र साँच्ची भन्ने हो भने ऊ सम्पूणर् रूपमै बेग्लै भइसकेछ । मान्छे यसरी बेग्लै हुँन सक्तो रहेछ—मलाई मनमनै आश्चर्य लागिरह्यो ।
दस वर्षअघिको दिनहरू एक-एक गरेर मेरो मनमा आउन थाले ।
“अचेल के गर्छौ ? कहाँ छौ ?” उसले सोध्यो ।
“तिमी नि !” मैले उसको प्रश्नमाथि पनि एउटा प्रश्न थपेँ । खासमा के थियो भने म उसलाई के जबाफ दिऊँ ? मलाई आफैँ पनि थाहा भइरहेको थिएन । म कहाँ छु ! कस्तो हाँसउठ्दो प्रश्न ? के गर्दैछु कस्तो विडम्बनाको प्रश्न !
“मेरो घर जाऊँ न ।” उसले मेरो काँधमा हात राखेर भन्यो ।
“घर !” म अलिकति हच्किएँ ।
“हो… मैले घर बनाएँ नि…जाऊँ आज मेरो घरमा रमाइलो गर्ने… साँझ ड्रिङ्क गर्ने, राति उतै सुत्ने…आज वास्तवमा म खुसी छु…खुसी किनभने यत्तिका वर्ष छुटेको साथीसँग यसरी भेट हुनु…।”
ऊ लामो प्रसङ्ग झिक्दै थियो म भने उसले कसरी घर बनायो यही प्रसङ्ग सोच्न लागेछु । अर्काको चिसो छिँडीमा हामीले काटेका कैयौँ रातहरू सम्झन पुगेँ । कैयौँ दिन हामीले पाउरोटी र चियामा काटेका थियौँ र पचास रुपियाँ भाडा तिर्न नसकेर घरपट्टीको गाली कैयौँ पटक चुपचाप सहेर पचाउनु परेको थियो । के यो सत्य हो ? मलाई उसको खाइलाग्दो अनुहार हेर्दै कैयौँ प्रश्न गर्न मन लाग्यो । ऊ भन्दै गयो, “जाऊँ न मेरो घर…हेर न घर बनाउन थालेपछि साह्रै बेफुर्सदी हुनुपर्दो रहेछ…अँ…तिमी कहाँ छौ नि घर बनायौ ?”
उसको प्रश्नले फेरि एक पटक मलाई जबरजस्ती हिर्काएझैँ लाग्यो । किन ऊ मलाई व्यङ्ग्य हानिरहेछ । मलाई लाग्यो—यो प्रश्न के सही हो ? यसको उत्तर के हुन्छ ? मलाई थाहा भएन ।
“किन ? के भयो ? तिमीलाई सन्चो छैन कि के ?”
“होइन, ठीकै छु ।”
“जाऊँ न मेरो घर…।”
“जाउँला नि कुनै दिन…। ” मलाई किन यसो भन्न मन लागेको हो । अझै पनि उक पटक अलमलिन पुगेछु । वास्तवमा उसले घर बनाउको कुरा सुन्दा म खुसी हुनुपर्दथ्यो । तर म त्यसो हुन सकिनँ । अनुहारमा जबरजस्ती खुसी र हाँसो ल्याउने असफल प्रयत्न गर्दै म रुन्चे हाँसो हाँस्न लागेँ ।
“जाऊँ न यार ! आज साँझ मेरो घरमा रमाइलो गर्ने…आज रक्सी पिउने, मात्ने र खुसी हुने…।”
कति विसङ्गत कुरा गरिरहेछ ऊ । मलाई दस वर्षअघिका दिनहरू सम्झना आइरह्यो । जति बेला हामी एक रुपियाँको रक्सी पिएर मातेको अभिनय गर्थ्याैँ । मातेको अभिनय गरेपछि भोक मेटाउन सजिलो लाग्थ्यो । ऊ मातेझैँ गर्थ्याे मातेकै स्वरमा भन्थ्यो, “म भात खान्नँ ।”
अनि म पनि मातेझैँ स्वरमा भन्ने गर्थेँ, “ म पनि खान्नँ ।” त मलाई र ऊ दुवैलाई के थाहा हुन्थ्यो भने हामीसँग खानेकुरा केही नभएर मातेको अभिनय गरिरहेछौँ । तर कति रमाइला दिन थिए…अहिले म उसको आँखामा ती दिनहरूको सम्झना खोजिरहेछु । ऊ सुट लगाएर टाईमा यति ‘ह्यान्डसम’ देखिन सक्तो रहेछ । यो दस वर्षले के के परिवर्तन गरेछ । मलाई यतिखेर के लाग्यो भने मेरो मैलो सुरुवाल र कमिज अनि पुरानो चस्माले उसलाई जिस्क्याइरहेको त छैन ।
उसले भन्यो, “तिमीलाई के भयो ? सन्चो नभएझैँ देखिन्छौ नि !” एकाएक म सपनाबाट बिउँझिएझैँ भएँ । मेरो कल्पना अलिकति भाँचियो ।
“होइन, ठीक छु ।” त्यत्ति हो, अरु केही भन्ने मन गरिनँ ।
मेरो पाखुरा समाएर उसले अघि लगायो ।
“जाऊँ मेरो घर ।”
र उससँगसँगै हिँडे । मलाई लाग्यो—यो हिँडाइ मेरा लागि एकदमै कष्टप्रद भइरहेछ । कस्तो विडम्बना ! एउटै थालमा कैयौँ वर्ष भात खाएका थियौँ हामीले । कैयौँ रात एउटै ओछ्यानमा सुतेका थियौँ र साँच्ची भन्ने हो भने एउटै उडुसले हामी दुवैलाई कैयौँ पटक टोक्यो-टोक्यो । तर आज म उससँग हिँड्न कसरी आफैँ सङ्कोचमा परिरहेछु । ऊ सुट र टाईमा छ म यो मैलो झुत्रे लुगामा…।
उसले औँलाले देखाउँदै भन्यो, “उः त्यो पहेँलो घर…हो त्यही घर हो । प्यागोडा स्टाइलमा बनाउने विचार थियो…त्यस्तो बनाएँ घरको रङ पहेँलो नै मन पर्यो ।
मैले केही भनिनँ हेरिरहेँ मात्रै । त्यो भव्य बिल्डिङ उसको हो—म कसरी विश्वास गरूँ ! होइन—यो पनि कसरी विश्वास गरूँ ! कसरी बनायो उसले, म अहिले मनमनै चकित भएँ ।
“घर अझै कम्प्लिट भएको छैन…भनेजस्तो गर्न अझै सकेको छैन…कहिले ज्यामी नपाइने, कहिले सिमेन्ट र छड नपाइने, कहिले आफ्नै फुर्सद नहुने…पैसा मात्र भएर के गर्ने…।”
म भित्रभित्रै भाँचिएँ । ऊ के भन्दै छ ? यस्तो पनि हुन सक्तो रहेछ । मलाई व्यङ्ग्य त हानिरहेको छैन ? यो महिना कोठाको भाडा तिर्न नसकेर म कसरी अपमानित भइरहेछु, ऊ भने पैसा मात्रै भएर के गर्ने भनिरहेछ ! यो दस वर्षमा मैले अभावसिवाय केही कमाउन सकेको छैन ऊ भने…।
“यही हो मेरो घर ।” हामी आँगनमा आइसकेछौँ । थाहा छैन, म किन एकाएक आफैँ चिसो हुनुपरेको !
गेटमा लेखिएको अक्षर पढेँ, ‘आनन्द आश्रम’ । उसले गेट खोल्यो । गेटको आवाजले भित्रबाट एउटा बेलायती कुकुर पुच्छर हल्लाउँदै आएर उसको हाट चाट्यो ।
“बडो बदमास छ यो पप्पी…यसले जत्ति त मलाई अझसम्म कसैले माया गरेको छैन ।”
उसको कुरा सुनेर फेरि सम्झेँ—के मैले पनि माया गरिनँ र तिमीलाई ? भन्न मन लागेर पनि भन्न सकिनँ । ऊ टाइफाइडले एक महिना थला पर्दा कोपरामा उसको फोहोर फाल्दा पनि मलाई घिन लाग्दैनथ्यो । मलाई लाग्थ्यो—ऊ मर्यो भने म एक्लो हुनेछु…र वास्तवमा ऊबिना म यो दस वर्ष एक्लो नै भइरहेँ, अझै थाहा छैन कति वर्ष यसरी एक्लो बाँच्नुपर्ने हो ।
घरको ढोका खोलेर भित्र लग्यो । एउटा भव्य बैठककोठा । हामी भित्र पस्यौँ ।
“बस ।”
मलाई त्यो कोठाको सारा भव्यताले पोल्न थाल्यो ।
उसले भन्यो, “घरमा पनि कोही छैन । श्रीमती माइन गा’छे…एउटा केटो छ । …अँ, तिमीलाई मैले बिहेमा पनि बोलाउन पाइनँ । हेर न बिहेमा तिमीलाई धेरै सम्झेको थिएँ तर…।”
“कहिले बिहे गर्यौ त तिमीले ?”
“भयो दुई वर्ष जति…अँ, तिमीले नि ?”
“अहँ, गरेको छैन ।”
“अझै बिहे गरेको छैनौ ? अब त बूढो हुन लागिसक्यौ…एक्लै कति दिन बाँच्छौ ?”
उसको कुराले मलाई अलिकति पनि छुन सकेन । उसलाई किन भनिरहूँ मैले किन बिहे गर्दिनँ ! किन भनिरहूँ मसँग आफैँलाई पाल्ने क्षमतासम्म छैन भनेर । के उसलाई थाहा छैन र ! त्यति बेला बिहेको कुरा चल्दा ऊ पनि त भन्ने गथ्र्यो पैसा नकमाएसम्म बिहे नगर्ने भनेर । मैले अहिलेसम्म बिहे नगरेको देख्दा उसैले भनेको कुराहरू किन सम्झन सक्दैन । बिस्र्यो त उसले ती दिनहरू ।
“आऊ ! उठ घर हेरौँ …त्यसपछि ड्रिङ्क गर्ने…के मन पर्छ तिमीलाई सफ्ट, हार्ड…भोड्का…जिन…रस…?”
मैले उसलाई हेरिरहेँ । ऊ उठ्यो र मेरो पाखुरा समाएर उठायो । बैठककोठासँगै जोडिएको अर्को कोठा खोल्यो ।
“त्यो कोठा अलि कम्लिप्ट भएको छैन । अँ, यो कोठा…यो कोठालाई इजिप्टको शैलीमा ढाल्न खोजेको छुु …।”
ऊ भन्दै गयो म सुन्दै गएँ । अनि अर्को कोठा खोल्यो, ‘‘यो कोठाको भित्ता हेर, यो भित्ता भारतीय शैलीमा छ, यो चित्र…यो रङ…।”
ऊ भन्दै गयो । यी भव्य कोठाहरूले मलाई चिथोरेजस्तो लाग्यो । दस वर्षअघि छिँडीमा रहँदा यो कल्पनासम्म पनि गर्न नसक्ने ऊ आज कोठाकोठाको शैली बताइरहेछ ।
“यो किचन हो…यो हट वाटर… यो कोल्ड …यो किचनलाई मैले आफ्नै नेपाली बनाउन चाहेको तर वाइफलाई मन परेन भत्काएर फेरि ब्रिटिस शैलीमा बनाएँ, अलि कम्प्लिट भएको छैन …।”
त्यसपछि मलाई सिँढी चढाएर दोस्रो तलामा लाग्यो । सिँढीका खुट्किलामा सिङ्गमरमरका चिल्ला सतहमा टेक्दा म अलिकति सचेत भइसकेछु । मैले मैलो र फाटेको जुत्ता यो सतहमा फिट हुन सकेजस्तो मलाई लागेन । अलिकति हच्किएँ ।
“यो तलाको कोठा छुट्टै छ । हरेक कोठामा बाथरुम छ । पानीको व्यवस्था तातो…चिसो…।”
मलाई आफ्नो कोठाको चिसोपनले छोइरहेको उसले सायद थाहा पाएन । त्यस्तै छिँडीमा कैयौँ वर्ष हामीले एकसाथ बिताएका थियौँ । ल्याट्रिनका लागि अहिले पनि मैले हरेक बिहान क्यु पर्खिनुपर्छ, जस्तो कि दस वर्षअघि उसको पनि त्यही स्थिति थियो र यो घरको हर कोठाको बाथरुम…।
“आऊ माथि कौसीमा जाऊँ…।” हामीले अर्को सिँढी चढ्यौँ ।
“यो कौसीको पनि आफैले विशेषता छ । यहाँबाट सहरको चारै कुना देखिन्छ । …उ त्यो पहाड…त्यो मन्दिर … त्यो होटल…।”
उसले चारैतिर देखाउन थाल्यो । मलाई एकाएक के लाग्यो भने उसको कमेज समाएर भनूँ—कहाँबाट ल्याइस् यत्रो पैसा ? किन मलाई मेरो गरिबीमाथि व्यङ्ग्य हान्दै छस् । मलाई भन्न मन लाग्यो— म दुई दिनदेखि पाउरोटी खाएर बाँचिरहेछु ।…तर केही भन्न सकिनँ ।
उसले टाढाको पहाड देखाउँदै भन्यो, “उः त्यो टाकुराबाट राति जेट आउँदा यो कौसीबाट बडो रमाइलो लाग्छ…कहिलेकाहीँ राति म एक्लै रक्सी लिएर घण्टौँ यो कौसीमा बस्छु । राति जून यो काैसीबाट बडो राम्रो देखिन्छ …।”
मलाई उसको हरेक वाक्यले टोक्न थाल्यो । म भित्रभित्रै उग्र हुँदै गएँ । अहिले अझै उग्र भएर उसको कठालो समाउन मन लाग्यो र लाग्यो यसो भनूँ—म भोको छु…म रोगी छु…मसँग एक पैसा पनि छैन…र तँ भने…। तर केही भन्न सकिनँ उसलाई टुलुटुलु हेरिरहेँ मात्रै ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।