
मभन्दा दस वर्ष जेठी सानीमा, उनको अनुहार मेरी आमाको जस्तो । मेरो अनुहार पनि मेरी आमाकै जस्तो । सानीमा र मेरो अनुहारका धेरै बान्कीहरु मिलेर होला, कहिलेकाहीँ उनी विराटनगर आएका बेला छिमेकीहरु हामीलाई दिदीभाइ भन्छन् । हिजोआज पचास छुन लागेको म, साठी हुन लागेकी सानीमा । उति बेला अहिलेको नयाँ बानेश्वरको बीचमा पन्ध्र-सोह्र रोपनी खर्चेर उभिएको एउटा सानो घर । अहिले छेवैमा ठडिएको साढे तीन तलाको पक्का बिल्डिङ । तेस्रो तलासम्मै दुईदुइटा फ्लाट ।
सुरुसुरुमा रोपनीरोपनी नै बेचे पनि अब आएर आनाआनामा बेच्दा पनि अघिअघिको रोपनीरोपनीको व्यापारलाई जित्ने । दुईचार रोपनी बेचेर घरव्यवहार धानेका सानाबाले नयाँ बानेश्वर पुरानो बानेश्वरलाई जित्ने गरी टल्किन थालेपछि कसले सल्लाह दिएछ र दस लाख आनाको भाउमा एक रोपनी जग्गा फेरि बेचेछन् र यो दरबार खडा गरेछन् । अब सानाबालाई पुर्ख्यौली सम्पत्तिको धाक । सानीमालाई चाहिँदो खर्च गर्न निर्धक्क छुट ।
धेरै मानिसलाई खुसी राख्ने मनोविज्ञानको स्तर उसको आर्थिक सुनिश्चितताले निर्धारण गर्छ । मेरी सानीमा ढुक्क थिइन् र छिन् पनि । त्यसैले उनको उमेरसँगै फेरिँदै जानुपर्ने शारीरिक जीउडाल, अनुहारको रूपरङ र खिरिलोपन नफेरिई उमेरलाई मात्र अघि लगाएर आफूहरु अटेरी भएर बसेझैँ देखिन्छन् । त्यसमा उनको स्वास्थ्य र खानपानप्रतिको सजगताले पनि सहयोग गरेको होला ।
शिक्षक म लेखक–कवि पनि भइखाएको । आफू बसेको ठाउँ-परिवेशबाट धेरैजसो अन्यत्रै चहारिरहने मनमस्तिष्क । कहिले चौरासी व्यञ्जन पनि स्वादै नलिई खाने, कहिले पोलेको मकै र नुन-खोर्सानी पनि अमृतै लाग्ने । घामपानी विचारै नगरी शरीरलाई हिँडाइरहने मन । त्यसैले उमेरभन्दा अगाडि नै फेरिँदै गएको अनुहारको रूपरङ र जीउडाल । हातखुट्टा सुक्न थालेका, पेट मात्र अलिअलि फुलेको । कपाल तिलचामले भए पनि दाह्रीजुँगा सेतै, त्यो पनि हप्तौँ नकाटिने ।
सानीमाका भाडेदार मलार्इ देखेपिच्छे उनलार्इ भन्ने गर्छन्, ‘तपाईंका दाइ आउनुभा रैछ, हगि ?’
सानीमा खिरिलो ज्यानकी भए पनि सानाबा ढुक्कसँग मोटाएका । घरभाडाको ढुक्कको आम्दानीले जीउसँगसँगै मन पनि मोटाएका । पहिलापहिला केटाकेटीमा मलाई ‘तिमी’ को सम्बोधनले तटस्थ व्यवहार गर्ने सानाबा आजकल ‘तँ’ मा झरेका छन् । र केटाकेटीलाई जस्तो ‘यो नगर्, त्यो गर्, यो नखा, त्यो खा, यसरी हिँड्’ जस्ता एकदुई लेक्चर दिइरहन्छन् । त्यो उनको बढेको वैभवको अहंसँगै मप्रति अधिकारपूर्ण स्नेह होला ।
०००

पर्वतकुमार श्रेष्ठ
आज सर्वोच्च अदालतमा मेरो मुद्दाको पेसी । अलि चाँडै भात खाएर निस्कँदै गर्दा सानीमा कराउँछिन्, ‘कस्तो झ्याउसे भएर हिँडेको यो केटो, हेर ।’ म मुसुमुसु हाँसेर सेतै फुलेको दाह्रीजुँगा मुसार्दै हिँड्छु ।
वीरेन्द्र अन्तर्राष्ट्रिय सभागृहको उत्तरतिरको बाटो निस्केर चोक हुँदै बाटोदाहिने एभरेस्ट होटलतिरको फुटपाथ हुँदै अगाडि बढ्दा मनले पनि त्यही बाटो अलि अगाडि बढेर बबरमहलको गल्ली छिर्दै सर्वोच्च अदालको त्यो लामो घर, मेरो जस्ता अनेकौँ मुद्दा केलाइरहने फाँट र बहस हुँदै गरेको इजलास सम्झँदै अगाडि बढ्दै हुन्छु । बिजुलीबजारको पुलनिर पुगेपछि एउटी बीस–बाइसकी केटी मेरो अगाडि ‘नमस्कार सर’ भन्दै उभिएकी भेट्छु । एकछिन टोलाएपछि म भन्छु, ‘कविता … कविता पाण्डे हैन ? चिन्न त चिनेँ नि हगि ? तर तिमीले पो कसरी चिनिछ्यौ ? आजकल धेरैले मलाई चिन्न छाडेका छन् ।’
‘अँ, सर पनि । त्यस्तो राम्रो नेपाली पढाउनुहुने सरलाई कसरी नचिन्ने ? सरले गर्दा नै साहित्यतिर रुचि बढेको हो मेरो ।’
‘अहिले के गर्दै छ्यौ त ?’
‘पुलचोक इन्जिनियरिङ क्याम्पसमा कम्प्युटर इन्जिनियर अन्तिम वर्षमा पढ्दै छु ।’
‘अनि साहित्यतिर लागिनछ्यौ त ?’
‘किन नि सर ? कविता र कथा लेखनमा अरू आर्टस् कलेजका विद्यार्थीहरुलाई पनि जितेकी छु त ।’
म एकछिन उसको अनुहार हेरेर भन्छु, ‘स्याबास् कविता । दुवैतिर सफलता मिलोस्, आशीर्वाद छ ।’
मेरो आशीर्वाद ग्रहणस्वरूप फेरि हात जोडेर निहुरिएपछि कविता हिँड्छे । जाँदै गरेकी उसलाई हेरेर म एकछिन उभिन्छु अनि अगाडि बढ्छु । हिँड्दाहिँड्दै म सम्झन्छु— यो कविता र त्यो सविता एक वर्षअगाडिसम्म मैले नै रामजानकी हाइस्कुलमा पढाएका विद्यार्थी । सविता अहिले मेरो मुद्दाको वादी, भनौँ पीडित पक्ष । म प्रतिवादी, भनौँ पीडक ।
म सम्झन्छु, कविताजस्तै सविता पनि साहित्यमा गहिरो रुचि राख्ने । सात कक्षा पढ्दै सविताले मलाई देखाएका एकदुई कवितामा केही सम्पादन गरिदिएपछि धाराप्रवाह रसिला कविता लेख्न थालेकी । नौ कक्षा सुरु हुँदा त उसले जिल्ला प्रतियोगितामै आफ्ना उमेर समूहका सबैलाई उछिनेकी ।
एकदुई स्थानीय पत्रिका अनि मधुपर्कमा छापिएका मेरा कविताहरु ऊ रुचिसाथ पढ्थी । मैले एकपल्ट एउटा खर्चको टिपोट सानो टुक्रा कागज टेबलमा राखेको थिएँ । ऊ आठ कक्षामा पढ्थी सायद । एउटा कविता मलाई देखाउन लिएर आएकी ऊ ‘कुमारी मिलमा धान कुटानी, जलधरको ठेला भुक्तानी’ वाला, अन्त्यानुप्रास मिलेको त्यो मेरो खर्चको टिपोटलार्इ कविता ठानेर लय हालेर पढ्न थाल्दै रहिछ, म चिया लिएर कोठामा फर्किंदा । मेरो अनुमतिबिना त्यो टिपोट उठाएकामा उसले ‘सरी सर’ भन्दै लजाएर माफी मागेकी थिर्इ ।
चिया खाँदै एकछिनमा उसले आफ्नो कविता देखाई । एक दुई शब्द थपघट गर्दा उसको उमेरभन्दा बढी परिपक्व बन्थ्यो त्यो कविता । भावको गहिराइ र तर्कको तौलाइ उत्तिकै । मलाई सम्पादन गरिहाल्न पनि हम्मेहम्मे पर्ने खालको थियो त्यो कविता ।
एकदुई दिन आफूसँग राखेर एकदुई ठाउँ उपयुक्त शब्द थपेर एकदुई शब्द झिकेर उसलाई फर्काइदिएँ । केही भन्छे कि भनेर आफ्नो सम्पादित कविता दोहोर्याउँदै गरेकी उसको अनुहार एकछिनसम्म हेरिरहेँ । ऊ आफ्नो कविता पढिसकेर खुसी हुँदै ‘कस्तो राम्रो भएछ सर, आमालाई देखाउँछु’ भन्दै कुदेकी थिर्इ ।
ऊ त कविताको परीक्षा दिन आएकै थिई, उसको अनुहारको खुसीले म पो पास भएझैँ भएँ ।
अहिले सम्झन्छु, मोरङ जिल्ला अदालतमा बहसको त्यस दिन वादी अर्थात् सविता बयान दिन आइन् । हाम्रो घरको उत्तर सिमानामा जोडिएको उसको घर । कहिलेकाहीँ पछाडिको बरन्डामा उदास बसिरहेको देख्थेँ । तर उसकी आमा ललिताले घटनाको दिनदेखि मेरी छोरीको मानसिक स्थिति ठीक छैन भन्दै दुईपल्टै बहसमा उसलाई ल्याइनन् ।
पीपलचोकको मेरो घर, प्रतिभाचोकका वकिल दाइ । उति बेला आदर्श हाइस्कुलमा मभन्दा दुई वर्ष सिनियर उनी । त्यति बेलै उनी मेरा लागि अभिभावक जस्ता, वरिष्ठ अधिवक्ता वीरेन्द्रबहादुर कार्की ।
म अदालत परिसर छिर्दा मेरा विरुद्धमा नारा लगाउन थालिहाले गाउँकै आधाभन्दा धेरै महिला । मेरो पक्षका साक्षी महिलाहरूको संख्या कम भए पनि मप्रति विश्वासिला वकिल दाइ ।
पहिलो दिनको बहसमा वादी भनिएकी सवितालाई उपस्थितै नगराइएको र जबरजस्ती करणीको प्रयास भएको प्रमाणका लागि चाहिने हातपात भएको डाक्टरको रिपोर्ट पनि नभएकाले अर्कोपल्ट ती प्रमाणहरुसहित पीडित स्वयंलाई उपस्थित नगराए फैसला सोही बमोजिम हुने बेहोरा सुनाइयो ।
अर्को बहसमा पनि प्रमाणहरु थिएनन् नै, पीडित पनि आइन । तर मुद्दाको बेहोरा फेरि आशय करणीतिर लगेर बहस गर्न थालियो । त्यसका लागि प्रत्यक्षदर्शी बनेर दुईतीन जना आइमाई थपिएर बयान दिन आए । तर फेरि पनि सविताको अनुपस्थितिमा प्रतिवादीमाथि लगाइएको अभियोग प्रमाणित हुँदै हुँदैन भनेर फैसला भयो । अदालतबाट बाहिर निस्कँदै गर्दा ललिता घायल सिंहिनीझैँ मलाई हेर्दै ‘ढुक्क भएर हिँडेका होलाऊ खुइटे सर, तिम्रो मास्टरी नउडाई कहाँ बस्छु र ?’ भन्दै प्रत्यक्षदर्शी साक्षी बनेर आएका आइमाईहरुसँगै फटाफट अगाडि बढिन् । म एकछिन झस्के पनि, आफ्नै तालमा हिँड्छु ।
मास्टरी सस्पेन्डमा थिँदै थियो । एक हप्ता मेरो लेखपढ पनि आफैँ सस्पेन्ड रह्यो । त्यसपछि बिस्तारै आफूलाई सहज बनाउँदै हुन्छु ।
तर सविताकी आमाले आफ्नो वाचा पूरा गराइछाड्छिन् ।
दुई महिनापछि फेरि त्यही मुद्दामा म पुनरावेदन अदालतमा उपस्थित गराइएको हुन्छु । अहिले सवितालार्इ पनि उपस्थित देख्छु । मनमा चिसो पस्छ । साँच्चै सविताले आफ्नो कविताले प्रथम पुरस्कार पाएको खुसीमा मलाई अँगाल्दा मैले केही आपत्तिजनक हर्कत गरेँ कि, उसलाई त्यस्तो लाग्यो कि ? म निकै बेर विचारमग्न भर्इ घोरिइरहन्छु । बुद्धिचालको खेलाडीले आफ्नो चालपछि अर्को पक्षको चाल पर्खेझैँ अब सविताले के भन्ली भनेर मैले आतुर मनले पर्खिरहन्छु । त्यो पर्खाइभरि अरू प्रत्यक्षदर्शी बनेर आएका साक्षीहरुले केके बयान दिए, मैले केही सुनिनँ-बुझिनँ । वीरेन्द्र वकिल दाइले केके सोधे, त्यो पनि थाहा पाइनछु ।
सवितालाई उसकी आमाले बिस्तारैबिस्तारै बयानको कठघरामा लाँदै गर्दा मेरो सास रोकिएझैँ भयो । कठघरामा पुगेपछि सविताले अचानक आफ्नी आमाको हात कुमबाट झट्कारेर हटाई र एकछिन आमाको अनुहार क्रोधित मुद्रामा हेरी र मेरो वीरेन्द्र दाइतिर हेरेर लगभगत चिच्याएरै ‘हैन वकिल अंकल, चिरञ्जीवी सर त्यस्तो हुनुहुन्न’ मात्र भनेर कठघराबाट ओर्लिएर आफ्नो पक्षको बेन्चमा बस्न नगएर सरासर ढोकातिर गई । हतारहतार उसकी आमा पनि त्यतै लागिन् । एकै छिनमा ललिता एक्लै फर्किइन् । वीरेन्द्र दाइलाई खासै केही बोल्नुपरेन । झुटो आरोप भन्ने प्रमाण पीडित बनाइएकी सविता आफैँले दिएपछि फेरि घायल सिंहिनी आमा चाहिँलाई अर्को घाउ लाग्छ । उनी अब झन् चुप बस्दिनन् भन्ने विश्वास थियो । तर सविताले उनको झुटो योजनामा सहयोग गर्दिन भन्ने पनि मलार्इ विश्वास थियो ।
०००
‘अब आजको बहस कसरी बढ्छ, हेरूँ’ भन्ने सोच्दै म सर्वोच्च अदालत छिर्छु । सम्बन्धित फाँटमा गएर बुझ्छु, ‘मेरो आशय करणीको मुद्दा कुन बेन्चमा पेसी हुँदै छ ?’ फाँटवाला कुरो नबुझे जस्तो गरी एकछिन मलाई हेरे भन्छ, ‘त्यो विराटनगरको स्कुले केटीउपर भएको बलात्कारको मुद्दा ? अँ, त्यो केटीको दिमागी हालत ठीक भइनसकेकोले, एक महिनाको उपचारपछि हाजिर हुने भनेर निवेदन परेकोले त्यति बेलासम्मको लागि मुद्दा मुल्तबीमा राखिएको छ ।’ यति भनेर अझै एकछिन मेरो अनुहार हेरेपछि ऊ अरू काममा लाग्छ । म ‘बलात्कारको मुद्दा’ शब्दावली बरबराउँदै निस्कन्छु ।
बाहिर आएर त्यत्तिकै रल्लिँदै बबरमहलको गल्लीबाट छिर्दै मूलसडक छिचोलेर नेपाल कला परिषद् अगाडि पुगेर उभिन्छु । दुईचार मानिसहरु कला परिषद् भवन पस्दै-निस्कँदै हुन्छन् । मेरो छेउबाट हिँडेका दुई केटाहरु ‘क्या जोडको व्यंग्य हान्न सक्छन् हगि यी वात्स्यायन’ भन्दै अघि बढ्छन् । मलार्इ त्यस कुराले तान्छ तर दिमागमा अघि फाँटवालाले भनेको ‘बलात्कारको मुद्दा’ शब्दावली नै घुम्दै हुन्छ ।
निकैबेर त्यसरी उभिएरै आफूलाई शान्त पार्दै हुन्छु । यो माइतीघर लाग्ने फुटपाथ र थापाथली छिर्ने बाटाको कुनामा अधबैँसे मोटी आइमार्इले पिठ्युँको डोको बिसाउँछे । घाँटी तन्काएर डोकामा हेर्छु । ऊ अलिकता दाउरा, एउटा तगारी र हरियो मकैका घोगाहरु निकाल्न थाल्छे र हेर्दाहेर्दै तगारीमा आगो बालेर मकै पिल्स्याउन थाल्छे । अनि अलि वरतिर छानावाला चार पहियामा उभिएको ठेलाअगाडि तराई मूलका एक जोडी स्त्री-पुरुष आएर उभिन्छन् । पुरुष आफूले बोकेका दुई झोला सामान भुइँमा राखेर महिलाको टाउकाबाट सामानले चुलिएको ढाकी उतार्न सहयोग गर्छ । यतिन्जेल मेरो मनले अघि अदालतमा सुनेको शब्दावली ‘बलात्कार मुद्दा’ दोहोर्याउन छोड्दै हुन्छ । गुम्तीमा सामान राख्दै गरेको पुरुषले त्यसको छानोमा सिक्रीले बाँधेर राखेका दुइटा बेन्च ताला खोलेर भुइँमा फिजाउँछ । दुई बज्दा-नबज्दा उनीहरुको व्यापार सुरु हुन्छ— चिया, बिस्कुट र चटपटे-झालमुरी ।
एक घण्टाभन्दा बढी उभिइरहेको म उनीहरुले राखेका बेन्चमध्ये एउटामा केही भनिहाल्लान् कि भनेर संकोच मान्दै बस्छु । व्यापारको फस्ट आवर भएकाले होला, उनीहरू त्यति वास्ता गर्दैनन् ।
एक छिनमा कर कार्यालयबाट निस्केर आएका दुई जना मानिस कर तिरेको हिसाब गर्दै आएर अर्को बेन्चमा बस्छन् र चियाको अर्डर गर्छन् । अनि केही बेरमा सत्र–अठारका दुई जना ठिटी आएर ‘हामीलाई दुइटा झालमुरी दिनु त’ भन्दै म बसेको बेन्चको खाली भागमा बस्छन् ।
यति बेला अढाइ बज्दै हुन्छ । मलाई भोक लागेको त हैन, पिल्छिएको हरियो मकैको बास्नाले जगाएको तृष्णा होला । मकैवालीतिर फर्केर ‘ए बहिनी, मलाई एउटा मकै दिनू त’ भन्दै फर्केर चियावालीतिर हेर्छु । ऊ मलाई नै हेर्दै रहिछ । म ‘मकै खाइसकेर एउटा चिया पनि खान्छु’ भन्दै मुस्कुराउँछु । ऊ विश्वस्त भएझैँ अलिकता छड्के मुस्काएर आफ्नो काममा लाग्छे ।
मेरो हातमा मकै आइपुग्दा झालमुरी खान थालेका ठिटीहरुमध्ये मतिरकी ठिटी ‘हेर न, एक महिनाअगाडि गाउँबाट मेरो हालचाल बुझ्न आएका बूढाबूढीले मलाई चाहिँदैन आफैँ किन्छु बरु पैसा नै दिनुस् भन्दा पनि नमानेर आफैँ किनिदिएको यो पाइन्ट’ भन्दै एक चम्चा झालमुरी मुखमा हालेर चपाउन थाल्छे ।
अर्की भन्छे, ‘खैखै हेरूँ । उभिर्इ त ।’
पहिली चाहिँ झालमुरी चपाउँदै उभिन्छे । दोस्री भन्छे, ‘वाउ, क्या नयाँ डिजाइन । अरूको घुँडामा फाटेका हुन्छन्, तेरो त तिघ्रामै । उता फर्की त ।’ पहिलीले त्यसै गरेपछि दोस्री थप्छे, ‘लौ पछाडि पनि त्यस्तै पो । क्या सेक्सी देखिन्छ त यार । कहाँ किनिस् भन् त ? म पनि किन्छु ।’
मकै चपाउँदै म उभिएकी केटीको पाइन्टतिर हेर्छु । पाइन्टमा ठूलठूला दुइटा प्वाल रहेछन् ।
परतिरकी केटीले पाइन्टवालीको तिघ्राको अगाडि–पछाडि हेरेर त्यति भनिसकेपछि पाइन्टवाली बेन्चमा बस्दै खित्का छोडेर भन्छे, ‘किन्दा केही भा थिएन । दुई दिन लगाएर लुगा धुने ब्रसले घोट्दाघोट्दा गरेर खुइल्याएँ । अनि माथि होस्टलको भान्सामा गएर सिलौटामा राखेर लोहोराले हानेँ । कताकता हानियो–हानियो, यस्तो भएछ । तर राम्रै देखिएको छ, हगि ?’
‘अहिलेको फेसनमा पनि लास्टै राम्रो यार । म त यो आर्ट एक्जिबिसनको कुरा गर्दै आउँदा तेरो लुगातिर ध्यानै दिइनछु नि ।’
‘अहिले घर जाँदा युएन पार्कतिरबाट जाम् । एउटा टिकटक हान्दिम्ला, हुन्न ?’
‘हुन्छ–हुन्छ ।’
अनि दुवै उठ्छन् ।
उनीहरुको कुराले सम्मोहित भएर म पनि उठ्छु । चियावालीले मतिर हेरेको देखेर ‘एउटा चिया खाम् न त’ भन्दै फेरि बस्छु ।
म पहिला पनि दुईतीनपल्ट आइसकेको हुँ काठमाडौं । कविताको राष्ट्रिय प्रतियोगिता हुँदा । अनि शिक्षक संगठनको केन्द्रीय चुनाव हुँदा । त्योभन्दा अघि एउटा गर्मी बिदा सिङ्गै बिताएर काठमाडौंको सक्दो छान मारेको ।
बानेश्वर सानीमा र सानाबालाई विराटनगरमा मलाई मुद्दा लागेको र मुद्दा जितेको पनि थाहा छ । तर यो सर्वोच्च अदालतमा मुद्दा आएको कुरा मैले भनेको छैन । मुद्दाले गर्दा म जागिरबाट सस्पेन्डमा परेको, मेरी आमा इटहरी दिदीकहाँ र पत्नी प्रमिला दुई छोराछोरी लिएर माइतमा छिन् भन्ने पनि थाहा छ ।
म काठमाडौं आइपुगेको भोलिपल्ट सानीमाले सोधेकी थिइन्, ‘तेरो मास्टरी फुक्यो, बाबू ?’
मैले भनेको थिएँ, ‘त्यसैको लागि आ’को ।’
सानीमा–सानाबाका एक छोरा र एक छोरी छन्, तीनचार वर्षदेखि दुवै अमेरिकामा छन् । सायद तिनै छोराछोरीको सट्टाको माया पनि मैलाई थपेका होलान् । खानपिन र बसाइ त छँदै छ, कहिलेकाहीँ पकेट खर्च पनि दिन्छन् । प्रायः उदास देखिने मेरो अनुहारले सानीमा र सानाबाको मायासँगै सहानुभूति पनि तानिरहेकै छ । भन्छन्, ‘दिनभरि लखरलखर कहाँकहाँ हिँडिरहन्छस् । त्यही कविता सुन्न–सुनाउन त होला । दिउँसो चियाखाजा खान पनि घरै आए राम्रो है ।’
गर्भे टुहुरो म । मावलमै जन्मेँ, मावलमै हुर्किएँ । यिनै सानीमाको प्यारो खेलौना भएर हुर्किएको । अझै त्यस्तै माया गर्छिन् ।
०००
म ढुक्क थिएँ, सविताले मेरो विरुद्धमा बोल्दिन, अझ भनूँ, अदालतै आउँदिन भन्नेमा । एक महिनापछि सर्वोच्च अदालतबाट पनि जितेको फैसला लिएर गएपछि सस्पेन्डमा रहेको मेरो शिक्षक जागिर फुकुवा हुन्छ भन्नेमा ।
यस्तै सोचेर मुद्दाको फैसलाको अघिल्लै दिन बेलुकी बबरमहलको सेरोफेरोबाट घर फर्कंदै गर्दा बाटोको सैलुनमा पसेर दाह्रीजुँगा मठारेर फ्रेन्चकट बनाउँछु । यो ढुक्कको मनोभावमा चिल्लो अनुहार लिएर फर्केको मलाई देखेर सानाबा र सानीमा दुवै खुसी हुन्छन् । सानाबा सोध्छन् पनि, ‘तेरो कविताले प्राइज पायो कि क्या हो ?’
म ‘हैन’ भन्दै मुस्कुराउँछु मात्र ।
भोलिपल्ट आफ्नो मुद्दा फैसला हुने इजलास खोज्दाखोज्दै आघा घण्टा ढिलो पुगेछु । ढोकामा मलाई पर्खिरहेका मेरा वकिलको पछिपछि भित्र छिर्दै गर्दा देखेँ— वादी पक्षका अभियोजक र साक्षीहरु बस्ने बेन्चमा सविताकी आमासँग तीनचार जना विराटनगरिया आइमार्इहरुसँगै सविता पनि । म झसङ्ग हुन्छु । चार महिनाअघिसम्म पुनरावेदन अदालतमा नजिकबाट देखिएकी पन्ध्र वर्षकी दुब्लीपातली सविता अहिले अलि मोटी, अलि अग्ली र गोरी पनि । उमेर बीस–एक्काइस जस्तो । सविता हैन कि भन्ने शंकासहित मैले नियालिरहँदा ऊ वास्तै गर्दिन । सोच्छु— दवाईको प्रभाव होला ।
ललिताले झ्वाट्ट मलाई देखेपछि सविताको कानमा के भनिन् कुन्नि, सजग भएर निकै बेर मतिर हेरिरहन्छे ।
मेरो नौनाडी बिस्तारै गल्न थाल्छन् । मेरा वकिल यहीँको शिक्षक साथीका पनि साथी । उनी पनि ढुक्क थिए सविता आउँदिन भन्नेमा । तर अहिले उनले बनाएको बहसको साधारण योजना फेल खाइसकेको छ । उनी पनि डराए जस्ता देखिन्छन् ।
एक छिनमा इजलास पछिल्तिरको क्याबिनबाट न्यायाधीश झुल्किन्छन् । मुद्दाको मिसिल हेरिसकेका न्यायाधीशले नयाँ साक्षी र प्रमाणहरु केके छन् त भनेर सोधेपछि सविता उठेर मतिर संकेत गर्दै चर्को स्वरमा बोल्छे, ‘श्रीमान्, म यिनै सरको लाजमर्दो हर्कतले विक्षिप्त भएर अदालत आउन नसकेकी । अहिले आ’की छु… ।’
न्यायाधीश कठघरातिर देखाउँदै उसलार्इ भन्छन्, ‘यहाँ आएर बोल्नुस् ।’
ऊ कठघरामा गर्इ उभिएर त्यही कुरो दोहोर्याएपछि थप्छे, ‘मेरो कविताले फस्ट प्राइज पाएको कुरो सुनाएर म यी सरको अगाडि झुकेकी थिएँ । यिनले पहिले अँगालो हाले । खुसीले मैले पनि एकछिन अंकमाल गरेँ । तर एक छिनमा छुट्टिन खोज्दा यिनले छाड्दै छाडेनन् । हुँदाहुँदा मेरो कुर्ताको पछाडिको चेन खोल्न थाले । मैले ‘छाड्नुस् सर, के गर्नुभा’को’ भन्दा, मेरो ब्राको खिप पनि खुस्काउँदै ‘तिमी पनि कवि, म पनि कवि, अब एकाकार हौँ न’ भन्दै मेरो ओठमा आफ्नो ओठ राखेर केके गरे केके । त्यति नै बेला मेरी आमा र यी आन्टीहरु आइनपुगेका भए अरू पनि केके हुन्थ्यो । मैले कवितालेखनको गुरु ठानेका मान्छे त उन्मत्त साँढे पो रैछन् ।’ मतिर औंला तेर्स्याएर भन्छे, ‘यिनलाई कडाभन्दा कडा सजाय दिनुपर्छ श्रीमान् ।’ र, थररर काम्दै र रुँदै आएर आफ्नो बेन्चमा बस्छे ।
म शीताङ्ग हुन्छु । मलाई थाहा छ, खुसीले पागल जस्ती भएर आएकी सविता आफैँले मलाई अँगालेकी थिर्इ । अँ, गुरुको हैसियतले उसको कपालमा हात राखिदिनुपर्नेमा मैले पनि एकछिन अंकमालै गरेछु । त्यति नै बेला उसको पछिपछि आएकी ललिताले छोरीलार्इ घिस्याउँदै भनकी थिइन्, ‘के गरेकी ? लाजसरम छैन ? पढाउने गुरु भा’को बूढो भएर तपाईं पनि । लाजसरम पचेको ।’
सविता रूँदै भन्दै थिर्इ, ‘हैन आमा, हैन । के गर्नुभा’को ?’
मेरो सम्झनामा यी कुराहरु दोहोरिँदै–तेहरिँदै फर्कीफर्की आउन्जेल इजलासमा भएका अरू साक्षी आइमाईहरुले केके भन्छन्, म थाहै पाउँदिनँ ।
अब मलाई कठघरामा बोलाइन्छ । म लगभग घिस्रिएरै कठघरामा पुग्छु र भकभकाउँदै बोल्छु ।
आफ्नो मुद्दाको प्रतिवादी, साक्षी–प्रमाण सम्पूर्ण म । मैले बोल्ने कुरो पनि थिएन । मात्र सविता आउँदिन भन्ने विश्वासमा आएको । म कहिले न्यायाधीश र कहिले सवितातिर लाटाले झैँ हेर्दै टोलाइरहन्छु ।
निकै बेरपछि न्यायाधीश भन्छन्, ‘भन्नुस्–भन्नुस् खड्काजी आफ्नो कुरो ।’
तैपनि मेरो बोली फुट्दैन । फुट्दै फुट्दैन । बेलाबेला घुटुक्कघुटुक्क थूक निल्न पनि गाह्रो परिरहन्छ । यसरी लाचार, चुप रहेर सविताकी आमाको पक्षमा म आफैँ साक्षी भैदिन्छु । न्यायाधीश महोदय कलम उठाउँछन् र केही मिनेटको लेखाइपछि फैसला सुनाउँछन्— छ महिना कैद र दस हजार रूपैयाँ जरिवाना, जरिवाना नबुझाए अरू छ महिना कैद ।
अलि परतिर माइतीघर मण्डलामा कञ्चनपुरकी निर्मला पन्तको बलात्कार र हत्याको विषयमा न्याय माग्दै सयकडौं अधिकारकर्मी महिला तथा पुरुषहरु नारा लगाउँदै हुन्छन् । यता निर्दोष मलार्इ कैद सजाय हुन्छ ।
न्यायाधीशले इजलासमा उपस्थित पुलिसलाई बोलाएर मतिर देखाउँदै अह्राउँछन्, ‘उहाँलाई राम्रो सुरक्षा दिएर लैजानू ।’ परिस्थिति अझै बुझाउन खोजेझैँ न्यायाधीश एकछिन उभिएरै इन्स्पेक्टरलाई हेरेर आफ्नो क्याबिनतिर छिर्छन् ।
पुलिसको गाडीमा बसेर जेल पुगुन्जेल म कल्पिन्छु, ‘मास्टर भएर स्कुलमा पुनःस्थापित हुने सपना चकनाचुर भयो । अब समाजबाटै बहिष्कृत । सानाबा र सानीमालाई के जवाफ दिनु ? आमा, श्रीमती, छोराछोरीलार्इ ?’ बुद्धलाई सम्झिन्छु । अन्तिम समयमा उनलाई श्रद्धासाथ खुवाइएको भोजन विषाक्त थियो र त्यसले उनलाई मृत्युवरण गराउँदै थियो तर पनि उनले त्यो मेजबानप्रति भोजनका लागि आभारी नै रहेर मृत्युवरण गरेका थिए ।
०००
जेलमा अरू कैदीहरु केके सोध्न आइरहन्छन् । म धेरै चुप रहेर कुनैकुनै प्रश्नको मात्र संक्षिप्त उत्तर, त्यो पनि मुन्टो हल्लाएर मात्र दिन्छु । उनीहरु त्यत्तिकै शान्त र परपर हुँदै जान्छन् ।
दोश्रो हप्ता सुरु भएपछि सानीमा–सानाबा आइपुग्छन् । त्यतिन्जेल मैले आफूलाई संयमित बनाइसकेको हुन्छु । एउटा झोलामा बिस्कुट, चाउचाउ र अर्को झोलामा एउटा कम्बल, मञ्जन, ब्रस, मेरा लुगाहरु र किताबहरु ।
सानाबा निकै रिसाएर भन्छन्, ‘कस्तो लठुवा रैछ ? हामीलाई भन्दै भनेन सर्वोच्च अदालतमा मुद्दा छ भनेर । हामीले पनि एकदुई न्यायाधीश चिनेका थिम् नि । केही भनसुन हुन्थ्यो होला ।’
म फिस्स हाँसेर भन्छु, ‘जसले जिल्ला र पुनरावेदनमा जिताएकी थिर्इ, उसैले यहाँ हराइदिई । यस्तो होला भन्ने कल्पनै थिएन ।’
सानाबा रिसाएर फन्किँदै परको बेन्चमा गएर बस्छन् र केके बरबराइरहन्छन् ।
सानीमा निकै लामा प्रश्नहरु र सुझावको लोरी सुनाउँदै हुन्छिन् । म संक्षिप्त उत्तर दिँदै सुनिरहन्छु ।
समय निकै बितेछ, गार्ड बसेको पुलिसले नरम स्वरमै भन्छ, ‘अब जानुहोस् हजुर । समय सकियो ।’
सानाबा हात झड्कार्दै लुरुलुरु हिँडे पनि सानीमा फर्कीफर्की झ्यालमा उभिएको मलाई हेर्दै आँसु पुछ्दै जान्छिन् ।
अर्को हप्ता लेखक साथी बादल मलार्इ भेट्न आउँछन् । उनी सुझाव दिन्छन्, ‘जेलका कैदीहरुबारे एउटा उपन्यास लेख । हामी सबै मिलेर छापम्ला । अनि अर्को कुरा, हामी सबै साथीहरु मिलेर पैसा जम्मा गर्दै छौँ, दस हजार पुगेपछि तिम्रो जरिवानावाला कैद फिर्ता गरम्ला ।’
म भन्छु, ‘अघिल्लो योजना सफल पार्न दोस्रो योजना रद्द गर्नुपर्ला नि । कैदीहरुबारे राम्ररी बुझ्न एक वर्ष नै चाहिएला । बरु मेरो जरिवाना भर्न संकलन हुने रकम मलाई नै दिए यहाँ बस्न मलाई अझ सजिलो हुन्थ्यो ।’
बादल आश्चर्यचकित मुद्रामा मलार्इ हेर्दै र मुस्कुराउँदै भन्छन्, ‘साँच्चै भनेको ?’
म भन्छु, ‘के फरक पर्छ र जेलभित्र र बाहिरमा ? यहाँ पनि दुईचार निरपराध कैदीहरु आफ्नो गल्ती केलाउँदै होलान् र बाहिर सयौँ अपराधीहरु अपराधको योजना बनाउँदै होलान् ।’
‘वाह, जेलभित्र तिम्रो लेखनी झन् चम्किने रैछ । बधाई छ ।’ झ्यालका डन्डीबीचबाट हात छिराएर मेरो कुम थपथपाउँदै बादल थप्छन्, ‘त्यसै गरम्ला ।’ उनी हिँडी पनि हाल्छन् ।
मलार्इ भेट्न साथीभाइहरु पालैपालो आउँछन् । मलाई पत्रिका किन्ने र चिया खाने खर्च भनी सय–पचास छाडी जान्छन् । सानीमा र सानाबालाई त मेरो जेलजीवनप्रति चिन्ता भए पनि नयाँ जाने ठाउँ अथवा तीर्थ जस्तो भएको हुन्छ कारागार । देवतालाई चढाउने प्रसाद जस्तै दुईतीन दिन, दुईतीन दिनमा कहिले हलुवा, कहिले खीर, कहिले सेलरोटी त कहिले मासु–चिउरा लिएर आउने र मलाई खुवाएरै जाने गर्छन् ।
०००
अर्को महिनाको पहिलो शनिबार जेलको ढोकानिर उभिएर दैनिक पत्रिका पर्खिरहेको हुन्छु । शनिबारे परिशिष्टाङ्कमा के छापिएको होला भन्ने कौतूहल हुन्छ । पत्रिकावालाले ‘विराटनगरमा दस कक्षा पढ्दै गरेकी एउटा बालिकाले आत्महत्या गरी छ’ भन्दै पत्रिका थमाएर जान्छ । अनेक शंका–उपशंकाबीच मेरा आँखाले त्यही समाचार पहिले खोज्छन् । नभन्दै मुखपृष्ठमै छापिएको रहेछ— एक वर्षअघि आफ्नै गुरुबाट बलात्कृत किशोरीद्वारा आत्महत्या । नाम, ठेगाना, पढ्ने स्कुल, उमेर सबै मिल्यो । ‘गुरुबाट बलात्कृत’ भनी मलाई लगाइएको लाञ्छनाले मलाई अलिकति पनि छोएन । छोयो त एउटी साहित्यप्रेमीको, किशोरावस्थाकी लेखकको अल्पायुमै भएको अवसानले । आफैँ सोचनीय अवस्थामा रहेका बेला मुटु घोच्न आइपुगेको यो दुःखद समाचार पढ्दा न आँसु झर्छ न त कसैसँग साझा नै गर्न पाउँछु ।
सविता पढ्नमा पनि तेजै थिर्इ । हाम्रो सरकारी स्कुलका विद्यार्थीमा एस.र्इ.र्इ. मा सजिलै फस्ट डिभिजन ल्याउन सक्ने कक्षा प्रथम विद्यार्थी । उसले पहिले पनि लेखेकी थिइहोली कविता, तर सात कक्षा पुगेपछि लेखेका कविताहरू मलाई देखाउन थालेकी थिर्इ । हप्तामा दुई दिन जस्तो कविता लिएर आउँथी । आठ कक्षाको अन्ततिर पुगेपछि उसका कविता स्तरीय हुन थालेका थिए ।
एक दिन उसकी आमा ललिताले आएर मलाई बिन्ती बिसाएकी थिइन्, ‘खड्का सर, मेरी छोरी राम्रो पढ्छे । अंग्रेजी, म्याथ, साइन्स सबै राम्रो छ । यसलाई डाक्टर या इन्जिनियर बनाउनुपर्छ भनेर हेड सरले भन्नुहुन्थ्यो । तर हिजोआज यो कविता–कथातिर लागेकी देख्छु । सरकहाँ के सिक्न आउँछे कुन्नि, राम्ररी सम्झाइदिनुपर्यो ।’
म के भनूँ भनेर अलमलिएको देखेपछि उनैले भनेकी थिइन्, ‘कोशी अञ्चल अस्पतालमा एकपल्ट आएकी थिइन् नि एउटी लेडी डाक्टर कस्तूरी मल्ल, कस्ती मज्जाकी । मेरी सवितालाई पनि त्यस्तै बनाम् भनेको ।’
कुन कुरोमा खटपट परेर हो, आफ्नो बूढोसँग सम्बन्धविच्छेद गरेकी ललितालार्इ हाम्रो समाजले भन्थ्यो— एक्ली आइमार्इले पनि इज्जतसाथ गरिखाएकी छ । मैले उनको सामाजिक प्रतिष्ठा सम्झेर भनेको थिएँ, ‘राम्रो कुरो हो । हाम्रो स्कुलकी एउटी छात्रा, हाम्रो टोलकी चेली डाक्टर भई भने हाम्रो पनि इज्जत हुने । अनि आजकल उसको पढाइ बिग्रेको छ भन्नुभा’को ? हेड सरले त्यसो भन्नुभयो र ?’
‘त्यसो त भन्नुभा’को छैन, तैपनि यो कविता–सवितातिर लाग्ने समय पनि म्याथ, अंग्रेजी र साइन्समा लगाई भने झन् राम्रो हुन्थ्यो नि, हैन सर ?’
‘त्यो त हो नि ललिताजी । म उसलाई सम्झाउँछु । बाँकी मैले जानेको मेरो विषय मसँग सोध्न–सिक्न आउनेलाई मैले जानेको सिकाउनैपर्छ । शिक्षकको धर्म ।’
मैले यति भनिसक्दा उनले अनुहारमा उठ्दै गरेको क्रोधाग्निलाई छोप्ने निष्फल प्रयासको मुस्कानसहित भनेकी थिइन्, ‘आ, सर पनि धेरै दार्शनिक कुरा गर्नुहुन्छ । उसलाई ‘मेरो घर आउँदै नआइज’ भनिदिए भैगो नि ।’ उनी झन्डैझन्डै फन्केर उभिइन् । एक छिनपछि फेरि बसेर बोलेकी थिइन्, ‘ल है सर, मेरी छोरीको भविष्य नबिग्रियोस् ।’
उनका दुवै हात तल झुन्डिएकै भए पनि भाषा र अनुहारको भावले मतिर औँलो ठड्याएर गएकी थिइन् । त्यसपछि दुई हप्ता सविता आएकी थिइन । तेस्रो हप्ता अझ सुन्दर कविता लिएर आएकी थिई । कविता पढेपछि उसलाई उसकी आमाले भने जस्तो हिदायत दिन सकिनँ । सम्झाएँ मात्र । ऊ अलि सिरियस भएर बोलेकी थिर्इ, ‘पढ्ने मैले हो । पढ्नुपर्नेजति सबै विषय स्कुलमा पढाए अनुसार पढेकै छु । सबै आउँछ । यो कविताले त मलाई फ्रेस नै बनाउँछ ।’
धेरैपल्ट सविता आउने समय पारेर म बजारतिर निस्कने गरेको थिएँ । अब त गइहोली भनेर घर फर्किंदा पर्खिबसेकी हुन्थी । त्यसपछि हप्ता, दस दिनमा आउन थालेकी सविता झन्झ्न राम्रा कविता ल्याउन थाली । मैले उसकी आमाको कुरो बिर्सेछु । प्रमिला घरमै हुन्थी तर निःसंकोच, निस्फिक्री आफ्नो काममा हुन्थी ।
सविताको अन्तिम कविता हेरेको दिन म सम्झन्छु । त्यति राम्रो कविताले पाएको पुरस्कार । त्यो कविता राष्ट्रिय दैनिक पत्रिकामा छापिएर सबै साहित्यपारखीहरुले पढ्न पाउनुपर्ने थियो । तर अब त त्यो कविताको पाना र प्रशंसापत्र च्यातिइसके होलान् । पुरस्कारहरु कबाडीले लगे होलान् । त्यतिले पुगेन, सविता आफैँ सिंगिया घाटमा जलिरहेकी होली ।
सर्वोच्च अदालतमा सविताको बयान अनि आत्महत्या, यी दुई घटनाको कारण र परिणामबीच भेटिनुपर्ने सम्बन्ध खोज्दै म जेलमा अर्को हप्ता बिताउँछु । हप्तैभरि त्यो पत्रिका मेरो हातबाट छुट्दैन । सानाबाले ल्याइदिएका किताबहरू प्लास्टिकको र्याकबाट एउटाएउटा निकालेर अलिअलि पढ्दै, ओछ्यानको सिरानीतिर बिछ्याइएको पत्रिकामा फिँजाउँछु— योगमाया, सेतो धर्ती, कर्णाली ब्लुज, नथिया … … । तिनै किताबहरुलाई हेर्दै भित्तामा अडेस लगाएर बसेको म । जेलको सुरुसुरुका दिनहरुमा ‘मलाई पढ्, मलाई पढ्’ भनेर हानाथाप गरिरहे पनि अचेल शान्त बसेका छन् ती किताबहरु । मैले हेर्दाहेर्दै नीलम कार्की निहारिका, अमर न्यौपाने, बुद्धि सागर र सरस्वती प्रतीक्षा आआफ्ना किताबबाट फुत्तफुत्त निस्कँदै आआफ्नै किताबमाथि गोलाकार वृत्त बनाएर बस्छन् र शोकमग्नझैँ एकअर्कालाई हेरिरहन्छन् । सविताको अवसानप्रति मसँगसँगै शोकमग्न ती आख्यानकारहरु, म पनि खुम्चँदै खुम्चँदै उनीहरुकै जीउडालमा उनीहरु नजिक पुग्दै हुन्छु ।
कोही ‘ओ दाइ, बाहिर तपाईंलाई भेट्न सविता आउनुभा’ छ’ भनेर जान्छ ।
‘सविता ?’ म झसङ्ग हुन्छु । तत्कालै ती आख्यानकारहरु मैले ‘पख्नुस् पख्नुस्, सविता जिउँदै छे कि’ भन्न खोज्दाखोज्दै आआफ्ना किताबभित्र छिरिसक्छन् । बाहिर सूर्यास्त भईवरी धेरैजसो कैदीहरु आआफ्ना कक्षबाट निस्केर जेलको बीच चोकमा टहल्दै हुन्छन् । म अचम्म पर्दै त्यो पत्रिकासहित जेलको मूलढोकामा आउँछु ।
साँच्चै, सविता आएकै रहिछ । अलि अग्ली, अलि मोटी, अलि गोरी । बेन्चमा बसेर झ्यालतिर हेरेर मलाई पर्खिबसेकी । मलार्इ देख्नेबित्तिकै बेन्चबाट उठेर रुँदै हात जोडेर नजिक आएर भन्न थाल्छे, ‘म सविता हैन, सर । म सविता हैन । मलाई माफ गरिदिनुस् ।’ झ्यालको डन्डीमुनि च्यादरले छेलिएका मेरा गोडाहरु नै भेटुँला झैँ गरेर बस्छे । अरू जीउडाल, अनुहार अदालत आउँदैको जस्तो भए पनि बोली भने ठ्याम्मै फरक । मलाई एक छिन गाह्रो भयो । चुपचाप हेरिरहेँ, कुरो के हो भन्ने ठम्याउन नसकेर ।
एक छिनमा ऊ फेरि बोल्छे, ‘म गुरुकुलमा नाटक सिक्दै गरेकी विराटनगरको कञ्चनबारीकी देविका । मलाई पैसाको खाँचो थियो र यो आफ्नो अभिनय क्षमता जाँच्ने अवसर पनि । संयोगले मेरो अनुहार यी सविता बहिनीको अनुहारसँग मिलेछ । उसको नागरिकता र नौ क्लास पास गरेको मार्कसिट मलाई राख्न दिएर अदालत लगे । अनि सर, त्यस दिनदेखि पश्चात्तापले पोलेर म बाहिर निस्कनै सकिनँ । कोठैमा थिएँ । हाम्रा नाटक गुरुले कसरी थाहा पाउनुभएछ, मेरो कोठैमा आएर पहिले सक्दो गाली गर्नुभयो अनि पछि प्रायश्चित्तको लागि तपाईंलाई भेट्न र मुद्दा ब्युँताएर फेरि बहस गराउन सहयोग गर्न अह्राउनुभयो । मलाई पनि प्रायश्चित्त गर्ने आतुर मनले अहिले तपाईं भाटुँ आ’की छु । अब मुद्दा ब्युँताएर के गर्नपर्छ, म लागिपर्छु । सरको वकिलको नाम–ठेगाना दिनुपर्यो ।’ उसले अश्रुपूर्ण नेत्रले मलाई हेरिरही ।
म निकै बेरपछि लामो सास फेरेर बोल्छु, ‘देविकाजी, म अब कसको लागि र केको लागि बाहिर निस्कुँ ? त्यसै पनि मेरो लागि अब भित्र र बाहिरमा फरकै रहेन । जसले मलाई सत्य ठानेका थिए, उनीहरुको लागि अझै सत्य नै छु । जसले झुटो ठानेका छन्, उनीहरुका लागि मलाई सच्चिइरहनु आवश्यक परेन ।’
ऊ एकछिन ट्वाल्ल पर्छे । ‘तपाईंले यो समाचार पढ्नुभा’को छैन क्यार’ भन्दै समाचारको पृष्ठ अघिल्तिर फर्काइएको त्यो पत्रिका उसलाई थमाएर म आफ्नो कक्षतिर लाग्छु ।
०००
डेढ महिनापछि । मेरो चौथो महिनाको जेल जीवन बित्दै गर्दाको एउटा बिहान । जेलको ढोकाबाहिर सानो हल्लीखल्ली सुन्छु । सधैँ चार बजे उठ्ने बानी । निवृत्त भइसकेकै थिएँ, कोठाबाट निस्केर जेलको गेटमा पुग्छु । बाहिर उभिएको जेलरले मलाई मुस्कुराएर बाहिर आउने स्वागतको इसरा गर्दै हुन्छ । बाहिर अगाडि देविका फूलमालासहित उभिएकी । पछाडि उसका नाटक गुरू र मेरा केही साहित्यकार मित्रहरु । अनि पर बेन्चमा सानाबा र सानीमासँगै सविताकी आमा ललिता ।
गल्ती त ललिताकै हो तर पनि म सविताको अवसानका लागि उनीहरुको छिमेकी र उसको स्कुलको मास्टर हुनुको नाताले आत्मग्लानिले गलित भइरहेकै हुन्छु । उनी बिन्तीभाउसहित मेरो मास्टरीको पुनर्नियुक्ति पत्र मलाई थमाउँदै केही नबोली बलिन्द्रधारा आँसु लिएर बेन्चतिरै बस्न जान्छिन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

