सन् २०२१ को जुलाई महिना। असमतिर जुलाई महिनामा गर्मीको बिदा हुन्छ, स्कुल। यहीँ गर्मीको बिदामा हामी केही मित्रहरू डुबर्स,दार्जिलिङ, सिक्किमतिर घुम्न गएका थियौँ। यसै अवसरमा साहित्यकार सुकराज दियालीले हामीलाई दार्जिलिङको सालबारीमा रहेको देविका मंग्राती राईका निवासमा लगेका थिए। निवास पनि महल नै रहेछ। सजावट जस्तो अतिथि सत्कार उस्तै। एउटा कविता पुस्तकले फर्किआउनु फेरि भन्ने सन्देशसहित हामीलाई बिदाइ गरिएको थियो। हो, त्यो कविता पुस्तक नै हो ‘फागुन, तिमी फर्किआउनू’। माथि माथि सरर मात्रै हेरेको पुस्तक फेरि दराजबाट अध्ययन एवम् केही लेखनका निम्ति निकालेको छु। अब यसै कृतिमाथि केही लेख्तैछु।
देविकाजीको घर जसरी सजाइएको थियो त्यसरी नै पुस्तक पनि सजाइएको रहेछ। सुन्दर हार्ड कभरमा सुन्दर आवरण सज्जामा पुस्तक सजिएको छ। कभरको पछिल्लो भागमा कवयित्रीको तस्बिरसहित परिचय राखिएको छ। प्रकाशकको दायित्वमा खरसाङको शकुन्तला प्रकाशन र मणिपुरको गोर्खा ज्योति प्रकाशन रहेको छ। पुस्तकमा केही दिग्गज साहित्यकार गोविन्दराज भट्टराई, डा. कविता लामा, डा. जीवन राणा, सुकराज दियालीलगायत सुरेन्द्र लिम्बू परदेशी, ग्याल्पो लामा, राहुल राई बोगिको, रश्मि राई आदिले शुभकामना सन्देशसहितै पुस्तक सन्दर्भमा आ-आफ्नो अभिमत राखेका छन्। पुस्तकको मूल्य २०० रुपियाँ रहेको छ।
कवयित्रीको भनाइ र कविता सूची सकेर कविता खण्डमा प्रवेश गर्दा ५० पृष्ठको यात्रा तय हुन्छ। यो पुस्तक १९३ पृष्ठको रहेको छ। जसमा ५८ वटा छोटा र मझौला आयामका कविताहरू छन्। पुस्तकका केही कविताहरू नारीकेन्द्रित छन्। यहीँ नारीकेन्द्रित कविताहरूमा नै म नारीको अस्मिताको स्वरको गहिराइ नाप्न खोज्नेछु। यहाँ विद्रोह, आक्रोश आदिको स्वर कति तिखो छ, कति गहिरो छ त्यसैको लेखाजोखा गर्ने प्रयास गरिने छ।
सामाजिक व्यवस्थाबाट, राजनैतिक चलखेलबाट, संस्कार र संस्कृतिको नाउँमा नारी दिनौँ पीडित, शोषित भएपछि नारीमा विद्रोहको स्वर तिखो हुनु स्वाभाविक हो। सामाजिक क्षेत्रमै मात्र नरहेर घरमा पनि नारीले पुरुषकै झैँ समअधिकार, सममर्यादा पाएका छैनन्। घर, गाउँ, समाज जताततै नारीमाथि अनेकौँ प्रत्यक्ष वा परोक्ष आक्रमणहरू भएको देखिन्छ। चाहे त्यो आक्रमण शारीरिक होस्, मानसिक होस् अथवा दैहिक नहोस् किन? प्रताडनाको विष पिएर नारी बाँचेका छन्। आफ्नो हक-अधिकारको लागि लडेका छन्। केही हक-अधिकार प्राप्त पनि भएका छन्। तर, नारीमाथिको अन्याय, अत्याचार भने जस्ताकै त्यस्तै छ। अनि नारीका यस्तै आक्रोश, विद्रोहलाई लिएर लेखिएका धेरै कविता पढिएको छ।
हालै पढेका नारी अस्तिमाका केही कवितामा भने नारी स्वर गर्जिएको अझै पनि मनमा आलै छ। यी भारतको असम राज्यका कवयित्री हुन्। कवयित्री नीलिमा आचार्यको काव्य पुस्तक ‘परिवर्तन र अन्य कविताहरू’ मा समावेश भएको ‘विधवा’, पूजा आचार्यको ‘अनुहारभित्रको अनुहार’ मा गाभिएको ‘धनमाया’ र नैना अधिकारीको ‘घात-प्रतिघातको उद्गारहरूमा’ रहेको ‘दाइजो र पेवा’ शीर्षक कवितामा नारी अस्मिताको तिखो नारी स्वर पाइन्छ, पितृसत्तात्मक व्यवस्थाप्रति कडा व्यङ्ग्य छ। यी तीनैवटा कविता निकै चर्चित पनि भएका छन्।
अब लागौँ हातमा लिएको कविता कृतिभित्रको नारी अस्मिताको स्वर खोज्न। नारीहरू पर्खिबसेका छन् उचित विचारको। न्यायको। आज निर्भयाहरू शङ्कित छन्। निर्भयाका आमाहरू त्रसित छन्। समाजको दूषित हावाबाट जोगिने उपायहरू खोज्दैछन्। न्याय व्यवस्थाले पनि निर्भयालाई न्याय दिन खोजबिन गर्दागर्दै अरू निर्भयाहरू शोषित भएको दृश्य देखेर निर्भयाका आमाहरू छट्पटाएका छन्। कस्तो समाज व्यवस्था ? अनि यो व्यवस्थाभित्र बसेका केही दानवहरूले किन अझै पनि दु:शासनको चोला भिरिरहेका ? नारीप्रति सम्मानको दृष्टिकोणमा किन सामाजिक विभेद ? यसको जवाफ कसले दिन्छ ? कति पर्खिनु अब नारीले ? कहिले भेट्नेछन् नारीले न्याय ? कवयित्री देवीकाको तिखो नारी स्वर यसरी चर्किएको छ कविताको हरफहरूमा –
नारीको पीडा कति हो कति ! वर्णनातीत नै भन्नुपर्छ। आफन्तबाटै पनि नारी शोषित भएका छन्। जागिरको बहानामा अथवा विदेश यात्राको प्रलोभनमा भुल्याएर वेश्यालयमा बेचिएका नारीहरूको आफ्नै व्यथा छ। आफ्नै दुखद पीडा छ। दाइजोको प्रकोपमा परेका नारीहरू कतै जिउँदै जलेका छन् भने कतै शारीरिक, मानसिक यातनाको अग्निमा जलेका कथाहरू पनि बग्रेल्ती छन्। छोराको आशामा रहँदारहँदै छोरी नै मात्रै जन्माएपछि सौता भित्र्याएका कथाहरू पनि यत्रतत्र सुन्न र देख्न पाइएकै छ। बलत्कारपछि कान्ला-नालामा फालिएका नारीहरूको सङ्ख्या पनि बढ्दो छ। नारीहरू न्यायको गुहार गरिरहेका छन्। अन्यायको राप भने सेलाएको छैन। दिनप्रतिदिन आरुषि, निरजा, आसिफा, निर्भयाहरूको क्रन्दन सुनिनैरहिएको छ। त्यसैले कवयित्रीको फेरि तिखो स्वर गर्जिएको छ।
‘बन्द हुनुपर्छ……हो, अब यी सबै बन्द हुनुपर्छ
पुरुषवर्गमा सचेतना र सद्बुद्धि आउनैपर्छ
परिवर्तन आउनैपर्छ पुरुषका मनमा
आँखामा, भावनामा
सोचाइमा र कर्महरूमा।‘’ (आक्रोश नारीहरूको, पृ-१०१)
नारीमाथि अत्याचार धेरै भयो। अत्याचारको सक्तो विरोध पनि भएको छ। एकदमै नभएको चाहिँ होइन। किनकि सत्यको विजय निश्चित छ। रामको हातमा रावणको पराजय हुन्छ नै। सीतालाई बचाउन राम मात्रै होइन, सुग्रीब, हनुमान, जटायुहरू पनि तैनाथ छन्। द्रोपदीको वस्त्रहरण गर्नेहरूको भिडमा श्रीकृष्ण पनि नारी अस्मिता रक्षाका निम्ति खडा छन्। अर्जुन गाण्डीब लिएर, युधिष्ठिर भाला लिएर, भीम गदा र नकुल, सहदेव तरोवाल लिएर सत्यको पक्षमा युद्ध गर्न सदैव तयार छन्। चाहे धृतराष्ट्रले आँखा चिम्लिउन्, कर्ण र भीष्महरू विवश नै नहुन् किन ? कवयित्री देविका पनि आफ्नो कलम लिएर, आशावादी मन लिएर तिखो नारी स्वरमा गर्जिन्छिन् –
‘एक दिन निश्चय बोल्नेछन् ढुङ्गा र माटो
बोल्नेछन् चियाका बुटाहरू, हरियो सुनझैँ
देउराली, चौतारी, वनपाखा
कुइनेटो र चोरबाटाहरू बोल्नेछन्
धुप्पी, कटुस, क्यामुनु र पिपलीहरू
ठूलो स्वरमा विरोध गर्नेछन् अत्याचारको।‘’ (नयाँ सूर्य, पृ-१११)
दानवहरूको रजगज दिनौँ बढेको छ। बलात्कारका घटनाहरूबाट नारी त्रसित छन्। दिउँसो जसोतसो हिँड्डुल गरे तापनि राति एक्लै हिँड्न सक्ने माहोल छैन। दानवहरूको कुदृष्टिबाट बालिकाहरू पनि उम्किन पाएका छैनन्। उनीहरूको पापको घडा भरिएकै छैन। त्यसैले ८ वर्षे आसिफालाई पनि छोडेनन्। सामूहिक बलात्कार गरेर हत्या गरिदिए। यहाँभन्दा जघन्य कर्म अरू के हुन सक्छ? यस्तो समाजमा पनि हामी मानवताको वकालत गरेर बाँचिरहेका छौँ। न्यायको प्रतीक्षामा आशाको किरण खोजिरहेका छौँ। मन्दिरका देवताहरूले थाहै पाएनन्। न्यायाधीशहरूले न्याय सुनाउनै पाएनन्। प्रहरीले चालै पाएनन्। एउटा कोपिलो फूल हुन नपाई दानवले चुँडिदियो। त्यसैले कवयित्रीको आक्रोशको तिखो स्वर अझ चर्किएको छ।
‘के तिमीले देखेनौ, आसिफाको अनुहारमा
तिम्रो आफ्नै छोरीको अनुहार ?’’ (आसिफा, पृ-१२१)
‘विधवा’। लोग्ने मरेपछि आइमाईले पाउने उपाधि हो विधवा। अनि पहिचानका रूपमा सेतो वस्त्र धारण गर्नुपर्ने बाध्यता। महिलाप्रतिको विभेदकारी नीति-नियमका कारण आइमाईले सेतो लुगा धारण गर्नुपर्ने अनि आइमाई मर्दाचाहिँ पुरुषका लागि छुटैछुट। अर्की भित्र्याउनसमेत पाउने। आफ्ना आमाबुबाको घर त्यागेर पतिको घर रङ्गाउन गएकी नारी विधवा भएपछि रङहीन भएर बाँच्नुपर्ने अवस्था दर्दनाक हो। सतीप्रथा र बालविवाह जसरी परम्परावादी सोचको विरुद्धमा कैयौँ वर्षपछिको प्रतिवाद, लडाइँ आदिले गर्दा रोकियो त्यसरी नै विधवा प्रथा पनि रोकिनु जरुरी छ। रङहीन भएका जीवनहरूलाई रङ्गीन बनाउन कवयित्रीको कलम अघि सरेको छ।
‘सती-प्रथा र बाल विवाह रोकेझैँ
के रोक्न सकिन्न यो नियम?
सेतालाई के
रातो बनाउन सकिन्न?
अनेकन् उनीहरूका इच्छाहरूलाई
के रङ्गाउन सकिँदैन ?’ (रातो टीका, पृ-१३९)
आतङ्कीहरूले त कसैलाई छोड्दैनन्। नारीहरू पनि आतङ्कीको चङ्गुलमा फँसेका छन्। तर, नारीहरू आतङ्की भनेको सुन्दा सृष्टि नै सृष्टिको विपरीत भएको झैँ लाग्छ। सन् २०१९ को १९ एप्रिलका दिन श्रीलङ्काको तीनवटा गीर्जाघरमा एकैचोटि आतङ्की हमला भएको थियो। आतङ्कीको भेषमा आत्मघाती बम विस्फोट गराउनेहरूमध्ये एकजना गर्भवती महिला पनि थिइन्। कवयित्रीले केवल केही पुरुषहरूलाई मात्रै अन्याय, अत्याचारको जिम्मेवार ठहरियाएर कठघरामा उभ्याएकी छैनन्। कवयित्रीले अन्यायको साथ दिने नारीलाईसमेत दोषी भन्न पछि सरेकी छैनन्। त्यसैले कवयित्रीको तिखो स्वर गर्जिएको छ नारीमाथि नै।
कवयित्री देविका मङ्ग्राती राई केवल कवयित्री नै मात्रै नभएर उनी सक्रिय सामाजिक कार्यकर्ता पनि हुन्। ‘भारतीय गोर्खा महिला परिसङ’की राष्ट्रिय सह-संयोजिकाको गरिमामय पदमा उनी कार्यरत छिन्। यसै त उनी धेरै सङ्घ-संस्थासित संलग्न छिन्। शिवकुमार राई प्रतिष्ठान, गोर्खा जन पुस्तकालय, गोर्खा सांस्कृतिक संस्थान, जागृति परिवार, देवकोटा सङ्घ, विश्व नेपाली साहित्य महासङ्घ, हाम्रो स्वाभिमान द्रष्ट, ब्लूमफिल्ड लाइब्रेरी आदि सङ्घ-संस्थासँग संलग्न रहेर सक्रिय रूपमा सेवा प्रदान गरिरहेकी छिन्। केवल कवितामै मात्रै अन्याय, अत्याचारको विरुद्ध उनको तिखो स्वर छ भन्ने होइन। एउटी सक्रिय महिला सामाजिक कार्यकर्ताको नाताले पनि उनी समयसापेक्ष तिखो स्वरमा गर्जिने गर्छिन्। महिलाहरू केवल घरमै आबद्ध नरहेर सामाजिक सेवामा पनि समर्पित हुनुपर्छ भन्ने भावना उनको सामाजिक गतिविधिबाट थाहा लाग्दछ। उनको सोच केवल लेखनमा मात्रै सीमित नरहेर कार्यक्षेत्रमा पनि देखिएको छ। यो समाजका लागि शुभ वार्ता हो।
कृतिभित्रका कविताहरूमा केवल नारीको तिखो स्वर मात्रै छैन, यसभित्रका कविताहरूमा सामाजिक चिन्तन छ, राष्ट्रप्रेम छ, पर्यावरण चेत छ। सांस्कृतिक चेतना छ। भाषा-साहित्यप्रति माया छ। संस्कार चेत प्रबल छ। मानवतावादी स्वर छ। समय चेत पनि उत्तिकै छ। जातीय चिन्तन छ। निम्नवर्गको सुस्केरा पाइन्छ। तेस्रो लिङ्गीको पीडा छ। नैतिक शिक्षा छ। अन्धविश्वास र रुढिवादी परम्पराप्रति विद्रोह छ। कविताहरूमा आशावादी स्वर छ। प्रगतिवादी सोच पनि उत्तिकै छ।
यस सङ्ग्रहका कविताहरूमा कतैकतै उखानहरूको प्रयोग गरिएको छ। प्राय:जसो कविताहरू यथार्थकै धरातलमा उभिएका छन्। धेरैजसो कविता विचारप्रधान छन्। कविताहरू सहज, सरल छन्। पाठकहरूलाई बुझ्न अफ्ठ्यारो नपर्ने खालका। शैलीपक्ष भन्दा भावपक्ष सबल छ। प्रस्तुतिमा कोमलता, मिठोपन र वैचारिकताको संयोजन पाइन्छ। आगन्तुक शब्दहरूको पनि प्रयोग पाइन्छ। केही कविताहरूमा विचारहरूको प्रस्तुतिमा उदाहरण पस्किने हुँदा काव्यिक सौन्दर्यमा अलिक कमी आएको छ। समग्रमा भन्नुपर्दा कृति पठनीय छ। अन्त्यमा भन्न सकिन्छ भविष्यमा अझ सुन्दर काव्य कृतिको अपेक्षा कवयित्री देविका मंग्राती राईबाट गर्न सकिने सम्भावना देखिन्छ। नेपाली साहित्य जगतलाई सुन्दर काव्य कृति उपहार दिनुभएकामा देविका मंग्राती राईलाई अशेष बधाई।