विषय प्रवेश :

सेतो धरती’ अमर न्यौपानेद्वारा लिखित सबैकाे हृदयमा बस्न सफल उपन्यास हो । वि.सं. २०६८ काे मदन पुरस्कार प्राप्त कृति पनि हाे । उपन्यासमा तत्कालीन समयमा नेपालमा हुने बालविवाह, बालविवाहले निम्त्याउन सक्ने घटना, संस्कारिक बन्धनका साथै उन्मुक्त जीवनले पार्न सक्ने घटनालाई विषयवस्तुका रूपमा देखाउन खोजेको छ । यस पुस्तकमा मुख्य पात्र ताराले आफ्नो जीवनकालभरि भोगेका घटनाहरूलाई विस्तृत रूपमा देखाइएको छ ।  सेतो धर्ती एक उपन्यास मात्र नभएर थुप्रै महिलाहरूको जीवनी पनि हो । किताब राम्ररी पढ्यो भने समाजमा देखिने थुप्रै कुरीतिहरू पर्गेल्न सकिन्छ ।

विषयवस्तु:

उपन्यासमा तारा नामक पात्रको जीवन कहानी रहेको छ । तारा सात वर्षकी हुँदा नै उनको विवाह भैसकेको हुन्छ । उनलाई त्यो समयमा विवाह भनेको के हो र माया भनेको के हो भन्ने थाहा पनि हुँदैन तर उनको आफ्नै आमाबुबाले उसलाई जबरजस्ती जग्गेमा राखेर विवाह गरिदिएका हुन्छन् । उनलाई घर जाने बेलामा मन्दिर जान लागेको हो भन्दै लगिएको हुन्छ । विवाहको भोलिपल्ट मात्र उनले थाहा पाउँछिन् कि उनी एक अपरिचित मानिससँग विवाह गर्दै छिन् । विवाह गर्दा त उनी मस्त सुतिरहेकी पो हुन्छिन् । घर जानु अघि उनकी आमाले बुहारी भएपछि के गर्नुपर्छ र के गर्नुहुँदैन भन्ने कुराहरू सिकाउँछिन् । उनी एक वर्ष आमालाई याद गर्दै घरमा समय बिताउँछिन् र एक वर्ष सकिएपछि माइती जान्छिन् । उनी नौ वर्षकी भएपछि उनको श्रीमानको निधन हुन्छ । श्रीमान् मरेको कुरा नबताइकन उनलाई घर बोलाइन्छ । घर पुगेपछि उनले श्रीमानको निधन भएको थाहा पाउँछिन् र जो श्रीमान उनका लागि अपरिचित व्यक्ती थिए त्यही श्रीमानका लागि उनी क्रिया बसिन् । उनलाई त्यो दिन घाट लगियो । चुराहरू फुटाइयो । गहनाहरू छिनियो । कपाल काटियो र क्रिया बस्न लगाइयो । एक वर्षपछि भने उनी माइती फर्किन् । माइतीमा उनकी आमाले उनलाई छोरा सरह राखिन् । त्यो समय दौरान उनले आफ्नो साथी गोविन्दसँग पढ्न र लेख्न सिकिन् । त्यसपछि आमाले एउटा छोरालाई जन्म दिनुभयो तर अचानक एकदिन आमाको मृत्यु भयो । भाइको राम्ररी हेरचाह हुन छोडेको थियो । उनी आफ्नो रोइरहेको भाइलाई आफ्नै दुध चुसाएको जस्तै गरिन् र बल्ल भाइ रुन छाड्यो ।

सुनबी पोखरेल

समय बित्दै गएपछि ताराकी साथी पवित्रा र गोविन्द दुबै बनारस गए । उनकी अर्की साथी थिइन् यमुना । तारा सधैँ यमुनालाई उनको श्रीमानको बारेमा सोध्थिन् र यमुना सधैँ मायाले उनको पतिको बारेमा भन्थिन् । एकदिन अचानक ताराको बुबाले अर्को केटीसँग विवाह गरे । त्यो केटी बुबाभन्दा धेरै कम उमेरकी थिइन् । ११ वर्षकी सौतेनी आमा बुबासँग भन्दा पनि उनको भाइसँग बढी समय बिताउँथिन् । एकदिन सौतिनी आमाले तारासँग नराम्रो व्यवहार गरिन् र तारा रुन थालिन् । त्यो बेला ताराको बुबा आफ्नी श्रीमतीको बोलीवचनमा मग्न भैसकेका थिए र उनले आफ्नी छोरीको गुहार पनि सुनेनन् । उनको भाइले पनि विवाह गरेर घर छाडेर गयो । त्यसपछि ताराले पनि आफ्नै राम्रोको लागि भनेर घर छाडिन् । उनी घरबाट भागेर यमुनाको घर गइन् । सानोमा आमा सरह हुर्काएको भाइले पो लिन आउँछ कि भन्ने आश उनमा थियो तर कोही पनि उनको सहयोग गर्न आएनन् । कोही पनि नआएपछि उनी चितवन जाने मान्छेहरूसँग हिँडिन् । करिब एक हप्तापछि उनी देवघाट आइपुगिन् र उनले आफ्नो जीवन भगवानलाई समर्पीत गरिन् । देवघाटमा बस्दा उनले एकदिन यमुनालाई पनि भेटिन् । यमुनाको पतिको निधन भएकाले उनी त्यहाँ आएकी थिइन् । केही समय बितेपछि गङ्गेश्वरी नाम गरेकी महिला देवघाट भ्रमण गर्न आइन् । सोही महिला आफूसँग भएको सम्पत्ति र अनुभवको कारण प्रचलनमा आएकी थिइन् । गाङ्गेश्वरी एकदिन तारालाई भेट्न आइन् र आफू ताराकी बाल्यकालकी साथी पवित्रा भएको कुरा बताइन् । पवित्राले आफ्नो जीवनमा भोगेका घटनाहरू तारालाई सुनाइन् । बनारस गएपछि पवित्राले वेश्याको काम गर्न थालेकी हुन्छिन् र त्यसरी नै टन्नै पैसा कमाएकी हुन्छिन् । पछि भने वेश्याको काम छोडेर उनले एक छोरीलाई जन्म दिएकी हुन्छिन् । त्यसपछि उनी नेपाल फर्किएर आफ्नो नाम परिवर्तन गरेर आफ्नो जीवन भगवानप्रति समर्पित गरेकी हुन्छिन् । केही वर्षपछि उनले गोविन्दलाई भेट्छिन् जसलाई उनले आफ्नो मनको एउटा ठाउँमा बाल्यकालदेखि नै राखिरहेकी हुन्छिन् । तर गोविन्दले भने दोस्रो विवाह गरिसकेको हुन्छ । यो सुनेर उनी साह्रै खिन्न हुन्छिन् । देवघाटमा बसुन्जेल उनलाई त्यहाँको स्वामी पनि साह्रै नै आकर्षित लागेको हुन्छ । उनी भन्थिन् कि उनलाई पुरुषहरूले भगवानको पनि नाम बिर्साइदिन्छन् । 

मूलभाव:

‘सेतो धरती’ उपन्यासले देखाउन खोजेका थुप्रै कुराहरू छन् । उपन्यासले महिलाविरोधी र पितृसत्तात्मक समाजलाई झल्काएको छ । एक बालविधवा नारीले आफ्नो जीवनमा समाजबाट कति अपहेलना सहनुपर्छ भन्ने कुराकाे बाेध गराएकाे छ । त्यति मात्र नभएर विवाह गर्दा आफूभन्दा निकै नै सानो उमेरका केटीसँग गरेको कुरालाई पनि देखाइएको छ । ताराको बुबाले ११ वर्षकी केटीसँग विवाह गरेका हुन्छन् । पवित्राको विवाह पनि उसको बुबाभन्दा दुई वर्ष जेठो मान्छेसँग भएको हुन्छ । बालविवाहले पुरुषको जीवनमा खासै असर नपुऱ्याए पनि महिलाले कति झेल्नुपर्छ भनेर प्रस्टै देखाइएको छ । खेल्ने कुद्ने उमेरमा घरमा दिनरात खटेर श्रीमानलाई खुसी राख्नु पर्ने पीडा र बुबाले अर्की स्वास्नी ल्याएपछि विधवा छोरीले भोग्नु पर्ने पीडालाई मन छुने तरिकाले विश्लेषण गरिएको छ । दु:ख र पीडालाई मात्र नभएर यस उपन्यासले जीवनभरि तारामा रहेको यौनकुण्ठालाई पनि प्रस्तुत गरिएको छ । ९ वर्षको उमेरमा श्रीमानको निधन भएपछि कोही पुरुषसँग पनि समय बिताउन नपाएकी उनले भोगेको अबोधतालाई मन खिन्न पार्ने शैलीमा बुझाइएको छ । जीवनमा कुनै पुरुषलाई पनि आफ्नो भन्न नपाएकी ताराले सपनामा भने थुप्रै पुरुषसँग माया गाँसेको देखेकी हुन्छिन् । थुप्रै पुरुषसँग आकर्षित भएकी उनी आफूलाई पवित्र भने कहिल्यै ठान्दिनन् । उनलाई आफू द्रौपदी सरह लाग्छ । शारीरिक सम्बन्ध कहिल्यै पनि नराखेकी उनीमा मडारिएको यौनकुण्ठा र जननी हुन नपाउनुको दु:ख सधैँ मनमा आउने गर्थ्यो । आमा पनि हुन नपाउँदाको उनको पीडा निकै नै गहिरो थियो । उन्मुक्त जीवनमा रमाएकी पवित्रा, साैतेनीकाे पिराेलाेमा पिल्सिएकी यमुना र जीवनभरि सामाजिक संस्कारबाट बन्धित तथा याैनकुण्ठाले उद्वेलित बनाएकाे मन लिएर तडपमा बाँचेकी तारामाथि पितृसतात्मक साेचले थिचेकाे अवस्थालाई उजागर गरेकाे छ ।  

निष्कर्ष:

सेताे धर्ती उपन्यास मलाई असाध्यै मन पर्यो । उपन्यास समग्रमा बाल विधवा ताराकाे दुःख, निराशा र कुण्ठाले भरिएको जीवन भाेगाइकाे कथा रहेकाे छ । पढ्दा अलिकति लामै भए पनि कथा राम्ररी बगेको हुनाले पाठकलाई निकै नै रोमाञ्चक खालकाे रहेको छ । न्यौपानेले यो उपन्यासद्वारा नसुनिएका थुप्रै बालविधवा कथा सुनाएका छन् । पढ्दा आँखाबाट आँसु आउने यस उपन्यासको जति प्रशंसा गरे पनि कम नै हुन्छ । आफू सानै उमेरमा आमा बनेर हुर्काएको आफ्नो भाइले पनि दिदी बिर्सिएर गएपछिको त्यो दु:खको दृश्यले मेरो मन सबैभन्दा धेरै रोएको थियो । यो पुस्तक पढेपश्चात् मलाई अहिलेको नेपाल कति परिवर्तन भैसकेको रहेछ भन्ने अनुभूति भयो । तत्कालीन नेपाली समाजमा नारीप्रति भएको अन्याय र अत्याचारलाई पनि उपन्यासले प्रस्तुत गरेको छ । सेतो धर्ती अर्थात् विधवालाई समाजले दिएको रङ सेतोले कसरी ताराको जीवनलाई नै बेरङ पार्यो भनेर लेखिएको यो पुस्तक अति नै मर्मस्पर्शी आख्यान हाे । म यो पुस्तक १५ वर्षभन्दा माथिका सबै उमेरका पाठकलाई पढ्न आग्रह गर्छु । त्योभन्दा मुनिका पाठकका लागि भने याे पुस्तक केही जटिल पनि हुन सक्छ । 

सुनबी पाेखरेल

कक्षाः १०, डियरवाक सिफल स्कुल