मानवीय संवेदनाले भरिएका किताबहरू किन्न अभिभावकहरू उत्सुक भएको बेलायती पुस्तक बिक्रीको शैली हेर्ने संस्थाले हालै निष्कर्ष निकालेको छ ।

गएको वर्ष मानवीय संवेदनायुक्त कथा वा विषयवस्तु भएका किताबको बिक्री ४० प्रतिशतले बढेको देखिएको म्याजिक क्याट नामक बालबालिकाका लागि पुस्तक प्रकाशन गरिरहेको म्याजिक क्याटले जनाएको छ ।

कम्पनीकी मार्केटिङ तथा विज्ञापन प्रमुख केट मेनिङले १० वर्ष उमेर समूहमुनिका बालबालिकाहरूका लागि लेखिएका मानवीय संवेदनाले भरपूर कथा, चित्रकथाहरू व्यापक रूपमा बिक्री भएको बताएकी छन् ।

सो विधामा पुस्तक मज्जैले बिक्री भएपछि यतिबेला कम्पनीले १० वर्षभन्दा माथिका बालबालिकालाई ध्यानमा राखेर सोही संवेदनालाई भजाउन खोजिरहेको मेनिङको भनाइ छ ।

मेनिङ भन्छिन्, वास्तवमा कोभिड १९ र जलवायु संकटजस्ता कुराले हामीलाई गम्भीर हुन सिकाइरहेको छ । र, यही गम्भीरता र संवेदना नयाँ पुस्तामा हाल्न अभिभावकहरू इच्छुक देखिएका छन् । हामीले यही आवश्यकता र माग बुझी त्यस्ता किताबलाई बढीभन्दा बढी ल्याउन खोजेका छौँ ।

गत वर्ष स्वास्थ्यमाथि अध्ययन गर्ने अफस्टेड नामक संस्थाले निकालेको वार्षिक सर्भेले कोभिडले ससाना बालबालिकाहरूको मानसिक स्वास्थ्यलाई ठूलो हानि पुर्याएका कारण उनीहरूको उमेर बढ्दै जाँदा मानसिक स्वास्थ्य पनि सोही दरमा बढ्दै जाने हुनाले उनीहरूका बारेमा सोच्न ढिला भएको निष्कर्ष निकालेको थियो ।

म्याजिक क्याटजस्ता प्रकाशकले भने सो संस्थाका त्यस्ता निष्कर्षहरूलाई मनन गर्दै बालबालिकाहरूमा माइन्डफुलनेस बढाउन, खुसीको दर बढाउन तथा उनीहरूले आफूलाई जस्तो छु, सोही रूपमा स्वीकार्दै जीवनसंघर्षमा अघि बढाउने किसिमका विषय भएका किताब निकाल्नेमा जोड दिँदै आएका छन् ।

बालबालिकाका पुस्तक बिक्रीमाथि नजर लगाउने नेल्सन बुकस्क्यान डाटाका अनुसार मानसिक स्वास्थ्य र तनावसम्बन्धी पुस्तकहरू अन्य वर्षको तुलनामा १८प्रतिशतले बढेको छ । अझ अघिल्ला वर्षहरूको तुलनामा र खासगरी २०१९ को तुलनामा त यो ७६ प्रतिशतले बढेको देखिन्छ । कोभिड १९ ले सिर्जित बन्दाबन्दीपछि दैनिकी र मानसिक स्वास्थ्यमा गम्भीर असर पारेको देखिएपछि बालबालिकाको मानसिक स्वास्थ्यमाथि लेखिएका पुस्तकको संख्या बढेको हो ।

चिल्ड्रेन्स बुक कन्जुमर रिपोर्टका अनुसार १७ वर्षभन्दा कम उमेरका ८ लाख ५० हजार बेलायती बालबालिकहरूले आफूहरू व्यक्तित्व विकास, आत्मविश्वास तथा मानसिक स्वास्थ्यसम्बन्धी पुस्तकहरू पढ्न बढीभन्दा बढी रूचि राख्न थालेको सर्भेमा देखिएको छ ।

त्यसैले बालबालिका र मानसिक स्वास्थ्य तथा सेल्फहेल्प विधामा म्याजिक क्याट मात्र होइन, संसारकै ठूला प्रकाशकहरू पनि आकर्षित हुन थालेका छन् । हार्पर कोलिन्सले त मि. मेन लिटिल मिस डिस्कभर शृंखलामा पुस्तकहरू निकालेको छ । जसमा मानसिक स्वास्थ्य, भावनात्मकताजस्ता कुरालाई भरपूर ध्यान दिइएको छ ।

क्रिसमसपछि आउँदो वसन्त याम पुस्तक बिक्री हुने दोस्रो राम्रो समय हो । त्यसका लागि अहिले प्रकाशकहरूले शृंखलाबद्ध पुस्तक निकाल्ने तयारीमा छन् । चर्चित लेखिका एलिजाबेथ डेको पहिले निकै हिट शृंखलाको नयाँ संस्करण फेलोसोफी (असफल हुने फिलोसफी) निकाल्न लागिरहेकी छन् । यो पुस्तक १२ वर्षभन्दा माथिकालाई ध्यानमा राखी लेखिदैछ ।

ह्याचेट नामक अर्को ठूलो कम्पनीले बालबालिकाको गैरआख्यान रूचिलाई ध्यानमा राख्दै कम्पनीकी निर्देशक लाउरा होर्सलीले राम्रा लेखकहरूको समूह नै तयार पारेकी छन् । उनले डा. एलेक्स जर्जको अ बेटर डेः योर पोजिटिभ मेन्टल हेल्थ ह्यान्डबुक गत साता निकालेकामा सिधै बेस्टसेलर सूचीमा चढिसकेको छ ।

यसैबाट पाठकहरू गैरआख्यानतर्फ झुक्न थालेको र त्यो भोक मेटाउन लागिपरेको होर्सली बताउँछिन् ।

केही पुस्तक पसलेहरू चाहिँ अभिभावकहरूले आफ्ना कलिला सन्तानका लागि र खासगरी स्कुल नगएकाहरूका लागि पनि किताब छानेकामा अचम्ममा छन् । चिकन एन्ड फ्रग पुस्तक पसलकी नताशा रेडफर्ड कोभिडको बन्दाबन्दीबाट शुरू भएको यस्तो खोज, चाँडै नै सकिने आशा गरेकी थिइन् तर समयक्रममा अझ बढेकामा आश्चर्यमा छिन् । पहिले प्रिस्कुलेहरूमा यो ट्रेन्ड देखिन्थ्यो भने अहिले किशोरकिशोरीहरूसम्म छिरेकामा उनी खुसी छन् ।