साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

एघारौं दिशाको यात्रा

हिजो राति सपनामा म आकासमा तैरिरहेको रहेछु । म नजिकै एक जना मानिस हतार हतार सूर्य प्रकाशझैँ तेज गतिमा उडिरहेको देखेँ । उसको अनुहारमा व्याकुलता झल्कन्थ्यो भने उसका गहिरा गहिरा आँखाले गहनतम खोज अनि दृढता झ्ल्काउँथे । यद्यपि व्याकुल देखिए पनि अनुहारमा एक किसिमको दिप्ति थियो, जाज्वल्यमान आभा थियो वरिपरि ।

अनि बिल्कुलै नग्न कुनै वस्त्र थिएन शरीरमा । कति निर्दोष अनुहार बालकझैँ, म मन्त्रमुग्ध भएँ कति सुन्दर शरीर कुनै मूर्तिकारले वर्षौ मिहिनेत गरी घन छिनुले छाँटेको झैँ देखिन्थ्यो ।

अनि सोच्न बाध्य भएँ कि यत्रो विशाल आकास जसको न कुनै छेउछाउ नै देखिन्छ कहाँ जाँदै होला यो मान्छे फेरि यति हतार केका लागि ?

bahulako diary small and inside post


मैले उत्साहपूर्वक सोधेँ, “मित्र कहाँ जाँदैछौ यति हतार हतार? सब ठीकठाक त छ ?”

उसले अलि अप्ठेरो महसुस गर्यो उत्तर दिन, अलि अन्कनाएजस्तो, अविश्वास गरे झैँ बताउन नचाहेजस्तो अलि शंकालु नजरले उसले मेरा दुई आँखामा अपलक निहार्यो । फेरि उस्को मुहारमा एक कान्ति प्रष्ट झल्कियो । सायद बुझ्यो उस्ले मैले सोध्नकै लागि सोधेको थिइनँ, मात्र औपचारिकता थिएन प्रश्नमा गहिरो मुमुक्षा थियो । झिल्का झिल्का नै सही खरानी मात्र थिएन अँगेनामा, भित्रभित्र ज्वलन्त अङ्गारका झिल्काहरु थिए । श्वास चल्थ्यो सायद धुकधुकी बाँकी थियो अझै, बिल्कुलै ठण्डा भएको थिइनँ, मुटु धड्किदै थियो बन्द भैसकेको थिएन । उसको पारदर्शी नजरसामु जति नै खरानीले ढाके पनि झिल्काहरु लुकिरहन सकेनन् सायद, उसले निर्धक्क हुँदै उत्तर दियो, “म मन्दिर जाँदैछु मित्र ।”

“मन्दिर जाँदैछौ ? ” मैले आश्चर्यचकित हुँदै उस्को उत्तर लाई पुन: प्रश्न बनाउँदै भनेँ, “अनि निर्वस्त्र जान्छौ, खै त पूजाको थाली, धुप, दीप ? खै वस्त्र, आभूषण, सजावट, शृंगार ?”

उसले भन्यो, “मित्र मन्दिर जाँदा पनि आफूलाई वस्त्र आभूषण ले ढाकेर, आफ्ना कुरुपता ढाक्नलाई सजावट शृंगार गरेर जानू ? फेरि कहाँ छ त्यस्तो ठाउँ जहाँ म आफू हुन सकूँ, आफूलाई पूरा पूरा जस्तो छु त्यस्तै व्यक्त गर्न सकूँ ?”

उसको कुराले म झसङ्ग भएँ मेरो आँखा खुले झैँ भयो । उसको प्रतिप्रश्नको कुनै उत्तर थिएन मसँग ।
मैले फेरि सोधेँ, “अनि खाली हात जान्छौ ? आराध्य देवलाई के चढाउँछौ नि मित्र ?”
उसले मतिर हेर्दै भन्यो, ” के छ र यहाँ मेरो आफ्नो जीवन बाहेक मित्र, म मेरो जीवन चढाउँछु । प्रत्यक मुठ्ठी स्वास, मुटुका ढुकढुकिहरु, आशा र अभिलाषाहरु सबै सबै चढाउँछु ।

म निशब्द भएँ उसका शब्दहरूले, कति बेजोड थिए उसका शब्द, कुनै शास्त्री पण्डितले किताब कण्ठ गरेर भनेका शब्द थिएनन् । उसका शब्दहरु मात्र शब्दहरु थिएनन्, अनुभवको बल थियो शब्दमा । सुन्नेलाई चुनौती थिए उसका शब्दहरू । आज मैले कहिल्यै नसुनेको कल्पनासम्म पनि नगरेका वाणीहरु सुनेको थिएँ । अब म मात्र सुनिरहेको थिइनँ, उसका प्रत्येक शब्दहरु पिउन र उसले जिएझैँ जीउने आतुरता ममा पैदा भैसकेको थियो ।

म फेरि अर्को प्रश्न सोध्छु उसलाई, “अनि यत्रो आकाशमा कुन दिशा जान्छौ मित्र ? कुनै मार्ग विशेष पनि त देखिदैन ?”
उत्तरमा उस्ले भन्यो, “एघारौँ दिशा, जीवन यात्राको कुनै पूर्वनिर्धारित बाटो हुँदैन मित्र, न कुनै राजमार्ग नै छ । बाटो त हिँडेपछि बन्छ जति हिँड्यो त्यति बन्छ। जान्छौ तिमी पनि ?”

म झस्किएँ अरु कसैलाई पो भनेको हो कि दृष्टि घुमाएर यताउति हेरेँ । चारैतिर कोही थिएन निस्तब्धता थियो, चकमन्न बिल्कुल सुनसान । म डराएँ हल्का उस्ले भनेको सम्झेँ, “एघारौं दिशा,” “मार्ग त हिँडेपछि बन्छ !”

मैले बुझिन कुरा दस दिशा त थाहा थियो मलाई तर एघारौं दिशा ? फेरि जति हिँड्यो त्यति बन्ने बाटो , यस्को मतलब प्रत्येक पाइला अज्ञातमा टेक्नु पर्ने भयो, म तिल्मिलाएँ, ममा भय पनि थियो तर श्रद्धायुक्त। चारैतिर कोही नदेखेपछि मैले मलिन स्वरमा सोधेँ -“को, म ? ”

उसले बुझ्यो सायद मेरो भय, असमन्जस्यता । अलि कडा स्वरमा गर्जदै मेरो आखामा आँखा जुधाएर उसले भन्यो, “अँ तिमी, हिम्मत छ ?”

उसले यति भन्नु मात्र के थियो उसकाे आँखाबाट बिजुलीको एक लप्का वर्षिएर ममाथि पार्यो । म छाँगाबाट खसेजस्तो भएँ । छिन्नभिन्न भएँ, एकातिर उजाडिएझैँ लाग्थ्यो अर्कोतिर बगैँचा बसाएझैँ लाग्थ्यो । भय पनि थियो उत्सुकता पनि थियो । कुनै रहस्यले छोपेझैँ म शून्यमा हराएझैँ भएँ । कतै मन्द मन्द सुमधुर बाँसुरी बजेझैँ सुनिन्थ्यो । फेरि मैले एकैछिनमा आफूलाई आफ्नै मनको एक कुनामा पाएझैँ लाग्यो । फेरि बिस्तारै बिस्तारै मैले उसलाई देखेँ उसको अधरमा मुस्कान थियो, मप्रति प्रेमको अटुट धारा ऊबाट वर्षिरहेको पाएँ । मेरा ओठहरुले पनि ऊप्रति कृतज्ञता महसुस गर्दै मुस्कुराएँ । अब मैले एघारौं दिशाको मतलब बुझिसकेको थिएँ । अनि पहिलो पहिलो पाइला अज्ञात भूमिहीन भूमिमा राखिसकेको थिएँ। फेरि ऊ देख्दा देख्दै शून्यमा बिलायो, यता म पनि निद्राबाट ब्युँझिएँ।

हिजो म सपानाहरु भित्र हराएको थिएँ, सपनाहरु भित्र निसास्सिएको थिएँ। आज मभित्र सपनाहरु अकासिएका छन् । हिजो म विगतलाई सम्झदै रुनेहरुमा थिएँ तर आज म वर्तमानको आँगनीमा भविष्यका सुन्दर सुन्दर गीतहरुमा नाच्नेहरुमा छु । यहाँ मर्नकै लागि बाच्नेहरु छन् बाँच्नकै लागि मर्नेहरु पनि छन् । जसरी दिनको पर्दामा रात र रातको पर्दामा दिन लुकेको छ, के त्यसैगरी जीवनको पर्दामा मृत्यु र मृत्युको पर्दामा जीवन लुकेको छैन ?

प्रतिक्रिया
Loading...