पछिल्लो समय युवापुस्तामाझ निकै लोकप्रिय भएकी कवि हुन्, रूपी कौर । इन्स्टाग्राममा उनलाई पछ्याउने र उनका छोटा कविता रूचाउने यति धेरै छन् कि तिनैका कारण उनी बेस्टसेलर कवि बन्न पुगिन् । पहिला उनी इन्स्टाग्राममा हिट भइन्, पछि मात्र किताबी रूपमा । इन्स्टाग्राममा उनलाई ४५ लाखले पछ्याउने गरेका छन् ।

उनका प्रशंसक सामान्यजनदेखि प्रख्यात सेलिब्रिटीसम्म छन् । गायिका एडलीले त एउटा रेडियो कार्यक्रममा मनपर्ने कविका रूपमा रूपीलाई छान्दै भनेकी थिइन्, ‘उनका कविता पढ्दा म आफूलाई महिलाका रूपमा सशक्त महसुस गर्न थालेकी छु । उनका कविता पढ्नु मलाई आफैँलाई हिम्मत दिनुजस्तो ठान्छु ।

उनका कवितालाई पहिला कुनै पनि प्रकाशकले कवितासमेत मानेनन् । त्यसैले ठूला प्रकाशकले किताब छाप्न चाहेनन् । त्यसैले उनले आफैँ छापिन् । त्यो बेला उनको उमेर २१ वर्षको थियो ।

जब उनले आफ्नो कृति लिएर केही एजेन्ट र प्रकाशककहाँ पुगिन्, उनलाई भनियो, ‘तिमीलाई कसैले कविका रूपमा स्वीकार्ने छैनन् किनभने एक त तिमी भारतीय मूलकी हौ, अर्को चाहिँ तिम्रा कवितामा त्यो भाव छैन, जुन यहाँका मूलधारे कविमा हुने गर्छ ।’

यो सुनेपछि चाहिँ उनी वाक्क भइन् किनभने उनले अरूका लागि ती कविता लेखेकै थिइनन् ।

भारतको पञ्जाबमा जन्मिएर क्यानडामा उनका पिता पछ्याउँदै आइपुगेकी उनका कवितामा बाल्यकालमा यौन उत्पीडन भोगेको प्रस्टै थाहा हुन्छ । उनको तेस्रो कविताकृति होम बडी लेख्नु आफ्नो दुखेको मनलाई सहलाउनु जत्तिकै भएको प्रतिक्रिया केही समयअघि दिएकी थिइन् ।

यतिबेला उनको नयाँ कृति हिलिङ थ्रु वर्ड्स बजारमा आएको छ । यस कृतिलाई उनले पाठकहरूलाई आफ्नो गुमेको आवाज पत्ता लगाउने माध्यम र उपहारका रूपमा ल्याएको बताएकी छन् ।

सन् २०१५ ताका उनी क्यानडाको ओन्टारियोको वाटरलू विश्वविद्यालयमा व्यावसायिक लेखन विषय पढिरहेकी थिइन् । त्यही बेला इरानकी एक विद्यार्थी मासा अमिनी हिजाबविरोधी अभियानमा संलग्न भएको आरोपमा हत्या गरिएको थियो । त्यो हत्याले उनलाई यति विधि हल्लायो कि उनको समर्थनमा उनले केही कविता लेखिन् र त्यसले उनलाई रातारात संसारभरका हिजाबविरोधी समूहमा पुर्याइदियो । त्यसैबेलादेखि उनले आफूले आवाज फेला पारेको महसुस गरिन् । त्यही बेलादेखि उनले प्रेम, पीडा, प्रेममलममाथि लेख्न थालिन् । उनका विषय नै नारी सशक्तीकरण हुन थाल्यो ।

उनलाई कविताप्रति किन यति धेरै प्रेम छ त ? उनी भन्छिन्, ‘किनभने कविता एक जनाको आवाज भए पनि यो लाखौं करोडौंको प्रतिध्वनि बन्न सक्छ । जुन अन्य विधाले समेट्न गाह्रो हुन्छ ।’

रूपीको सबैभन्दा सशक्त पक्ष चाहिँ नयाँ पुस्ताले उनका कवितालाई आफ्नो आवाज ठान्नु नै हो । यतिबेला संसारभर उनको कविताको प्रभाव देख्न सकिन्छ । उनकै जस्ता कविता बोकेर नयाँ पुस्ता आउन थालेका छन् ।

उनी आफ्नो जीवनकालको सबैभन्दा खराब समय सन् २०१५ देखि २०१९ सम्मको अवधिलाई मान्छिन् । उनी अवशादमा जीवन गुजारिरहेकी थिइन् । आफ्ना सारा शक्ति त्यसैले खाइरहेको छ भन्ने उनलाई थाहा थियो । आफ्नो पीडा उनले कसैलाई भन्न सकिरहेकी थिइनन् । यही अवशादले उनका प्रेमीहरू टाढिए, परिवारले पनि उनैलाई दोषी देख्यो । आखिर उनी किन यस्ती छन्, यस्ती भइन् भनेर केलाउन र जीवनलाई उधिन्न, पत्रपत्रमा विगत चिहाउन वर्षौं लाग्यो । र, ती पीडालाई उनले शब्दमार्फत अभिव्यक्त गर्न बल्ल सफल भइन् । तिनै भावले उनलाई सशक्त बनाउन सफल भयो ।

आफ्ना तनाव, अवशाद र अप्ठेराहरू जब उनले साथीभाइलाई सुनाउन थालिन्, तिनलाई लेख्न उनीहरूले प्रेरित गर्न थाले । कतिले त तत्कालै यी कुरा लेख, यी कुरा प्रेरणादायी छन् भनेर कचकच नै गरे । उनीहरूको कुरा सुन्नु जीवनकै सबैभन्दा राम्रो पक्ष भएको उनले स्वीकारेकी छन् । रूपीलाई एकान्त होइन, मान्छेको भिड चाहिन्छ । भिडमा जब उनी केही बोल्न थाल्छिन् र बोलेका कुराबाट उनी प्रेरित हुन थाल्छन् र आफ्ना कथा सुनाउन थाल्छन्, त्यसैबाट उनी कविताका गेडा उप्काउन थाल्छिन् ।

बालापनमा पञ्जाबमा हुँदा लोकगीतहरू गाउने आफन्तहरू, छिनका छिन गीत कथ्न जान्ने हजुरआमाका प्रभावले उनलाई कविताप्रति आकर्षित गर्यो । लोकगीत मात्र होइन, कहिलेकाहीँ हाजिरजवाफी गीतहरू पनि सुन्न पाइन्थे, नेपालका दोहोरीजस्ता ! उनी छक्क पर्थिन्, कस्तो छिनका छिनमा गीत बनाउन सक्या होला !

स्कुल पढ्दा उनले पहिलो पटक कविता रचिन् तर कसैलाई देखाउन सकिनन् । उनी ज्यादै लजालु थिइन् । केही साथीमाझ सुनाउँदा मात्र पनि उनले संसार जितेको महसुस गरेकी थिइन् ।

जब उनले पहिला कविता सङ्ग्रह बजारमा ल्याइन्, मिल्क एन्ड हनी । यसको विषय यौन उत्पीडन, त्यसले दिएको पीडा, प्रेम, महिला हुनुको उत्सवजस्ता सबै कुरा थिए । तर उनका कवितालाई धेरैले निकै रूचाए । जब जब यौन उत्पीडनमाथि लेखिएका कविता उनी वाचन गर्थिन्, स्त्री होस् या पुरूष, दुवै समूहले उत्तिकै छोएको भनी प्रतिक्रिया दिए । कविता प्रकाशन हुनुअघिसम्म मैले अलि बढी नै नाङ्गो रूपमा प्रस्तुत गरेँ कि भन्ने उनलाई लाग्ने गर्थ्यो तर जब उनले अरूको पीडा पनि यस्तै रहेछ भन्ने थाहा पाइन्, उनलाई आफूप्रति गुनासो रहेन ।

उनले पछि आफन्तबाट यौन उत्पीडनमा परेको कुरा व्यक्त गरेका कुरा कवितामार्फत नै बुझे, परिवारले उनलाई प्रेम गरे । यसपछि त उनलाई खुल्न अझ सजिलो भयो ।

जब उनको पहिलो किताब सुपरहिट भयो, उनले आफ्ना बुवा‑आमालाई घुमाउन अफ्रिकी मुलुक जमैका लगिन् । उनकी आमा त पञ्जाबमा हुँदा पनि घरेलु व्यक्ति थिइन्, अंग्रेजी बोल्न आउँदैनथ्यो, क्यानडामा पनि उनी घरेलु नै थिइन् । जब जमैकाका सुन्दर ठाउँमा घुमिन्, छोरीलाई धन्यवाद दिँदै भनिन्, ‘संसारमा यस्तो सुन्दर ठाउँ पनि हुँदोरहेछ भन्ने थाहा पाएँ, तँलाई धन्यवाद छ छोरी ।’ आमाले दिएको यो धन्यवाद उनलाई करोडको प्रतिक्रिया लागेको छ ।

उनलाई रोचक लागेको पक्ष चाहिँ उनको कवितावाचन टूर हो । १५ मुलुकमा उनको यो वाचन टूरका टिकटहरू हाउसफुल हुनु उनका लागि अचम्मै थियो । पहिले इन्स्टा पोएट्री एउटा हौवा मात्र हो भन्नेहरू पनि करोडप्रति कविताकृतिहरू बिक्री भइसकेपछि उनलाई हृदय खोलेर लेख्नसक्ने कविका रूपमा मान्न थालेका छन् ।

उनी पछिल्ला पुस्ताका कविहरूमा सबैभन्दा फेसनेवल कविका रूपमा पनि चिनिन्छिन् । के फेसन उनको ठूलो रूचि हो ? जवाफमा उनी भन्छिन्, ‘सानामा कहिल्यै पनि रोजेको खोजेको लाउन पाइएन । भारतमा हुँदा केटाले लाउनेजस्ता सस्ता सामग्री उठाएर ल्याइन्थ्यो । सुन्दर हुन र सुन्दर कुरा लाउन मलाई मन पर्थ्यो । ती पहिरनबाट म कहिल्यै सुन्दर महसुस गर्दिन थिएँ । अहिले यी सारा कुरा मेरो आफ्नै कमाईले गर्न सक्ने भएँ, म फेसनेवल पनि देखिएँ । फेसनमा म आफूलाई अभिव्यक्त भएको पाउँछु ।

सन् १९८४ मा इन्दिरा गान्धीको हत्यापछि उनका बुवाले क्यानडामा राजनीतिक शरण लिएका थिए । शुरूमा उनका बुवा क्यानडा पुगे र पछि उनका परिवारका अन्य सदस्यहरू । यही राजनीतिक शरणले उनलाई राजनीति के हो सिकायो, मानव अधिकार र शरणार्थी हुनु के हो बुझायो । त्यसैले उनी राजनीतिक मुद्दा, महिलाका मुद्दा र संसारलाई प्रभाव पार्ने हरेक मुद्दामा चासो राख्ने गरेको बताउँछिन् ।

उनको पहिलो कृति मिल्क एन्ड हनीबाट यहाँ केही कविता प्रस्तुत छः

‘तँ तेरी आमाजस्तै छेस्’
हुँली, मैले उनको कोमलता बोकेकी छु
‘तिमीहरूको उस्तै छन् आँखा’
हुँदो हो, हामी दुवै उस्तै गरी थाकेका छौँ
‘कस्तो उस्तै हात !’
होला, हात पनि त उसरी नै शिथिल छन्
‘तर तँ तेरी आमाजस्तो शान्त छैनस्, पूरै आगो बोकेर हिँड्छेस्’
हिँड्दी हुँ,
किनभने यही आगो त एउटा तिमीबाट पाएकी हुँ, बा !

(वार्सन सायरको इन्हेरिटेन्सबाट प्रेरित)

 

कम्मरमा पुर्याउनुअघि
मेरो तिघ्रा सुम्सुम्याउनुअघि
उसले मेरो दिमागमा
हाल्यो हात
अथवा ओठमा पुर्यायो ओठ
उसले सुन्दर छौ भन्दै भनेन
मात्र भन्यो- ओह ! क्या माल छौ !

उसले मलाई त्यसरी छोएर जान्छ

 

मैले उसलाई
प्रेम गर्न जानेकी हुँ
स्वयंलाई प्रेम गर्न सिकेर

 

उसले भन्यो
म प्रेम गरिन अप्ठेरो छु, माफ गर
छक्क परी हेरेँ उसलाई
जवाफ दिउँ लाग्यो-
कसले भन्यो, मलाई सजिलो प्रेम चाहिएको छ
म पनि त कहाँ सजिलो चाहन्छु !
तिमीलाई के थाहा, म कति अप्ठेरी छु !

 

 

यस्ती क्यानभास हुँ म
जो तिघ्रा फारेर
कलाकृतिको भिख मागिरहेकी छु ।

 

 

तिमी मेरो पहिलो प्रेम नहौला
तर तिमी त्यो प्रेम हौ
जसले अरू सारा प्रेम
सन्दर्भहीन बनाइदियौ

 

तिमीले छोयौ
यसरी छोयौ कि
नछोएरै
छोयौ

 

 

तिम्रो ओठबाट निस्कने
मेरो नामको उच्चारण
मलाई
तिमीले गरेको चुम्बनझैँ लाग्छ

 

 

मेरा केशराशीमा
आफ्ना औँला अल्झाएर
जसै तिमीले तान्छौ
कसरी तानपुराबाट सङ्गीत
निकालेझैँ मबाट सङ्गीत निकाल्ने
जान्दछौ !

(फोरप्ले)

 

तिमीले सासले बोल्यौ-
आई लभ यु
अर्थ थियो-
नछाड न मलाई

 

 

म तिम्रो जीवनकै
सबैभन्दा सुन्दर पछुतो
यति जान्नु जस्तो घोच्नु अरू हुँदैन

 

 

मैले तिमीलाई छाडेँ
तिमीप्रतिको प्रेम सक्किएर होइन
तिमीलाई छाडेँ ताकि
जति बढी तिमीमा ओढिन्छु
उति बढी म आफैँलाई कम प्रेम गर्नेछु

 

प्रत्येक पल्ट जब तिमीलाई चाख्छु
तिम्रो स्वाद कविताजस्तो
काश, प्रत्येक स्वादमाथि
केही लेख्न सक्थें !

 

सारा कलाले भरिएकी सङ्ग्रहालय हुँ म
चिम्म गर त
त्यो देख्ने आँखा छन् तिमीसित !

 

 

प्रेम यति खतरनाक हुन्छ
त्यसले केही पनि नराम्रो देखाउँदैन

 

तिमीलाई गुमाएर
मेरो ओठ अमिलिएका छन्

 

 

 

दुवै खुसी छैनौं
न त दुवै एकअर्कालाई त्याग्न सक्छौं
त्यसैले हामी एकअर्कालाई टुक्र्याउँछौँ
र भन्छौँ- यही त प्रेम हो

 

 

तिमीलाई किन म यति धेरै च्यात्न दिन्छु
जबकि तिमी गएपछि सिउँदा-सिउँदै हैरान हुन्छु

मान्छे जान्छन्
तर जसरी जान्छन्
त्यसरी नै रहिरहन्छन् हृदयमा

 

मैले तिमीलाई त्यसरी नै गुमाएँ
जसरी जहीँतहीँ मैले मेरा परेला गुमाउने गर्छु

 

जब तिमीले सोध्यौ
के हामी अझै साथी बन्न सक्छौं ?
म छाडिनु र तिमीसितै हुनु
दुई ठाउँमा एकै व्यक्ति ?
असम्भव ।

प्रेम क्रूर हुँदैन
हामी हुन्छौँ
तर प्रेमपूर्वक यसलाई
हामीले नै बनाएका हौँ खेल ।

 

 

त्यसबाट निको हुन नखोज
जसले तिम्रो धर्ति
धर्मराइदिएको थियो

 

 

 

बलियो बन्छु म
पीडा हुर्काएर जसरी फुल्छ फूल
म भित्रको फूल जसरी
फुल्छ सुन्दरताले भरिएर
खतरनाक तरिकाले
चिच्याउँदै
फक्रन्छ सुस्तरी
तिमीलाई त जम्माजम्मी
म फक्रनुमा मात्र मतलब छ

 

 

ए व्रह्माण्ड
तँलाई धन्यवाद छ
खोसिएका सारा खोसाइका लागि
दिइएका सारा
उपहारका लागि

(सन्तुलन)

 

 

कहिलेकाहीँ
क्षमा
चाहेको बेला पाइन्न

र, जब यो फेला पर्छ
त्यो बेला चाहिएको हुन्न

(यु आर टू लेट)

 

 

दुखाउनेहरू आउँछन् यदि
खुसी दिनेहरू पनि आउँछन्

 

 

जन्मँदै हामी सबै सुन्दर हुन्छौँ
साह्रै सुन्दर

ठूलो दुखान्त त
सुन्दर छैनौँ भन्ने मान्नु हो