अमेरिकाका बेस्ट सेलिङ लेखक डिन कुन्जले उनको क्यालिफोर्नियास्थित अरेन्ज काउन्टीमा किनेको घर ५ करोड डलरमा बेचेका छन्।

सो क्षेत्रमा कसैले यति ठूलो रकममा बेचेको यो पहिलो अवसर भएको वालस्ट्रिट जर्नलले जनाएको छ।

२.५ एकड जमिनमा फैलिएको र प्रशान्त महासागरको छेउमै रहेको यो घर ३० हजार वर्गमिटरमा फैलिएको र लेखक कुन्ज र उनकी पत्नी गेर्डाले सन् २००० ताका बनाइसिध्याएका थिए।

उनको यो विशाल घरलाई ‘अन्डरकभर बिलियनर’ टिभी शृंखलाका अभिनेता ग्लेन स्टर्न्सले खरिद गरेको बताइएको छ।

७४ वर्षीय लेखकले पछिल्लो समयका बेस्ट सेलर उपन्यासहरू ‘द लभ बर्ड्स’, ‘स्विट मेग्नोलियाज’, ‘वाचर्स’ र ‘द ग्रेट’ यही घरमा बसेर लेखेका थिए। उनका ‘अड थोमस’ र ‘डेमन सिड’जस्ता चर्चित थ्रिलर लेखकका रूपमा समेत परिचित छन्।

अभिनेता ग्लेन टिभी शृंखलाको लोकप्रियतापछि यो ठाउँबाट स्टुडियो र विभिन्न ठाउँमा पुग्न सहज भएकाले महँगै भए पनि यो घर खरिद गरेको बताउँछन्। उनले घरजग्गा खरिद बिक्रीको एउटा बेग्लै व्यापार पनि शुरू गरेकाले यो ठाउँ आफ्ना लागि उपयुक्त भएको जनाएका छन्।

कुन्ज आफ्नी आमाको अति मनपर्ने लेखक भएकाले र यो घर बिक्रीमा रहेको गत जनवरीमा चाल पाएपछि खरिद प्रक्रिया अघि बढाएको बताएका छन्।

लेखक स्वयंले अभिनेतालाई घर डुलाएर यसको महत्त्व बुझाएका थिए। घरमा होम थिएटर त छँदैछ, आउटडोर स्विमिङ पुल पनि रहेको छ।

सन् २०१४ ताका लेखक कुन्जले वाल स्ट्रिट जर्नललाई भनेका थिए, ‘आफूलाई मन पर्ने घर बनाउनु जत्तिको सास्ती सायदै केही होला। बनाइसकेपछि मलाई यस्तो लागिरहेको छ, सायदै म यहाँबाट निस्कूँला।’

घरमा दुई जना मात्र बूढाबूढी रहेको र रेखदेख गर्ने साह्रै गाह्रो भएपछि आफूले यसलाई बेच्न चाहेको बताएका थिए। यही क्षेत्रमा यी लेखकको अर्को सानो घर भएकाले त्यहीँ सर्ने योजना बुनिरहेको उनले बताए।
क्याथरिन क्लार्को रिपोर्ट