अहिले बेलायत र अमेरिकामा सबैभन्दा बढी बिक्री भएकी लेखिकाका रूपमा कोलिन हुभरको नाउँ आएको छ । उनको पछिल्लो उपन्यास इट स्टार्ट विद अस गएको महिना १ लाख २१ हजार प्रति पहिलो सातामा नै बिक्री भएर कीर्तिमान बनाएको थियो । यसअघि उनको उपन्यास इट इन्ड्स विद अस पहिल्यै हिट भइसकेको उपन्यास हो । अमेरिकामा इट स्टार्ट विद अस अमेरिकामा सबैभन्दा बढी प्रिअर्डर भएको किताबका रूपमा चिनिएको छ । सिमोन एन्ड सुस्टरले यो किताब बजारमा ल्याएको हो । न्युयोर्क टाइम्स दैनिकका अनुसार यो वर्ष यो किताब त बाइबलभन्दा बढी बिक्री भइसकेको छ ।
अमेरिकाको टेक्सस राज्यमा जन्मिएकी र सामान्य परिवारमा हुर्किएकी हुभरले आफ्ना किताब छपाउने कुनै प्रकाशक नपाउँदै आफैँ किताब छाप्ने र टिकटकमार्फत प्रचार गर्ने गर्थिन् । उनले आफूले पढेका किताबहरूमाथि टिकटकमा टिप्पणी गर्दै रोचक कथा सुनाउने गर्थिन् । यहीँनेर अरूलाई कथा सुनाउँदासुनाउँदै उनले आफ्ना कथा र उपन्यास पनि सुनाउन थालिन् र आफैँ छापेर प्रचार गर्न थालिन् ।
धेरैका लागि कोभिड १९ को बन्दाबन्दी तनावको समय बन्यो तर हुभरका लागि भने वरदान साबित भयो । मानिसहरू घरै बसेर किताब मगाउने बेला उनले किशोरकिशोरीहरूलाई तताउने खाले उपन्यास लेखिन् ।
सन् २०१२ मा पहिलो उपन्यास ‘स्ल्याम’ लेखेर अमेजनमा आफैँ प्रकाशन गरेकी उनले सफलताका लागि झण्डै एक दशक कुर्नुपर्यो । ‘स्ल्याम्ड’मा स्ल्याम पोएट्रीमा आफ्नो करियर अघि बढाउन खोज्ने एउटी किशोरीको कथालाई उपन्यासमा ढालिएको छ ।
त्यसो त यो पुस्तकले त्यो बेला राम्रो चर्चा पाएकै थियो किनभने उनले यस उपन्यासलाई सामाजिक सञ्जालमा यति धेरै चर्चा चलाइन् कि त्यो उपन्यास अमेजन इबुक सेक्सनमा बेस्टसेलरमा उक्लिएको थियो । उनको सामाजिक सञ्जालमा डेढ लाखभन्दा बढी सदस्यहरू छन्, जहाँ उनले किताबका बारेमा चर्चा चलाउने गर्छिन् । उनले बुकटक, बुकट्युब, बुक्स्टाग्राम र फेसबुकमा कोलिन हुभर्स कोहर्ट नाममा सामाजिक सञ्जालहरू चलाउने गरेकी छन् ।
पहिलो पुस्तक नै सफल भएपछि उनले आफ्ना ट्रक ड्राइभर पतिलाई जागिर छोडाएर घरमा आफ्ना सन्तान हुर्काउने जिम्मेवारी दिइन् । त्यसपछिका थप आठ वर्षमा २० उपन्यास लेखी भ्याइन् ।
उपन्यास लेख्नुअघिसम्म घर किन्ने पैसा नभएर ट्रेलर (गाडीमै बस्ने खाने) मा जीवन गुजारेकी यी लेखिकाको जीवन बदल्ने काम भने २०१६ मा निस्केको उपन्यास इट इन्ड्स विद असले गरेको थियो । किताब निस्केको चार वर्षपछि सन् २०२० को बन्दाबन्दीका बेला यो उपन्यासको चर्चा सामाजिक सञ्जालहरूमा हुन थाल्यो र यो किताबका बारेमा टिनएजरहरूले साना साना पंक्तिहरू लेख्न बोल्न थाले । लेखिकाको टिकटकमा ११ लाखभन्दा बढी फलोअर छन् । उनले टिकटकमा किताब लेख्दाका रोचक प्रसङ्गहरू यति धेरै बाँड्थिन् कि ती कुरालाई उनका प्रशंसकहरूले भाइरलै बनाइदिन्थे ।
सन् २०२० भरि नै यो किताब बेलायतको द सन्डे टाइम्सको बेस्ट सेलर सूचीमा परिरह्यो । उता अमेरिकामा पनि यो किताब बेस्टसेलर साबित रह्यो ।
उसो भए के किताबको सफलतामा टिकटकको भूमिका हुन्छ भन्ने मानौँ त ? त्यो पनि होइन । टिकटकको भूमिका चाहिँ आधा मात्र हो ।
रोचक त, हुभरले अहिलेसम्म विविध विधाको उपन्यास लेखेकी छन् । अश्लील उपन्याससमेत उनले लेखेकी छन् । उनले २०१४ मा लेखेको अग्ली लभमा उनले विमान चालक र एक जना नर्सबीचको अश्लील हर्कतबारे लेखेकी थिइन् । सन् २०२० मा उनले साइकोलजिकल थ्रिलर पनि लेखिन्, भेराइटी नाममा ।
उनको लेखनी रूचाइनुको मुख्य कारण चाहिँ किशोरकिशोरीहरूको कल्पनाशीलतालाई मलजल गर्ने चोर्ने डार्क थिम र यौनका प्रसङ्गहरू नै हुन् । खासगी जब मिल्स एन्ड बुन्स, जिल्ली कुपर र इएल जेम्सजस्ता रोमान्स र सेक्सले भरिएका उपन्यास सर्जकहरू सेलाउँदै जाँदा यिनको उदय भएको केहीको दाबी छ ।
लामो समयदेखि किताब पढ्न छाडेकाहरू उनका पाठक बनेको उनको टिकटक हेर्दा बुझ्न सकिन्छ । कतिले त २ सातामा कोलिनका चार पुस्तक पढेको समेत दाबी गरिरहेको पाइन्छ ।
अश्लीलता पस्किएर पाठक बटुल्नुलाई ठूलो कुरा नमान्ने जमात त छँदैछन् तर इन्टरनेटभरि अश्लील सामग्री भेटिने बेलामा किताब खोजीखोजी पढिनु चाहिँ आश्चर्यको कुरा भएको केहीको भनाइ छ । यसलाई हेयभन्दा पनि सम्मानको नजरले हेरिनुपर्ने विश्लेषकहरू बताउँछन् ।
केही विश्लेषकहरूले भने ट्रमा पोर्न अर्थात् जीवनमा पाएका हेय, पीडा, दुःखलाई ग्ल्यामराइज गरेकामा लेखिकाप्रति विमति राख्ने गरेका छन् ।
प्रकाशक समोन एन्ड सुस्टरका अनुसार उनका पाठकहरू विशेषतः महिला छन् । खासगरी १५ देखि ३० वर्ष उमेर समूहका छन् । खासगरी रोमान्स विधाका उपन्यास पढ्नेहरू यही उमेर समूहका हुने गर्छन् र यो उमेर समूहको खुराक बुझेर हुभरले उपन्यास लेखेको केहीको विश्लेषण छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।