कुनै समय यस्तो पनि सोचिन्थ्यो कि, “प्रेममा पर्नु/प्रेम गर्नु हुँदैन, पढाइ बिग्रिन्छ” र यस्तो सोच एसएलसी दिँदासम्म थियो । त्यसकारण पनि स्कुलमा छँदा दायाँबायाँ गरिएन । हुन त त्यो उमेर त्यसो गर्ने उमेर थिएन पनि होला । आफ्नो कक्षाका केटी साथीहरुसँग निर्धक्क बोल्ने गरेका कारण हुन सक्छ प्राय: केटीहरु मेरो नजिक थिए स्कुलमा । केटीहरुसँग बोलेको देख्दा ईर्ष्या गर्ने केटा साथीहरु पनि थिए । किन भने उनीहरु केटीहरुसँग बोल्न धकाउथेँ । सबै त नभनूँ , तर धेरै केटाहरु त्यस्ता थिए । जसले गर्दा म केटीहरुसँग बोल्दा कतिलाई डाहा पनि लाग्थ्यो । केटीहरुसँग बोलेकै कारण कतिले जिस्काउँथे पनि उनीहरुसँग मेरो नाम जोडेर । मानौँ हामी प्रेमी-प्रेमिका नै हौँ । मैले “त्यस्तो होइन” भनेर भन्न पनि पाउँदिन थिएँ । नपत्याउनेहरुलाई प्रमाण दिन जरुरी पनि ठान्दिन थिएँ । त्यसकारण मलाई अहिले पनि याद छ दुई कक्षादेखि बिबिएससम्म आइपुग्दा कोही न कोही केटी साथीसँग मेरो नाम जोडिरहे साथीहरुले । कहिलेकाहीँ त एउटै कक्षामा एकभन्दा बेसी केटीहरुसँग नाम जोडिन्थ्यो मेरो । कालोपाटीमा (a+b) लेखे जस्तो मेरो नाम जोडिएको भेटिन्थ्यो कहिलेकाहीँ त । साथीहरुले त्यसरी मेरो नाम जोडे पनि मैले त्यसलाई सधैँ सामान्य मान्दै आएँ । किन भने मैले कहिल्यै त्यसरी सोचेको हुँदैन थियो । नाम जोडिएका ती केटी साथीहरु अहिले कहाँ-कहाँ छन् अत्तोपत्तो छैन । केही साथी भने सामाजिक सञ्जालले गर्दा अहिले जोडिन पुगेका छन् ।

कतिलाई त म आफैँ सञ्जालमा खोजिरहेको छु जोसँग मेरो नाम साथीहरुले पहिले नै जोडिदिएका थिए । साथीहरुले मसँग नाम जोडेर जिस्काएका कारण कति केटी साथीहरु त बोल्नै छोडे । कसैले रिसाएर छोडे भने कसैले लाजले छोडे । आफ्नो कक्षाकोठामा अरुभन्दा जान्ने हुनुको फाइदा पनि गज्जबकै हुन्थ्यो । सिकाउने बाहानामा सबैको नजिक हुन पाइन्थ्यो । यसकारण पनि स्कुल कलेजमा मेरा धेरै साथीहरु भए । मनमा कुनै अहङ्कार नपाली आफूले जानेको सिकाइदिन्थे । सरले पढाएका कुरा अरुले नबुझेको खण्डमा आफूले उनीहरुलाई सिकाउन पाउँदा गर्वले नाक फुल्थ्यो पनि । यसकारण कक्षामा कसैसँग दुश्मनी मोल्नु परेन अपवाद बाहेक । कति त फेरि बोल्नका लागि मात्र भए पनि सिकाइमाग्न आइपुग्थे । यसो गर्नेमा केटीहरु बेसी हुन्थे । म मिजासिलो स्वभावको भएकोले पनि यसो भएको हुन सक्छ । तर म उनीहरूभन्दा जान्ने छु भन्ने भाव कहिल्यै आएन । जसले गर्दा मलाई साथीहरूको प्रिय बनाइरह्यो । साथीभाइ र शिक्षकहरुको प्यारो हुनुको मज्जा पनि बेग्लै हुन्थ्यो । यस्तो लाग्थ्यो भविष्यमा गएर ठुलै मान्छे बनिन्छ । “बालबालिका भविष्यका कर्णधार हुन् ” भनिरहँदा त्यो एउटा कर्णधार म आफैँ हो जस्तो लाथ्यो । “यो त ज्ञानी छ” भनेर सबैले तारिफ गरिहँदा जबर्जस्ती पनि ज्ञानी हुनुपर्थ्यो । चकचक गर्ने उमेरमा पनि उतिसाह्रो फटाइँ गर्न पाइएन । कतै बिगार गर्न लाग्दा पनि त्यही “ज्ञानी” शब्द दिमागमा आउँथ्यो र गर्न दिँदैन थियो मनले । यसकारण पूर्वप्रधानमन्त्री केपी बाले भनेको कुरामा धेरै हदसम्म सत्यता छ कि “केटाकेटीलाई कहिले पनि तँ फटाह छस् नभन्नु” भनेको कुरामा । यसकारण केटाकेटीलाई “तिमी कति ज्ञानी” भनेर बेलाबेला भनिरहनु पर्ने रहेछ । ठूलो भएर ज्ञानी हुने नहुने आफ्नो ठाउँमा छ तर कलिलो मस्तिष्कमा त्यसो भनिनु जरुरी रहेछ मनोवैज्ञानिक हिसाबले पनि ।

डिजी शर्मा (युएई)

कुरा अन्तै मोडिएजस्तो भयो । केटी साथीसँग नाम जोडिएकै प्रसङ्ग जोडौँ । नाम त प्रत्येक कक्षामा जोडिए । तर नाम जोडिएर भएका केही स्मरणीय घटनाहरु मात्र यहाँ उल्लेख गर्न चाहन्छु ।

(प्रसङ्ग एक )

छ कक्षामा पढ्ने बेलामा अर्को स्कुलबाट हाम्रो स्कुलमा एक केटी आइन्, फूलमाया । नामजस्तै मान्छे पनि फूलजस्तै राम्री थिई । राम्री भएपछि कक्षामा सबैको नजर पर्नु स्वभाविक नै थियो । तर ऊसँग बोल्ने आँट प्रायः केटाहरूले गरेनन् । म भने आफ्नै पारमा ऊसँग बोल्न थालेँ र केही दिनमै नजिकको साथी बनाएँ । सम्बन्ध राम्रै चलिरहेको थियो । उनी पनि मलाई नजिकको साथी बनाउन पाएकोमा खुसी नै देखिन्थिन् । एक दिन मेरो मिल्ने भनिएको केटा साथी (नाम बिर्सिएँ) ले फूलमायालाई गएर सुनाइदियो “दीपकले त तँलाई मन पराउँछ” भनेर । त्यसपछि उनलाई के चाहियो ? कुरोको चुरो नबुझी सारा साथीहरुको अघि मलाई तथानाम गाली गरिन । मैले पनि रिसको झोँकमा “संसारमा अरु कुनै केटी नपाएर अब म तँलाई मन पराउँछु । मेरो अरु केही काम छैन तँलाई मन पराउनु बाहेक” भनिदिएँ । केहीबेर निक्कै भनाभन भयो । केही साथीहरु खुसी पनि भए होलान् हाम्रो झगडा परेको देखेर । जसलाई हाम्रो सम्बन्धमा डाहा थियो । एकछिनमा झगडा सकियो र बोलचाल पनि । कतिसम्म भेडो थिएँ भने पछि कलेज पढ्ने बेलासम्म पनि त्यो पोल लाउने केटो साथी र त्यो केटीसँग म बोलिन । उनीहरु बोल्न खोज्दा पनि म बोलिन । त्यो एकोहोरो बानी अहिले पनि गएको छैन । सकियो भनेपछि सकियो ।

(प्रसङ्ग – दुई )

एकजना साथी थिइन्, दुई कक्षादेखि सँगै पढेको । दुई कक्षाको अर्धवार्षिक परीक्षामा एक-दुई अङ्क कम भएर म चौथो भएको थिएँ । उनी तेस्रो । अर्धवार्षिक परीक्षापछि म अर्कै स्कुलमा पुगेँ । तीन कक्षामा त्यही पहिलेकै स्कुलमा उनीसँग फेरि भेट भयो । तीनबाट चारमा जानेबेला म दोस्रो भएँ । उनी सायद तेस्रो भएकी थिइन् । त्यसपछि उनी बिर्तामोड सहर आइन् र त्यहीँको स्कुलमा पढ्न थालिन् । संयोगले ८ कक्षामा म पनि बिर्तामोडको उनी पढेकै स्कुलमा भर्न हुन पुगेँ । त्योभन्दा पहिले ७ कक्षामा छँदै म उनी भएको स्कुल पुगेको थिएँ । त्यतिबेला हामी पनि स-परिवार गाउँबाट बिर्तामोड सहर आइसकेकोले त्यहाँको स्कुलमा कस्तो पढाइ हुँदो रैछ भनेर बुझ्न म एक दिनका लागि उनी पढिरहेको स्कुल पुगेको थिएँ । किन भने अर्को वर्षबाट मेरो पढाइ त्यही स्कुलमा सर्नेवाला थियो । तर त्यतिबेलासम्म मलाई उनी त्यहाँ छिन् भन्ने जानकारी चाहिँ थिएन । कक्षा कोठामा छिर्नसाथ “दीपक” भन्दै नामले कसैले बोलायो । यो नौलो स्कुलमा मलाई मेरो नामै तोकेर बोलाउने को रैछ ? भनेर म बडो उत्सुक भएँ । सरले पढाएर गइसकेपछि एक जना केटी मेरो सामुन्ने आइन् र “मलाई चिनेनौ ? ” भनेर सोधिन् । मैले कतै देखेजस्तो लागेन र “चिन्न सकिनँ त ” भन्ने जवाफ फर्काएँ । त्यसपछि उनले आफ्नो परिचय दिइन् र तल गाउँमा हुँदा दुई र तीन कक्षासँगै पढेको कुरा सम्झाइन् । तीन कक्षाबाट छुटेको साथीलाई ७ कक्षामा अचानक भेट्दा नचिन्नु स्वभाविक पनि हो । तर उनले मलाई कसरी चिनिन् ? म यसैमा दङ परिहेको थिएँ । “अर्को वर्ष ८ कक्षाबाट म यहीँ आउनेछु । अहिले यसो स्कुल हेर्न मात्र आएको” भनेर म उनीबाट विदा भएँ ।

बसाइँ सरेर बिर्तामोड आए पनि हाम्रो पढाइ नसकिएकोले हामी तल गाउँकै स्कुलमा पढिरहेका थियौँ, बिर्तामोडबाट गाडीमा धाएर । बिर्तामोडबाट करिब १० किलोमिटर तल गोलधापको स्कुलमा गाडीमा गएर ५/६ महिनासम्म पढ्नुको दुख अलग्गै छन् । त्यसको बारेमा कुनै दिन लेखौँला । ७ कक्षाको वार्षिक परीक्षा सकिएर ८ मा भर्ना हुन पुन: उनी पढेकै स्कुलमा आइपुगियो पहिले भने बमोजिम नै । त्यो स्कुलमा भर्ना हुन पनि निकै सकस झेल्नु परेको थियो । त्यसको पनि कहानी कुनै दिन अलग्गै लेखौँला । गाउँको स्कुल र त्यहाँका शिक्षकहरुले मलाई कति प्रेम गर्नुहुन्थ्यो भन्ने कुराको एउटा सानो उदाहरण पेस गर्न मन लाग्यो । ८ कक्षाबाट बिर्तामोडको स्कुलमा पढ्न जाने भएपछि म ७ कक्षाको मार्कसिट लिन तल गाउँको स्कुल गएँ । प्रमाण-पत्रमा म प्रथम भएको कुरा लेखिएको थियो । यो देखेर म खुसी त भएँ नै साथै दङ पनि परेँ । किन भने ३ देखि ६ कक्षासम्म कहिल्यै दोस्रोभन्दा माथि जान नसकेको म ७ बाट ८ कक्षामा जाने बेला कसरी प्रथम भएँछु ? भन्ने लाग्यो । गम्भीर सोचमा पार्यो त्यसले मलाई । केही वर्षपछि मात्र मैले त्यसको रहस्य थाहा पाएँ । खासमा म दोस्रो नै भएको रहेछु । तर नयाँ स्कुलमा भर्ना हुन मलाई सजिलो होस भनेर सम्बन्धित शिक्षक र स्कुलको सहमतिमै मलाई प्रथम भएको प्रमाण-पत्र दिइएको रहेछ । यो कुरा थाहा पाएपछि म झन् भावुक भएँ । मप्रति शिक्षकहरु र स्कुलले देखाएको प्रेमप्रति नतमस्तक भएँ । यसकिसिमको प्रेमले मलाई पछिसम्म पनि कक्षाकोठाभित्र अनुशासित हुन प्रेरित गरिरह्यो ।

प्रसङ्ग जोडौँ उनै केटी साथीको जोसँग ३ कक्षामा छुटेर ७ कक्षामा पुन: भेट भएको थियो । ८ कक्षामा हाम्रो मित्रता फेरि सुरु भयो पहिले जस्तै गरी । नयाँ स्कुलमा पुरानो साथी भेटिनु मेरा लागि पनि खुसीको कुरा थियो । यसकारण पनि तुलनात्मक रुपमा अरु केटी साथीहरु भन्दा उनीसँग मेरो सम्बन्ध प्रगाढ हुनु स्वभाविक थियो । राम्रैसँग सम्बन्ध जमिरहेको थियो । तर त्यो लामो समय चल्न पाएन । साथीहरुले हाम्रो सम्बन्धलाई लिएर एक अर्कालाई जिस्काउन सुरु गरिहाले । यसले मलाई त खासै फरक परेको थिएन तर उनलाई भने लज्जा बोध गराउन थालिसकेको थियो । तर उनी मसँग झगडा गर्न भने आइनन् । हामी साथी मात्र हो भन्ने कुरा उनलाई पनि थाहा थियो र मलाई पनि । तर हाम्रा साथीहरुले भने त्यसरी हेरिदिएनन् । जसका कारण उनलाई मसँग बोल्न अप्ठ्यारो हुनथाल्यो । बोल्ने मन हुँदाहुँदै पनि उनी अरुले देख्ने गरी बोल्न छोडिन् मसँग । तर पनि मौका मिल्नासाथ हाम्रो कुराकानी भइरहन्थ्यो ।

समयको खेल भनौँ या अरु नै केही ८ कक्षा सकिनसाथ उनी भारतको मणिपुर गइन् परिवारका साथमा । उनलाई विदाइ गर्ने बेलामा केही साथीहरु मिलेर फोटो पनि खिच्यौँ । त्यो फोटो सायद अहिले पनि मेरो घरमा होला । विदाइको बेला पनि धेरै साथीहरूले हामीलाई जिस्काए । उनले त्यो बेला पनि असहज मानिन् । त्यही क्रममा उनले मलाई छेउमा आएर खुसुक्क भनिन्, “मैले तिमीलाई साथी मात्र सोचेको छु है ।” मैले पनि त्योभन्दा माथि सोचेको थिएन र मैले पनि त्यही जवाफ फर्काएँ । फेरि पनि सानैदेखिको साथी पर अर्कै देशमा पुग्ने खबरले मन भने कताकता दुखिरहेको थियो । स्कुलमा हुँदा पनि साथीहरूले राम्रोसँग बोल्न दिएनन् हामीलाई । स्कुलबाट छुटेपछि जम्माजम्मी एक दुई पटक मात्र हाम्रो भेट भयो उनी नेपाल आएको बेला । अहिले कहाँ छिन भन्ने जानकारीसम्म छैन । सामाजिक सञ्जाल फेसबुक चलाउन थालेपछि मैले उनलाई बहुत खोजेँ । त्यो खोज्ने क्रम अहिले पनि बेलाबेला जारी राख्छु । तर अहिलेसम्म मैले उनलाई भेट्टाउन सकेको छैन । पहिले छुटेका थुप्रै साथीहरुलाई सञ्जालले अहिले जोडिरहेको छ । तर उनीसम्म मलाई जोड्न सकेको छ । आशा छ कुनै दिन हामी जोडिने छौँ सञ्जालमै भए पनि । उनीसँग नजिक हुनुको अर्को पनि कारण छ । उनी साहित्यप्रति रुची राख्नुका साथै सिर्जना पनि गर्थिन् । ८ कक्षामा उनी र अर्को एउटा केटा साथी मात्र थिए जो साहित्यमा रुची राख्थे । साहित्यप्रतिको मेरो झुकाब पनि तिनै दुई साथीहरुको सङ्गतले भएको हो । उनीहरुसँग त्यो बेला सङ्गत गर्न नपाएको भए सायद आज म साहित्य सिर्जनामा हुन्न थिएँ । यसकारण आज पनि म उनलाई सम्झिन्छु बेलाबेला ।

(प्रसङ्ग तीन)

केटीहरुसँग आफ्नो नाम जोडिनुलाई मैले सामन्य रुपमा लिँदै आएको भए पनि कहिलेकाहीँ भने त्यसले अप्ठ्यारोमा पार्थ्यो । त्यस्तै अप्ठ्यारो एक पटक १० कक्षामा पढ्दा भयो । नौ कक्षामा पुगेपछि एक केटीसँग मेरो अलिक बेसि नै हिमचिम भयो साथीको हिसाबले (नाम उल्लेख नगरम, अहिले उनी मेरो फेसबुक लिस्टमा छिन ) । कतिसम्म भने कहिलेकाहीँ म उनको घरसम्म पनि पुग्थेँ । मित्रता राम्रै चलिरहेको थियो । नोटकपी आदान प्रदान पनि हुन्थ्यो । धेरैले जिस्काउँथे पनि हामीलाई । तर त्यसले न उनलाई असर परेको थियो न मलाई । यही क्रममा १० कक्षाको पढाइ सकेर एसएलसीको लागि विशेष तयारी कक्षा चलिरको थियो । जहाँसम्म लाग्छ त्यतिबेला हिसाबको क्लास भइरहेको थियो । त्यतिकैमा ५/६ जना केटाहरु आए जो कक्षा १० मै पढ्ने तर अर्को सेक्सनका केटाहरु । उनीहरूलाई मैलै त्यति राम्रोसँग चिनेको थिएन । “सर दीपकलाई एकछिन बाहिर पठाइदिनु त, काम छ” भनेर उनीहरुले भनेपछि सरले मलाई बाहिर जान भन्नुभयो। केही विशेष काम होला भनेर म पनि बाहिर निस्किएँ । तल अर्को कक्षाको कोठामा लगेर ती ५/६ जना केटाहरुले मलाई घेरे । “तैले त्यो केटीलाई मन पराउछस् हो ” ? भनेर सोधे । म झसङ्ग भए । मैले त कहिल्यै त्यसरी सोचेको थिएन ।

“तिमीहरुलाई कसले भनेको ?” मैले प्रतिप्रश्न गरेँ । “जसले भनेको भए पनि हो कि होइन ?” भन्दै केटाहरु जङ्गिए । “त्यो पोल लाउने को हो ? त्यसलाई यहाँ ल्याओ, अनि भन्छु हो कि होइन” भनेर मैले आफ्नो अडान राखेपछि उनीहरुले उसको नाम चाहिँ खुलाएनन्, जसले पोल लगाएको थियो । बस यति भने, “आइन्दा त्यो केटीसँग बोलेको देखियो भने तँ बाँकी रहँदैनस् ।” यति भनेर उनीहरु बाहिरिए । हुन त उनीहरुको नियत मलाई कुट्ने नै थियो होला । तर म स्कुलका लागि प्रिय विद्यार्थी थिएँ । जसले गर्दा मलाई हात हालेको खण्डमा स्कुलको कारबाहीमा परिएला कि भन्ने पिरले उनीहरु पछि हटेको हुन सक्ने मेरो अनुमान हो ।

म पुन: कक्षा कोठामा फर्किएँ । साथीहरूलाई शंका नहोस् भनेर मैले केही नभएजस्तो गरेर कोठामा छिरेँ । त्यो मैले मन पराएको भनिएकी केटी (जोसँग मेरो राम्रो सम्बन्ध थियो) ले मलाई शंकालु नजरले हेरिरहेकी थिई। मानौँ उसैले पोल लगाएर ती केटाहरु पठाएकी हो । त्यसपछि त्यो केटीसँग पनि बोलचाल बन्द भयो । उनले स्वयम् केटा लगाएर मलाई कुट्न लगाएकी थिई अथवा कुट्न आउने ती केटाहरुमध्ये कसैले उनलाई मन पराउँथ्यो र उसले साथीहरु बटुलेर मलाई थर्काउन आएका थिए भन्ने कुरा मैले अहिलेसम्म पनि पत्तो पाउन सकेको छैन । त्यसरी मलाई थर्काउन आउने मध्ये एक जना केटा पछि प्लस टु पढ्ने बेला एउटै कलेजको एउटै कक्षामा पर्यो । त्यसपछि ऊ दुश्मनबाट दोस्त भयो । प्लस टु सकेपछि प्रहरी सेवामा भर्ती भयो ऊ । अहिले कता छ त्यो चाहिँ थाहा छैन । प्रहरीमा भर्ती भएपछि ऊसँग एक पटक भेट भएको थियो । “तिमीहरु जस्तो पढ्न सकिएन यार” भन्दै आफूले पढाइ छोड्नु परेकोमा गुनासो गर्थ्यो ।

एसएलसी सकियो । हामी (त्यो केटी र म) अर्कै अर्कै कलेजमा पढ्यौँ । कहिलेकाहीँ बाटोमा देखादेख हुँदा पनि बोलिएन । बोलुँला झैँ गर्थी । तर मेरो रिस नमारेकोले गर्दा म बोल्नै चाहिन उनीसँग । पछि बिबिएस पढ्ने बेला एउटै कलेजमा फेरि भेट भयो । त्यति बेलासम्म मेरो रिस मरिसकेको र उनको भ्रम (मैले उनलाई मन पराउँछु भन्ने) पनि हटिसकेकोले हाम्रो पुन: हिमचिम बढ्यो पुरानै शैलीमा । मित्रता बढेको देखेर फेरि साथीहरूले हाम्रो कुरा काट्न थाले पहिले जस्तै गरी । यो पटक पनि मैले वास्ता गरिन । “हामी साथी मात्र हौँ” भनेर भन्न जरुरी पनि ठानिन ।

एक दिन कलेजकै साथीको दाजुको बिहेमा हामी कलेजका केही साथीहरू जन्ती गयौँ । त्यसमा उनी पनि थिइन् । फर्किने बेला बसमै उनले वान्ता गर्न थालिन् । त्यतिबेला मैले नजिकको साथी भएको नाताले अलिक बेसी नै उनको ख्याल राखेँ । त्यही किसिमको आत्मीयता देखाएँ । तर त्यसैलाई अरु साथीहरुले कुरा काट्ने मेसो बनाए । त्यो दिनदेखि झन् बेसी जिस्काउन थाले हामीलाई । एक दिन उनको अर्को केटी साथीले मलाई सोधिन् पनि, “तिमी उनलाई मन पराउँछौ हो ?” ।

“कसैसँग प्रेम गर्ने मेरो हैसियत छैन” भनेर जवाफ फर्काएपछि उनले फेरि कहिल्यै त्यो विषयमा कुरा गरिनन् । तर पनि धेरै साथीहरूले हामीलाई प्रेमी प्रेमिकाकै रुपमा हेरिरहेका थिए ।

हरेक पटक कोही न कोही केटीसँग मेरो नाम मुछिने भएकोले गर्दा मलाई यी कुराहरु सामन्य लाग्न थालिसकेको थियो । कतिसम्म भएको छ भने एक पटक बुबा बिरामी भएर १४/१५ दिन अस्पताल बस्नु परेको थियो । यो २०६४ सालको कुरा हो । यता कलेजमा भने मैले केटी भगाएँ अरे भनेर हल्ला फैलिसकेको रहेछ । अस्पतालबाट फर्किएर आएपछि यो कुरा सुन्दा म हाँस्न पनि सकिन र रुन पनि । कसले कसरी र किन त्यस्तो हल्ला फैलायो भन्ने पनि थाहा पाउन सकिएन ।

(प्रसङ्ग चार)

केटीसँग नाम जोडिने क्रम र त्यसबाट उत्पन्न हुने परिस्थिति कलेजमा पुग्दा पनि रोकिएन । किन भने मेरो बानी पनि फेरिएको थिएन केटीहरुसँग बोल्ने । नाम मात्र जोडिँदा त समस्या थिएन । तर कहिलेकाहीँ त्यसले अर्कै रुप लिइदिन्थ्यो । प्लस टुमा पनि एक पटक भयो त्यस्तै । एक केटीसँग राम्रो साथीको सम्बन्ध स्थापित भयो । (नाम उल्लेख नगरम, उनी पनि फेसबुकमा साथी छिन ।) नोटबुक सेयर पनि हुन्थ्यो । कहिले उनले मेरो लैजाने, कहिले मैले उनको ल्याउने । यो पटक भने अरु साथीहरूले हाम्रो सम्बन्धलाई लिएर बाहिरी रुपमा कुरा काट्ने आँट गरेनन् । तर भित्रभित्र भने बहस हुन थालिसकेको रहेछ । यसैक्रममा खै कसले हो कुन्नी “मैले उनलाई मन पराउँछु अरे” भनेर सुनाइदिएछ । त्यसपछि त्यो साथी रिसाएर बम भइन् । कसैले त्यस्तो सुनाइरहँदा कम्तिमा मलाई सोधेको भए सत्य के हो म भन्ने नै थिएँ । तर उनले सोधिनन् । अचानक बोल्न छोडिन् मसँग । त्यति मिल्ने साथी एक्कासी बोल्न छोड्दा के भएछ भनेर जिज्ञासा हुनु स्वभाविक थियो । मलाई भयो त्यस्तै । उनी बोल्न छोड्नु त समस्या थिएन तर कारण चाहिँ के रहेछ भनेर पत्ता लगाउनु जरुरी ठानेँ र मैले पत्ता लगाउने कोसिस गरेँ । एक दिन कप्युटरको प्राक्टिकल क्लासमा “मसँग किन रिसाएको ?” भनेर सोधेँ ।

मौखिक जवाफ त आएन । त्यतिबेला भर्खर “याहु म्यासेन्जर” चलाउन सिक्दै थियौँ हामी । त्यही याहु म्यासेन्जरमा म्यासेज आयो “मैले तिमीलाई साथी मात्र सोचेको थिएँ, तिमीले त अर्कै सोचेको रहेछौ ।” यस्तैयस्तै । उनको जवाफले म चकित भए र मलाई रिस पनि उठ्यो । म पनि के कम ? घर पुगेर एउटा लामो पत्र लेखेँ । त्यसमा के के लेखिएको थियो त्यो त अहिले याद भएन । तर “मैले पनि तिमीलाई साथी मात्र सोचेको थिएँ । तिमीले कसको कुरा सुन्यौ र मलाई यस्तो आरोप लगायौ थाहा छैन । केही छैन अबदेखि म पनि तिमीसँग कहिल्यै बोल्ने छैन । नबोल्ने मात्र होइन, तिम्रो अनुहार पनि हेर्ने छैन” भन्ने आशयको पत्र उनको हातमा थमाइदिएँ । नभन्दै कलेज अवधिभरि म उनीसँग बोलिन । झुक्किएर बाहेक नियतबस मैले उनको अनुहार पनि हेरिन । एउटै कक्षा कोठामा बसेर यो सब गर्नु बडो सकसपूर्ण चाहिँ हुन्थ्यो । अहिले उनी टिकटक र फेसबुकमा साथी छिन । बोलचाल हुन्न तर लाइक कमेन्ट आदान प्रदान भइरहन्छ पहिले नोटकबुक आदान प्रदान भएजस्तो ।

अन्त्यमा,

म केटीहरूसँग राम्रोसँग बोल्ने भएकै कारण कहिलेकाहीँ केटा साथीहरूको प्रेमपत्र बोक्ने हुलाकी पनि हुनु परेको छ । एकपटक प्लसटुमा भेट भएको साथी, जोसँग दुई वर्ष एउटै बेन्चमा बसेर पढियो, उसले एकजना केटी साथी जोसँग मेरो स्कुलदेखिकै चिनजान थियो, उनलाई मन पराउन थालेछ । उसले ती साथीसम्म आफ्नो कुरा पुर्याउन नसकेर मलाई सहयोग माग्यो । म फेरि बडो सहयोगी भावनाको मान्छे पहिलेदेखि । ‘नाइँ’ भन्ने कुरै भएन । त्यो साथीको प्रेमपत्र ती केटी साथीसम्म पुर्याइदिएँ । । उनले उसको प्रेम प्रस्ताव त अस्वीकार गरिन नै साथै मसँगको छँदा खाँदाको सम्बन्ध पनि बिगारिन । त्यही कारणले गर्दा पछिसम्म मसँग बोलिनन् ती साथी । त्यो केटा साथी अहिले फ्रान्समा उतै सेटल भएर बसेको छ । “बिहे गरेर काम छैन । म त यत्तिकै बस्ने हो” भन्ने त्यो साथीले अस्ति भर्खर नेपाल आएर बिवाह गर्यो । फूलमाला भएपछि म्यासेन्जर कलमा बोल्दै “सिद्धान्त फेरिएछ त ?” भनेर मैले जिस्काएँ पनि । उसले त सिद्धान्त फेर्यो-फेर्यो, मलाई समेत बिहे गर्ने सुझाब दिँदै फोन राख्यो ।

यी त भए समकालीन केटी साथीहरुसँग फोकटमा नाम जोडिएका प्रसङ्ग । जसलाई मैले कहिल्यै पनि प्रेमिल नजरले हेरेको थिएन । साथी थिए । अहिले पनि साथी नै छन । अरुभन्दा तुलनात्मक रुपमा उनीहरूसँग अलिक बेसी घुलमिल भइयो होला । तर त्यसमा प्रेमको भाव कहीँ कतै थिएन । विद्या कसम ।