कोविद १९ रोगका कारण धेरै कुरामा अवरोध आउनु त स्वाभाविक थियो, पुस्तक प्रकाशक, वितरक, लेखक तथा लाइब्रेरी सञ्चालकहरूको सबैभन्दा ठूलो चाडमा पनि धक्का लागेको छ।
संसारका सबैभन्दा ठूला पुस्तक प्रदर्शनी रोकिएका छन्। चाहे त्यो बेलायतको लन्डन बुक फेयर होस्, अमेरिकाको न्युयोर्कको बुकएक्स्पो नै किन नहोस्। त्यस्तै मार्चमा आयोजना हुनुपर्ने फ्रान्सको पेरिस बुक फेयर (मार्च), मेमा अमेरिकाको पेन फेस्टिभल (पेन वर्ल्ड भ्वाइसेज फेस्टिभल न्युयोर्क), अगस्त महिनामा आयोजना हुने आयरल्यान्डको एडिनबर्ग बुक फेस्टिभल सबै कार्यक्रम रोकिएका छन्।
यी सबै पुस्तक महोत्सव तथा मेलामा नयाँ पुस्तक घोषणा हुने, लेखकहरूसँग साक्षात्कार गराइने हुनाले किताब व्यापारको महत्त्वपूर्ण अंगका रूपमा यी महोत्सव चिनिएका थिए तर कोरोनाभाइरसले ती सबै कार्यक्रम रद्द भए।
यी सबै महोत्सव बन्द भए पनि संसारकै ठूलो किताब महोत्सवका रूपमा चिनिने जर्मनीको फ्य्राङ्कफर्ट बुक फेयर भने यथासमयमा नै जारी रहने बताइएको छ। आउँदो अक्टोबर महिनामा आयोजना हुने यो महोत्सवलाई सार्ने कुनै योजना नभएको मेला आयोजकहरूले बताउँदै आएका छन्।
तर समस्या कहाँनेर छ भने कोविद १९ को डरका कारण संसारकै ठूला प्रकाशकका रूपमा रहेका हार्पर कोलिन्स, म्याकमिलन, सिमोन एन्ड सुस्टर, ब्लुम्सबरी तथा फ्रान्सेली कम्पनी हाचेटहरूले रोगको डरका कारणले आफ्ना कर्मचारीलाई सो मेलामा नपठाउने पूर्व जानकारी पठाइसकेका छन्।
हालै बुकएक्स्पोले न्युयोर्कमा आफूले महोत्सव गर्न नभ्याएको अवस्थामा फेसबुक लाइभमार्फत विभिन्न कार्यक्रम आयत्रजन गर्यो। मे २६ देखि मे ३१ सम्म उसले विभिन्न किताब विमोचन मात्र होइन, छलफल कार्यक्रम गरेर महोत्सवको आत्मा मर्न दिएन। यस घटनासँगै केही विश्लेषकहरूले भने अबका दिनमा हुने महोत्सवको नयाँ शैलीका रूपमा अर्थ्याउन थाले। भलै सर्वसाधारणहरू महोत्सव हेर्न नरूचाउलान् तर फेसबुक लाइभमार्फत् उनीहरूले कार्यक्रम नछुटाउने रहेछन् भन्ने कुरा ठूलो दर्शक संख्याले समेत देखाएको छ।
सो कार्यक्रम मध्ये एउटा बज प्यानलमा लेखक रोबर्ट जोन्स जुनियरसँग पुस्तक सम्पादक स्याली किमले अन्तरवार्ता लिएकी थिइन्। गएकै जनवरीमा पहिलो पटक उपन्यास बजारमा आएको थियो, द प्रोफेट्स नामबाट। तर कोरोना कहरका कारण पुस्तकबारे उति धेरै हल्ला हुन पाएन। त्यसको तलतल यही जुम मिटिङबाट सम्पन्न भयो।
उपन्यासकार रोबर्ट भन्छन्, ‘महोत्सवमै यी सबै कुरा हेर्न गर्न पाएको भए, कति मज्जा आउँथ्यो होला तर कृत्रिम विमोचन नै सही, हामीले नराम्रो महसुस गरेनौँ।’
यता पुस्तक सम्पादक डेभिसले पनि अन्य सम्पादकहरूसँग घुलमिल गर्न पाइने रमाइलो अनुभव यस पटक छुटाइन् र खल्लो मानिन्।
‘यो महोत्सवमा मैले गएका २० वर्षदेखि भेटिरहेका किताब पसले, विभिन्न सम्पादकहरूलाई भेट्न पाइनँ। अचानक तपाईंले त्यो मित्रता टुटाउनु हुँदा कस्तो महसुस हुन्छ, तपाईं आफैँ कल्पना गर्नुस् त?’
तर सो अनलाइन महोत्सव कार्यक्रमको भिडियो भने चार लाखभन्दा बढीले हेरेकोमा आयोजक भने सन्तुष्ट छन्।
सन्तुष्ट हुनुको कारण के छ भने अघिल्लो वर्ष यस महोत्सवमा जम्मा ८ हजार २ सय ६० पुस्तकप्रेमी र व्यापारीहरूले यहाँ भ्रमण गरेका थिए, अनलाइनमा हेर्नेको संख्या यस पटक भने सोचेभन्दा बढी भयो।
तर पुस्तक पसले भेलेरी कोएलर भने कार्यक्रममा जान नपाउँदा खल्लो महसुस गरिन्। भन्छिन्, ‘त्यहाँ म २० वर्षदेखि गइरहेकी छु। त्यहाँ लेखकदेखि सबैसँग भेट्ने हुनाले नयाँ सोच पाइने मात्र होइन, लेखकहरूलाई निमन्त्रणा दिन पनि सजिलो हुन्थ्यो। अनलाइनले त्यो अवसर खोस्योजस्तो लाग्छ।’
तर पनि यस्तो संकटका बेला अनलाइनमार्फत् नै भए पनि नयाँ पाठक पहुँचका लागि भइरहेको कार्यको भने उनले सराहना व्यक्त गरिन्।
सान एन्टोनियो पब्लिक लाइब्रेरीका निर्देशक रामिरो सालाजार भन्छन्, ‘यो भाइरसले वातावरणलाई निकै परिवर्तन गरिदिइसक्यो। अबका दिनमा लाइब्रेरीका कुरामा पनि परिवर्तन देखिने छन्। कतिपय कुरामा भर्चुअल कुराका प्रभाव देखिनेछन्। भर्चुअलले धेरै कुरा परिवर्तन हुनेछन् को अर्थ लाइब्रेरी नै विस्थापित हुने होइन।’
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।