जीवन दृष्टिमा बिपी

‘जीवन एक सुनिश्चित जोखिम हो’ भन्ने दृष्टिकोणका साथ बिपी कोइराला आफ्ना लेखनी तथा अभिव्यक्तिहरुमा मानव जीवनलाई सहज अर्थमा लिने गर्दछन् । मानिस जीवनमा अभिष्टमा औडिन्छ, लालसा र तृष्णामा भौतारिन्छ र अप्राप्तिमा निराश हुन्छ । बहुधा मानिसहरु यही वृत्तिमा रहन्छन् । भ्रम, तड्पाइ, ईष्र्या र आवेगमा बाँच्नु मानिसको सामान्यता हो । प्राप्तिमा रमाउने र जे छ त्यही स्वीकार्ने गर्दैन, जे छ त्यही स्वीकार्नु र प्रयान्तबाट मात्र प्राप्ति हुन्छ भन्ने बुझेर पनि स्वीकार्न सक्दैन । वास्तविकता र अपेक्षाको धुमिल क्षेत्र (ग्रे एरिया) जीवन हो । त्यसैले बिपीले भन्ने गरेका थिए –‘जीवनको सार्थकता कुनै उद्देश्यका लागि प्रतिबद्धतामा निर्भर गर्दछ । मानिस आफ्नो सङ्कल्प र आस्थाले यथार्थमा मानिस हुन्छ ।’

आफ्नै जीवनका आरोह अवरोहले पनि होला, बिपी जीवनलाई निश्चित र नियमित जोखिमका रुपमा लिन्छन्, जोखिम झेल्न यत्न गर्नु, मूल्य आदर्शमा आस्थाबद्ध हुनु र जे छ त्यसैमा रमाउनु यथार्थको जीवन हो भन्ने निस्कर्षमा पुग्छन् । उनको जन्मे प्रवासमा, जन्मेहुर्केको सेरोफेरो विश्वयुद्ध र यसका प्रभाव जनस्तरसम्म फैलिएको थियो, मुलुकहरु स्वाधिनता र आत्मनिर्णयका होमिएका थिए । बाल्यकालदेखिको सङ्घर्ष तर आस्थाको अटल सङ्कल्पले जीवनप्रति उनको दृष्टिकोण स्पष्ट थियो । उनको यो दृष्टिकोण १२ बर्ष जेल, २० वर्ष निर्वासन, सक्रिय राजनीति, सरकारभित्र र बाहिर, मुलुक बाहिर (बनारस, पटना, कलकत्ता, टेढी, मोतिहारी, हजारीबाग, दार्जिलिङ) र मुलुकभित्र बसाइ, सङ्घर्ष र प्राप्ति, परिवार र परिवार बाहिरका आरोह अवरोहले निकालेको निष्कर्ष हो । उनका साहित्य सिर्जना, आलेख, दैनिकी र सम्भाषणहरुमा ती दृष्टिकोण देखिएका छन् । आस्था र सङ्कल्पमा अटल रहनु र स्थितिको सहज स्वीकार्यतामा रहनु उनको जीवन दर्शन हो । जीवन सम्बन्धी उनको यो दृष्टिकोण सरल र प्राकृतिक छ । दर्शनको आग्रहमा, उपमा र उपमेयमा होइन, भोगिएको अनुभूतिमा छ ।

बिपी कोइराला

एक प्रसङ्गमा पत्रकार सोध्छन् ‘तपाईँको जीवन भन्नु त तिनै सङ्कट, जेल यातना, मुद्दा, अभियोग इत्यादिकै कहानी होइन र ?’ बिपीको जवाफ कत्ति पनि अस्वाभाविक र कल्पित थिएन । ‘मैले बुझेको जीवन त्यही किसिमको हो । अरु किसिमले जीवन मैले बुझेको छैन । मानिस अरु कुन किसिमको जीवन यापन गर्छन्, त्यसमा मलाई कुनै आकर्षण छैन । त्यस्तो खालको जीवन यापन गर्नु परेको भए म दिक्क हुने थिएँ, शायद त्यस दिक्दारीबाट मर्ने पनि थिएँ । मलाई अर्को जीवन दिइयो भने पनि मेरो यो जिन्दगी जस्तो भयो, त्योभन्दा फरक खालको हुने छैन ।’ लामो सयम गोरा शासकले दिएको जेल यतानाबाट बाहिर आएपछि सत्तामा पुगेका दक्षिण अफ्रिकी नेता नेल्सन मण्डेलालाई सोधिएछ,–तिमीले के जेलभित्रका यातना र दुखलाई भुलिसक्यौ र अहिले तिमीलाई यातना दिने तिनै गोरालाई बदला नलिइकन बस्न सक्छौ ? उनले तत्काल जवाफ दिएछन् ‘भुल्न त कहाँ सक्छु र तर क्षमा दिन्छु।’ मण्डेला र बिपीका जीवन र भोगाइमा समानता छन् । दुवै जीवनप्रति सरल छन् । चुनौती र सङ्कटका असमान्य घटनाहरुमा रमाएका छन् । बिपीको जीवन खुला किताब नै थियो, आम सर्वसाधारणले उनलाई जसरी बुझ्छन्, उनको जवाफ र दृष्टिकोण त्यस्तै थियो । पत्रकारका प्रत्येक प्रश्नमा, जेलर र शासकका प्रश्नमा, सर्वसाधराण र परिवारका प्रश्नमा पनि उनले आफू र जीवनलाई कहिल्यै अन्याय गरेनन्, जुन विशेषता बहुधा मानिसमा देखिँदैन ।

उल्लिखित प्रश्नमा उनले दुई आयाममा रहेर जवाफ दिएका थिए, पहिलो सार्वजनिक व्यक्तित्व वा राजनीतिज्ञ र अर्को सामान्य मानिस वा व्यक्तिगत जीवन । व्यक्तिगत सवालमा सुख, दुख, सफलता असफलता र निजत्वका कुराहरु झल्किन्छन् । अन्तरात्माको आधारमा जे सन्तोष हुन्छ, त्यही गर्नुपर्छ । अन्तरात्माको अनुभूतिले व्यक्ति खुसी हुने हो । व्यक्तिगत जीवनमा सफलता असफलता रहे पनि सत्कार्यले दुखमा पनि उनी खुसी महसुस गर्छन् । तर राजनैतिक व्यक्तित्व हिसाबमा उनले जुन किसिमको समाज निर्माण गर्न चाहेका थिए, आर्थिक सामाजिक प्रणाली र लोकतन्त्रको सुसंस्कृत स्वरुप कोरेका थिए, त्यसलाई संस्थागत गर्न असफल हुँदा उनमा चिन्ता छ । प्रजातान्त्रिक समाजवाद उनको राजनैतिक जीवनको अभिष्ट थियो । एशियाली समाजवादको नयाँ अर्थसामाजिक व्यवस्था स्थापना गर्ने राजनीतिक प्रणाली उनको सपना थियो, जहाँ कार्यात्मक लोकतन्त्र र सामाजिक न्यायले सन्तुलित रुप पाउथ्यो । प्रजातान्त्रिक समाजवाद समाज रुपान्तरणको छुट्टै मार्गचित्र थियो । वैयक्तिक स्वतन्त्रता, निजत्वको आनन्द र सामाजिक अवसरको न्यायपूर्ण प्राप्ति नेपाली समाजको युगौयुगका लागि गन्तव्यचित्र थियो । त्यसैले चिन्तकका हिसाबमा वैयक्तिक जीवन र सामूहिक जीवनका अलग अलग पाटोमा सन्तोष र चिन्ता छ । वैयक्तिक जीवन असफल भए पनि सन्तोष छ, राजनैतिक अभिष्ट संस्थागत गर्न नसक्दाको चिन्ता छ । महान् व्यक्तित्व वा केरेस्मेटिक राजनेतामा मात्र यस खालको स्वभाव देखिन्छ ।

गोपी मैनाली

समकालीन नेपाली समाजमा जीवनको आयामिक र फराकिलो व्याख्या विश्लेषण, त्यसको अन्तरबोध निकै कम व्यक्तिले मात्र गरेका छन् । त्यसमा पनि एउटा आयामको व्याख्या गर्दा अर्को आयाममा विल्कुल असंलग्न रहने क्षमता अरु व्यक्तिमा पाइँदैन भने पनि हुन्छ । जीवनप्रति उनको दृष्टिकोण सरल छ, सकारात्मक छ । जीवनलाई जटील बनाउने इरादामा उनी पटक्कै छैनन् । त्यसैले व्यक्तिगत जीवनका असजिला कालखण्डमा पनि उनी निकै सौम्य, सरल र सामान्य लाग्छन् । जेलमा होस् कि निर्वासनमा, सत्तामा रहँदा होस् वा आन्दोलनमा, अभावमा रहँदा होस वा खुसीमा, जैवनिक दृष्टिकोण समान छ । दृष्टिकोणको औपचारिकता होइन, व्यवहारबाट दृष्टिकोण देखिएको छ ।

राष्ट्रियता र बिपी

बिपी भन्ने गर्थे ‘राष्ट्रियता माटो होइन, जनताको सामूहिक भावना’ हो । उनी माटो र मुटु, भूगोल र भावनाबीचको एकत्व निर्माण राष्ट्रियता मान्ने गर्दथे । जब मानिसहरु एकै भूगोल वा देशमा रहेर पनि समान पहिचान, आपसिकता र आफूहरुबोधको अपनत्वमा रहँदैनन्, त्यसबेला राष्ट्र निर्माण कठिन हुन्छ वा राष्ट्रियताको भावना विकास हुँदैन । खास समुदाय र भूगोलमा रहेका मानिसहरुको एकत्वको अनुभूतिले स्थापित गर्ने सामूहिक पहिचान ‘राष्ट्र’ हो, राष्ट्रियता त्यसको विशेषणिक पक्ष हो, जसले साझा मूल्यका रुपमा नेपालीपन संस्थागत गर्दछ । आफ्नै पहिचानको राष्ट्र निर्माणको जग बसाल्छ । धेरै पहिचानबीचको साझा पहिचान नै राष्ट्र हो र त्यसो गर्नुपर्छ भन्ने भावना राष्ट्रियता हो । त्यसैले बिपी भूगोलको एकीकरणमात्र होइन, भावनाको एकत्वीकरणमा राष्ट्र देख्ने गर्दछन् । जब राष्ट्र निर्माण वा राष्ट्रियताको बहस हुन्छ, त्यसवेला जनतालाई केन्द्रबिन्दुमा राख्नुपर्ने आग्रह बिपीको छ ।

राष्ट्रियताको सन्दर्भमा प्रथम र अन्तिम तत्त्व जनता हो भन्ने मान्यता राखेका कारणले व्यावहारिक राष्ट्रवाद उनको दृष्टिकोण हो भन्ने देखिन्छ । छरिएर रहेका जनताको मनोभावनालाई समेट्ने कामले राष्ट्रियता विकास गर्छ, भनौं राष्ट्रियता त्यसको जगमा उभिन्छ । भूगोलभित्र राज्यसंयन्त्रका औपचारिकताले राष्ट्रियता संस्थागत गर्दैन । त्यसैले बिपी जनताका आवश्यकता–आकाङ्क्षाप्रति ग्रहणशील रहने, समस्या पहिचान र सम्बोधन गर्न व्यापक प्रयास गर्ने र त्यस प्रयासबाट सिर्जना हुने सामूहिक भावना (आपसिकता) लाई राष्ट्रियता भन्ने गर्छन् । अर्को शब्दमा (क) जनता, (ख) जनताका अनुभूत समस्या, (ग) ती समस्या (र आकाङ्क्षा) पूरा गर्ने सामूहिक भावनासहितको प्रयन्त, र (घ) ती प्रयत्नमा अनुभव गरिने एकताको भावनालाई राष्ट्रियता मान्दछन् । यी चार तत्त्वको अन्तरक्रियालो नै सबल राष्ट्र निर्माण हुन्छ । भनौं, राष्टियता संस्थागत हुन्छ ।

समकालीन चिन्तन् र असभव्यक्तिहरुमा राष्ट्र र राष्ट्रियतामा विषयमा अन्तरमनबाट लिने र बुझाईमा फराकिलो दृष्टिकोण राख्ने गरिँदैन । त्यसैले राष्ट्रिय विकास भएको छैन । भनिएको राष्ट्रियतामा एकत्व भन्दा विभाजन छ, निर्माणभन्दा विसर्जनमा छ । सबैका भावना र विचार, पहिचान र प्राथमिकता नसमेटिएमा राष्ट्र निर्माण होइन, राष्ट्र विसर्जनको खतरा बढ्छ । राष्ट्रियता सवल बनाउने प्रक्रिया भनेको समन्यायिक विकासको प्रक्रिया हो, समृद्धिको निर्माण र वितरणको प्रत्याभूति हो, सेवा र सुशासनको संस्थानीकरण हो । राष्ट्रियता मजवुत भएको समाजमा देशप्रति नागरिक गर्वबोध गर्छ । त्यसैले नागरिकलाई त्यस देशको नागरिक हुनुमा गर्वबोध गराउने प्रणाली भएमा मात्र राष्ट्र जनताको मन मुटुमा पुग्छ ।

बिपी लोकतन्त्र र राष्ट्रियतालाई अभिभाज्य मान्दछन् । अर्को शब्दमा लोकतन्त्र भन्नु राष्ट्र निर्माणको विधि हो । लोकतन्त्रका संस्थाहरु चलायमान हुँदा जनताका भावना चलायमान हुने गर्दछन्, अनि न नागरिक मुलुकबासी हुनुको गर्व गर्छ । बिपीले बारम्वार भन्ने गरेका थिए, राष्ट्रिय एकता प्रजातन्त्रको जगमा मात्र खडा हुनसक्छ, र प्रजातन्त्रको जग देशको उत्तरोत्तर आर्थिक विकास र न्यायपूर्ण अवस्थामा मात्र बलियो हुन्छ । उनले सङ्घर्ष गरेको निर्देशित पञ्चायती व्यवस्थामा राष्ट्रियताको प्रतीक व्यक्ति हुन्थ्यो, जनता देशका अंशियार होइन, रैती थिए, न सहभागिताको प्रक्रिया थियो न वैयक्तिक स्वतन्त्रताको कुनै गुञ्जायस नै । त्यसैले उनले नेतृत्व गरेको राजनीतिक विचारधारा राष्ट्रियता, प्रजातन्त्र, विकास र उन्नति अन्वन्याश्रित छन् भन्ने दृष्टिकोण राख्दथ्यो । भन्ने गरिएको प्रजातान्त्रिक समाजवाद त्यही दृष्टिकोण थियो । राष्ट्रियताको कुरा गर्दा प्रजातन्त्रप्रति मौन रहने हो भने अधिनयकत्व आउँछ र प्रजातन्त्रको कुरा गर्दा राष्ट्र रक्षाको कुरालाई उपेक्षा गर्यो भने विदेशी तत्त्वको हतियार बनिन्छ भन्ने व्यावहारिक तर्क राख्थे । आजको राजनैतिक समाजका लागि उनको यो विश्लेषण निकै व्यावहारिक देखिन सक्छ ।

राष्ट्रियता भनेको सबै राष्ट्रवासी हो । सबै जनताको पहिचान र मूल्यबोध, प्राथमिकता, विकास, विविध संस्कार र संस्कृति, अधिकार, कर्तव्य, चेतनाको एकट्ठा हो, यी बिरुद्धको सावधानी र चुनौतीबोध हो । समाजमा तहसोपान, पहिचानको अस्वीकार्यता, आस्थाको विभाजन, बञ्चिती र अभाव आवश्यकताको छट्पटीले राष्ट्रियता कमजोर बनाउँछ, अझ भनौं राष्ट्र निर्माण हुन दिँदैन । बिपी कोइरालाको राष्ट्रियता र प्रजातन्त्रिक समाजवादको भावनालाई नेपालको संविधानले आफूमा समाविष्ठ गरेको छ । यसको व्यावहारिक परिणति पाउन बाँकी छ । जे होस् यति पछि बनेको संविधान, अर्को पुस्ताको नेतृत्वमा पनि उनका भावना समेटिन पुग्नु भनेको उनी कति कालजयी र दृष्टिबोधी रहेछन् भन्ने स्पष्ट हुन्छ ।

बिपीको राष्ट्रवादी चिन्तन उनी आफै असजिलो अवस्थामा पर्दा समेत गाढा देखिन्थ्यो । तत्कालीन शासकको व्यवहारबाट लामो समय भारत प्रवासबाट नेपाल फर्किन लाग्दा (डिसेम्वर ३०, १९७६) देशबासीलाई गर्नु भएको अपिलमा मुलुक राष्ट्रिय सङ्कटमा परेको, राष्ट्रिय पहिचान नै खतरामा रहेको र बाह्य शक्तिले नेपालको राष्ट्रिय हितविरुद्ध चलखेलको सम्भावना बढेकाले राजा, जनता र राजनीतिकर्मी सबैले राष्ट्रलाई मनमा राख्न आह्वान गरेका थिए । राजनैतिक दलहरु प्रतिबन्धित भएको अवस्थामा, प्रवासमा रहेको अवस्थामा पनि राष्टलाई केन्द्रविन्दुमा राख्ने आह्वानले राष्ट्रिय चिन्तनको उच्च द्योतन गर्छ । भारतीय स्वतन्त्रता सङ्ग्राम र बङ्लादेशको मुक्तिका लागि आफै सङ्घर्ष गरेका बिपीले मुलुकमा लोकतन्त्र स्थापनाका लागि भने शान्तिपूर्ण रणनीति उपयुक्त मानेका थिए । नेपालको भूराजनीतिक अवस्था र ऐतिहासिक पृष्ठभूमिले पनि त्यसो गर्ने प्रेरित गरेको उल्लेख गरेको छन् । राष्ट्रिय एकताका लागि नेपाली जनता भावानात्मक रुपमा नै आन्दोलित हुनुपर्ने निष्कर्ष उनको थियो । यसले माटो, मुटु र लोकतन्त्र वा भावना, भूगोल र विकासलाई एकीकरण गर्ने विषयबोध गराउँथ्यो । तत्कालीन आवस्थामा उनको विरोध गर्नेहरु पनि भन्ने गरेका छन् ‘बिपीको चिन्तनलाई अगाडि बढाए देश बन्छ’ ।

विदेशी सम्बन्ध राष्ट्रियता प्रवर्धनको बाह्य आयाम हो । बिपीले प्रधानमन्त्री भएको समय (२८ मे, १९५९) दिएको वक्तव्यले नेपाल शक्ति राष्ट्रसँग असंलग्न हुनुपर्ने र बाह्य मुलुकसँग व्यवहार गर्दा राष्ट्रिय हित केन्द्रमा रहनुपर्ने कुरामा जोड दिएका थिए । शक्ति र सीमा विस्तारमा रहेका छिमेकी मुलुकहरुसँग उनको सुझवुझपूर्ण ब्यवहारले सन्तुलित कुटनीतिबाट नै साना र विपन्न मुलुक विश्वमञ्चमा प्रभावकारी बन्न सक्दछन् भन्ने सन्देश दिन्छ । शीतसङ्घर्षमा दुई ध्रुवीय बनेको विश्वलाई पनि उनले सिद्धान्तले सन्तुलित व्यवहार गरेका थिए । वर्तमान समयमा बहुराष्ट्रिय संस्था, कर्पोरेट गुरिल्ला र उदीयमान बाघ अर्थतन्त्रहरु आर्थिक विस्तारवादमा सञ्जाल विस्तार गरिरहेका छन् । उनको बाह्य सम्बन्धको चिन्तन अहिले पनि झनै सान्दर्भिक छ ।

अन्तरिक नीति व्यवहारमार्फत राष्ट्रिय एकता कायम गर्न बिपीसँग स्पष्ट दृष्टिकोण थियो, जसले आर्थिक उत्पादन र स्रोत सङ्गठनमाथि सम्भ्रान्तहरुको पकड भत्काउने, निजी क्षेत्रको उत्पादनशील क्षमताको व्यवस्थित उपयोग गर्ने र वितरण न्याय सहितको आर्थिक कार्यक्रम संस्थानीकरण गर्न जोड दिन्थ्यो । उनीपछि सरकार नेतृत्व गर्ने राजा, प्रधानमन्त्रले यसलाई अनुकरण गरेर जनभावना बटुल्ने प्रयास त गरे तर त्यसको अन्तर्यमा पुग्न नसकाले ती देखावटीमात्र बने । परिणाम मुलुक अहिलेको अवस्थामा छ ।

बिपी र लोकतन्त्र

बिपी प्रजातन्त्र (लोकतन्त्र) विना देश रहँदैन भन्ने अभिव्यक्ति दिन्थे । प्रजातन्त्रलाई मुलुकलाई संस्थागत गर्ने प्रक्रियाका रुपमा लिन्थे । विकासका लागि प्रजातन्त्र अपरिहार्य मान्दथे । प्रजातन्त्रको लागतमा विकास दिन खाजेका महेन्द्र, सुकार्नो, सादातहरुको रवैयाले पनि त्यसको पुष्टि गरिरहेको थियो । उनीहरुले लोकतन्त्र दिन सकेनन् नै, अनुशासनलाई लादेर विकास गर्न सकिन्छ भन्ने सोच पनि गलत देखियो । लोकतन्त्र आम नागरिकको दैनिकीलाई सहज बनाउने अभियानमा सतत रहन्छ भन्ने बिपीको चिन्तन थियो । व्यक्तिका सीमा र सम्भावना, राज्यका दायित्व र अधिकार, नागरिका हक र कर्तव्य प्रचलनका लागि लोकतन्त्र नै चाहिन्छ भन्ने उनको सङ्घर्षको सार थियो । लोकतन्त्रमा नागरिक आफूले के गर्ने, के गर्न पाउने र नपाउने, के अवसर लिने र लिन नहुने जस्ता पक्षहरुकमा आफै विवेचित हुन्छ, अनुशासित हुन्छ । अर्को अर्थमा लोकतन्त्र भनेको नागरिक अवसरको निर्माण र उपयोग गर्ने निरन्तरको पद्धति हो । स्वअनुशासनको पद्धति हो । त्यसैले यो जीवनशैली पनि हो, प्राकृतिक पनि हुन्छ । यी गुणबाट अलग्गिएको व्यवस्थामा यान्त्रिक निरङ्कुशता मात्र बाँकी रहन्छ । विकास र समृद्धि स्वतन्त्रताको कमाइ हो, त्यस अवस्थामा पुर्याउनु लोकतन्त्रको कार्य हो ।

प्रजातन्त्र समाजवादबाट छुट्टिदा समाजमा व्यवस्था र विकास संस्थागत नभएको र प्रजातन्त्र जनताको विषय नबनेकोमा बिपीको चिन्ता थियो । भनौँ, प्रजातन्त्रलाई समाजका सबै पहलूमा पुर्याउनु पर्ने मान्यता उनको थियो । प्रजातन्त्र राजनैतिक र प्राविधिक विषयभन्दा माथिको विषय हो भन्ने दृष्टिकोणका साथ प्रजातान्त्रिक समाजवादको अवधारणा विकास गरिएको थियो । चिन्तक प्रदीप गिरिका अनुसार आचार्य नरेन्द्र देवको दर्शनबाट प्रभावित बिपी, जयप्रकाश र राममनोहर लोहियामा एशियाली समाजवादको सपना थियो । तेस्रो किसिमको व्यवस्था थियो । भनिएको एशियाली समाजवाद ‘क्रूर र निर्मम नाफामा आधारित पूजीवादले दुनियालाई शान्ति र सुव्यवस्था दिन सक्दैन । सँगसँगै नागरिक स्वतन्त्रताको चिहानमा उभिएको कुनै पनि व्यवस्थाले समता र स्वतन्त्रताको प्राप्तिको समाजवादी लक्ष्यमा पुर्याउन सक्दैन’ (प्रदीप गिरि, विश्वेश्वरप्रसाद कोइरालाका आधारभूत सङ्कलन) भन्ने मान्यता राख्दथ्यो । अर्थात सामाजिक लोकतन्त्र बिपीको दृष्टिकोण थियो, जहाँ लोकतन्त्रले राजनैतिक अर्थवत्ता मात्र राख्दैन, सामाजिक न्याय र लोककल्याणमार्फत जनजीवनमा पुग्छ, तर वैयक्तिक स्वतन्त्रतालाई आँच पुर्याउदैन । राजा महेन्द्र र तत्कालीन अवस्थामा राजा बाहिर रहेका शक्तिले यस प्रकारको तेस्रो राजनैतिक धार बुझेनन् वा बुझ्न चाहेन । वैचारिक रुपमा यस दृष्टिकोणलाई उनले जयप्रकाश र लोहियासँगको सहकार्य र सोसलिष्ट इन्टरनेसनलका माध्यमबाट प्रसार गर्न चुकेनन् ।

निरङ्कुश पञ्चायतका समयमा जेलमा रहँदा होस् वा निर्वासन वा नियन्त्रित स्थान हदमा रहँदा होस्, प्रजातन्त्रप्रति बिपी अविचलित गतिशीलतामा रहे । जसमा उनले प्रजातन्त्रका तीन आधार सर्तलाई उजागर गरिरहे । पहिलो, नागरिकको मौलिक अधिकार, दोस्रो, विधिको प्रक्रिया र तेस्रो, राज्यको नीति निर्माण र शक्ति अभ्यासमा आम नागरिकको निर्वाध सहभागिता । उनका यी मान्यताले नागरिक निस्क्रिय उपभोक्ता मात्र होइन, उत्पादक पनि हो, मूल्यसर्जक पनि हो, त्यसैले प्रक्रिया प्राविधिक मात्र भएर पुग्दैन, सारभूत हुनुपर्दछ, जसले राजकीय अवसर निर्माण र उपयोगमा समान्य पुष्टि गर्दछ भन्ने निष्कर्ष निकाल्थ्यो । अर्को अर्थमा भन्दा बिपी समग्र लोकतन्त्रका पक्षपाती थिए । जसले आजभोलि भन्ने गरिएको समावेशिता र सामाजिक लोकतन्त्रको सन्देश दिइरहेको थियो । प्रजातन्त्र भनेको कसैले दिने र कोहीले पाउने विषय होइन, अवसरको सिर्जना र सोको निरन्तर विस्तार भनेको थियो ।

बिपी लोकतन्त्र संस्थागत गर्न नागरिक, राजनैतिक दल र संविधानको उल्लेख गर्दै आएका थिए । कर्तव्य नभएको नागरिक, नागरिक भावना परिचालित नगर्ने राजनीतिक दल र प्रक्रिया संस्थागत नगर्ने संवैधानिक संरचनाले लोकतन्त्रलाई फेक बनाइदिन्छ । लोकतन्त्रका सन्दर्भमा हुने टिकाटिप्पणीहरु लोकतन्त्रले गर्नुपर्ने काम नगरेका कारणले हो । यदि लोकतन्त्र कार्यमुलक भएन भने, जनताको मन–मुटुमा पुगेन भने त्यस अवस्थामा नागरिक र राज्य प्रक्रिया छुट्टिन्छ, त्यसपछि सरकार जनताको हुन्न, नागरिकहरु दुखी हुन्छन्, अवसरहरु सम्भ्रान्तले हडप्छन् । त्यसैले उतिखेर नै बिपीले समग्र र विस्तृत लोकतन्त्रको कल्पना गरेका थिए, जसलाई दार्शनिक रुपमा प्रजातन्त्रको तेस्रो मोडेल (प्रजातान्त्रिक समाजवाद) नाम दिइएको थियो । जसको भावभूमि पूर्वीय आर्थिक दर्शन र आदर्श थियो ।

महापुरुषहरु व्यावहारिक सरलताबाट ठूला अपेक्षाका गन्तव्यमा पुग्ने गर्दछन् । ससाना कुराहरुको अन्तरबोध गर्दै उपलव्धिको सगरमाथा चढ्ने गर्दछन् । बिपीको लोकतान्त्रिक समाजवादको बैचारिक उपलव्धिलाई यही रुपमा लिनु पर्दछ । बिपीको लोकतन्त्र सम्बन्धी अवधारणा आम सर्वसाधारणको चुल्होदेखि शासकीय समृद्धिसम्मलाई अन्तरबोध गरिरहेको छ । समानता, स्वतन्त्रता र न्याय उनको लोकतन्त्र भनौं वा प्रजातान्त्रिक समाजवाद भनौ, को सार थियो । जसरी फ्रान्सेली आन्दोलनमा भातृत्व, समानता र न्याय को आदर्शवाक्य स्थापित थियो । यिनै विचारधारा समकालीन विश्वमा समाजवादी आन्दोलनका अन्य प्रणेताहरु विली ब्राण्ड्ट, ब्रुनो काइस्की र ओलोफ पाल्मेले युरोपमा कार्यान्वयनमा ल्याए । संयुक्त राष्ट्रसङ्घ लगायत मानवतावादी विश्व संस्थाहरुले पनि यो विचारदर्शनलाई विकासमूलक आयामबाट व्याख्या गर्ने, संस्थागत गर्ने क्रममा छन् । अमेरिकी युवा अभियान्ता एण्ड्रयू योङ (जो राष्ट्रपति चुनावको डेमेक्रेटिक पार्टीको प्राइमरीमा मात्र सीमित भए) आधारभूत सेवाको सामाजिकीकरणका नाममा समाजवादको उत्तरआधुनिक ढाँचा प्रकाशमा ल्याइरहेका छन् । बिपीको लोकतन्त्र सम्बन्धी यी धारणाले दुई कुराको सन्देश दिन्छ, पहिलो लोकतन्त्र कार्यमूलक हुनुपर्छ, दोस्रो सामाजिक परिवेशले यसलाई निरन्तर परिमार्जन गरिरहन्छ । विश्व विकास र सामाजिक लोकतन्त्रको अवधारणा पाँच दशक अघि नै बिपीले कल्पना गरेका थिए, जसबाट उनको दृष्टिकोण कति दूरदर्शी रहेछ भन्ने देखिएको छ । यस शताब्दीका चिन्तक चिन्तक युभल नोह हरारीले भनेझैँ लामो दृष्टिकोण नभएको नेता आफैँमा गतावधिक हो, गतावधिकहरु प्रतिगमनको उल्टो यात्रा गर्छन् । यसले अहिलेका राजनीतिकर्मीलाई दृष्टिबोधी र जनमुखी हुन शिक्षा दिएको हुनुपर्छ ।

बिपी कोइराला प्रधानमन्त्रीको छोटो कार्यकालमा रहँदा स्वाभाविक रुपमा राष्ट्रिय योजना परिषद्का अध्यक्ष भए । त्यस समयमा उनले योजना बनाउँदा हलो जोतिरहेको किसान र ग्रामीण महिलाको तस्बिर अघिल्तिर राख्न गरेको अनुरोध राष्ट्रिय योजना आयोग र सम्बद्ध आलेखहरुमा अहिले पनि सुरक्षित हुनुपर्छ । प्रजातन्त्रलाई जनता तहसम्म पुर्याउने माध्यम योजना प्रणालीले हो । उनको यो भनाइले दुई कुराको सन्देश दिन्छ, पहिलो गरिबी उन्मुलनविना प्रजातन्त्र संस्थागत गर्न सकिँदैन, र प्रजातन्त्रको सवलीकरणविना गरिबी निवरण गर्न सकिँदैन । दोस्रो, नेपाल गाउँ नै गाउँले भरिएको मुलुक भएकोले विकासको प्रक्रिया गाउलाई सम्बोधन गर्न र त्यहाको सम्भावना उपयोग गर्न निर्दिष्ट हुनुपर्छ । रवर्ट चेम्बरहरुले भनेजस्तो विकासमा रहने आग्रहलाई हटाउन वा आजभोलि भन्ने गरिएजस्तो विकासलाई मानवीकरण गर्न बिपी विचारले लोकतन्त्र र योजना प्रक्रियालाई आबद्धीकरण गरेको छ । उनले भनेको तेस्रो ढाँचाको राजनैतिक शासकीय ढाँचा वा एशियाली समाजवाद राजनीतिक स्तरमा प्रजातन्त्र र आर्थिक क्षेत्रमा गरिब जनतालाई सेवासुविधामा केन्द्रित थियो । एशियाका सफल अर्थतन्त्रले यसलाई कुनै रुपमा अपनाएका छन् ।

उनका जति पनि प्रजातन्त्र सम्बन्धी अभिव्यक्तिहरु छन्, सबैमा प्रजातन्त्र र आर्थिक समृद्धिलाई साथसाथ लैजान निर्दिष्ट छन् । बिपीको विकासवादी सोचलाई आधुनिक भाष्यमा नागरिक सशक्तीकरण र संविधानको भाषामा समाजवाद उन्मुख अर्थतन्त्र हो । स्केन्डेनिभियन मुलुकहरु यसलाई बुटिक समाजवाद भन्न रुचाउछन् । ओलोफ पाल्मे र बिपीको सामाजिक लोकतन्त्र संस्थागत गर्ने सिद्धान्त एकै थियो ।

बिपी समाज पूर्ण दैवी संरचना होइन, शुद्ध भौतिक संरचना हो भन्दै कार्ल माक्र्स र साम्यवादीसंग नजिक हुनपुग्छन् तर समाज सदस्यहरुको आकाङ्क्षा र आवश्यकताको भौतिक मात्र नभै वैयक्तिक प्राज्ञ अनि स्वतन्त्रताको वकालत गर्दै जिएन ज्याकुस रुसो नजिक हुन पुग्छन् । दुबै विचारको संयोजनमा प्रजातान्त्रिक समाजवादको कल्पना गर्दछन् । याने कि लोकतन्त्रलाई वास्तविक बनाउन, जनताको मन मुटुसम्म पुर्याउन प्रजातान्त्रिक समाजवाद एक दार्शनिक तर गतिशील अवधारणा थियो ।

बिपी र साहित्य

साहित्यमा सम्राट पनि नाङ्गो हुन्छ भन्ने साहित्यकार विश्वेश्वर कोइराला आफ्नो राजनैतिक यात्रा र अभिष्टबाट साहित्यमा विल्कुल असंलग्न छन् । उनको साहित्यिक, वैचारिक र राजनीतिक व्यक्तित्व साहित्य नै सबैभन्दा शीर्षस्थमा छ । एक साथ धेरै व्यक्तित्व भएका व्यक्तिका लागि एउटा व्यक्तित्वले अर्को व्यक्तित्वप्रति सामान्यतः अन्याय गर्छ, अतिक्रमण गर्छ । बिपीप्रति पनि त्यो भएको छ । बिपीलाई मूर्धन्य साहित्यकारभन्दा राजनैतिक आन्दोलकका रुपमा चिन्ने समाज ठूलो छ । यथार्थमा प्रजातान्त्रिक समाजवादका प्रवर्तक, राजनैतिक अभियान्ता र मनोवादी साहित्यका प्रतिष्ठाताको समान तीन व्यक्तित्व उनिभित्र समाहित छ । स्वयम् बिपी भने तिनै व्यक्तित्वलाई समान रुपमा न्याय गरिरहेका छन् । साहित्यमा राजनीति मिसाएको छैन, राजनीतिमा साहित्यिक स्वेरकल्पना र अराजकता कत्ति पनि छैन, वैचारिक अभियानमा दुवैभन्दा अलग तेस्रो व्यक्तित्व देखिन्छ । तीनै व्यक्तित्व सगरमाथा जत्तिकै गगनचुम्वी भएर पनि प्रशान्त महासगरझैँ सौम्य छन् । महान् व्यक्तिहरु आफ्ना अलग व्यक्तित्वहरुप्रति सावधानीसाथ स्वव्यवस्थापन गर्दछन् ।

साहित्यकार विश्वेश्वरप्रसाद कोइराला तीनघुम्ती (२०२५), सुम्निमा (२०२७), नरेन्द्र दाइ .२०२७), मोदिआइन (२०३६) हिटलर र यहुदी (२०४२), बाबु, आमा र छोरा (२०४५) गरी ६ उपन्यास, दोषी चस्मा (२००६) स्वेतभैरवी (२०४४), विश्वेश्वरप्रसाद कोइरालाका कथा (२०५०) गरी तीन कथासङ्ग्रह, विश्वेश्वरप्रसाद कोइरालाका कविता (२०५९) एक कवितासङ्ग्रह, र आफ्नो कथा (२०४०), जेलजर्नल (२०५४) र विश्वेश्वरप्रसाद कोइरालाको आत्मबृतान्त (२०५५) गरी तीन संस्मरण समेत १३ कृति पुस्तकका रुपमा र केही फुटकर सिर्जना प्रकाशित छन् । केही कृतिहरु उनको निधनपछि प्रकाशित भएका हुन् ।

बिपीका सिर्जनाले नेपाली साहित्यलाई विशिष्ट पहिचान र वेगल आस्वाद दिएका छन् । साहित्यमा बिपीले मन पराएको विधा आख्यान हो तर अन्य विधामा पनि उनी उम्दा छन् । आख्यानमा बिपी अस्तित्ववादलाई प्रयोग गरिरहेका छन् । तीनघुम्ती उपन्यासमा नारीका तीन पहिचान प्रेमिका, पत्नी र आमाको अस्तित्वको खोजी छ, सुम्निमामा भिन्न संस्कार र संस्कृति भएका सोमदत्त र पुलोमाको सङ्घर्ष, संयम र समन्वयको शालीन अस्तियात्रा छ । नरेन्द्र दाइमा पत्नी र प्रेमिकाको सम्बन्धमा उद्वेलित संयमता मार्फत अस्तित्वको खोजी छ । हिटरल र यहुदी युद्ध र मानवस्वको द्वन्द्व हो । मोदिआइनको शिक्षा पनि युद्ध होइन, शान्ति स्थापनामार्फत मानव समाजको पुननिर्माण हो, तर पौराणिक समयको नारी मनोदशा चित्रलाई पनि उदिनिएको छ, जसले भौतिक युद्धभन्दा नारी मनोदशाको सङ्घर्ष कैयनगुणा खतरानाक छ भन्ने सत्य बाहिर ल्याएको छ । बाबु आमा र छोरा पात्रीय मनोद्वन्द्वको बेमिसाल प्रस्तुती हो । दोषी चस्मा र स्वेतभैरवीका कथाहरु औपन्यासिक वृत्तिमा देखिने प्रवृत्तिमा नै छन् । सबै कृतिहरुले, कृतिका चरित्रहरुले अस्तित्वको मनोद्वन्द्व गरिरहेका छन् । अर्थात् मनोवैज्ञानिक रुपमा अस्तित्वको खोजी गर्नु बिपीको आख्यानवृत्ति हो । मानिसभित्रका दमित इच्छा, नसुनिएका श्वर र मनोद्वेगको स्वतन्त्र आत्मनिर्णयको प्रकाशन बिपीको कथा कर्म हो । बरिष्ठ समालोचक प्रा .डा. खगेन्द्रप्रसाद लुइँटेलका शब्दमा सरल, संक्षिप्त, सुगठित, सुव्यवस्थित र अन्वितिमूलक संरचनामा आबद्ध गरी कथा लेख्नु कथाकार विश्वेश्वरप्रसाद कोइरालाको शिल्पगत वैशिष्ट्य हो ।

जेलजर्नल, आफ्नो कथा र आत्मबृतान्त भने बिपीका दृष्टिकोण र दैनिकीका सरल अभिव्यक्ति हुन् । उनका जीवन दृष्टि, समाज चिन्तन र दृष्टिकोणहरु यसखाले कृतिमा पाइन्छ । यी संस्मरणहरुमा अन्तर अनुभूति छन्, तर कसैप्रति आग्रह, ईष्र्याभाव, दुखेसो र कुण्ठा कत्ति पनि छैन । दैनिकी सामान्यता छ, तर त्यसका माध्यमबाट चिन्तन र जीवन दर्शन दिन भने भुल्दैनन् । पछिल्ला समय नेपाली समाजमा आत्मबृतान्त लेख्ने प्रचलन निकै बढेको छ । आत्मकथा लेख्नेहरु आत्मरतिमा रमाएका छन् । बिपीका संस्मरण लेखहरु कत्ति पनि आत्मरति राख्दैनन्, आफूलाई स्थापना गर्न खोज्दैनन् । यी आत्मबृतान्तहरुले आत्मस्थापना खोज्ने र आफैलाई बढाइ चढाइ गर्ने वैयक्तिक कुण्ठाबाट व्यक्ति अलग हुनुपर्छ भने सन्देश दिएको छ । आत्मसंस्मरण जस्ता ननफिक्सनमा हुनुपर्ने वैशिष्ट्य ने यही हो ।

कतिपयले बिपीलाई साहित्यमा अराजकतावादी पनि भन्ने गरेका छन्, बिपी स्वयम् पनि त्यसो भन्न पछि परेका छैनन् । तर धेरै समीक्षक र साहित्य विश्लेषकका अर्थमा बिपी मनभित्रका उहापोह, चेत/अवचेत तहका उदबुदी र मेलानकोलीलाई स्वच्छन्द र स्वाभाविक रुपमा उठाउने गर्दछन् । त्यसैले बिपीको साहित्य मनोभावबाट सिर्जित छन्, मन उदात्त हुँदा अराजक जस्तो देखिए पनि ती कलाका स्वयम् मर्यादित प्रस्तुति हुन् । बिपीका अर्थमा साहित्य सभ्यताको प्रतीक हो । सभ्यताले स्वायत्तता र मानव ‘स्व’ को प्रकाशन गर्दछ, जो आफैँ मर्यादित हुन्छ ।

विश्वमा बिपीजस्ता थोरै व्यक्तित्व छन्, जसले साहित्य साधना र राजनैतिक आन्दोलनलाई साथ साथै अपनाए र दुवैतिर शिखरमा पुगे । तर राजनीतिकभन्दा साहित्यिक व्यक्तित्वको उचाइ अग्लो भएका निकै थोरै व्यक्तित्वमा बिपी पर्दछन् । सेनेगलका पूर्व प्रधानमन्त्री लियोपोल्ड सेड्गर, आयरल्याण्डका पूर्व राष्ट्रपति माइकल हिगिन्स, चिलीका पूर्व राष्ट्रपति रिकार्डो इ एस आर वासोल्टो (साहित्यिक नम पाव्लो नेरुदा, जसले १९७१ को नोबेल साहित्य पुरस्कार पाए), जर्ज गोर्डन वाइरन (लर्ड बाइरन), भिक्टर ह्यूगो, पोलिस पूर्व राष्ट्रपति लेक वालेसा (नोवेल पुरस्कार विजेता) विन्स्टल चर्चिल, बाराक ओवामाहरु साहित्य र राजनीतिमा साथसाथ उदीयमान थिए । यीमध्ये बेन्जामिन डिजरेली (बेलायतका प्रधमनमन्त्री) वाक्लाभ हाभेल (चेक राष्ट्रपति), विन्स्टल चर्चिल (बेलायतका प्रधानमन्त्री), थियोडोर रुजवेल्ट र बाराक ओवामा (अमेरिकी राष्ट्रपति), पाव्लो नेरुदाहरु आफ्ना समयका चर्चित साहित्यकार थिए । तर अधिकांशहरु राजनैतिक उचाइ बृद्धिसँगै साहित्य छाँयामा परेको देखिन्छ । विश्वेश्वरप्रसाद कोइराला भने राजनीति र साहित्यमा एकै गति र प्र–गतिमा छन्, सक्रिय राजनीतिले साहित्य सिर्जनालाई कत्ति पनि असर गरेको देखिँदैन । साहित्य र राजनीति अलग अलग धारबाट समान गतिमा प्रवेगित देखिन्छन् ।

केही साहित्यकार राजनेता बिपीजस्तै आख्यान विधामा छन्, जसमा अमेरिकी राष्ट्रपति बील क्लीन्टन, बेलायती प्रधानमन्त्री विन्स्टन चर्चिल, बेलायती विधायक जेफ्री आर्चर, बेलायती राजनीतिज्ञ माइकल डोव्स, भारतीय राजनीतिज्ञ शशी थरुर, नर्वेका मन्त्री अन्ने हल्ट, अमेरिकी राष्ट्रपति जिम्मी कार्टर राजनीतिक यात्राका साथ आख्यान, विशेषतः उपन्यासमा स्थापित छन् । यीमध्ये अधिकांश सक्रिय राजनीतिबाट विदा भएपछि आख्यान लेखनमा सक्रिय थिए । तर बिपी कोइराला राजनीतिमा सक्रिय नुहँदा पनि साहित्यमा थिए । यीमध्ये धेरैजसो साहित्यकार अनुभवलाई साहित्यिक रुप दिइरहको छन् तर बिपी साहित्यमा नितान्त पृथक् धारबाट स्थापित छन्, उनका आख्यानका पात्रहरु सामान्य जीवनबाट उठाइएका छन् ।

अर्को विशेषता के पनि भिन्न छ भने निकै थोरै राजनेताले मात्र बन्दी र निर्वासनमा साहित्य लेखन गरेका छन्, त्यसमा बिपीको नाम अग्रपङ्क्तिमा आउँछ । राजनेताका साहित्यले समाज उठाएर आर्थिक, सामाजिक दर्शन निर्माण गर्ने अति थोरैमा बिपी पर्दछन् । उनले स्थापना गर्न खोजेको एशियाली समाजवाद (प्रजातान्त्रिक समाजवाद) को आर्थिक सामाजिक दर्शन उनको साहित्यभित्र पाइने अस्तित्वको यात्रा हो, जसलाई मिहिन ढङ्गले साहित्य परिगेलन गर्दामात्र थाहा पाउन सकिन्छ । बरिष्ठ आख्यानकार ध्रुवचन्द्र गौतमका शब्दमा ‘बिपी नेपाली समाजका निर्माता थिए।’ साहित्य समाज निर्माणको शिल्प हो ।

बिपी साहित्य सिर्जनालाई राजनीतिक वाद, विचार र दर्शनबाट नितान्त अलग राख्ने साधक हुन् । उनी भन्ने गर्थे–‘म राजनीतिको मत साहित्यमा राख्न बिल्कुलै रुचाउँदिन । राजनीतिको घेरा साँघुरो छ–नियमवद्धतामा बाँच्छ र साहित्य बिराट शास्वतमा । राजनीति चारैतिरबाट बन्द छ, र कला चारैतर्फ खुला छ’ । बिपीको यो विचार आस्था र विचारमा विभाजित साहित्य र सिद्धान्त र आदर्शमा स्खलित हुँदै गएको राजनीति दुवैतर्फ छुट्टै सन्देश दिइरहेको छ ।

साहित्यलाई अन्तरप्रेरणाले उन्मुक्ति दिएको भन्ने स्रष्टा बिपी आफूलाई ‘साहित्यमा अराजकतावादी’ घोषित गर्दछन् । यसको तात्पर्य भावनात्मक स्वच्छन्दता, स्वेरकल्पना र चेत अवचेतमा बाँचेको मानिसको सोलोडोलो, जस्ताको त्यस्तै प्रस्तुती साहित्यले गर्छ भन्ने हो । आफैभित्र दविएको, मनभित्रै मरिचिएको र स्वर–शब्दमा खिस्सिएर भित्रभित्रै जलिएको मानिस अस्तित्व खोज्न सक्दैन, ‘स्व’ स्थापना गर्न सक्दैन । साहित्य, कलाले त स्व स्थापनाका लागि उदात्त पोखिनु पर्छ, आफैभित्र सङ्घर्ष गर्नुपर्छ, मनभित्र विद्रोह गर्नुपर्छ । तीनघुम्ती, मोदिआइन, हिट्लर र यहुदी लगायत सबै आख्यानमा उनको आफूप्रतिको भनाइ स्वयम् प्रष्ट छ । उनका सिर्जनाका पात्रहरुमा सुख, दुख, सम्भ्रन्तता, अभाव जेजस्ता परिहल भए पनि समान मानसिकवृत्ति रहन्छ र सबै पात्रहरु त्यो मनोपरिहलबाट उदात्त हुन चाहन्छन् । भनौं, मानव अस्मिको खोजीमा छन् । बरिष्ठ समालोचक प्रा डा.खगेन्द्रप्रसाद लुइँटेल सहमत हुँदा उनका पात्रहरु इद, इगो, सुपरइगो तथा चेतना, अवचेतन÷अर्धचेतन र अचेतनबीचमा द्वन्द्वको सिर्जना गर्दछन् ।

‘लक्ष्मीप्रसाद देवकोटा अभावमा पनि रसरङ्ग देख्ने, गरिबमा पनि धनीपन देख्ने सर्वव्यापी भावनामा हुनुहुन्थ्यो । देवकोटाको संवेदनशीलता व्यापक छ’ भन्ने स्रष्टा विश्वेश्वरप्रसाद कोइराला ती भनाइमा आफै निथ्रुक्क छन् । साहित्य अनुरागी र गवेषकहरु यही कुरा ठम्याउन पुग्छन् कि बिपीले पात्र (मानव) प्रति कत्ति पनि अन्याय गरेका छैनन्, आफूलाई, आफ्नो मनो ‘स्व’ लाई कत्ति पनि अन्याय गरेका छैनन् । समाज, मानिस र मन टिप्न नसक्ने पनि सर्जक हुन्छ र ? आयामेलीहरुले आयामको पुनर्व्याख्या गर्थे भने शायद यो समग्र आयमलाई पक्कै छुटाएका हुँदैन थिए । बिपीको देवकोटाप्रतिको अभिब्यक्ति रविन्द्रनाथ टैगोरको अल्बर्ट आइस्न्टाइनप्रति र आइन्स्टाइनले टैगोरप्रति गरेको सम्मान जस्तो महान् छ, युभल नोह हरारीले जुकरवर्गप्रति गरेको सम्मानजस्तै उच्च छ । आखिर महानहरु आफूभन्दा अरुलाई महान् देख्ने गर्छन् ।

सुन्दरीजेल जेलमा होस्, निर्वासनमा वा स्वनिर्वासनमा होस्, प्रवास वा स्व:वासमा नजरबन्दमा होस्, बिपी एकछत्र सर्जक बनेका छन् । साहित्यमा निर्वासन, स्थानहद नियन्त्रण, नजरबन्द र जेलका भोगाइहरू देखिएका छैनन्, साहित्य राजनीतिक आग्रहमा असंलग्न छ । उनका सिर्जनामा देखिने मानवीय संवेदनशीलता, मनमजेरीमा बाँचेको मानिसका अनुभूति र अस्तित्वको अनन्त स्वाधीन यात्राले यही कुराको पुष्टि गर्छ । साहित्य प्रस्तुतीको भाषा व्याकरणमा बाँधिएमा मनभित्रको मानिस देखिन, पोखिन सक्दैन । ‘किनकि कला साहित्य मानिसको अन्तरप्रेरणा प्रवृत्तिको अभिव्यक्ति हो । कला सुरक्षा चाँहदैन, स्वतन्त्रता चाहन्छ । उसलाई हिडिसकेको बाटामा खुट्टा चलाउन मन लाग्दैन, आफूले हिँड्ने बाटो आफैँ बनाउन चाहन्छ । भौतिक तृप्तिभन्दा दैवी असन्तोषलाई अँगाल्छ ।’ यस दृष्टिकोणमा महाकवि लक्ष्मीप्रसाद देवकोटा जस्तै महान् आख्यानकार विश्वेश्वर कोइराला नेपाली साहित्य निहारिकामा विस्तृत र उदात्त छन् । फरक यत्तिकी देवाकोटा कविता–निबन्धमा बयेलिन्छन्, कोइराला आख्यानमा स्वच्छन्द छन् । विधावृत्तिमा फरक भए पनि दुवैका लेखनीमा पाइने मनोभावको स्वच्छन्द उदात्तीकरणमा समानता छ । दुवैमा आआफूले मन पराएका विधामा वयेलाई छ, रमाइ छ, चुमाइ छ र अनन्त उद्वेलन छ । दुखमा पनि दुखबोध होइन, दुखीसुखको अनुभूति छ, खुसीमा क्षितिज छेडिएको छ । र, एउटा बृहद मानवता उतारिएको छ । त्यसैले यी दुई महापात्र बनेका छन्, एकआपसमा तुलनीय छन् ।

कला-साहित्य स्वच्छन्द तर आफैँ मर्यादित हुन्छ । कला-साहित्यमाथि समाज, सरकार, संस्कार वा स्वयम् स्रष्टाले छेकवार लगाउन सक्दैन । छेकवार लाग्थ्यो त ग्रिन्स वर्ग संसार भुलेर सिर्जना कसरी गर्नसक्थे, लियो सायरा र रोज्सो सेरेस युवा ढुक्ढुकी किन हुन्थे ? लक्ष्मीप्रसाद देवकोटाकी मुना सबै पाठककी आफ्नी किन बन्थिन् ? उनीहरुले जे लेखे, गाए, बोले मनदेखि गरे, त्यसैलाई साहित्यिक अराजकता भनिएको हो । बिपीका पात्रहर मनभित्रै प्रतिस्पर्धा गर्छन्, तर त्यो ‘पोइटिक रिभेन्ज’ वा कलात्मक आक्रमणले कसैलाई दुख दिदैन । त्यसैले त्यो अराजकता बज्र्य होइन, स्वीकार्य छ । बिपीका आख्यानमा पाइने फ्रायडीय मनोवादले आफै मर्यादाको सीमा कोर्छ । मनभित्र उद्वेलित छ तर ती मानवीय भावना हुन् । कथाका पात्रहरु चारित्रिक कार्यमा नैतिक सीमा र आदर्शमा बाँचेका छन् । त्यसैले बिपीले भन्ने गरेका थिए–साहित्यले आफनो मर्यादा आफै सिर्जना गर्दछ । र, उनका कथा उनकै भनाइका प्रयोगमूल्यमा छन् । उनका कथा उपन्यासले वौश्विक (युनिभर्सल) मान्छेको प्रस्तुती गर्छ । होला, त्यो नेपाली भाषी, सपना पनि नेपालीमा देख्ला, नेपालका पाखापखेरा, गाउँवेसी र कुनाकन्दरा चाहार्ला तर उसको सोचवृत्ति, मनोउद्वुदी र कार्यव्यापार युनिभर्सल छ, मानवीयताको चिन्तन युनिभर्सल छ । मानव उच्छवासहरु यसरी नै युनिभर्सल हुन्छन् । त्यसलै उनका पात्रहरु साँघुरिदैनन्, धेरैपरसम्म विस्तारिन्छन् । लाग्छ, उनका पात्र उनकै दृष्टिकोणलाई पात्रकर्ममा उदात्त प्रतिनिधित्व गरिरहेका छन् ।

भनिएला, आख्यान साहित्यमा बिपीलाई कुन मूल्यमा राख्ने त ? कालजयी सर्जक एउटै पात्रबाट धेरै मूल्यमहत्ता दिने गर्छ । झन बिपी त समाजसिल्पी पनि भए । आचार्य नरेन्द्र देवको दर्शन र महात्मागान्धीको आर्दशको प्रभाव, निजत्व अनुभूतिको बहाव र समाज विनिर्माणको दर्शनसिल्प भएको व्यक्तिलाई उनकै भाषामा व्याख्या–बोध गर्ने भाषा पनि अपर्याप्त हुनसक्छ । जेहोस्, सामान्य रुपमा भन्दा बिपीका आख्यानमा अस्तित्वको अविरल यात्रा छ । चन्द्रबदना, तीनघुम्ती, मोदिआइन, मधेशतिर र अरु सबै सिर्जनामा पात्रहरु मानवीय अस्त्वित्वको प्रखर खोजी छ । त्यो अस्तित्वको यात्राभित्र पहिचानको खोजी छ, यौनको खोजी छ, अध्यात्म छ, आत्मिक चेत छ, मर्यादा छ वौश्विकता छ, अझ यीभन्दा माथि मानवता छ । यी सबै हुनु मानवीय हुनु हो, मानवीय मूल्यको खोजी गर्नु हो । आखिर मानव चेतनाले खोज्ने अस्तित्व नै हो । त्यसैले बिपीले मानवता वा अस्तित्व खोजेका छन् । त्यो चेतना अवचेत तहमा पनि थिग्रिएको छ, चेत तहमा पोखिएको छ, कतै गुम्सिन्छ, कतै उछालिन्छ । तर नियति र परिधानले पात्रहरु खुम्चिदैनन् । चेतनामा फैलिन चाहन्छन् । पात्र कार्यले लाग्छ बिपीको मानवीय चेत सर्वकालिक छ, उनी बाँचेको समयभन्दा कता हो कता परको दृष्टिचेत र समय ठम्याइ छ । बिपीका पात्रमा पाइने नारीचेत मात्र हेरौं न, शताव्दीका लैङ्गिक तहसोपानलाई गल्र्याम्म गुर्लुम्म ढालेर समतावादी मानकको विगुल फुकिएको छ । निजत्वको चेत हेरौं न, कति मीठो गरी आस्वाद लिन खोजिएको छ । महान् सर्जकहरु यसरी नै कालजयी दृष्टिकोणको सरल सामथ्र्य राख्दछन् ।