‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । ‘उज्ज्वल थापाको पुस्तक’देखि ‘अस्ताचलको ढोकाबाट’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

====

१. अस्ताचलको ढोकाबाट – गगनसिंह थापा

वरिष्ठ आख्यानकार स्व. गगनसिंह थापाको उपन्यास हो, ‘अस्तान्चलको ढोकाबाट’ । थापा कर्णाली–सुदूरपश्चिम क्षेत्रको इतिहास, भाषा, साहित्य र संस्कृतिका अध्येयता थिए । उनका प्राय: पुस्तकहरुमा यसै क्षेत्रको जनजीवन, समाज, संस्कृति र सभ्यता पाइन्छ ।

उपन्यासकार थापा वि.स. २०७७ साल कात्तिक १९ गते स्वर्गे भएका थिए । थापाको मृत्युपश्चात उनका छोरा हिम्मत थापा बुबाका अप्रकाशित पुस्तकहरु प्रकाशनमा ल्याउने अभियानमा छन् । यो उपन्यास हिक्मतकै अग्रसरतामा प्रकाशनमा आएको हो ।

कविता, कथा हुँदै उपन्यासमा कलम चलाएका थापाका कर्णालीका छेउछाउ, पुर्खाको चिठ्ठी, मेरो मधुशाला, महाप्रलय गरी चार उपन्यास, सोह्र सौगात कथासङ्ग्रह तथा उज्ज्वली र मरुभूमिकी महारानी दुई लघुउपन्यास यसअघि नै प्रकाशनमा आइसकेका छन् ।

पुस्तकलाई आवरण प्रकाशनले बजारमा ल्याएको हो । ३ सय ५२ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ३ सय ५० रुपियाँ रहेको छ ।

 

२. किलिमन्जारो – अनेसास, अफ्रिका

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोे अफ्रिका च्याप्टरले प्रकाशनमा ल्याएको साहित्यिक सङ्गालो हो, ‘किलिमन्जारो’ । यस साहित्यिक सङ्गालोमा ५ वटा नियात्रा, ८ वटा अनुभूति तथा संस्मरण र ८ वटै कविता–गजल–गीत सङ्ग्रहित छन् ।

‘अफ्रिका महादेशमा नेपाली सर्जक र सिर्जना पाउनु फलामका चिउरा चपाउनुसरह रहेछ । यो वस्तुनिष्ठ सत्यको साक्षी हाम्रा भोगाइ र अनुभवहरु सामुन्ने छन् ।’, भूमिकामा पुस्तकका सम्पादक गणेश खड्का लेख्छन्, ‘सर्जक भेट्नै कठिन भएपछि सिर्जना पाउने कुरा पनि उस्तै हुनु स्वभाविक हो । तर हामीले एउटा जिद्धीवाला जमर्को गर्यौं । खोजी गरे स्यालको सिङ पनि भेटिन्छ भनेर लागिपर्यौं । अन्तत: जेनतेज साहित्यिक प्रकाशनको यात्रा तय गरेर किलिमन्जारो छुने प्रयासलाई सफलीभूत बनाउने चेष्टा गर्यौं । हामीले एउटा गोरेटो खन्ने काम गरेका छौं । यसलाई राजमार्ग बनाउँदै लैजाने जिम्मेवारी अब हामी सबैको हो ।’

पुस्तकलाई अनेसास, अफ्रिका च्याप्टरले प्रकाशनमा ल्याएको हो । १ सय २० पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

 

३. नेपाली भाषाको इतिहास – डा. सूर्यमणि अधिकारी

त्रिभुवन विश्वविद्यालयका प्राध्यापक डा. सूर्यमणि अधिकारी कृति अनुसन्धानपरक कृति हो, ‘नेपाली भाषाको इतिहास’ । यो पुस्तकमा अधिकारीले विभिन्न चरणमा नेपाली भाषाको विकासक्रमको अध्ययन गरेका छन् । ‘भारोपेली भाषा परिवार’, ‘प्राचीन खश जाति र भाषा’, ‘सिञ्जाली भाषा’, ‘पर्वते भाषा’, ‘गोर्खाली भाषा’, ‘राष्ट्रिय भाषा नेपाली’ र ‘नेपाली लेखन लिपिको विकास’ गरी पुस्तकलाई सात अध्यायमा प्रस्तुत गरिएको छ ।

‘भारोपेली भाषा परिवारको एउटा उपशाखा बाल्हीकी अर्थात् खश भाषा कालान्तरमा सिञ्जाली–पर्वते–गोर्खाली–नेपालीको रुपमा विकास हुँदै गयो ।’, पुस्तकको भूमिकामा डा. सूर्यमणि अधिकारी लेख्छन्, ‘यही विकासक्रमलाई विभिन्न अध्यायमा वर्गीकरण गरी यस पुस्तकमा विवेचना गरिएको छ । अन्तिम अध्यायमा नेपाली लेखन–लिपिको विकास सम्बन्धमा उदाहरणसहित चर्चा गरिएको छ ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशनले बजारमा ल्याएको हो । १ सय ४० पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय रुपियाँ रहेको छ ।

 

४. ह्वाइ नेपाल – उज्ज्वल थापा

युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब हो, ‘ह्वाइ नेपाल’  । थापा वैकल्पिक राजनीतिको सुरूवात गर्ने फरक प्रकृतिको नेता थिए, र उनले  देखेको नेपालको सपनाबारे किताबमा विस्तृत रूपमा अभिलेखन गरिएको छ ।

नेपालको उज्वल भविष्यप्रति विश्वस्त थापाले विभिन्न आयामबाट आफ्नो आत्मविश्वासमाथि गरेको व्याख्या र विष्लेषण किताबमा पढ्न पाइने छ । किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपना, थापाको विचार र अनुभवका साथै उनकै जीवनकथासमेत समेटिएको छ । पुस्तकमा थापाले गरेका स्केचहरूसमेत समेटिएको छ । जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यंग्यात्मक अभिव्यक्ति रहेको छ ।

‘आज उज्ज्वलको अर्को सपना साकार भएको छ । यो किताब उज्ज्वलले आफैंले तयार गरेका थिए, प्रस्तुतीकरण र भाषामाथि प्रशस्तै काम गरेका थिए’, उज्ज्वल थापा फाउन्डेसनकी अध्यक्ष तथा थापापत्नी एरिका अधिकारीले पुस्तकको विमोचन समारोहमा भनेकी छिन्, ‘किताबले उज्ज्वलको व्यक्तित्वका साथै विचारलाई गहिरोगरी चिन्न मद्दत गर्नेछ ।’

५९९ रुपैयाँ मूल्य रहेको किताब ‘किताब यात्रा डटकम’मार्फत नेपाल र विश्वका कुनै पनि स्थानमा किन्न सकिने छ ।

 

५. गणेशमान सिंहको सङ्घर्ष – डा. मीता सिंह 

नेपाली काङ्ग्रेसमा सर्वमान्य नेताको पहिचान पाएका तथा प्रजातन्त्र पुनर्स्थापनाका लागि गरिएको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्व. गणेशमान सिंहको जीवन सङ्घर्षमा आधारित पुस्तक हाे, गणेशमान सिंहको सङ्घर्ष । पुस्तक सिंहकी कान्छी छोरी डा. मीता सिंहले लेखेकी हुन् । पुस्तकमा मीता बुबा गणेशमान सिंहसँग विभिन्न रोचक संस्मरणहरू प्रस्तुत गरेकी छिन् ।

मीता सिंह मङ्गलादेवी सिंह र गणेशमान सिंहका पाँच सन्तानमध्ये कान्छी छोरी हुन् । उनको यसअघि २०५५ सालमा ‘बासँग सम्झनाका क्षणहरू’ पुस्तक प्रकाशित भइसकेको छ । महिलामा हुने क्यान्सरमा खास रुचि राख्ने उनी पेसाले प्रसूति/स्त्रीरोग विशेषज्ञ हुन् । हाल उनी बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेजमा अध्यापक तथा प्रसूति/स्त्रीरोग विभागको प्रमुखका रूपमा कार्यरत छिन् । उनले २०७७ सालमा ‘Clinical Oncology of Female Genital Tract’ पनि प्रकाशित गरेकी छिन् ।

साङ्ग्रिला बुक्सले प्रकाशनमा प्रकाशनमा ल्याएको पुस्तकको मूल्य ५ सय रूपियाँ रहेको छ ।