
बेलायती राजकुमार ह्यारीको संस्मरण ‘स्पेयर’ स्वतन्त्र पुस्तक व्यापारीहरूका लागि सुनको अण्डा दिने कुखुरा हुनसक्थ्यो तर ठूला व्यापारी र स्वतन्त्र व्यापारीहरूको अनौठो तानातानीले अनौठो अवस्था सिर्जना भएको छ ।
यो पुस्तक परल मूल्यभन्दा आधामै दिने घोषणा गरिएपछि पुस्तक ननिस्कँदै यसलाई हात पार्न गरिएको प्रिअर्डरका कारण बेस्टसेलर सूचीमा पर्न सफल भएको छ ।
ठूला रिटेलर कम्पनीहरूले २८ पाउन्ड पर्ने यो पुस्तकलाई लगभग आधामा बेच्ने भएका छन् । १४ पाउन्डमा ठूला रिटेलरहरूले बेच्ने भएपछि स्वतन्त्र पुस्तक विक्रेताहरूका लागि भने अप्ठेरो अवस्था सिर्जना हुन थालेको छ । खासमा निस्कने बित्तिकै बेस्टसेलर हुने अपेक्षा गरिएको यो पुस्तकमा आधा रकम कमिसन पाइने कुराले स्वतन्त्र पुस्तक विक्रेता निकै खुसी थिए तर ठूला वाटरस्टोन लगायतका ठूला खुद्रा पुस्तक विक्रेताले १४ पाउन्डमा नै बेच्ने विज्ञापन गर्न थालेपछि उनीहरू तनावमा परेका हुन् ।
पुस्तक आउँदो जनवरी १० बाट बजारमा जाने भएको छ । पुस्तकलाई पेइन्गुइन रेन्डम हाउसले बजारमा ल्याएको हो ।
अहिले ठूला वितरकहरू अमेजन, फोयल्स र वाटरस्टोनका वेबसाइटहरू हेर्ने हो भने तिनले पुस्तकको मूल्य १४ पाउन्ड तोकेका छन् । प्रिअर्डर गर्दा मात्र पनि कम दाममा पाइने भएपछि पुस्तक पहिल्यै बेस्टसेलरमा परिसकेको छ । बजारमा नगई प्रिअर्डरका कारण अमेजनको सूचीमा किताब बेस्टसेलर बन्न पुगेको हो ।
स्वतन्त्र पुस्तक विक्रेताहरू भने राम्रो नाफा पाइने पुस्तकलाई ठूला विक्रेताहरूले आधा दाममै बिक्री गर्ने विज्ञापन गरेपछि भने दुःखी छन् । बेलायतको लिड्सस्थित पड्सीकी पुस्तक विक्रेता अमान्डा ट्रुम्यानले यस किसिमको व्यापार युद्धले साना तथा स्वतन्त्र पुस्तक विक्रेताहरूलाई नराम्रो घात गर्ने बताइन् । आफूले पाउने रकममा भन्दा पनि सस्तोमा ठूला विक्रेताले बिक्री गर्ने देखेपछि उनले सो पुस्तक आफूले बिक्री नगर्ने बताएकी छन् ।
स्वतन्त्र पुस्तक विक्रेताहरूले प्रायः किताबमा कुनै पनि छुट दिँदैनन् । छुट दिनु भनेको पुस्तक पसलको हत्या गर्नु हो भन्ने मान्यता राख्ने कयौँ व्यक्तिहरू भने पूरा मूल्य तिरेर किन्नेहरूका लागि मात्र हो । तसर्थ आफ्नो पसलमा एकादुई पुस्तक मात्र ल्याएर राख्ने विल्टसायरस्थित कोर्सन बुकसपका जेनेट ब्राकस्पियरले बताइन् ।
जेनेटले भने सर्वाधिक चासोमा रहेका यस्ता पुस्तकलाई भारी कटौतीमा सर्वसाधारणमाझ उपलब्ध गराउनु राम्रो भएको बताइन् । उनले भनिन्, ‘यस किसिमको व्यापक छुटले सर्वसाधारणलाई किताबप्रति चासो बढाउँछ । एउटा किताब मन पर्यो भने उनीहरूले अर्को खोज्न थाल्छन् । त्यसैले म यसलाई नराम्रो भन्दिनँ ।’
वाटरस्टोनका प्रवक्ताले भने सबै पुस्तकमा यस किसिमको व्यापक छुट दिनेबारे आफ्नो कुनै योजना नभएको तर केही पुस्तकमा रणनीति बनाएर पाठकहरूलाई आफूतर्फ आकर्षण गर्ने योजना भने भएको प्रतिक्रिया दिए । उता पेन्गुइन रेन्डम हाउसका प्रवक्ताले भने यस विषयमा कम्पनीको धारणा व्यक्त गर्न चाहेनन् ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

