बब पिसानी

बब पिसानी

किताब लेखेर धनी हुनेबारे सोचिरहनु भएको छ ? यसबारे पुनर्विचार गर्नुहोला । गएको साता सोमबार अमेरिकाको संघीय न्यायालयले संसारकै दुई ठूला पुस्तक प्रकाशकहरू पेइन्गुइन रेन्डम हाउस र सिमोन एन्ड सुस्टरबीच एकीकरण गर्ने योजनालाई रोक लगाएको छ । अदालतले यी दुई ठूला प्रकाशकहरूको एकीकरण भएको खण्डमा प्रतिस्पर्धा कम हुने र यसले पुस्तक बजारलाई नराम्रो असर पार्ने बताएको छ ।

म पनि एउटा लेखक नै हुँ । मलाई थाहा छ, बेस्ट सेलिङ लेखक हुनु कति गाह्रो छ । पुस्तक बेचेर भन्दा बरू म्याकडोनाल्ड रेस्टुराँमा काम गरेर बढी कमाइन्छ ।

मैले हालै मात्र एउटा किताब लेखेँ, सट् अप एन्ड किप टकिङः लेसन्स अन लाइफ एन्ड इन्भेस्टिङ फ्रम द फ्लोर अफ द न्युयोर्क स्टक एक्सचेन्ज । मैले २५ वर्ष त न्युयोर्क स्टक एक्सचेन्जमा काम गरेर बिताएँ । पत्रकारका रूपमा मैले सिएनबिसी टेलिभिजनमा पनि काम गरेँ ।

मिहिनेतको फल मिठो हुन्छ भन्ने जुन प्रख्यात भनाइ सुन्नु भएको छ, त्यो किताबको मामिलामा ठ्याक्कै मिल्दैन । मैले किताब लेख्दा २ वर्ष खुनपसिना एक गरेर लेखेको थिएँ । मैले जम्माजम्मी सातामा दुई दिन बिदा पाउँथेँ र त्यो बिदाको बेलाको एक एक मिनेट सदुपयोग गरेको थिएँ ।

दिमागमा बेस्ट सेलरको भूत चढाएर किताब लेख्दै हुनुहुन्छ भने तपाईं गलत रहरमा बाँचिरहनु भएको छ । यसका लागि पेइन्गुइन रेन्डम हाउस र सिमोन एन्ड सुस्टरको मर्जरलाई नै हेर्नु त । न्यायालयले यसलाई रोक्ने प्रयास गरिरहेको छ । यी दुई कम्पनीबीच एकीकरण भए, लेखकहरूलाई धेरै कुराको बेफाइदा हुनेछ । प्रतिस्पर्धा कम हुनेछ, लेखकले पाउने अग्रिम रकम कम हुनेछ । तर प्रकाशकहरूले अदालतको यो निर्णयलाई पुनरावेदन गर्ने बताइरहेका छन् ।

यो अदालत बहसका दौरान केही रोचक कुरा सतहमा आए । पहिलो त पुस्तक व्यापार गएका दुई वर्ष निकै राम्रो बन्यो । संसारभर कोभिड १९ को बन्दाबन्दीका बेला पढ्न रूचाउनेहरूले जमेर किताब पढे । र, यो बेला ज्यादै सीमित किताबहरूले मात्र पैसा छापे ।

पेन्गुइन रेन्डम हाउसका एक अधिकारीले भनेछन्, कम्पनीले छापेका किताबहरूमध्ये ३५% पुस्तकहरूले मात्र नाफा कमाउँछन् । तीमध्ये पनि ४% पुस्तकले कम्पनीको सारा नाफाको ६०% ल्याउने गर्छन् । अर्थात्, प्रकाशकले छापेका ४% किताबले मात्र नोट छाप्छन् र लोभलाग्दो गरी रोयल्टी बटुल्छन् ।

सन् २०२१ मा बुकस्क्यान नामक संस्थाले गरेको अध्ययनले यी दुई ठूला कम्पनीसँग ३२ लाख वटा पुस्तक टाइटल छन् । तीमध्ये १% भन्दा पनि कम पुस्तकले ५ हजारको आँकडा पार गरेका थिए ।

एउटा वास्तविक लेखकले कहिल्यै पनि लेखेर कमाउन सक्दैन । समाचारमा देखिने लाखौँको रोयल्टी वा अग्रिम भुक्तानी साहित्यमा जिउज्यान अर्पण गरेकाले विरलै पाउँछन् । खासमा भन्ने हो भने त लेखक गरिबीमा नै बाँचिरहेको हुन्छ ।

सन् २०१८ मा गरिएको एउटा सर्भेले एउटा गज्जबको निष्कर्ष निकालेको थियो । अर्थर्स गिल्डले आफ्ना ५,०६७ सदस्यहरूबीच गरेको एउटा सर्भेमा २०१७ मा एउटा सामान्य लेखकले वर्षमा जम्मा ६,०८० डलर कमाएको थियो । यो सन् २००७ को तुलनामा ५०% ले कम हो । सन् २००७ मा अर्थर्स गिल्ड र पेन अमेरिकाले गरेको सर्भेमा त्यस्तो आम्दानी १२,८५० डलर थियो । (म पनि सो संस्थाको सदस्य हुँ ।)

किताब लेखेर नै कमाएको यो रकमले लेखक कसरी बाँच्छ त ? बाँच्नका लागि उसले किताब समीक्षा, कलेज पठनपाठनजस्ता काम गर्ने गर्छ ।

५७% भन्दा बढी लेखकहरूले आफ्नो जीविका लेखनसम्बद्ध कामबाट नै गर्ने गरेका छन् । त्यसैले उनीहरूले यसलाई लेखनकै एउटा पाटो ठान्ने भएकाले लेखेरै कमाइरहेको भ्रममा छन् उनीहरू । यसरी लेखनसम्बद्ध कामबाट कमाएको रकम भने सामान्यतः २०,३०० डलर हुने गर्छ । यो सर्भेपछि संस्थाहरूले भनेका थिए, एउटा लेखक सामान्य गरिबीको रेखाका जनताको आम्दानीभन्दा कम आम्दानी गरिरहेको छ । लेखक गरिब छ । उसले आफ्नो परिवारलाई समेत गरिबीको रेखामुनि धकेलिरहेको छ ।

उसो भए कस्ता लेखकले कमाइरहेका छन् त ? लेखन पेशामा लागेकाहरूमध्ये १०% ले चाहिँ वर्षको ३ लाख ५ हजार डलर कमाइरहेका छन् । आफैँ प्रकाशक भएर किताब निकाल्ने १०% हरूले चाहिँ त्यसको आधा डेढ लाख डलर वार्षिक कमाइरहेका हुन्छन् ।

उसो भए लेखेर कमाउनु किन गाह्रो भइरहेको छ त प्रत्येक वर्ष ? के कारणले यस्तो भइरहेको छ ?

लेखक संघले जारी गरेको सर्भेले भन्छ, पठनका सबैभन्दा दह्रो प्रतिस्पर्धीहरू भिडियो र स्ट्रिमिङ चर्को रूपमा बढेर गएका छन् । २०१७ ताका १० लाखभन्दा बढी किताब त अमेरिकामा मात्रै प्रकाशन हुन्थ्यो । सन् २००९ मा चाहिँ तीन लाख किताबका शीर्षक छापिएका थिए । उसो भए २००९ भन्दा २०१७ मा किताबको संख्या किन बढ्यो त ? बोकर नामक संस्थाले गरेको सर्भेले भन्छ, पहिला स्वतन्त्र प्रकाशक कम थिए । लेखक हुने सम्भावना कम थियो । अहिले स्वतन्त्र प्रकाशक वा स्वयं प्रकाशक भन्ने लहर चलेको छ । जसका कारण किताबको संख्या ह्वात्तै बढेको छ । तर धेरै किताब बढे पनि कम पुस्तक बिक्री हुन्छन् र तिनले ज्यादै न्यून लेखकस्व पाउँछन् ।

यस्तो अवस्थामा गर्नुपर्ने चाहिँ बढीभन्दा बढी लेखकहरूलाई स्वतन्त्र प्रकाशन वा स्वयं प्रकाशक हुने रहरबाट निकालेर ठूला प्रकाशककहाँ पुर्याउनु पर्ने हो । नयाँ लेखकलाई ठूला प्रकाशकले बढीभन्दा बढी मौका दिनुपर्ने हो । तिनलाई वृहद् बजारमा पुर्याउनु पर्ने हो तर त्यस्तो भइरहेको छैन ।

गएको वर्ष डिसेम्बरमा ग्यालप नामक संस्थाले गरेको एउटा अनलाइन मतदानमा औसत अमेरिकीले वर्षमा साढे १२ वटा किताब पढ्छ । अर्थात् महिनामा एउटा किताब । रोचक कुरा त, सोही संस्थाले १९९० को दशकमा गरेको एउटा वृहद् सर्भेमा प्रत्येक अमेरिकीहरूले दोब्बर बढी किताब पढ्थे । समयको सदुपयोग गर्ने सबैभन्दा राम्रो कुरा नै किताब थियो त्यो बेला ।

१९९० को दशकमा स्ट्रिमिङ थिएन, इन्टरनेटको व्यापक प्रचलन थिएन । पोडकास्टिङ थिएन । यतिबेला त जो सुकै बेवकुफले पनि आफ्नै एउटा च्यानल खोलेर पोडकास्टिङमा खोक्न सक्छ र टिकटक स्टार बन्न सक्छ । पूरापूर मिडियाको भूगोल नै छरपस्ट भएको छ ।

र, पनि धन्न किताब प्रकाशन भइरहेका छन् । उसो भए कस्ता बेवकुफले किताब लेखिरहेका छन् त ?

मजस्ताले ।

म लेखकहरूलाई एउटा नमागिएको सन्देश दिन चाहन्छु । लेखक बन्न चाहनुहुन्छ भने बेकुप बन्नुस् । ठान्नुस्, तपाईंले संसारलाई एउटा कतै कसैले नसुनाएको, नभनेको कुरा सुनाउनु छ लेखेर । यो भनेन वा छापिएन भने संसारै ध्वस्त हुनेवाला छ भन्ने लाग्छ भने मात्र लेखक बन्न ।

तपाईं आफ्ना सारा कामधन्दा चौपट पारेर, सारा कुरा पन्छाएर, स-साना फुर्सद चोरेर जब लेख्न बस्नुहुन्छ, त्यो बेला प्रख्याति र सम्पत्ति आउँछ भन्ने भ्रम चाहिँ नपाल्नु होला । हुन त तपाईंले लेख्दा यो किताब बबाल हिट हुन्छ भन्ने सोचेरै लेख्नुहुन्छ र जब छापिएर बजारमा जाँदा नामोनिशानै नदेख्दा चित्त कुँडिन सक्छ । यी सारा कुरालाई एकातिर राखेर मात्र लेख्न बस्नुस् ।

मैले एउटा आर्थिक पत्रकारका रूपमा ३२ वर्ष काम गरेँ । म सेयर बजारका बारेमा थोरबहुत जान्दछु । यही जानकारीका हिसाबले मैले किताब लेखेँ, जुन तपाईंले कहिल्यै नाम नसुन्नु भएको हुनसक्छ । तर म यसमा अभ्यस्त भइसकेको छु ।

मैले त्यो किताब किन लेखेँ हुँला त ? मलाई प्रख्यात हुनुथियो र ? होइन । मलाई बढी पैसा चाहिएर हो त ? बढी त होइन, थोरबहुत आओस् भन्ने त चाहना थियो । सबैभन्दा बढी यो किताब छापिएपछि एउटा कुरा चाहिँ भयो, हिजोसम्म म पत्रकार मात्र थिएँ । किताब छापिएपछि लेखक पनि भएँ । मेरो प्रतिष्ठाको तह थोरै बढ्यो । मलाई हिजोसम्म टिभीमा मात्र बकबक गर्ने व्यक्तिका रूपमा चिन्नेहरूले लेख्न जान्ने वा त्यस विषयमा विज्ञ ठान्नेहरूको संख्या बढ्यो । मलाई विभिन्न कार्यक्रममा बोल्न निम्त्याइन थाल्यो । जबकि, मेरो जानकारी र ज्ञान पहिले पनि उत्ति नै थियो तर किताबले मलाई विशिष्टीकृत जानकारीको लागि योग्य व्यक्तिका रूपमा परिचित गराइदियो ।

र, यी सारा कुराका लागि मैले दुई वर्षभन्दा बढी बलिदान गर्नुपरेको थियो । र, त्यो बलिदानले काम गर्यो । मलाई यतिबेला पैसाले भन्दा त्यस कुराले बढी आनन्द दिलाइरहेको छ । अब त बुझ्नुभयो होला, किन हरेक वर्ष गरिबीको मार खेप्दै हरेक लेखक नयाँ किताबमा काम गरिरहेको हुन्छ !

(बब पिसानी अमेरिकाको आर्थिक विश्लेषण गर्ने टेलिभिजन सिएनबिसीका शेयर बजार हेर्ने पत्रकार हुन् । सिएनबिसी अनलाइनबाट यो आलेख साभार गरिएको हो ।)