पहिले यो गजल पढ्नुहोस्:

अराजक जसै बन्दछन् जामपन्थी

सिधै मारमा पर्दछन् कामपन्थी

चिसोका कुरा गर्दछन् गर्न किन्तु

निकै गर्मिँदै छन् यहाँ घामपन्थी

गुमाएर आस्था र अस्तित्व आफ्नो

तिमी वामपन्थी भयौ दामपन्थी

म हैरान पो भइसकेको छु मित्र!

पछाडि परेको छ छलछामपन्थी

दमन जानकीमाथि गर्दै छ कोही

र भन्दै छ सच्चा म हुँ रामपन्थी

रमाएर ज्यादै गजलको सफरमा

बनेको छ कोही घनश्यामपन्थी

अर्कान—१२२.१२२.१२२.१२२

बहर—मुकारिब मुसम्मन सालिम/पिङ्गल छन्द— भुजङ्गप्रयात

रुक्न /अर्कान/ गण आदिको चर्चा

रुक्न भनेको बहरका लागि आवश्यक मात्रावाहक गण हो । यो जूजहरूको मेलबाट बन्दछ ।

बहरका लागि सर्वप्रथम निम्न तालिका अनुसारका रूक्न तथा लघुगुरु वर्णहरू र तिनका भारको ज्ञान हुनु पर्दछ ।

रूक्न सङ्केत मात्रा उदाहरण

१. मफाईलुन् (ISSS) १,२,२,२ (लगुगुगु) अँध्यारोमा

२. मुस्तफ्इलुन् (SSIS) २,२,१,२ (गुगुलगुु) के के भयो

३. फाइलातुन् (SISS) २,१,२,२ (गुलगुगु) आज मेरो

४. फऊलुन् (ISS) १,२,२ (लगुगु) उज्यालो

५. फाइलुन् (SIS) २,१,२ (गुलगु) जिन्दगी

६. मुतफाइलुन् (IISIS) १,१,२,१,२ (ललगुलगु) कसरी तिमी

७. मुफाइलतुन् (ISIIS) १,२,१,१,२ (लगुललगु) सुनाइरहेँ

८. मफ्ऊलातु (SSSI) २,२,२,१ (गुगुगुल) कालो रात

डा. घनश्याम न्यौपाने परिश्रमी

रूक्नहरूको बहुवचनलाई अर्कान भनिन्छ । यिनै अर्कानहरूको संयोजनबाट बहरहरूको निर्माण हुन्छ । फारसी उर्दू इल्मे अरुज (छन्दशास्त्र) ले गजल संरचनार्थ अनेकौँ बहरहरू निर्दिष्ट गरेको छ । एउटै रुक्नको आवृत्तिबाट बनेका बहरहरू मुफरद बहर अन्तर्गत पर्दछन् भने फरकफरक रुक्नको मेलबाट बनेका बहरहरू मुरक्कब बहर अन्तर्गत पर्दछन् । केही रुक्नहरूलाई नतोडीकन र केही तोडिएका रुक्नहरू/जिहाफबाट बनेका बहरलाई मुजाहिफ बहर अन्तर्गत राखिन्छ ।

मथिको तालिकामा तपाईंले आठवटा रुक्न पढ्नुभयो । यी रुक्नहरूमध्ये फऊलुन् र फाइलुन् तीन अक्षर र पाँच मात्राका छन् भने अरु चार र पाँच अक्षरका सबै सात मात्राका छन् ।

क) मुफरद बहर

एउटै रुक्नको आवृत्तिबाट बन्ने बहरलाई मुफरद बहर भनिन्छ । यस अन्र्तगत हजज, रजज, रमल, मुतकारिब, मुतदारिक, कामिल, वाफिर नामक प्रमुख सातवटा बहर पर्दछन् । यिनका पनि निम्नलिखित तीन/तीनओटा भेदसहित जम्मा २१ वटा मुफरद बहर छन् –

अ) मुसम्मन सालिम– गजलको एउटा मिसरा एउटै रुक्नका चार अर्कानबाट बनेको छ भने त्यसलाई मुसम्मन सालिम भनिन्छ ।

आ) मुसद्दस सालिम– गजलको एउटा मिसरा एउटै रुक्नका तीन अर्कानबाट बनेको छ भने त्यसलाई मुसद्दस सालिम भनिन्छ ।

इ) मुरब्बा सालिम– गजलको एउटा मिसरा एउटै रुक्नका दुई अर्कानबाट बनेको छ भने त्यसलाई मुरब्बा सालिम भनिन्छ ।

(यसरी नै पाँचदेखि आठ आवृत्तिसम्मका पनि प्रकार हुन्छन्, तिनलाई क्रमश: दुहुम, द्वाजदह, चहारदह र शाजदह वा मुदाइफ भनिएको छ । यिनको प्रयोग अत्यन्त न्यून पाइन्छ ।)

केही प्रश्नहरू:

रुक्न भनेको के हो ? यसका कति प्रकार छन् ?

बहरका रुक्न र छन्दका गणहरूका बिच केकस्तो सम्बन्ध देखिन्छ ?

जूज, रुक्न र अर्कानमा के भिन्नता छ ?

मुफरद, मुरक्कब र मुजाहिफ बहरमा केकस्ता भिन्नता पाइन्छन् ?