१. कथाकल्प – रुद्र पौड्याल

सिक्किम निवासी साहित्यकार रुद्र पौड्यालकृत कथासङ्ग्रह हो, ‘कथाकल्प’ । सङ्ग्रहमा ‘त्रिकोण’, ‘सयपत्री–संघ’, ‘स्ट्याण्डमा पर्खंदा’, ‘युगले जन्माएको एउटा मान्छे’, ‘मनोरञ्जन मात्र’, ‘अन्योलमा परेको क्षण’, ‘आश्चर्यको घोडचडी’, ‘द्वन्द्व’ र ‘म किरानी अड्डाको’ गरी ९ कथाहरु सङ्ग्रहित छन् ।

‘कथाकार श्री रुद्र पौड्याललाई सम्झदा कता–कता आफैंलाई सम्झेको जस्तो लाग्छ । छात्रावासको एउटा विस्तारा र एउटै थालमा हाम्रो जीवनको गुजारा चल्थ्यो । बनारको भोक र शोकमा पुराना किताब बेचेर कति दिन गुजारा चलाएको आलो सम्झनाले शायद काल्पनिक कथारुप लिन सक्ला ।’, पुस्तकको भूमिकामा राधाकृष्ण शर्मा लेख्छन्, ‘काठमाडौंको रवाफ र धनाढ्य डकारका अघि बाहिरका नेपाली भएर पनि बाजी ठोकेको एउटा छुट्टै सम्झना पौड्यालज्यूलाई पाउँछु । यी जीवनका प्रत्येक खुड्किलाहरुमा मैले पौड्यालज्यूको उठाइ, बसाइ, बोलाइ, लेखाइ आदिमा साँच्चै एक कथाकार अथवा चित्रकारको आभास पाएँझैं लाग्थ्यो । अब अहिले विचार गर्दा यदि पौड्यालज्यूले अल्छी गरेनन् भने ‘सिक्किमले कथाकार जन्माएकै हो’ म ठोकेर भन्छु ।’

पुस्तकलाई चेशब प्रकाशन गृह, गान्तोकले प्रकाशनमा ल्याएको हो । ८६ पृष्ठमा फैलिएको कथासङ्ग्रहको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

 

२. लीलाहरुमा माया – विन्द्या सुब्बा

दाजीलिङ निवासी साहित्यकार विन्द्या सुब्बाको संस्मरणात्मक लेखहरुको सङ्ग्रह हो, ‘लीलाहरुमा माया’ । सङ्ग्रहमा सुब्बाले ‘एउटा मृत्युशय्या र मरुभूमि’, ‘सल्लाघारी पछिल्तिर एउटा जून’, ‘शरद् खोज्दै दार्जीलिङ’, ‘लीलाहरुमा माया’लगायत १७ शीर्षकमा संस्मरणहरु सङ्ग्रहित गरेकी छिन् ।

‘सङ्ग्रहित अधिकतर लेखहरुमा नारीवादी चिन्तन र लेखन धारणा पनि समाहित छन् भन्ने कुरालाई यहाँ केस्राएर बताइरहन परोइन । पाठक, अध्येताहरु आफैं नै सहज बोध गरिहाल्न सक्छन् ।’, भूमिकामा जस योञ्जन व्यासी लेख्छन्, ‘नीरसताको किञ्चित पनि अनुभूति नहुने कृतिभित्रका प्राय: सबै मध्यम आयतनी लेखहरुमा सहजता, सरलता, सरसताको सुललित सुगुण पाइन्छ । यसैले ‘लीलाहरुमा माया’ कृतिलाई भारतीय नेपाली साहित्यमा एक सुष्ठ सिर्जना, एक अभिवनव अभिप्राप्ति हो भन्न सकिन्छ ।’

पुस्तकलाई डिकबहादुर सुब्बा स्मृति प्रकाशन, दार्जीलिङले प्रकाशनमा ल्याएको हो । १ सय ४१ पृष्ठमा फैलिएको पुस्तकको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

 

३. विविध विवेचना – डा. गीता छेत्री

महारानी उच्च कन्या विद्यालय, दार्जीलिङमा कार्यरत डा. गीता छेत्रीकृत समालोचनाहरुको सँगालो हो, ‘विविध विवेचना’ । सङ्ग्रहमा विभिन्न साहित्यिक व्यक्तित्व तथा कृतित्वको मिहीन तवरले गरिएका २५ समीक्षाहरु कृतिमा समावेश छन् ।

‘गीता छेत्री स्वयम् साहित्यकार मात्र होइन, साहित्यको एक्टिभिस्ट पनि हुन् । अनि नेपाल र दार्जीलिङ क्षेत्रको साहित्यिक दूत पनि ।’, भूमिकामा साहित्यकार परशु प्रधान लेख्छन्, ‘नेपाल र रार्जीलिङका साहित्यकारहरुबा बिच उनले पुलको काम गरेकी छिन् । नेपाली साहित्यकारलाई उताको र उताको साहित्यकारलाई नेपाली साहित्यको गतिविधि र लेखनमा आएका नवीन धाराहरुबारे बुझ्न दुर्वतर्फ समान सम्पर्क र सम्बन्ध स्थापना गर्नु गीताको ठूलो महानता हो, हामीले निश्चय नै प्रशंसा गर्नुपर्छ ।’

पुस्तकलाई ‘वसुधा’ भारतीय नेपाली नारी साहित्यिक मञ्च, दार्जीलिङले प्रकाशनमा ल्याएको हो । १ सय २८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।