विषय प्रवेशः

यसपटकको छोटो नेपाल भ्रमणको क्रममा भक्तपुर क्याम्पसमा अध्यापन गर्दा मेरो विद्यार्थी रहनु भएका हरिहर तिमिल्सिनासँग भेट्ने कुरा भएको थियो । तर समय र साधनको कमीले हाम्रो भेट क्षणिकमात्र हुन गयो । गुरु चेलाको भेटमा हामीबीच पुस्तक साटासाट भएको थियो । उनको चर्चामा रहेको उपन्यास ‘क ख रा’ हस्ताक्षरसहित पाएको थिएँ । अनि पुस्तक पढेपछि एउटा नौंलो आख्यानको अनुभव भयो । यस उपन्यासले शिक्षाको व्याख्या आख्यानात्कम तरिकाबाट गरेको पाए । अझ भनौ उनले आजको शिक्षा र सरकारको दायित्वलाई यथार्थपरक तरिकाले परिभाषित गरेको पाएँ । उपन्यासमा शिक्षाका कुराहरूको मात्र चर्चा भएको छ । क ख रा उपन्यासको बारेमा समीक्षात्मक टिप्पणी गर्दा साहित्य र शिक्षाका बारेमा बुझ्नु पर्ने अनिवार्य देखिन्छ ।

पृष्ठभूमिः

साहित्यमा उपन्यास

साहित्यको बारेमा भन्नु पर्दा पद्य र गद्य विधा मध्ये उपन्यास गद्य विधामा पर्छ । गद्यको आख्यानात्मक र आख्यानेतर साहित्य मध्ये उपन्यास आख्यानात्मक साहित्यमा पर्छ । उपन्यासकलाई गद्यमा लेखिने कथात्मकताको प्रस्तुति भनेर परिभाषित गर्न सकिन्छ । यसलाई लामो कथा विवरण पनि भनिएको पाइन्छ । आख्यान साहित्यको वृहत्तर स्वरुप नै उपन्यास हो ।

उपन्यासको पृष्ठभूमि व्यापक हुने गर्दछ । उपन्यासले मानिसको जीवन र त्यस वरिपरिका समाजको समग्रतालाई समेटेको हुन्छ । उपन्यासलाई गद्यको महाकाव्य पनि भनिन्छ । उपन्यासले समेटेको कथाले पात्रको परिवेश, वातावरण, भेषभूषा, बोलीचालीबाट लिएर मानिसको मानसिकता र समाजको सामाजिकताको चित्रण गरेको हुन्छ । उपन्यासको इतिहास खोज्दै जाँदा एघारौं शताब्दीसम्म पुग्न साक्छौँ । जापानकी लेखिका मुरासाकी शिकिबुको ‘गेञ्जीको कथा’ ( द टेल अफ गेञ्जी) लाई विश्वकै पहिलो उपन्यास मानिएको छ (बि.बि.सी. सेलेक्ट, द न्यु होम अफ डकुमेन्टेसन) । नेपाली उपन्यासको सन्दर्भमा सं. १८२७ (१७७० ई.) मा देखा परेको शक्तिबल्लभ अर्यालको ‘महाभारत विराट्पर्व’ लाई पहिलो उपन्यास मानिँदै आएको छ । नेपाली साहत्यिको विभिन्न चरणमा देखापरेका विभिन्न स्वरुपका उपन्यासहरूको संख्या किटानसाथ भन्न सकिँदैन । २०६९ (२०१२ ई) मा प्रकाशित ‘नेपाली उपन्यासको इतिहास’ मा डा. खगेन्द्रप्रसाद लुइटेलले यस पुस्तकमा ९४१ जना उपन्यासकारहरूको २०६८ (२०११) ई) सालसम्म प्रकाशित २०१० वटा उपन्यासको नाम उल्लेख गर्नु भएको छ । यसलाई नै आधिकारिक मान्न सकिँदैन तर यसबाट अनुमानको भरमा हामीले नेपाली भाषामा लगभग तीन हजार उपन्यास लेखिएको अनुमान चाहिँ गर्न सक्छौँ । यसमा सबैभन्दा बढी उपन्यास शंकर लामिछानेले सं २०१८ (१९६१ ई) देखि २०५८ (२००१ ई) सम्मको अवधिमा ३८ वटा लेखेको देखिन्छ । त्यस्तै युधीर राणाले सं २०२२ (१९६५ ई) देखि २०५० (१९९३ ई) को अवधिमा ३४ वटा उपन्यास लेखेको देखिन्छ । नेपाली साहित्यमा सबैभन्दा मोटो उपन्यास सं २०३९ मा प्रकाशित मदनमणि दीक्षितको ‘माधवी’ (१९८२ ई) लाई मानिन्छ । त्यस्तै सबैभन्दा पातलो उपन्यास ३६ पृष्ठ भएको गोविन्द गिरी प्रेरणाको ‘एक रात’ (सं. २०५५) मान्न सकिन्छ । विश्वकै बृहत् उपन्यासका रुपमा फ्रान्सका उपन्यासकार मार्सल प्रोष्टको ‘ईन सर्च अफ लस्ट टाईम’ (ल रेचर्चे, १९१२ ई) लाई मानिन्छ । ९,६०९,००० अक्षर रहेको यो उपन्यास सात भाग प्रकाशित भएको छ ।

शिक्षा र शिक्षालय

‘शिक्षा के हो ?’ भनेर सोधिएमा ‘जान्ने कुरा सबै शिक्षा हो’ भन्दा अत्युक्ति नहोला । मानव सभ्यताको थालनीसँगै सिक्ने परम्परा सुरु भएको हो । परापूर्व कालदेखिको हाम्रो समाजको बनोटलाई नियालेर हेर्ने हो भने पाठशाला बन्नुभन्दा अघिनै बुवाले आफ्ना छोराहरूलाई खेतीपाती, घरकटेरोको निर्माणबाट लिएर आफूले गर्ने व्यवसाय सिकाउने गरिन्थ्यो भने आमाले छोरीहरूलाई खाना बनाउन, लुगाफाटा सिउन र धुन, घर–आँगन सफा राख्न सिकाउँदै आएको देखिन्छ । शिक्षाको थालनी मौखिक र अनुकरण मार्फत सुनाउने प्रक्रियाबाट सुरु भएको मानिन्छ । अरुले गरेको कामको देखासिकी गरेर सिक्ने सिकाउने चलन रहँदै आएको छ । राम्ररी पढ्न नसकेपछि कोही ग्यारेजमा हेल्पर बन्न पुग्छन्, कोही बसको खलासी बन्न पुग्छन् त कोही रेष्टुरेन्टमा काम गर्न पुग्छन् । कालान्तरमा त्यहीँ व्यक्ति मेकानिक, चालक, कुक आदि बन्न सफल हुन्छन् । पढ्न नसकेर वा नपाएर धेरै नै नेपालीहरू भारतका होटल तथा रेस्टुरेन्टहरूमा भाँडा माझ्दै कुक बन्न पुगेका छन् । त्यहीँ व्यक्ति एशिया–युरोप–अमेरिकामा कुकको वर्क पर्मिटमा आएर काम गर्न थालेपछि विस्तारै आफ्नै रेस्टुरेन्ट सञ्चालन गर्दै एउटा सफल व्यापारी बन्न पुग्छन् । अर्थात शिक्षाको अर्थ नै सिक्नु हो ।

सिकाउनका लागि भनेर नै समाजमा विद्यालयको स्थापना हुन थालेको हो । यहीँ विद्यालयमा गएर हामीले विद्या आर्जन गर्ने गर्छौ । विश्वको पहिलो पाठशालाका रुपमा मोरक्कोमा रहेको ‘अल कारवियिन’ पाठशालालाई मानिन्छ । सन् ८५९ देखि अहिलेसम्म यो पाठशाला संचालित अवस्थामा छ । त्यस्तै पहिलो आधारभूत सामग्रीको संगठित पाठ्यक्रमको शैक्षिक प्रणाली सन् १८३७ मा अमेरिकाको मासाचुसेट्सबाट सुरु भएको थियो । नेपालको सन्दर्भमा कुरा गर्नु पर्दा जङ्गबहादुर राणाले बेलायतको भ्रमण गरेपछि अंग्रेजी सिक्न आफ्नै दरबारमा दुईजना बेलायती शिक्षक झिकाएर राणाहरूको छोराहरूलाई अंग्रेजी पढाउन सन् १८५४ मा दरबार स्कुल सुरु गराएका थिए । सन् १९०१ मा उनले नै राणा खलकका सबै छोराहरूलाई पढाउने व्यवस्था मिलाएर दरबार स्कूल सुरु गरेका थिए । थापाथली दरबारबाट सुरु भएर चारबुर्जा दरबार, सेतो दरबार र नारायणहिटी दरबार हुँदै वीर शमशेरको पालामा सन् १८९१ मा अहिलेको दरबार स्कुलको स्थापना भएको थियो । राणा परिवारका छोरामात्रै पढ्ने दरबार स्कुलमा देव शमशेरले सन् १९०१ देखि सबैका लागि खुला गरिदिएका थिए ।

कखराको भ्रमण

डा. गोविन्दसिंह रावत (क्यानडा)

माथिको पृष्ठभूमि प्रस्तुत उपन्यासको सन्दर्भमा आवश्यक भएकोले राखिएको हो । दक्षिण अफ्रिकाको एउटा विश्वविद्यालयको प्रवेशद्वारमा ध्यानाकषर्णका लागि यस्तो सूचना टाँस गरिएको रहेछः कुनै पनि मुलुकलाई ध्वस्त पार्न कुनै आणविक अस्त्र वा क्षेप्यास्त्र प्रयोग गर्न आवश्यक छैन , त्यसको लागि मुलुकको शैक्षिकस्तर ध्वस्त पारिदिए मात्रै पुग्छ । वास्तवमा शिक्षा नै मुलुक सपार्ने वा बिगार्ने बलियो हतियार हो र रहेछ । एकजनाले भन्थ्यो विद्यालय भनेको आमाबुवासँग पैसा लिएर छोराछोरीलाई पिट्ने केन्द्र हो । हुन पनि हो मुर्गा बन्नु, बेतको छडीले हातमा पिटाई खानु, कान समातेर नराम्ररी तान्नु आदि हामीले भोगेको सजाय थियो भने हामीपछिकाले त यो भन्दा पनि पीडादायक सजाय पाएर अस्पतालमा पुर्याउनु परेका घटनाहरू पनि सुन्नु परेको छ । नेपालको सन्दर्भमा शिक्षालय व्यापारको माध्यम बनेको छ । ट्युसनलाई अनिवार्य र पाठ्यक्रमभित्र नै पार्न थालिएको छ । लगभग ६८ प्रतिशत साक्षरता रहेको नेपालमा स्कूले शिक्षाको भरमा देश हाँकेका छन् । यस्तै शिक्षाको विसङ्गतिलाई उपन्यासले पहिल्याउँदै त्यसको निवारण गर्ने प्रयास गरेको छ । हरिहर आफैँ पनि एक शिक्षक हुन् । उनले पनि विद्यार्थीलाई पढाएका छन् । उनीसँग पनि विद्यालयमा जागिरे भएर पढाएको अनुभव छ । उनले आफ्नै अध्यापनका अनुभव र विचारलाई यस उपन्यासमा राखेका छन् ।

आमाबाउले आफ्ना सन्तानको उज्वल भविष्यका लागि विद्यालयमा पठाउने गर्छन् । सबैले आफ्ना सन्तानलाई आफ्नो बुताले भ्याएसम्म राम्रो विद्यालयमा पढाउन चाहन्छन् । आमाबाउको सपना बोकेर सन्तानहरू शिक्षा ग्रहण गर्दै जान्छन् । उपन्यासले आमाबुवाको सपनामा सन्तान पिल्सिनु परेको यथार्थतालाई देखाएको छ । धेरै अभिभावक सन्तानलाई जबरजस्ती डाक्टर–इञ्जिनियर बन्न कर गर्छन् । सन्तानमाथि मानसिक तनाव सिर्जना गरेर उनीहरूको उद्देश्यमाथि नै तगारो लगाइदिन्छन् । यही कुरा यस उपन्यासले औलाएको छ । आमाबुवाको सपना साकार पार्ने जिम्मा किन सन्तानले लिनै पर्ने । आमाबुवाले पुरा हुनै नसक्ने सपना नै किन देख्ने । यहाँ सन्तानलाई बोर्डिङ्ग स्कुलमा राखेपछि ऊ डाक्टर–इञ्जिनियर बनै पर्छ भन्ने के ग्यारन्टी ? स्कुलमा विद्यार्थीमाथि दबाब दिन परीक्षालाई डर र त्रासको पर्यायवाची बनाइएको छ । शिक्षकलाई तानाशाही बनाउन खोजिएको छ । यस्तो अवस्थामा शिक्षाको स्तर कस्तो हुन्छ भन्ने अनुमान हामी आफै लगाउन सक्छौँ ।

२०७८ असोज २९ गते लोकार्पण भएको कखरा उपन्यासलाई मैले सामाजिक यथार्थवादी, घटना र परिवेशप्रधान वर्णनात्कम शैलीमा लेखिएको सुखान्त बाल मनोवैज्ञानिक उपन्यासको रुपमा लिएको छु । आमाबुवाको सपना साकार पार्न सरकारी स्कूलबाट जबरजस्ती बोडिङ्ग (शिविर) मा पुर्याइएको एकजना विद्यार्थी (सफल) ले सुनेका, देखेका, भोगेका र अनुभव गरेका घटनाहरूलाई उपन्यासले समेटेको छ ।

कथनाकः

कथानक आख्यान साहित्यको प्राण हो । उपन्यासको कथानक वा विषयवस्तु त्यस्तो हुनु पर्छ जसले पुस्तक लेखिनुको उद्देश्यका बारेमा पाठकलाई जानकारी गराउन सकोस् । कथाको विषयवस्तु समातेपछि पाठकलाई त्यसले तान्दै लिएर जानु सक्नु पर्छ । कखराको प्रारम्भ नै कौतुहलताबाट भएको छ अनि त्यो कौतुहलता अन्त्यमा गएर टुङ्गिएको छ । खुल्दुलीबाट सुरु भएको कखराको कथा कखरा पुस्तक उपहारमा पाएको प्रसङ्गमा ल्याएर कौतुहलताको निर्वाहसँगै अन्त्य भएको छ । कथानकलाई गतिशिल बनाइराख्न स–साना उपकथाहरू जोडिँदै आएका छन् । धनु काका, सिपीयु, मोबिला, जयन, प्रेम सर, जनयुद्ध, बालविवाह, काठमाडौंको रात्री जीवन, दशैंको कथा, खातेहरूको अवस्था आदि धेरै उपकथाहरूले उपन्यासलाई डोर्याउँदै लगेको छ । त्यसपछि कथायात्रामा बरदायिनी स्कूल हुँदै मुख्यपात्र सफलको राम्रो शिक्षा ग्रहण गर्ने यात्रा सुरु हुन्छ । नर्वे सरकारको अनुदान सहयोगमा बरदायिनी स्कूलले कलवर फेरे पनि विद्यालयको पठनपाठनमा भने कुनै परिवर्तन नआएको आभाष दिएर लेखकले भौतिक योजनामा परिवर्तन ल्याएरमात्र शिक्षाको स्तर बढ्न सक्दैन भन्ने देखाएका छन् । संगतले छोराछोरी बिग्रने हुनाले आमाबुवाले छोराछोरीलाई आफूले एक छाक खाएर, ऋण काँढेर भए पनि राम्रो स्कूलमा पढाएर असल मान्छे बनाउन चाहने सपना देख्ने गर्छन् । अनि त्यो सपना छोराछोरीले पूरा गर्नै पर्ने बाध्यता हुन्छ । त्यसै कारण सफलको चेस खेल्ने र पुस्तक पढ्ने इच्छामा कुठाराघात हुन जान्छ । ऊ सफल खेलाडी पनि बन्न सक्थ्यो ।

तर त्यस तर्फ स्कूलले ध्यान नै दिन सके त । सफल आफ्ना अभिभावकको सपना पूरा गर्न आफ्नो ईच्छालाई थाती राखेर बरदयिनीबाट शिविर स्कूलमा पुग्छ । त्यहाँ अध्ययन अध्यापनभन्दा बढी अनुशासन हाबी भएको पाउँछ । त्यहाँ पुगेर सफलले नयाँ साथीबाट मानिसको नयाँ जीवन शैलीका बारेमा थाहा पाउँछ । उसको जीवनमा एकपछि अर्को घटना घट्दै जान थाल्छ । होस्टलको जीवन शैली र शिक्षा प्रदान गर्ने तथा आर्जन गर्ने प्रक्रियाका माध्यमबाट स्कूललाई पसलको रुपमा प्रस्तुत गर्दै अभिभावका सपनाहरूको किनबेच हुने गरेको देखाएका छन् । विद्यार्थीको वर्गीकरण गरेर कमजोर बनाउने शिक्षालयको प्रवृतिमाथि व्यङ्ग्य गरेका छन् । जाँच एउटा वार्षिक प्रक्रिया हो भन्ने कुरालाई साधारण तरिकाबाट परिभाषित नगरेर जाँचलाई विद्यार्थीको मनमा एउटा टाइम बम वा भुइँचालो अथवा भनौं ज्यालामुखीका रुपमा प्रस्तुत गरेर विद्यार्थीको मनस्थितिमा त्रास सिर्जना गर्ने परम्परा रहेको देखाएका छन् । स्कुलदेखि घरसम्म अनि शिक्षकबाट अभिभावकसम्म सबैले जाँचको भूत देखाएर तर्साउने गर्छन् । एकातिर जाँचमा कम नम्बर आएर फेल हुने त्रास देखाइन्छ भने अर्कोतिर विद्यार्थीहरूका बीच प्रतिस्पर्धा गराएर वा गर्न लगाएर मानसिक रुपमा मनोरोगी बनाउने चलन आज पनि हाम्रो समाजमा रहेका छ । यस्तै अवस्थाको सामना गर्न नसकेर कतिपय विद्यार्थीले आत्महत्या गरेका खबरहरू पनि सुन्दै आएका छौँ ।

जाँचकै प्रसङ्गमा लेखकले स्कूलमा विद्यार्थीले भर्ना हुँदा पनि जाँच दिनु पर्ने प्रक्रियाको विरोधमा विद्यार्थीले नै आफू पढ्न चाहने स्कूलको जाँच गर्न पाउनु पर्ने विद्यार्थीको मौलिक हकको कुरा उठाएका छन् । पिट्ने शिक्षक नै कडा र राम्रो शिक्षक भनिने मनस्थितिबाट आजसम्म पनि हाम्रा अभिभावक उम्कन पाएका छैनन् । जबरजस्ती ट्युसन लिनु पर्ने प्रक्रियाको विरोधमा लेखकले यसलाई विद्यार्थीमाथि अतिरिक्त आर्थिक र मानसिक भार पर्ने गरेको देखाएका छन् । विद्यार्थीको पढाइमा कमजोर हुनु भनेको शिक्षक र विद्यार्थी दुवै दोषी हुनु हो । विद्यार्थीलाई सक्षम बनाउन शिक्षकको दायित्व हुन्छ तर विद्यार्थीलाई कमजोरको बिल्ला लगाएर दोषी बनाउने प्रक्रियाको विरोध गर्छन् । सफलको शिविर स्कूलबाट प्रेस शिविरसम्मको यात्राकथामा जीवनमा देखा परेका हन्डरको कथाव्यथालाई यस उपन्यासले समेटेको छ । उनी शिविरमा त सजिल्यै पुग्छन् तर प्रेम शिविरसम्मको यात्रामा मानवीय जीवनमा भोग्नु पर्ने विभिन्न अवस्थाहरू पार गर्दै अघि बढ्दै जान्छन् । यात्राको क्रममा हन्डर खाँदै अचानक मोनीसँग भेट हुनु र त्यो भेटले पाठकमा अब के होला भन्ने एक प्रकारको कौतुहलता बढाउँदै गर्दा अचानक सफल बसमा बसेर आफ्नो उद्देश्य पुरा गर्ने लक्ष्यतिर लाग्छन् ।

प्रेम शिविरको आगमनमा समेत चितुवाको आक्रमणबाट जोगिएर अस्पताल पुग्छन् । यस्ता प्रसङ्गले आफ्नो उद्देश्य पूर्तिका लागि अघि बढी रहेका मानिसको जीवनमा कहिले प्रेमको तगारो त कहिले जीऊज्यान तगारो आदि अनेकन कष्टकर अवस्था आई पर्न सक्छन् भन्ने देखाएका छन् । प्रेस शिविरको अनुशासनसँगै व्यक्ती स्वतन्त्रताले जीवनको वास्तविक अङ्कगणित सिकाएको हुन्छ । त्यसैले योग ध्यान र शारीरिक अभ्याससँगै शैक्षिक पाठ्यक्रममा शिविर स्कूलले सीपमूलक तालिम, पशु पालन, गीत–संगीत–नत्यको तालिम, खेलकुद आदिको पनि व्यवस्था गरेको देखाइएको छ । शिक्षालयमा सबै प्रकारका शिक्षाको व्यवस्था हुनु पर्छ भन्ने मान्यता धेरैअगाडिदेखि रहँदै आएको छ । यस उपन्यासको कथावस्तुले विद्यार्थीको जीवनका यावत कुराहरूलाई समेटेर देखाएको छ । शिक्षा कस्तो हुन पर्छ भन्ने लेखकको मान्यतालाई समेटेको छ ।

क ख रा उपन्यासको कथावस्तुले जनयुद्ध समाप्तिको संघार र राजाले सत्ता आफ्नो हातमा लिएको समयलाई ओगटेको देखिन्छ । सफल कक्षा आठपछि शिविर स्कूल पुग्छ र त्यहाँबाट बाह्र कक्षासम्मको अध्ययन पूरा गरेर त्यहीँ केही वर्ष आफूले सिकेको कुरा सिकाउन थाल्छ । त्यसपछि ऊ आफ्नो गाउँको स्कूलमा गएर अध्यापनमा लाग्छ । विद्यार्थीले विद्यालय पढेपछि आफूमात्रै सफल हुनु हुँदैन । मुलुकको शिक्षा क्षेत्र पनि सफल हुनु पर्छ भन्ने नाराका साथ अघि बढेको यस उपन्यासको कथावस्तुले शिक्षालयमात्रै पाठशाला नभएर विद्यार्थीका लागि आफ्नो घरनै पहिलो पाठशाला र आफु बसेको समाज दोस्रो पाठशाला हो भन्ने वास्तविकता देखाउन खोजेका छ । ३७ वटा विभिन्न शीर्षकमा बाडिएको क ख रा उपन्यासमा ‘घर छोड्ने दिन’ दुई पृष्ठको सबैभन्दा सानो अध्याय रहेको छ भने ‘कान्तिपुर हण्डर’ नौं पृष्ठको सबैभन्दा लामो अध्यायका रुपमा रहेको छ । त्यसपछिका अन्य अध्यायहरू सरदर चारदेखि छ पृष्ठका रहेका छन् । यसको कथावस्तुले एउटा विद्यार्थीको जीवनमा आई पर्ने त्याग, संघर्ष, माया र उसले लिनु पर्ने दायित्व बोधलाई समेटेको छ । मोनीबाट शुरु भएर मोनीबाटै समाप्त भएको प्रस्तुत उपन्यासमा चलचित्रात्मक तरिकाबाट घटनाक्रहहरू अगाडि बढ्दै गएको छ ।

पात्रः

उपन्यासलाई गति दिने काम पात्रहरूबाट हुने गर्छ । पात्रहरूको चरित्र चित्रणबाट उपन्यासको कथावस्तुले गति पाउने गर्छ । पाठकको दिमागमा उपन्यासका पात्रहरूलाई जीवन्त बनाउँदै उनीहरूको चरित्र चित्रण गरिदै जानु पर्छ । सफललाई केन्द्रिय पात्रका रुपमा राखेर नियाल्दा यस उपन्यासमा प्रत्यक्ष र परोक्ष गरी ९७ वटा पात्रहरू देखा परेका छन् । यसमा उपस्थित भएका अन्य पात्रहरूले उनलाई उपन्यासमा डोर्याउने काम गरेका छन् । सबै पात्रको उपस्थिति विषयवस्तु अनुरुप भएकोले महत्त्वपूर्ण रहेको छ । चाहेँ त्यो काम मात्र गराउन खोज्ने साहुसाहुनी हुन वा सुती रहेको अवस्थामा चोर्ने खातेहरू । चाहेँ त्यो छोरोको उज्वल भविष्य बनाउन चाहने बाआमा हुन् वा एक्लो जीवन बिताउने धनु काका । चाहेँ त्यो बैनी, सिपीयु वा ट्रकको ड्राईभर खलासी हुन वा विद्यालयका शिक्षकदेखि बाटोमा प्रसङ्गवस आएका पात्रहरू । सबैको भूमिका उपन्यासमा महत्त्वपूर्ण रहेको छ। सहरबाट मानवता हराएको ठान्ने सफललाई त्यहीँ सहरको होटलमा बढी काम लगाएर हेप्ने साहुसाहुनीले बिदाइ गर्दा पैसा र कपडा दिएको प्रसङ्गले परिवेशले मानिसलाई कठोर बनाए तापनि सबैबाट मानवता नहराएको देखाएका छन् । हरिहरले यस उपन्यासमा पात्रहरूको निर्माणमा धेरै मिमिनेत गरेका छन् । साधु, सानु, मोनीका, सिपीयु आदि पात्रहरू प्रत्यक्षभन्दा बढी अप्रत्यक्ष रुपमा प्रकट भएर कथालाई अगाडि बढाउने काम गरेका छन् । यी पात्रहरूको भूमिका अनुरुपका संवादले उपन्यासको भाषाशैलीमा मीठास भरेको छ । उपन्यासमा एकातिर सफलको चरित्र आउँछ भने अर्कोतिर प्रेम सरको चरित्र महत्त्वपूर्ण रुपमा आएको छ । यी दुई पात्रहरूले कथालाई डोर्याएर अन्त्यसम्म पुर्याएका छन् । सफल मुख्य पात्र हु्न् भने प्रेम सर मुख्य पात्रको उद्देश्य प्राप्तिको लक्ष्यका रुपमा आएका छन् । उनी उपन्यासकारको मुक पात्र भएर चित्रित भएका छन् । यिनै दुई पात्रलाई जोड्ने काममा अन्य पात्रहरू आएका छन् । विभिन्न अवस्थामा आएका पात्रहरूको चरित्रले उपन्यासमा विविधता भर्दै गएका छन् । सबै पात्रहरूले कथालाई चलयमान बनाउन सानो ठूलो उपस्थितिमा पनि महत्त्वपूर्ण भूमिका खेलेको छ । पात्रको चरित्रले घटना र परिस्थितिको को बयान गरेको छ । उपन्यासमा मोनिकाको चरित्रले रोमाञ्चकारिता निम्त्याउँने काम गरेको छ ।

भाषाशैलीः

प्रस्तुत उपन्यासमा उपस्थित भएका पात्रहरूमा सफलका आमाबुवा, बहिनीसँगै गाँउका साथीहरू र धनु काकाबाट लिएर साधु, सानु, शिक्षक, विद्यार्थी, प्रेम सर, साहु, ड्राइभर, खलासी, खाते, पसले आदि सबै वर्गका चरित्रहरू देखिन्छन् । पात्रको चरित्रका आधारमा सभ्य र असभ्य दुवै प्रकारका संवाद सुन्न पाइन्छ । यी पात्रहरूको भूमिका अनुरुपका संवादले उपन्यासको भाषाशैलीमा मिठास भरेको छ । संवादमा हाँस्य रस भर्ने काम विभिन्न व्यक्तिहरूको नामलाई छोटो बनाएर हास्य सिर्जना गरिएको छ । अझ भनौं, उपन्यासमा हास्य शैलीका रुपमा नामको प्रयोग भएको छ । अमेरिका–बेलायतमा हस्ताक्षर गर्दा इनिसियल अर्थात् आफ्नो नाम र थरको पहिलो अक्षर लेख्ने चलन रहेको छ । यसैलाई लिएर मैले एउटा व्यङ्ग्य बनाएको थिएँ – गगन धारिवला– गधा, मुकुन्द लामिछने – मुला, विनोद कुमार लोहनी– बिरालो, कुमुद कुमार रजौरिया– कुकुर, मुना सापकोटा–मुसा, आनन्द लुइटेल–आलु, चाँदनी कटुवाल –चाक, केदार रावत –केरा, मुकुन्द लामिछाने –मुला आदि । यसमा पनि सिपीयु जस्ता पात्रका लागि प्रयोग भएको देखिन्छ । नामले धेरै ठाउँमा हास्य सिर्जना गरेको छ । भाषा प्रयोग, शब्द चयन, तुक्का, भाव, पात्रानुप संवाद, ठेट नेपालीपनको आभाष, स्कूले केटाहरूको व्याकरणरहीत असभ्य भाषा, शिक्षकको भाषा आदि पात्रानुरुप र स्थानानुरुप भएको छ । धेरै ठाउँमा लेखक आफैले साहित्यिक भाषा प्रयोग गरेका छन् । उदाहरणका लागिः –

– आज पक्कै घडी चले पनि समय रोकिएको हुनु पर्छ । पृष्ठ ७९
– शिक्षामा विज्ञापन छिरेर धेरै गडबडी भइरहेको छ । पृष्ठ ९०
– धर्म मानिसले अविष्कार गरेको सबैभन्दा ठूलो पापी कदम हो । धर्मका नाउँमा हुने युद्ध र पाप रोकी मानवताको विकास गराउनु पर्छ । पृष्ठ १०७
– भोक खान्छु, आँसु पिउँछु । बा आमा र साथीहरू अनि तिम्रा यादहरू आठेर सुत्छु । पृष्ठ २४६
– यदि शिक्षाले मानिसलाई आत्मविश्वासी र स्वावलम्बी बन्न सिकाएन भने त्यस्तो शिक्षाको काम छैन, पृष्ठ ३१७

उपन्यासले एउटा विद्यार्थीको मन–मस्तिष्कमा आउने धेरै प्रश्नहरू उब्जाएर त्यसको उत्तरको खोजीमा विद्यार्थी भौतारिनु परेको देखाएको छ । शिक्षकलाई विद्यार्थीले सोधेको प्रश्नको उत्तर नआउँदा उल्टै विद्यार्थीलाई झपार्ने शिक्षक प्रवृतिलाई देखाएको छ । अतिरिक्त ज्ञानका लागि आवश्यक बाहिरी पुस्तक पढ्नबाट बञ्चित गराउने शिक्षकलाई देखाएको छ । यसमा सफलको प्रश्न आफैमा एउटा कोलाज बनेर उपन्यासमा आएको छ ।

उदाहरणका लागिः
– सर हाम्रो दिमागको पूर्णाङ्क कति हो ? पृष्ठा ३६

उद्देश्यः

यस उपन्यासले शिक्षण प्रक्रियामा नयाँ दृष्टिकोण दिने झिनो प्रयास गरेको छ । आफूसमेत एउटा शिक्षक भएको हुनाले विद्यार्थी भएदेखि शिक्षक भएसम्मको शैक्षिक यात्राको क्रममा आफूले देखेका, भागेका र अनुभव गरेका विसङ्गतिहरूलाई समेटेर यस उपन्यासमा पोखेका छन् । उनले एउटा आदर्श विद्यालयको आवश्यकतालाई पनि देखाएका छन् । त्यसैले धेरै ठाँउमा लेखक आफै उपस्थित भएर आदर्शका कुराहरू गरेका छन् । अझ प्रेमपुरको यात्राको क्रममा बस ड्राइभरले अब विश्वबाटै प्रेम बिलाउँदै गई रहेको प्रसङ्गमा एउटा ड्राइभरलाई पूर्व शिक्षक बनाएर उपन्यास लेखिनुको उद्देश्यमाथि आफ्नो विचार यसरी अभिव्यक्त गरेका छन्ः

– स्कूलमा सानै उमेरदेखि बच्चाहरूलाई यन्त्रवत् व्यवहार गर्न सिकाउनु
– बालबालिकालाई दुर्व्यहार गर्नु
– बालबालिकालाई नैतिक मूल्यमा आधारित शिक्षाको सट्टा भौतिक मूल्यमा आधारित शिक्षा प्रदान गर्नु
– बाआमाबीच पारिवारिक झैझगडा र किचलो बढ्नु
– घर घरमा युद्ध हुनु । स्वार्थ र लिप्सा हुनु
– केटाकेटीलाई अनावश्यक प्रतिस्पर्धामा उतार्नु
– केटाकेटीबीच असमान व्यवहार हुनु
– बच्चालाई शिक्षाका नाउँमा अनावश्यक कुराहरू धोच्याउनु
– सरकारले शिक्षालाई लथालिङ्ग छोड्नु
केटाकेटीलाई मानसिक आघात पर्ने व्यवहार गर्नु, कलिलो दिमागमा युद्ध, हिँसा र मारकाटका दृश्यहरूको छाप पार्नु, यसका लागि आधुनिक मानिएको शिक्षा प्रणाली जिम्मेवार छ । पृष्ठ २५२

निष्कर्षः

प्रस्तुत उपन्यासलाई प्रबन्धकल्पनाका रुपमा लिन सहिन्छ । यसमा लेखकले आफुले अनुभव गरेका केही सत्य र विचार गरेका केही काल्पिनिकतालाई आधार बनाएर उपन्यासको विषयवस्तु तयार पारिएको हो । त्यसैले केही प्रसङ्गहरू आफू अध्यापक भएको अनुभावबाट आएका छन् भने कही प्रसङ्गहरू परिकल्पनाका आधारमा आएका छन् । उपन्यासले पाठकलाई शिक्षण प्रक्रियाका बारेमा एकजना निम्नवर्गीय विद्यार्थीका माध्यमबाट जानकारी दिने जमर्को गरेको छ । उपन्यास पढेपछि शिक्षासँग सम्बन्धित केही प्रश्नहरू पाठकको मनमस्तिष्कमा आउने गर्छ । अर्थात, पाठक उपन्यासमा घोत्लिएर सोच्न बाध्य हुन्छन् । यसलाई लेखनको सफलता मानिन्छ । जस्तैः ट्युसन राख्दैमा विद्यार्थीको क्षमता बढ्न सक्छ त ? पढ्नमा नै कमजोर भएका विद्यार्थीलाई ट्युसनले केही गर्न सक्छ त ? विद्यालयले मान्छे बन्न सिकाउने कि प्रतिस्पर्धा गराएर मात्र अंक ल्याउन सिकाउने ? सरकारी स्कूलबाट निकालेर बोडिङ्ग स्कूलमा राख्दा स्कूलमात्रै फेरिने हो कि विद्यार्थीको पढ्ने क्षमता पनि फेरिन्छ ? पढाइको लागि सरकारी स्कूल राम्रो कि बोर्डिङ्ग स्कूल ? विद्यार्थीलाई ट्युसनबाट मुक्ति दिलाउन र शिक्षकलाई ट्युसनको अतिरिक्त आम्दानीको मोहबाट मुक्त पार्न सरकारले शिक्षकलाई पुग्ने पारिश्रमिक दिएर स्कूलले नै अतिरिक्त कक्षा सञ्चालन गर्न सक्दैनन् त ? यस्ता अनेकन प्रश्नहरू उब्जन्छन् ।

नेपालको राष्ट्रिय गीत छनोटमा दोस्रो भएका हरिहर तिमिल्सिना (पहिलो व्याकुल माइला) का कविता र गीतहरूले नयाँ आयाम थपिरहेको अवस्थामा उनको यो पहिलो उपन्यासले पनि उनलाई अब्बल दर्जामा उभ्याइदिएको छ । हुन त, भर्खरमात्र एउटा उपन्यासलाई धेरै दिग्गज उपन्यासकार र बाहिरका साहित्यकारलाई देखाएर बारम्बार पुर्नलेखन गरेर शब्द संख्या बढाएर प्रकाशित गरेको बारे पढ्न पाएको थिए । यसरी पनि उपन्यास लेखेर प्रकाशित गराइन्छ भन्ने दृष्टान्त देखियो । तर हरिहरको क ख रा उपन्यास साधारण तरिकाबाट निस्किएर पाठकहरूको हात हातमा पुग्दै छ । यो उपन्यास हाम्रो मुलुकमा विसङ्गतिपूर्ण शिक्षाको अवस्थालाई दर्साउन लेखिएको आभाष हुन्छ । यसमा शिक्षा प्रणालीप्रति नकारात्मक र सकारात्मक अर्थात नराम्रो प्रक्रियासँगै सुधारका सम्भावनाहरूलाई पनि देखाइएको छ । यसमा बाल विवाह, प्रहरी प्रशासन, नेता, सामाजिक संस्थामाथि तीखो सामाजिक व्यङ्ग्य प्रहार गरेको छ । चलचित्रात्मक शैलीमा अगाडि बढ्दै गएको प्रस्तुत उपन्यासमा रोचकता ल्याउन र मुख्य पात्रको ध्यान एकाग्रचित गराउन तलको पंक्ति चलचित्रमा घन्किने ब्याकग्राउण्ड म्युजिक जस्तै बारम्बार आउने गरेकोलाई पनि विषयवस्तु संगत मान्न सकिन्छ ।

यात्रा यो मेरो टुंगिने कहाँ हो,
हिँड्दै छु हेरौं पुगिने कहाँ हो ?

अन्त्यमा, क ख रा उपन्यासको शीर्षकमा सार्थकता किन छ भने, किनभने उपन्यासले शिक्षाको क ख रामात्र सिकाउँदैन यसले जीवनको क ख रा, मानवीय व्यवहारको क ख रा, प्रेमको क ख रा र समाजको क ख रासमेत सिकाएको छ ।