डिएच लरेन्सको प्रख्यात कृति लेडी च्याटर्लिज् लभरलाई नेटफ्लिक्स र सोनी पिक्चर्सले मिलेर बनाएका छन् । त्यसो त सिनेमामा दर्जनौं पटक रूपान्तरित यो कामुक, विवादास्पद र कुनै बेला प्रतिबन्धित उपन्यासलाई यस पटक अझ बढी कामुक बनाइएको फिल्मकी निर्देशक लउर डि क्लेरमन्ट‑टोनेरले बताएकी छन् ।

एउटी महिला निर्देशकले अपाङ्गता भएको लोग्नेबाट असन्तुष्ट भएकी यौन स्वतन्त्रता र स्वच्छन्दता खोज्ने स्वास्नीमाथि फिल्म बनाउँदा केही विवाद भने अवश्य आउँछ तर विषय नै त्यस्तो रोजेका कारण यसमा सबै किसिमको विवादलाई आफूले स्वीकार गर्ने ग्ल्यामर पत्रिकासँग कुरा गर्दै लउरले बताएकी छन् ।

नेटफ्लिक्सको द क्राउन शृङ्खलामा राजकुमारी डायनाको भूमिकाबाट चर्चित भएकी एम्मा कोरिनले लरेन्सको उपन्यासकी लेडीको भूमिका पाएकी छन् । यस फिल्ममा उनी दर्जनौं पटक नग्न देखिएकी छन् । यसको चर्चा ट्रेलर आउनेबित्तिकै हुन थालेको थियो ।

निर्देशक लउर फ्रान्सेली फिल्म निर्देशक हुन् । उनले फिल्म अभिनेत्रीबाट करियर शुरू गरे पनि पछि निर्देशनमा हात हालेकी हुन् । उनले बनाएको पहिलो फिल्म द मुस्ताङ नै निकै चर्चित बन्न सफल भएको थियो ।

मुस्ताङको जादु यो नयाँ फिल्मले पनि कायम राख्ने अपेक्षा निर्देशक लउरको छ । सिनेमा हलहरूमा यसले चर्चा बटुलिरहेको भए पनि नेटफ्लिक्समा डिसेम्बर २ बाट मात्र हेर्न पाइने भएको छ ।