सौन्दर्यविहिन व्यस्त सहर त्यसमा मानिसहरुको ओहोरदोहोर र भीडले निम्त्याएको उकुसमुकुसका बीचमा म हिडिँरहेको थिएँ । लाग्छ सडकमा हिँड्ने सबै फुर्सदमा हुँदैनन् । मलाई पनि गन्तव्यतर्फ पुग्नुपर्ने हतार भएकोले आफू वरिपरिको भीडको सकससँग कुनै सरोकार थिएन । तर एउटा परिचित अनुहार मेरा सामुन्नेबाट गुज्रिदा भने म स्थिर भएँ । मेरो मुटुको धड्कनको गति अचानक बढ्न थालेको थियो । सपना हो वा विपना मैले भेउ पाउन सकिरहेको थिएन । बिग्रेको घडीजस्तो समय एकक्षण मेरा सामु ठिङ्ग उभिरह्यो । स्वास अड्किएर चेतनाशून्यको अवस्थामा म भइरहेको थिएँ । धेरै समयको अन्तरालपछि कोही म नजिकबाट गुज्रिएको थियो । हावाको वहावले कुनै बहुमूल्य बस्तुलाई नजिकैबाट हुत्याएझैं तिमी मेरो अगाडि हुत्तिएकी थियौ । मनपर्ने मान्छेलाई अचानक यो सहरमा देख्दा मन नजानिँदो पाराले अल्हादित भइरह्यो । यथार्थलाई बिर्स्याउन आएका क्षणहरुसँग म निमेषभर रोमाञ्चित भइरहेँ । तर त्यो रोमाञ्चकता भ्रम मात्रै थियो । म र मेरो आज मात्र मेरो सत्य थियो ।

सुरुमा त तिमी हो वा होइन् भन्ने असमञ्जस्यतामा परेँ । आफूलाई केही सन्तुलित पार्दे तिमीलाई हेरेँ , निकै बेर हेरिरहेँ । पुनरावृत्तिको लहरमा तिम्रो पहिलेको कोमल व्यक्त्विमा उमेरले हाल्ने कठोरताहरुको समिश्रण थियो । तर हिँड्दा कुम पछाडि ठेल्ने तिम्रो बानीले तिमी होइनौ भन्ने कुराको कुनै प्रमाण दिनसकेन् । तिमी उही “तिमी” थियौ , म विश्वस्त भएँ । तिमी हिँडिरहेकी थियौ । तर मलाई भने लागिरह्यो मेरो कोही आफ्नो मबाट क्रमैसँग अलग भइरहेको छ । त्यस्तो किटील अलग्याई निकै वर्ष पहिले तिमीबाट अलग हुँदासमेत अनुभव भएन । तिमी मेरो नजिक थियौ तर पनि क्षितिजमा तिमीलाई महसुस गरिरहेँ । तिमी मेरो नजिक भएर पनि न त तिमीसँग मेरो बोल्ने अधिकार बाँकी नै थियो न त त्यसको कुनै सम्भावना । म तिमीलाई केहीबेर पछ्याइरहे र पछ्याउनुको अर्थले प्रश्न खोज्न थालेपछि म बीचमै रोकिएँ । समयको प्रवाहसँगै तिम्रो सम्झना पातलो भए पनि मेरो मनबाट हराउने त प्रश्न नै भएन ।

चेतना शर्मा

“बिहा गरौँ, कि ठग्ने हो मलाई ?” कुनै दिन शंका व्यक्त गरेकी थियौ तिमीले ।

“के गर्छौ मसँग बिहे गरेर ?” मैले हाँस्दै सोधेको प्रश्नले उसलाई गम्भीर बनाएन ।

“के गर्नु नि अरुले जे गर्छन् त्यही” । उसका शब्दहरु दिमागबाट जोखेर, तौलेर वा कुनै मोलमोलाई बिनाका शब्दहरु थिए अर्थात स्वस्फूर्त निस्केका थिए ।

उसले बोलेका शब्दहरुले मेरा लागि भने भारको थुप्रो बोकाएर गए ।

बगिरहेको नदीको बग्ने बाटोलाई कुनै कसिंगरको थुप्रोले बन्द गरेझैँ भएको थियो । हो ! साँच्चिकै मेरो बग्ने लय बिथोलियो , म बग्नै रोकिए त्यसपछि । त्यसो भए मैले केका लागि प्रेम गरेँ त ?

विवाह ?

अहँ ! होइन ।

कुनै मन मिल्ने साथीका लागि ?

थोरबहुत हो कि !

तर , साँच्चै किन त ?

या महिला र पुरुषबीचको स्वभाविक आकर्षणको रस मात्र मैले लिएँ ? प्रश्नहरु मलाई एकपछि अर्कोगर्दे प्रहार गरिरहेका थिए । आफैँले निर्माण गरेको कठघरामा म थिएँ । म स्वंयकै चरित्रमाथि शंकाउपशंका गरिरहेको थिएँ ।

अनि के प्रेमको अर्को कुनै उद्देश्य हुन सक्दैन ?

किन कसैलाई झुठा आश्वासन मैले दिइरहेँ ?

त्यसो भए के म अनैतिक हुँ वा जिम्मेवार मानिसको श्रेणीमा पर्देन ? किनभने जसलाई प्रेम गरिरहेको छुँ उसलाई सुरक्षा दिन सक्दिनँ , प्रेमलाई नाममा परिवर्तन गर्न चाहेको छैन । अथवा प्रेमको सफल अवतरण गराउने क्षमता ममा छैन ?

यी प्रश्नले मभित्रका अन्तरङ्ग अवयवहरुलाई खोतलखातल गरेर राखिदिएको थियो । यी लावारिस प्रश्नहरु मेरा वरिपरि नाँचिरहे । जसको उत्तर म स्वयंलाई समेत थाहा थिएन । विगत र वर्तमानको द्वन्द्वमा म निकैबेर पछारिएँ । विगतले मलाई प्रश्न र दोषारोपण गरिरहेको थियो वर्तमानले सन्तुलित हुन सिकाइरह्यो । आफूलाई दोषी महसुस हुनबाट रोक्न हरसम्भव प्रयासमा म लागिरहेँ । तर कहिलेकाहीँ हामीभित्रको मनुष्य हाम्रो अनुमतिबिनै हामीलाई सत्य सोच्न बाध्य पार्दो रहेछ । यसरी तिमीलाई वर्षौपश्चात् देख्दा तिमीप्रति मेरो प्रेम एक्कासी न निख्रिए जस्तो न अझै पूर्ण भएजस्तोको स्थितिमा म पुगेँ ।

तिमीसँगको मेरो सम्बन्ध अर्थात हामीबीचको सम्बन्धले अर्थ खोज्दाखोज्दै जीन्दगीको विशाल फाँटमा तिमी हरायौ , र म पनि हराएछु । हामी दुबैको गोरेटो गुमनाम भएको थियो । हाम्रो सम्बन्धमा पूर्णविराम लाग्यो । तिमीले अर्को अध्याय सुरु गर्यौ , र मैले पनि । तर आज यत्तिका समय बितिसकेपछि तिमीलाई देख्दा तिमी मसँग नहुँदाको पराकाष्ठालाई महसुस गरेँ । नजिक हुँदा तिमी टाढै रहेछौ भन्ने पटाक्षेप भयो । समयले हामीलाई पर्खेको थिएन । कसैले चाहे पनि या नचाहे पनि समयको बहावले हामीलाई बगाउँछ नै । जीवन्तता र स्थिरता जीवनका विपरित रीत रहेछन् । हामी पनि प्रकृतिको यो नियमसँग अछुता कसरी रहन सक्छौ र ! तर पनि गोलो पृथ्वीमा मान्छे र सम्बन्धहरुको जम्काभेट हुने नै रहेछ ।

तिमी हिडिँरहेकी थियौ । केही बेर मैले तिमीलाई पछ्याएँ । जेष्ठको गर्मीले सताइरहेकोले पसिनालाई पातलो सलले पुछिरहेकी थियौ । सारीले छोप्न नजानेको पातलो कम्मरमा हल्का मुजा सुन्दर देखिँदै थिए । काला केशराशीका बीचबीचमा सेता कपालहरु पनि चियाइरहेकै थिए । तिम्रा ती घना केशराशी आजसम्म आइपुग्दा पातला भएका थिए । तिमीलाई सुस्तरी नियालिरहेका मेरो आँखा थाक्न मानेका थिएनन् । पऽऽऽरसम्म तिमीलाई हेरिरहे । आँखाबाट ओझेल नहुन्जेल हेरिरहे । तर, न आँखाहरु नै तृप्त भए न त मेरो हृदय नै ।

मलाई तिम्रो सामुन्ने पर्ने हिम्मत भएन । पर्नु नै किन , त्यसको कुनै औचित्य बाँकी भए पो ! उसै पनि एउटा पराजित प्रेमी कसरी तिम्राअघि पर्न सक्छ ? त्यो साहस मभित्र आजन्म रहेन अब । तिमीप्रतिको भावनाको बाढीमा म बग्न चाहेन, तिमीप्रति पलाएको भावनाको मुनालाई हुर्काउन मैले जायज नै ठानिनँ ।

मैले बोलाउँदा आज तिमी सुन्न सक्थ्यौ । म तिमीलाई रोक्न सक्थे । रोकेर तिमीलाई केही भन्नसक्थे । समयको रंगहरु कति धेरै पनि हुँदारहेछन् । मनका कुरा भन्न सकिने र नसकिने अवस्थालाई मनस्थिति र परिस्थितिले निर्धारण गरिदिँदो रहेछ । तिम्रो र मेरो सम्बन्धले कुनै समयमा सांसारिक दरिलो आधार खोजेको थियो । त्यो अधार भन्नु विवाह थियो । तिमीलाई लाग्ला मैले तिमीलाई निर्मतापूर्वक छाडिदिएँ यस्तो काम कुनै स्वार्थी र निर्दयी मान्छेले मात्र गर्नसक्दछ । तर के साँच्चिकै म स्वार्थी हुँ ? यदि हुँ भने मलाई आत्मग्लानिका ज्वारभाटहरुले किन पोल्दैनन् ! पछुतोको पसिनाले किन मलाई निथु्रक्क भिजाउँदैन् ? म छक्क पर्छु ।

प्रेमको सुरक्षित अवतरण भनेको विवाह नै हो । जुन अवतरण सांसारिक परिभाषामा स्वच्छ र पवित्र मानिन्छ । तर प्रेमको यो अवतरण सँधै सफल पनि भएका छैनन् नि ! हो , आज तिमीलाई देख्दा म स्पष्टताका धारहरुसँग सामुन्ने भएँ । अर्थात अलिकति सँग्लो भएँ । हाम्रो सम्बन्ध जब भूमिका र जिम्मेवारीमा परिवर्तन हुन्थ्यो हाम्रो प्रेमले आफनो वास्तविक स्वरुप हराउँछ भन्ने डर नै ममा जन्मिएको थियो । तर मलाई थाहा छ मेरा यस्ता बेतुके तर्कहरुमा विमती जनाउँथ्यौ । त्यसैले तिम्रो भावनालाई मैले बुझेर पनि बुझ पचाउँदै गएँ । र अलग्याइका लागि विभिन्न बाहाना खोज्न थाले । तिमी मेरो प्रेममा चुर्लुम्मै डुबिसकेकी थियौ । यसमा कुनै शंका थिएन कि त्यो डुबाइमा मेरो पनि उत्तिकै मञ्जुरी थियो । तर जब तिमीले सम्बन्धलाई कुनै नाममा परिणत गर्न खोज्यौ , म झस्किएँ , यहीसँगै एउटा त्रास पनि सँगसँगै जन्मिन थालेको थियो जसले मलाई भयभित बनाउन थाल्यो । त्यो प्रेमको प्राप्ति पछि के ? अर्थात तिमीलाई मैले र मैले तिमीलाई प्राप्त गरिसकेपछिको जीवन पक्कै पनि पहिलेजस्तो हुँदैन । प्रत्येक दिन मलाई नयाँ लाग्ने तिमी कत्ति छिटै पुरानी हुन्थ्यौ होला । हाम्रो प्रेमले धरातल पाइसकेपछि स्वाभाविक मानवीय गुणहरु र व्यवहारहरुभन्दा माथिको स्थानमा “प्रेम” रहने प्रश्न नै हुँदैनथ्यो होला । हुनसक्छ यही प्रेम गुमाउँछु कि भन्ने त्रास थियो मभित्र ।

तिम्रा आँखाहरुका भावभंगीमा अनौठो आकर्षण थियो जुन मलाई औधी मन पर्दथ्यो । तर विवाहपछि तिम्रा नयनहरुको चञ्चलतामा गम्भीर्यता आउँथ्यो होला जुन कुराले मलाईं काँडाले झै घोच्दै जाने थियो होला । तिम्रो र मेरो बीचको विश्वासमा विभिन्न परिस्थितिका कारण शंका र उपशंकाहरुले प्रश्रय पाउने थियो । जुन म कदापि चाहँदैन थिएन । भौतिक स्वार्थ र आवश्यकताहरुले हाम्रो प्रेमको न्यानो आश्रयमा धावा बोल्न सक्थ्यो भन्ने कुराको संशय ममा थियो । त्यसैले मैले आत्मानुभूति गर्ने प्रेम सधैँका निम्ति समाप्त गर्न चाहँदैन थिएँ । विवाहपश्चातको नयाँ संसारको अवतरणमा तिमी र म केवल एउटा नातामा सीमित रहन्थ्यौ होला । हामी एकअर्काका नजिक आउँथ्यौ , तर प्रत्येक पटक हामी नजिक आउँदा एकअर्काका प्रत्येक कुरासँग परिचित हुन्थ्यौ । मलाई लाग्न सक्थ्यो तिमी पुरानी भैरहेकी छौ । विवाहअघि गौण हुने गरेका सम्पत्ति , पैसा , भौतिक सुखसुबिधाजस्ता कुराहरु विवाहपश्चात् तिनकै वर्चस्वले सम्बन्धका आधारहरु निर्धारण गरिदिन्छन् ।

जीवनका उल्झनहरुमा अल्झिदा भने तिमी मलाई आफूसँग नभएकै ठीक लाग्छ । सम्बन्धको कुनै नाममा नअटाउने तर सबै सम्बन्धहरुभन्दा बेग्लै सुवास आउने सम्बन्ध नै प्रेम हो । प्रेम छचल्किने सबैभन्दा सरल र सहज माध्यम आँखाबाहेक अरु कुनै हुनसक्ला र ? तिम्रा आँखाहरुमा म सधैँ आफूलाई देख्थेँ , तिमीले पनि आफूलाई मेरा आँखाभित्र देख्थ्यौ होला । बिना नापतौल र समाप्तिको वास्ता नगरिकन , उमेरको दायराभन्दा पनि पर बग्नसक्ने प्रेम मैले अनुभव मैले गरेको थिएँ । राधा र कृष्णको प्रेमले कुनै नाम लिएको भए उनीहरुको प्रेम पनि पवित्रताको धर्ममा पक्कै अडिन सक्दैनथ्यो होला । सायद प्रेममा केही छुट्नुपर्छ ,त्याग्नुपर्छ अनि त्यसको जीवन्तता चीरस्थायी रुपले रहिरहन्छ । अप्राप्य चिज सधैँ सुन्दर हुन्छ । मलाई तिमी अप्राप्य भएरै नै सधैँका लागि प्राप्त गर्नु थियो । यदि तिमी मलाई एउटा असफल वा पराजित प्रेमीको संज्ञा दिन्छौ भने पनि मलाइ स्वीकार्य छ । तिमीलाई लाग्नसक्छ म कस्तो यथास्थिथिवादी । शायद हो पनि जब प्रेमले कुनै आकार लिन्छ त्यसपश्चात् त्यसको स्वरुप समय कालान्तरमा परिवर्तित हुँदै जान्छ । प्रेमको अन्त सुन्दर नै हुन्छ भन्ने कुराको कुनै निश्चितता पनि त हुँदैन । त्यो परिभाषाको कुनै अर्थ रहँदैन ।

तिमीलाई म सधैँ आफूभन्दा माथि राख्न चाहन्थेँ । अहिले पनि छौ । यदि हामी विवाहको बन्धनमा बाँधिन पुगेको भए मेरो पुरुषत्व र समाजले बाँधिदिएको पगरीले तिमीलाई मभन्दा माथि हुन दिँदैनथ्यो । हेर न ! प्रकृतिको क्यानभाषमा उत्रेको सुन्दर चित्र जस्तै तिम्रो र मेरो प्रेम स्थायीरुपमा विचरण गर्छ मेरो मुटुमा जसलाई कुनै पनि क्रुतुले यसलाई फरक पार्दैन यो बगिरहन्छ । न कुनै गुनासो न कुनै आरेस , न कुनै प्रतिस्पर्धा बिल्कुलै स्वच्छन्द , जता हराए पनि प्रकृतिकै अवयवहरुमा हराउने , कसैलाई नखट्किने , मेटिदै नमेटिने प्यासजस्तो बनाउनु थियो मैले मेरो प्रेमलाई । म आफूलाई इमान्दार ठान्छु । मैले प्रेमको शुद्ध स्वरुपलाई आफूभित्र जीवित राखेकै छु जो जीवनको जुनसुकै पडावहरुमा एकैनासको रहन्छ । र, सधैँ मनमा पल्लवित भइरहन्छ ।