अमेरिकामा यतिबेला ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेको छ। यस्तो अवस्थामा लेखक कलाकारले समेत आन्दोलनलाई साथ दिइरहेका छन्। एक जना लेखिकाले भने आफू श्वेत लेखिका भएकै कारण अन्य काला जातिका लेखकहरूभन्दा बढी रकम पाएको खुलासा गरेकी छन्।
लिडिया केस्लिङले पहिलो उपन्यास द गोल्डेन गेटका लागि २ लाख डलर रकम अग्रिम रूपमै पाएको र यस्तो सौभाग्य कमै काला जातिका लेखकहरूले पाउने भन्दै आफ्नो धारणा राखेकी छन्।
साथै उनले पहिलो पटक लेखनमा उत्रिएका काला उपन्यासकारहरूले उनीहरूले पनि बराबर किसिमको रकम पाउनुपर्ने पनि माग गरेकी छन्।
यतिबेला विभेद हटाउन लेखकहरूले पहिलो उपन्यासमा पाएको रकम खुलासा गरिरहेका छन्। उनले ट्वीटरमार्फत सो रकम पाएको उल्लेख गरेकी हुन्। उनले लेखेकी छन्, ‘मेरो पहिलो उपन्यास छापिनुअघि नै मैले २ लाख डलर अग्रिम रूपमा पाएकी थिएँ। पुस्तक बिक्रीका हिसाबले त्यो रकम निकै नै धेरै थियो।
उनले लेखेकी छन्, ‘मलाई के पनि थाहा छ भने काला जातिका लेखकहरूका पुस्तक मेरोभन्दा बढी बिक्री भएका छन् तर तिनले भने मैले जति पनि पैसा नपाएका हुन सक्छन्। मैले यो कुराको खुलासा तिनै कुराहरू बाहिर आऊन् भनी गरेकी हुँ।’
अमेरिकामा ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेका बेला अमेरिकाभरिका लेखकहरूले काला लेखकहरूले पनि उत्तिनै महत्त्व पाउनु पर्ने भन्दै अभियान शुरू गरेका छन्। टोची ओन्येबुची र एलएल म्याकिनीले प्रकाशन उद्योगले पनि विभेद हटाउन भूमिका खेल्नुपर्ने भन्दै यो अभियान शुरू गरेका थिए।
अमेरिकामा जर्ज फ्लोइड नामक काला जातिका एक व्यक्तिलाई प्रहरी हिरासतमा मारिएको घटनापछि त्यहाँ ब्ल्याक लाइभ्स म्याटर आन्दोलन चलिरहेको छ। यसै सन्दर्भमा कतिपय लेखकहरूले चेतनाको दियो बाल्न लेखकहरूले खेलेको भूमिकाका बाबजुद पनि काला जातिका लेखकहरूको उन्नयनका लागि कमै बोलिएको भन्दै आलोचना हुन थालेपछि लेखकहरू बोल्न थालेका हुन्।
ओन्येबुचीले भने, ‘प्रकाशकहरूले ब्ल्याक लाइभ्स म्याटरका नाउँमा विज्ञप्ति जारी गर्दै यस किसिमको आन्दोलनमा आफ्नो समर्थन रहेको बताए पनि उनीहरू स्वयंले काला लेखकहरूलाई उनीहरूको क्षमताका आधारमा दिइनुपर्ने पारिश्रमिक दिइँदैन। यस्ता ढोंगी प्रकाशकले विज्ञप्ति ननिकालेकै वेश।’
यस अभियानलाई सघाउँदै जेस्मिन वार्डले २०११ मा नेसनल बुक अवार्ड जितेको उपन्यास ‘सिङ, अनबरिड सिङ’का लागि आफूले १ लाख डलर अग्रिम भुक्तानी पाएको बताएकी थिइन्। उनको यो तेस्रो उपन्यास थियो।
यसैगरी ‘रे जेनी’ उपन्यासकी अमेरिकी-कोरियाली लेखक पेट्रिसिया पार्कले पनि ट्विटरमा लेखेकी छन्, ‘प्रायः हामीले आफ्नै समुदायका व्यक्तिले के कस्तो रकम पाएका छौँ भनी खोतल्दा रहेछौँ। मैले जति पाएँ, मेरो समुदायका लेखकहरूले पाए जत्ति छ कि छैन भनी खोजिदोरहेछ।
साहित्यिक एजेन्सी चलाइरहेका रयान फिचर हार्बेज भन्छन्, ‘सबै लेखकहरूलाई उनीहरूको क्षमताका आधारमा पारिश्रमिक दिने कुरामा ढिलाइ गर्न हुँदैन। तपाईं गोरो छालाको या कालो छालाको कारणले पाउनुपर्ने रकम घटबढ हुनुहुँदैन।’



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

