

पहिले यो गजल पढ्नुहोस्:
मिल्यो चिठी खाम खोलिएको
रहेछ बन्दी, पठाइएको
सहज तरहले नखुल्ने भो द्वार
नियम नियममै छ बाझिएको
उनी गफाडी भएर होला
नमच्चिने पिङ छ मच्चिएको
सुहाउने हो कि यो मलाई
छ श्वेतमा श्याम पोतिएको
बहस नगर्नुस् तपाईंले अब
विवाद उहिल्यै हो टुङ्गिएको
रहस्य भित्रै रहोस् म भन्थेँ
देखाइहाल्यौ नदेखिएको
बसेछ बानी नचाहँदा नै
दबावमा मात्र हो पिएको
नजिक जसै देखियो निषाद
खस्यो चरा उड्न तम्सिएको
अर्कान—१२१२२.१२१२२

डा. घनश्याम न्यौपाने परिश्रमी
मतला:
मतला शब्दको अर्थ हो ‘प्रारम्भ’ । गजलको पहिलो सेरलाई मतला भनिन्छ । तपाईंले हरेक दिन अभ्यासमा सुरुमा एउटा एउटा गजल पढ्नुभएको छ । तपाईंद्वारा माथि पढिएका सबै गजलका पहिला सेरहरू मतला हुन् । मतलाका दुबैै मिसरामा काफिया र रदिफको प्रयोग हुन्छ । (यदि गैरमुरद्दफ गजल भए मतलामा पनि रदिफ रहँदैन ।) एउटैै गजलमा दुर्ई सेरका मतला पनि हुन सक्छन् । दुईवटा मतला भएमा पहिलो मतलालाई मतला ए उला र दोस्रो मतलालाई मतला ए सानी वा हुस्ने मतला भनिन्छ । कसै कसैले उपयुक्त मतला बनाउन नसकेर दुबैै मिसरामा काफिया र रदिफको सन्तुलनको नियम उल्लङ्घन पनि गर्दछन् । त्यसो त काव्यशास्त्रका अनुसार गजलको मतला सानुप्रासान्त हुनै पर्छ भनी अनिवार्य गरिएको छैन; तर पनि यो नियम रूढ बनिसकेको छ । त्यसैले गजल भनेपछि मतला आवश्यक जस्तै देखिन्छ । मतलाविनाको गजल शिरविनाको शरीरजस्तै हुन्छ । वस्तुतः मतलाको व्यवस्थापनले गजललाई वाचन वा गायनमा श्रुतिमधुर बनाउनका लागि महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ । गजलकारले वाचन गर्दा वा गायकले गाउँदाखेरि प्रत्येक सेरहरूपछि मतलाको पुरावृत्ति गर्दछन्, जसबाट एक प्रकारको श्रुतिमधुरता र झङ्कारमयता प्रकट हुन्छ । यसर्थ काफियाका दुवै मिसरामा सन्तुलित रूपमा प्रयोग भएको मतला हुनु गजलका लागि आवश्यक नै ठान्नु उपयुक्त हुन्छ । यसलाई गीतको स्थायी अंश जस्तै मान्न सकिन्छ । हेनुहोस्, तपाईंद्वारा माथि पढिएका केही गजलका पहिला सेरहरू अर्थात् मतला ।
थियो जहाँ रम्य फूलबारी
त्यहीँ म देख्दै छु सिस्नुघारी
नाफामुखी उनी छन् ठूलो पसल छ उनकै
महँगो गरेर के भो व्यापार चल्छ उनकै
बोल्छौ मधुर तर अदब छाडा झैँ
लाग्छौ तिमी भ्रष्टका चम्चा झैँ
यता अँध्यारो, उता उज्यालो नजिर छँदै छ
नदी छ बग्दै, बगर सुतेकै छ, तिर छँदै छ
मिल्यो चिठी खाम खोलिएको
रहेछ बन्दी, पठाइएको
मक्ता र तखल्लुसः
गजलको अन्तिम सेरलाई मक्ता भनिन्छ । यस शब्दले ‘समाप्ति’ वा ‘काटिएको’ भन्ने अर्थ बुझाउँछ । यसबाट के स्पष्ट हुन्छ भने ‘मक्ता’ भनेको गजललाई टुङ्गयाउने अवयव वा अन्तिम सेर हो । मक्ताका मिसरामा साधारणतः गजलकार/कविगण आफ्नो तखल्लुख पनि प्रयोग गर्दछन् । तखल्लुस भनेको कविको छोटो नाम वा उपनाम हो । गजल सिद्धान्तका केही व्याख्याताहरूले तखल्लुस प्रयोग नभएको सेरलाई मक्ता भन्न मिल्दैन, अन्तिम सेर भन्नुपर्छ पनि भनेका छन् । वस्तुतः यो भनाइ युक्तिसङ्गत छैन । यदि अन्तिम सेरभन्दा पूर्ववर्ती सेरहरूमा गजलकारले तखल्लुस प्रयोग गरेमा त्यो सेर नै मक्ता बन्दैन । मक्ता भनेको गजललाई टुङ्गयाउने अन्तिम सेर हो । जसमा गजलकारले तखल्लुस प्रयोग गर्न पनि सक्छ, नगर्न पनि सक्छ । तखल्लुस गजलार्थ अपरिहार्य तत्त्व होइन । यसको प्रयोग मूलतः अर्थको चमत्कार र गजलकारको चिनारीका लागि गरिएको हुन्छ । तखल्लुसमा प्रतीकात्मक अर्थ सन्निहित भएमा अझ राम्रो मानिन्छ ।
तखल्लुस प्रयोग भएका मक्ताका उदाहरणका लागि केही सेरहरू अवलोकन गर्नुहोस्ः
म भन्दै थिएँ हे हरी होस राखे
हरे हेर मोती हराएर आए
– मोतीराम भट्ट
भुलेछन् कि साँच्चै घनश्यामलाई
खुसी छन् महलमा बसेका सुदामा
– डा. घनश्याम परिश्रमी (निभेका शिखा—गजल ८५)
केही प्रश्नहरू:
मतला भनेको के हो ?
मक्ता भन्नाले गजलको कुन अङ्गलाई बुझिन्छ ?
तखल्लुस भनेको के हो र यसको प्रयोग कुन सेरमा गरिन्छ ?
मतला ए सानी भनेको के हो ?



