असोज महिना चाडबाडमय रह्यो । नेपालीका दुई ठुला सांस्कृतिक पर्व दसैं असोजले मनायो । साथै, कात्तिकमा मनाइएको तिहारको रौनकले पनि असोजलाई नछोइरहन सकेन । असोजले चाडबाडले गाउँघर र परिवारमा खुसीयाली मात्र ल्याएन, सँगै नेपाली पुस्तक बजारमा हरियालीसमेत ल्याइदियो ।

असोज महिनाको पुस्तक बिक्रीलाई लिएर बिक्रेताहरु उत्साहित देखिएका छन् । लामो समयदेखि धरासायी अवस्थामा रहेको पुस्तक बजारलाई गत भदौ महिनामा आएका दुई पुस्तक ‘इजोरिया’ र ‘बाआमा’ले तरङ्गीत बनाएको बताउँछन् पुस्तक व्यवसायी । साथै, पछिल्लो समय प्रकाशनमा आएका हृदय, विचारभन्दामाथि देश, फुर्के, मफलतलगायत पुस्तकले इजोरिया र बाआमाले ल्याएको तरङ्गलाई उचाइ दिएका छन् ।

प्रकाशनको दोस्रो महिना, असोजमा पनि युवापुस्ताका लोकप्रिय लेखक सुविन भट्टराईको उपन्यास ‘इजोरिया’ले आक्रमक व्यापार गरिरहेको छ । देशभरबाट प्राप्त रिपोर्टका अनुसार असोज महिनाको बेस्ट सेलर सूचीको पहिलो स्थानमा ‘इजोरिया’ पर्न सफल भएको छ । बिक्रेताबाट प्राप्त सबैजसो रिपोर्टमा इजोरियो पहिलो स्थानमा रहेको छ । भदौ महिनाको बेस्ट सेलर सूचीमा पनि यो उपन्यास पहिलो स्थानमा रहेको थियो ।

नेपाली साहित्यमा सुविनका आफ्नै पाठक छन् । अन्य लेखकलाई नपढ्ने पाठकको सङ्ख्या ठुलो छ, जसले सुविनलाई खोजीखोजी पढ्छन् । पुस्तकको बिक्री आक्रकमको हुनुको कारण पनि तिनै पाठक हुन् । नेपाली पुस्तकको बजारको २० प्रतिशत आफूसँग भएको दाबी गर्ने अनलाइन पुस्तक बिक्रेता किताब किरोका सञ्चालन तारानीधि रेग्मी ‘इजोरिया’को करिब १० हजार प्रति आफूले बेचिसकेको बताउँछन् ।

असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दोस्रो स्थानमा मुटुरोग विशेषज्ञ डा. भगवान् कोइरालाको आत्मकथा ‘हृदय’ रहेको छ । डा. कोइरालाको व्यक्तित्व तथा विशिष्टकृत बाल अस्पताल निर्माणको लोककल्याणकारी कार्यसमेत पुस्तकसँग जोडिएको हुनाले बिक्री उत्कृष्ट रहेको बिक्रेताहरुको अनुभव छ । अघिल्लो महिनाको सूचीको दोस्रो स्थानमा रहेको रामलाल जोशीको कथासङ्ग्रह ‘बाआमा’ यो महिनाको सूचीको तेस्रो स्थानमा रहेको छ ।

पूर्वपत्रकार, राजनीतिकर्मी रवीन्द्र मिश्रको राजनीतिक दस्ताबेजको पुस्तकाकार ‘विचारभन्दा माथि देश’ बेस्ट सेलर सूचीको चौथो स्थानमा रहन सफल भएको छ । बिबिसिको नेपाली सेवाका रहेर काम गर्दाको उनको व्यक्तित्वको प्रभाव पुस्तक बिक्रीमा समेत देखिएको छ । साथै, राजनीतिक पुस्तक तथा दस्ताबेज पढ्न रुचाउने पाठकहरुको रोजाइमा यो पुस्तक परिरहेको बिक्रेताहरुले बताएका छन् ।

अघिल्लो महिनाको सूचीको तेस्रो स्थानमा रहेको मदन पुरस्कार विजेता कृति ‘अग्नि’ सूचीको पाँचौँ स्थानमा रहेको छ भने पाँचौं स्थानमा रहेको ‘मायाका मसिना अक्षर’ सूचीबाट बाहिरिएको छ । त्यस्तै, अघिल्लो महिना बेस्ट सेलर सूचीमा अटाएका समर लभ, कुलचन्द्र गौतमको आत्मकथा, आमाको मुटु, पानीघट्ट र सन्तापको धूनसमेत सूचीबाट बाहिरिएका छन् ।

हेर्नुहोस्, बिक्रेताहरुको अनुभव तथा पुस्तकको छोटो परिचयसहित असोज महिनाको बेस्ट सेलर सूचीमा समावेश पुस्तकहरु:

१. इजोरिया – सुविन भट्टराई

किशोर तथा युवापुस्तामाझ बहुचर्चित लेखक सुविन भट्टराईको पाचौं उपन्यास ‘इजोरिया’ असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको पहिलो स्थापन पर्न सफल भएको छ । बिक्रेताबाट प्राप्त सबैजसो रिपोर्टमा सुविनको उपन्यास इजोरियो पहिलो स्थानमा रहेको छ । अघिल्लो महिना (भदौ) मा पनि सूचीको पहिलो स्थानमा रहेको उपन्यास ‘इजोरिया’ले प्रकाशनमा दोस्रो महिनामा समेत आक्रमक व्यापार जारी राखेको छ ।

इजोरिया मैथिली शब्द हो जसको अर्थ ‘जुनेली’ हुन्छ । उपन्यासमा सुबिनले पारिवारभित्र देखिने प्रेम, घृष्णा र द्वन्द्वलाई कथाका रुपमा उतारेका छन् । यसअघिका उपन्यासहरूमा काठमाडौं केन्द्रित देखिएका सुविनले इजोरियामा मधेशको परिवेशमा समाएका छन् ।

नेपाली साहित्यमा सुविनका आफ्नै पाठक छन् । अन्य लेखकलाई नपढ्ने पाठकको सङ्ख्या ठुलो छ, जसले सुविनलाई खोजीखोजी पढ्छन् । पुस्तकको बिक्री आक्रमकको हुनुको कारण पनि तिनै पाठक हुन् । नेपाली पुस्तकको बजारको २० प्रतिशत आफूसँग भएको दाबी गर्ने अनलाइन पुस्तक बिक्रेता किताबकिरोका सञ्चालन तारानीधि रेग्मीले ‘इजोरिया’को करिब १० हजार प्रति आफूले बेचिसकेको बताएका छन् ।

पुस्तकलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।

२. हृदय – भगवान् कोइराला

असोज महिनाको ‘साहित्यपोस्ट बेस्ट सेलर सूची’को दोस्रो स्थानमा वरिष्ठ डा. भगवान् कोइरालाको आत्मकथा ‘हृदय’ पर्न सफल भएको छ । प्रकाशकले ‘हृदय’को पहिलो चरणमा २५ हजार मूल्य अंकित २५ सय प्रति प्रकाशनमा ल्याएको थियो । साथै, कम मूल्यमा पुस्तकको नियमित संस्करण समेत बजारमा आएको छ । प्राप्त रिपोर्टका अनुसार ‘नियमित संस्करण’को बिक्रीमा आधारमा हृदय यो सूचीको दोस्रो स्थानमा पर्न सफल भएको हो । विशिष्टकृत संस्करणको बिक्रीलाई सूचीमा समावेश गरिएको छैन ।

‘हृदय’लाई विशिष्टकृत र नियमित गरी दुई संस्करणमा प्रकाशनमा ल्याइएको थियो । बाह्र हजारभन्दा बढी मानिसको मुटुको शल्यक्रिया गरेका डा. कोइरालाले नेपालमा बालबालिकाको उपचारका निम्ति बहुविशिष्टीकृत अस्पतालको अभाव महसुस गरे । त्यही अभाव कम गर्न र पैसा अनि पहुँच नभएका वा भएर पनि नेपालमा उपचार सम्भव नभएका कारण कुनै पनि बालबालिकाले ज्यान गुमाउनु नपरोस् भन्ने हेतुले बाल अस्पताल निर्माणको योजना बनाए । सातै प्रदेशमा अस्पताल निर्माणको खाका कोरेका कोइराला र उनको समूहले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ, केन्द्रीय अस्पताल भवन निर्माणको काम सुरू गरिसकेको छ । विशिष्टकृति संस्करणको बिक्रीबाट कुनै पनि खर्च नकटाइ सम्पूर्ण रकम विशिष्टकृत बाल अस्पताललाई जाने प्रकाशक फाइन प्रिन्टले जनाएको छ । साथै, नियमित संस्करणबाट डा. कोइरालालाई प्राप्त हुनआउने लेखस्वको ५० प्रतिशतसमेत अस्पताल निर्माण अभियानमा जानेछ ।

डा. भगवान् कोइरालको जीवनप्रति आमजनताको चासो हुनु अस्वभाविक होइन । डा. कोइरालाको व्यक्तित्व तथा विशिष्टकृत बाल अस्पताल निर्माणको लोककल्याणकारी कार्यसमेत पुस्तकसँग जोडिएको हुनाले बिक्री उत्कृष्ट रहेको बिक्रीताहरुको अनुभव छ । बैद्धिकदेखि युवापुस्तासम्मका सबैखाले पाठकहरुको ध्यान ‘हृदय’ले खिचिरहेको बिक्रेताहरुले बताएका छन् ।

३. बाआमा – रामलाल जोशी

कथासङ्ग्रह ‘ऐना’का लागि मदन पुरस्कार विजेता रामलाल जोशीको दोस्रो कथाकृति ‘बाआमा’ असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको तेस्रो स्थानमा रहन सफल भएको छ । भदौ महिनाको सूचीको तेस्रो स्थानमा रहेको बाआमा ‘हृदय’को प्रवेशसँगै तेस्रो स्थानमा झरेको हो । यो पुस्तक नेपाली साहित्यका नियमित पाठकहरूको पहिलो रोजाइमा परिरहेको बिक्रेताहरु बताउँछन् ।

बाआमा विशेषतः सृष्टिको कथा हो । सम्बन्धको कथा हो । कथाकार जोशीले सन्तान र बाआमाको सम्बन्धलाई अत्यन्तै गहन र उत्कृष्ट शब्दशिल्पले कथाका रूपमा प्रस्तुत गरेका छन् । कथा बुनिएका मात्र छैनन्, एकअर्कामा उनिएका पनि छन् । कृतिमा सङ्ग्रहित समग्र कथाहरू पढिसक्दा उपन्यास पढेको भान हुन्छ, तर प्रत्येक कथाहरू आफैंमा पूर्ण छन् ।

प्रकाशक बुकहिलको आक्रमक मार्केटिङका कारण सुरूबाट पुस्तकले उत्कृष्ट व्यापार गरेको थियो । दोस्रो महिनामा आइपुग्दा पाठकहरुबाट राम्रो प्रतिक्रिया पाएका कारणले पुस्तकको बिक्रीको ग्राफ उकालै रहेको बिक्रेताहरु बताउँछन् । साथै, जोशीको ‘मदन पुरस्कार’वाला व्यक्तित्वले समेत पुस्तक बिक्रीमा सकरात्मक प्रभाव रहेको उनीहरुको अनुभव छ ।

४. विचारभन्दा माथि देश – रवीन्द्र मिश्र

राजनीतिकर्मी रवीन्द्र मिश्रको पुस्तक ‘विचारभन्दा माथि देश’ असोज महिनाको बेस्ट सेलर सूचीको चौथो स्थानमा रहेको छ । देशभरबाट प्राप्त रिपोर्टका अनुसार पूर्वपत्रकार मिश्रको सिद्धान्तपरक पुस्तक ‘विचारभन्दा माथि देश’ बिक्रीका हिसाबमा चौथो स्थानमा रहेको देखिएको हो । मिश्रले पुस्तकमा मुख्यतः ‘संवैधानिक राजतन्त्र’, ‘सङ्घीयता खारेजी’, ‘हिन्दु–बौद्ध राष्ट्र’ र ‘कल्याणकारी (सामाजिक) लोकतन्त्र’ गरी चार अवधारणालाई पुस्तकमार्फत् अघि सारेका छन् ।

नेपाललाई इतिहासका गल्ती र भविष्यका चुनौतीको कसीमा राखेर हेर्ने हो भने अब पृथ्वीनारायण शाहको ‘दिव्य उपदेश’ र बिपी कोइरालाको ‘राष्ट्रिय एकता र मेलमिलापको नीति’लाई समायोजित रूपमा अङ्गीकार गर्नुको विकल्प नभएको रवीन्द्र मिश्रले पुस्तकमा उल्लेख गरेका छन् । मिश्रले पुस्तकमा लेखेका छन्, ‘हामीभन्दा माथिको पुस्ताले स्वार्थकेन्द्रित नभई राष्ट्र–केन्द्रित राजनीति गरिदिएको भए आज देशको अर्थतन्त्र, सहर–बजार र स्वाभिमानको स्थिति यति नाजुक हुने थिएन । ६०/७० लाख युवा बिदेसिन बाध्य हुने थिएनन्। आफ्नो सुविधा, लाभ, पद, प्रतिष्ठा र आसन्न चुनावलाई मात्र केन्द्रमा राखेर गरिने राजनीति राष्ट्रघात हो। आफ्नै लागि त जीवनमा गर्न सकिने अरू धेरै काम छन्, राजनीति गर्न पर्दैन। राजनीति भनेको देशकै लागि गर्ने हो। त्यसैले, कम्तीमा ३० वर्षपछिको नेपाललाई मनन गरेर यी विषय उठाएको हुँ ।’

पछिल्लो समय राप्रपा प्रवेश गरेका मिश्र आउँदो संसदीय चुनावका लागि काठमाडौं क्षेत्र नम्बर १ का उमेद्वार हुन् । बिबिसिको नेपाली सेवाका रहेर काम गर्दाको उनको व्यक्तित्वको प्रभाव पुस्तक बिक्रीमा समेत देखिएको छ । साथै, राजनीतिक पुस्तक तथा दस्ताबेज पढ्न रुचाउने पाठकहरुको रोजाइमा यो पुस्तक परिरहेको बिक्रेताहरुले बताएका छन् ।

पुस्तकलाई फाइन प्रिन्टले प्रकाशनमा ल्याएको हो ।

५. अग्नि – डा. नवराज लम्साल

२०७८ का लागि मदन पुरस्कार विजेता डा. नवराज लम्सालको महाकाव्य ‘अग्नि’ असोज महिनाको सूचीको पाँचौँ स्थानमा रहेको छ । प्राप्त रिपोर्टका अनुसार अघिल्लो महिना सूचीको तेस्रो स्थानमा रहेको ‘अग्नि’ दुई स्थान तल झर्दै पाँचौँ स्थानमा पुगेको हो ।

विशेषगरी जातको आधारमा हुने छुवाछुत र सनातन उत्पीडनको लामो कथालाई लम्सालले महाकाव्य ‘अग्नि’मार्फत उजागर गरेका छन् । समकालीन नेपाली साहित्यका प्रतिनिधि कवि, गीतकार तथा नेपाली सञ्चार क्षेत्रका अग्रणी व्यक्ति डा. लम्साल लामो समयदेखि रेडियो नेपाल तथा बीबीसी नेपाली सेवासँग सम्बद्ध हुनुहुन्छ । समकालीन चेतनाको जगमा पूर्वीय दर्शन र मिथकलाई हेर्ने , देशको बहुलता र विविधतालाई नजिकबाट अनुभूत गर्ने र सीमान्तकृत पात्र , प्रवृत्ति र तिनको पहिचानलाई मूल प्रवाहमा ल्याउने सन्दर्भ डा। लम्सालका लेखनका खास विशेषता मानिन्छन् ।

बुकहिल प्रकाशन गृहले प्रकाशनमा ल्याएको यो पुस्तकको बिक्री सुखद् हुनुको कारण बिक्रेताहरूले ‘मदन पुरस्कार’का साथै कृतिकारको व्यक्तित्वलाई मानेका छन् । यसअघि डा. लम्सालका दुईवटा महाकाव्य ‘कर्ण’ र ‘धरा’ प्रकाशित छन् ।

६. फुर्के – खगेन्द्र लामिछाने

बहुआयामिक कलाकार खगेन्द्र लामिछानेको नवीनतम उपन्यास ‘फुर्के’ असोज महिनाको सूचीको छैटौं स्थानमा रहन सफल भएको छ । देशभरबाट प्राप्त रिपोर्टलाई आधार मान्दा उपन्यास ‘फूर्के’ बिक्रीका हिसाबमा सूचीको छैटौं स्थान रहेको देखिएको हो । अभिनयमार्फत सधैं केही न केही नयाँ प्रस्तुति दिइरहेका अभिनेता खगेन्द्र लामिछानेले उपन्यास ‘फुर्के’मा कुकुरको आत्मकथा कहेका छन् ।

उपन्यासको प्रमुख पात्र फुर्के नामक कुकुरको जीवनका आरोह-अवरोहमा उपन्यास केन्द्रित छ । लामिछानेले मानिसको सबैभन्दा नजिकको साथी र संवेदनशील प्राणी कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन भोगाइका कथाहरूलाई ‘फुर्के’मा प्रस्तुत गर्न खोजेका छन् । पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘मानिसका लागि कुकुर कहिले सुरक्षाकर्मी, कहिले सहयोगी, त कहिले साथी बन्दै आइरहेको छ । अन्य प्राणीभन्दा अलि कढी संवेदनशील कुकुरको मान्छेसँगको सम्बन्ध, मानव समाजलाई हेर्ने उसको दृष्टिकोण र उसको जीवन–भोगाइका संवेदनाहरुलाई उसैको भाषामा प्रस्तुत गरिएको किताब हो – फुर्के ।’

पुस्तकको बिक्री सन्तोषजन हुनुमा मुख्य प्रभाव अभिनेता लामिछानेको बहुआयामिक व्यक्तित्वको रहेको बताउँछन् बिक्रेताहरु । नेपाली साहित्यमा कुकुरमाथि लेखिएको साहित्य कमै भएकाले फरक विषयवस्तुका कारण पनि बिक्री सन्तोषजनक रहेको बिक्रेताहरुको अनुभव छ ।

पुस्तकलाई बुकहिल प्रकाशन गृहले बजारमा ल्याएको हो ।

७. मफलर – प्रदीप रोदन

असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको सातौं स्थानमा पछिल्लो समयका चर्चित गजलकार प्रदीप रोदनको गजलसङ्ग्रह ‘मफलर’ रहेको छ । प्राप्त रिपोर्टका अनुसार बिक्रीका हिसाबले बेस्ट सेलर सूचीकाे दसभित्र गजलसङ्ग्रह अटाउन सफल भएको छ ।

‘मफलर’ साहित्यपोस्ट बेस्ट सेलर सूचीमा सूचिकृत पहिलो गजलसङ्ग्रह भएको छ । यसर्थ, मफलरले गजललाई सुनाउने विधामात्र नभएर पुस्तकका रुपमा बिक्रीसमेत हुने विधाको रुपमा मानव स्थापित गराएको छ । सम्भवत: नेपालको सफल प्रकाशक फाइन प्रिन्टबाट प्रकाशित पहिलो गजलसङ्ग्रह पनि यही नै हो ।

पुस्तकमा रदिफ र काफियामा बाँधिएका १०८ गजल र मन्त्र जस्ता १०८ फर्दहरु समावेश छन् । रोदनको लोकप्रियताको सकरात्मक प्रभाव बिक्रीमा देखिएको बिक्रेताहरुको अनुभव रहेको छ ।

गोरखा पालुङटार पाण्डेबेसी जन्मथलो भएका प्रदीप रोदनको कर्मथलो पनि यहीँ हो । उनी आफ्नै गाउँको सरकारी विद्यालयमा शिक्षक छन् । देशविदेशका विभिन्न कार्यक्रम र सामाजिक सञ्जालमा आफ्ना गजल प्रस्तुत गरेर धेरैको मन जितेका रोदनको पहिलो गजलकृति हो, ‘मफलर’ । उनले ०७३ सालमा ‘लोकप्रिय गजलकार अवार्ड’, ०७५ सालमा ‘उत्कृष्ट युवा प्रतिभा पुरस्कार’ र ०७९ सालमा ‘साताको साहित्य पुरस्कार’ पाएका छन् ।

८. तुषानल – देवप्रकाश त्रिपाठी

तीन दशकभन्दा बढी समयदेखि पत्रकारितामा सक्रिय देवप्रकाश त्रिपाठीको कृति ‘तुषानल: नेपाली राजनीतिको अन्तर्य’ असोज महिनाको सूचीको आठौं स्थानमा रहेको छ । देशभरबाट प्राप्त रिपोर्टका अनुसार बिक्रीका हिसाबले तुषानल बेस्ट सेलर सूचीको आठौं स्थानमा रहन सफल भएको हो ।

नेपाली राजनीतिको गर्भमा भएका रोचक तथा संवेदनशील घटनाहरू यस पुस्तकमा समेटिएको छ । पुस्तक विशेषत: राजनीतिमा चासो राख्ने तथा बैद्धिक पाठकहरुको रोजाइमा परिरहेको छ । लेखकको पत्रकार व्यक्तित्व तथा पुस्तकले समेटेको गम्भीरताको सकरात्मक प्रभाव बिक्रीमा परिरहेको बिक्रेताहरुले बताएका छन् ।

यसअघि त्रिपाठीका जगत् र पर्यावरणमा आधारित काल्पनिक उपन्यास ‘प्रलय प्रारम्भ’ र ऐतिहासिक घटनामा आधारित ‘महानिशा’ प्रकाशित छन् । पुस्तकलाई पैरबी बुक्स हाउसले प्रकाशनमा ल्याएको हो ।

 

९. सत्यमोहन -गिरीश गिरी

असोज ३० गते नेपाली वाङ्मयलाई अपुरणीय क्षति महसुस गराउँदै १०३ वर्षको उमेर महाप्रस्थान गरेका संस्कृतिविद् शताब्दी पुरूष सत्यमोहन जोशीको आत्मकथा “सत्यमोहन” असोज महिनाको सूचीको नवौं स्थानमा रहेको छ । देशभरबाट प्राप्त रिपोर्ट जोशीको आत्मककथा बिक्रीका हिसाबको सूचीको नवौं स्थानमा रहेको देखाएको छ ।

आत्मकथामा राणाकालको अन्तिम दशकदेखि कोरोनाकालसम्म जोशीले भोगेका, देखेका र अनुभूत गरेका भौगोलिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र व्यवहारिक जीवनबारे रोचक शैलीमा वर्णन गरिएको छ । तीनपटक मदनपुरस्कार प्राप्त गरेका जोशी जीवित अवस्थामा हुलाक टिकट प्रकाशन हुने पहिलो आमनागरिक पनि हुन् । साथै, जीवित छँदै तस्बिर अङ्कित मुद्रा निस्किने पहिलो सर्वसाधरणसमेत हुन् उनी ।

डेंगु संक्रमणका कारण केही समयबाट जोशी अस्पतालमै उपचाररत थिए । जोशी अस्वाथ्य भएसँगै पुस्तकको खोजी बढेको बिक्रेताहरुको अनुभव छ । सबै किसिमका पाठक तथा नेवा: समुदायको चासोका कारणले पनि पुस्तकको बिक्री सुखद् रहेको हो । साथै, सङ्ग्रहका हेतुले पनि पुस्तक किन्नेहरूको ध्यान पुस्तकले खिचेको छ ।

बुकहिलले प्रकाशनमा ल्याएको आत्मकथा ‘सत्यमोहन’ गिरीश गिरीले तयार पारेका हुन् ।

१०. अर्को भोर – केशव ज्ञवाली

केशव ज्ञवालीको कथासङ्ग्रह ‘अर्को भोर’ असोज महिनाको साहित्यपोस्ट बेस्ट सेलर सूचीको दसौँ स्थानमा पर्न सफल भएको छ । अघिल्लो महिना सूचीको पाँचौँ स्थानमा रहेको पुस्तकको बिक्रीका हिसाबमा दसौं स्थानमा पुगेको प्राप्त रिपोर्टले बताएको छ ।

वर्ष ०७८ को पद्म श्री पुरस्कार विजेता यो कृति ज्ञवालीको पहिलो पुस्तक हो । पुरस्कार पाएसँगै पुस्तकको बिक्री उच्च हुने अपेक्षा गरिए पनि अपेक्षाअनुसार पुस्तकको बिक्री नभएको रिपोर्टहरुले देखाएको छ ।

यो पुस्तकको बिक्री विशेषतः काठमाडौं बाहिरमा पुस्तक पसलहरुबाट सुखद् भइरहेको छ । समसामयिक कथाहरु रहेको यस सङ्ग्रहलाई शिखा बुक्सले प्रकाशनमा ल्याएको हो ।

साहित्यपोस्ट बेस्ट सेलर सूचीमा अटाएका बाहेक बुद्धिसागका कविता, कुलचन्द्र गौतमको आत्मकथा, धेरैको धपेडी, बुह्रान, छाइल, खुँडी, रैथाने चाडबाड र खानपानलगायत पुस्तकहरुको बिक्रीसमेत सन्तोषजनक रहेको देशभरबाट प्राप्त रिपोर्टले देखाएको छ ।