
अमेरिकामा यतिबेला कुन र कस्ता किताबलाई सार्वजनिक पुस्तकालयमा राखिनु हुन्न र कस्तालाई राखिनुपर्छ भन्नेबारेमा बहस घनिभूत भइरहेको छ । केही विश्लेषकले भने यस किसिमको प्रतिबन्ध मानसिकताले समग्र प्रकाशन उद्योगलाई नराम्रो असर पार्ने बताइरहेका छन् ।
खासगरी अमेरिकाको रिपब्लिकन पार्टीका केही सदस्यहरूले स्कुल तथा सार्वजनिक पुस्तकालयहरूमा कस्ता पुस्तक राख्न दिने र नदिने भन्नेबारे बढी नै अभियान छेड्न थालेका छन् ।
यस्तो अभियान नयाँ हो र ?
केही दशकयता सार्वजनिक पुस्तकालय र विद्यालयहरूमा कस्ता पुस्तक राख्ने र कस्ता नराख्ने भन्नेबारे एउटा अभियान नै चलाउन थालिएको छ । त्यसैले यो पछिल्लो अभियान नयाँ होइन । र, यत्ति नै वर्ष भइसक्यो, अर्को एउटा खेमाले स्वतन्त्र अभिव्यक्तिमाथि एउटा पार्टीले गलत नियतले अभियान चलाएको भन्दै त्यसविरूद्ध अर्को अभियान पनि सँगै चलिरहेको छ । अमेरिकाको सुन्दरता नै अभिव्यक्ति स्वतन्त्रता भएकाले पुस्तक प्रतिबन्ध लगाउनु हुन्न भन्ने कुरा पनि चलिरहेको छ ।
अमेरिकाका केही राज्यहरूमा स्कुलका बोर्ड बैठकहरूमा अभिभावकहरूले एक दर्जनभन्दा बढी पुस्तकको सूची विद्यालय प्रशासनलाई थमाएपछि ती पुस्तकहरू पुस्तकालय र स्कुलका कक्षामा देखा पर्न नहुने भन्दै धम्क्याएका समेत छन् । ती पुस्तकहरूमध्ये अधिकांश रङ्गभेदी, समलैंगिकता र लैंगिकजस्ता कुरा छन् ।
अमेरिकाको शक्तिशाली संस्था पेन अमेरिकाले ३२ राज्यमा २ हजार ५ सय ३२ वटा घटनाहरू पुस्तक प्रतिबन्धबारे कुरा उठेको रिपोर्ट हालै जारी गरेको छ । यसैगरी अमेरिकन लाइब्रेरी असोसिएसन (एएलए)ले त्यस्ता घटना १ हजार ६ सय वटा भएको रिपोर्ट जारी गरेको छ । खासगरी रंगभेदी र लैंगिक अल्पसंख्यक र खासगरी एलजिबिटिक्यु विषयका पुस्तकह यस्तो घानमा परेको र विगत २० वर्षदेखि यस्तो समस्या देखापरेको बताइएको छ । पेन अमेरिकाले त ५० वटा समूहले पुस्तक प्रतिबन्ध लगाउन प्रतिबद्ध रहेको र ती समूहमध्ये शक्तिशाली समूह मम्स फर लिबर्टी रहेको उल्लेख गरेको छ । यसले त २०२० मा ३८ वटा राज्यमा १ लाख सदस्यसमेत बनाइसकेको छ । रोचक त, यसमा गभर्नर, राज्यका प्रमुख वकिल, कानुन निर्माता र स्थानीय अधिकारीहरूसमेत सो जोडबलमा लागिपरेका छन् ।
मम्स फर लिबर्टीले शक्ति कत्तिको देखायो ?
पर्याप्त देखायो । खासगरी यही संस्थाको प्रयत्नका कारण टेक्सस राज्यका गभर्नर ग्रेग एबोटले स्कुले कर्मचारीले ‘अश्लील चरित्र’का पुस्तकहरू विद्यार्थीको पहुँचमा पुर्याएको खण्डमा तिनलाई आपराधिक कार्यका रूपमा मानिनुपर्ने बताएका छन् । राज्यस्तरका सबैभन्दा शक्तिशाली पदमध्ये गभर्नरको पद हो । यति ठूला व्यक्तिले बोलेको कुराले पूरै राज्यमा असर पार्छ ।
ओक्लाहोमा राज्यले त अश्लील चरित्रका सामग्रीहरू शिक्षक तथा लाइब्रेरियनहरूले बाँडेका खण्डमा तिनलाई कानुनी कार्बाहीको बाटो खुला गर्ने भनी कानुन नै बनाइसकेको छ ।

गएको मार्च महिनामा फ्लोरिडा राज्यका गभर्नर रोन डिसान्टिसले ‘अश्लील’ मानिएका वा विद्यार्थीहरूले पढ्न ‘अनुपयुक्त’ ठानिएका पुस्तकहरूलाई प्रतिबन्ध लगाउने, कस्ता पुस्तकलाई पुस्तकालयमा राख्न उपयुक्त हुन्छ भन्नेबारे विद्यार्थीका अभिभावकहरूको सुझावलाई प्रमुख मान्नुपर्ने कानुन नै बनाएका थिए । सान अन्टोनियो प्रशासनले त आफ्नो क्षेत्रमा भएका सबै पुस्तकालयबाट जातजाति, भेदभाव, यौनिकता र लैंगिकताका विषयमा लेखिएका ४०० भन्दा बढी पुस्तकहरूलाई हटाएको छ । त्यस क्षेत्रमा रिपब्लिकन पार्टीका प्रतिनिधि म्याट क्राउसले यस्ता पुस्तकहरूको ४५० भन्दा बढी सूची जारी गरेयता उनले आफ्नो क्षेत्रका स्कुलहरूले ती सूचीका पुस्तकहरू थुपारिएको छ वा छैन भनी अनुसन्धान गर्न आदेश समेत दिएका थिए । प्रतिबन्धविरूद्ध खनिएकाहरू भने यस किसिमको व्यवहारले पुस्तकालयहरूमा ‘सफ्ट सेन्सरसिप’ लागू गर्न थालिएको र यसमा स्कुल प्रशासन तथा पुस्तकालयले चुपचाप ती कुराहरू मान्न थालिएकोमा आपत्ति जनाएका छन् । उनीहरूले रूढिवादीहरूले स्वन्त्रता अभिव्यक्तिमाथि अंकुश लगाउन थालेको आरोपसमेत लगाएका छन् ।
कस्ता पुस्तक घानमा परिरहेका छन् त ?
५० प्रतिशत पुस्तकहरू भने एलजिबिटिक्यु विधाका छन् वा त्यस्ता पात्रहरू भएका पुस्तकहरू छन् । माइया कोबाबेको जेन्डर क्वियर नामक ग्राफिक उपन्यास सबैभन्दा बढी घानमा परेको छ । जर्ज एम. जोन्सनको अल ब्वाइज् आरन्ट ब्लु रहेका छन् । यस्ता सूचीमा लैंगिक अल्पसंख्यकहरूका संस्मरणात्मक पुस्तकहरू समेत परेका छन् ।
उपन्यासको बीचमा परेका यौनिक दृश्यहरू, जस्तो हस्तमैथुन, मुखमैथुन, गुदामैथुन तथा यौन दुर्व्यवहारका घटना व्याख्या गरिएका पुस्तकहरू पनि प्रतिबन्धमा परेका छन् । यस्ता पुस्तकले युवाहरूलाई उचित जानकारी नदिने र यस्ता पुस्तक तिनको पहुँचमा हुन दिने कि नदिने भन्नेबारे निर्णय अभिभावकले गर्न पाउनुपर्ने जिकीर अभिभावक समूहको छ ।
टेक्सस निवासी पाँच वर्षीय सन्तानकी आमा जेनिफर एडलर भन्छिन्, ‘मेरा सन्तानको हृदय र दिमाग बचाउनुपर्छ भनेर म यस अभियानमा जोडिएकी हुँ ।’ उनले लेभ एसी रोजेनद्वारा लिखित इट्स ज्या अफ हर्ट्स (एन्ड अदर पार्ट्स) उपन्यासको उदाहरण दिँदै भनिन्, ‘यस्ता उपन्यास पढ्न थालेपछि तिनले जिज्ञासावश त्यस्तै व्यवहार देखाउन थाल्न के बेर ?’
यस्ता अभियानविरोधीहरू भने आपत्तिजनक विषयका उपन्यासमाथि अभिभावकको रोष उचित भए पनि कतिपयले त अन्य पुस्तकलाई पनि घानमा पारिएको र खासगरी जातिवादी र रङ्गभेदी पुस्तकहरू पनि प्रतिबन्ध लगाइएकामा असन्तोष व्यक्त गरेका छन् ।
के रङ्गभेदी पुस्तक पनि घानमा परेको साँचो हो ?
घानमा पर्ने पाँच पुस्तकमध्ये एउटा चाहिँ यस्तो प्रतिबन्धमा पर्ने गरेको पेन अमेरिकाले बताएको छ । नेल्सन मन्डेला र ड्युक एलिङटनका जीवनी, अनि इब्राम एक्स. केन्डी लिखित हाउ टु बि एन एन्टिरेसिस्ट पुस्तक अधिकांशले पुस्तकालयमा देख्न चाहेनन् । यस्तै, अमेरिकन लाइब्रेरी असोसिएसनका अनुसार एङ्जी थोमसको द हेट यु गिभ पुस्तक, विलियम स्टिरनको पुलित्जर पुरस्कार विजेता १९६७ मा निस्केको उपन्यास द कन्फेसन्स अफ नाट टर्नर र ता‑नेहिसी कोट्सको बिटविन द वर्ल्ड एन्ड मीजस्ता प्रख्यात पुस्तक पनि तिनमा उल्लेख गरिएका विभेदका कारणले पुस्तकालयबाट हटाइएका छन् ।
प्रतिबन्धविरोधी कुनै सशक्त कदम चालिँदैछ त ?
चालिँदैछ । पुस्तकविरोधी अभियान समयसँगै तात्तिदैछ पनि । गएको महिना सिनेट (संसद)को हाउस कमिटीले पुस्तकालय, शिक्षक, विद्यार्थीहरूसँग एउटा छलफलसमेत आगरेको थियो । सो छलफलमा कमिटीका प्रमुख तथा डेमोक्रेटिक पार्टीका सांसद जेमी रस्किनले पुस्तकलाई प्रतिबन्ध लगाउनु भनेको आततायी शासनतर्फ धकेल्नु भएको प्रतिक्रिया दिएका छन् ।
केही समुदायले त यस्ता प्रतिबन्धविरूद्ध विद्यार्थी र अभिभावक नै मिलेर अभियान चलाइरहेका छन् । योर्क भन्ने ठाउँमा त अभिभावक र तिनका सन्तानको संयुक्त आन्दोलनपछि प्रशासनले प्रतिबन्ध लगाएका पुस्तकहरू पुनर्स्थापित गरेका छन् । खासगरी सिभिल राइट्स आन्दोलनका प्रख्यात अनुहारहरू रोजा पार्क र मार्टिन लुथरकिङ जुनियरका पुस्तक हटाउने घटनामा प्रशासन पछि हटेको थिय । यस्तै न्युजर्सी, टेक्ससका केही ठटाउँ, ओहाइयोको मिलफोर्डमा पनि प्रशासन पछि हटेको छ । र, यो बढ्दै जाने देखिन्छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
३ मंसिर २०८२, बुधबार 










