१०. भालुहरूको लडाइँ

बाहिर चारैतिर हिउँले ढाकेको भए पनि घरको ढोका, चारैतिरका पर्खाल र छानामाथि समेत गुलाफका लहरा फैलेका थिए । कसैको स्वागत गर्न ढोका सिंगारेजस्तै गुलाफका फूलहरूले सिँगारिएका थिए ।

‘तिम्रा मामाका छोराहरूलाई कहाँ खोज्ने ?’ सुनकेस्राले आफ्ना भालुहरूसँग सोधी- ‘तिनको घर देखेका छौ तिमीले ?’

“त्यहाँ, त्यो सूर्य गएकोतिर’ भालुले सूर्य गइरहेको दिशातिर देखाउँदै भन्यो । त्यहाँ कस्तो अचम्म थियो भने सूर्य र चन्द्रमा एकैतिर, एकैनासले चम्किरहेका थिए । त्यहाँ न रात थियो, न दिन थियो । सूर्य पनि चम्किरहेको थियो, ताराहरू पनि झिलिमिली थिए । केटाकेटीहरू ज्यादै अचम्म मान्दै सूर्य हिँडेतिर हिँडिरहेका थिए । हिउँको चिसो सिरेटोले उनीहरूका कान र नाकका दुप्पा झर्लान्‌झैँ भइरहेका थिए । सुनकेस्राका भालुलाई भने केही भएको झैं लाग्दैनथ्यो । तिनीहरू पल्टनका नाइकेझैँ अगि-अगि लम्किरहेका थिए ।

एनिड ब्लाइटन

“ऊ, हेर !’ एउटा ठूलो हिउँघरलाई देखाउँदै भलु करायो । ‘त्यो अवश्यै अमरले हिउँ-दानवका लागि बनाएको घर हुनु पर्छ । लौ हामी त्यतै जाऔं ।’

तर उनीहरू त्यस घरको नजिक नपुग्दै त्यस भित्रबाट एउटा डरलाग्दो दानव अटेस-मटेस गर्दै निस्क्यो । सुनकेस्रा मैयाँ र उसका भालुहरूलाई देख्नेबित्तिकै त्यो हिउँ-दानव गर्ज्यो- खबरदार अगाडि नबढ !!… ए दुस्मन, दुस्मन !… हमला ! हमला !!… ए मेरा सेवक भालु हो । लौ झट्टै निस्क ।… दुस्मनलाई लखेट ।’

‘हामी दुस्मन होइनौं ।…’ भकुन्डे भाइ र सुनकेस्रा एकैपल्ट चिच्याउँदै दानवतिर दगुर्न थाले । तर भाले भालुले उनीहरूलाई समातेर भन्यो- खबरदार ।… त्यो दानवको नजिकै नजाऔ !… त्यसको विश्वास गर्नु हुन्न ।’

हिउँ दानवले एउटा ठूलो हिउँको डल्ला टिपेर सुनकेस्रालाई हिर्कायो । तर सुनकेस्रा झुकिदिएकीले त्यो गोला टाउकोमाथिबाट गएर बच्चो भालुलाई लाग्यो । ‘ऐया नि !’ भन्दै बच्चो भालु थचक्क बस्यो । अनि त्यहाँ लडाइँ सुरू भयो । दानवका नोकर सेता भालुहरू एक्कासी आफ्ना गुफाबाट निस्केर सुनकेस्रा र उसका भालुतिर झम्टे । तिनीहरू हिउँका गोला बनाउँदै हिर्काउन थाले । सुनकेस्रा र उसका भालुहरू पनि हिउँका डल्लाले तिनीहरूमाथि हिर्काउन थाले । दुवैतिरबाट गोला बर्सन थाले । घमासान लडाइँ पर्यो । अब कसरी अमर दाइलाई बताउने ?’ गीता रुन थाली । आशिष पनि रुन थाल्यो । तर भकुन्डे भाइ भने भालुहरूसँगै हिउँका गोला बनाएर दानवमाथि हिर्काउन थाल्यो । खुब हल्ला-खल्ला भयो । हिउँका गोला हुइँया… गर्दै उड्न थाले । ‘ऐय्या, आत्या, मार्यो बाबा…’ भनेर कराएको स्वरले आकाश ढाक्यो । भकुन्डे भाइ र सुनकेस्रा भालुहरू बौलाहाजस्तै हिउँका गोला फ्याँक्ने र उताबाट आएका गोला थाम्ने गर्न थाले । भकुन्डे भाइलाई सबैभन्दा बढी चोट लाग्यो । बिचरो !…

अमर टाढैबाट यो लडाइँ हेरिरहेको थियो । सबैको ध्यान लडाइँतिर गएको देखेर उ त्यहाँबाट भाग्ने विचार गर्दै थियो- यही मौका त हो भाग्ने । उसलाई ती सेता भालुसँग लडाइँ गर्ने आफ्नै भाइ-बहिनी र भकुन्डे भाइ हुन्‌ भन्ने पत्तै थिएन । ऊ त भाग्ने मौका मिल्यो भनेर उल्टो दङ्ग परिरहेको थियो, …नत्र ।

‘ओ: कस्तो घमासान लडाइँ !… म उता जानु हुन्न । यो बनमान्छे र सेता भालुको लडाइँ हुनु पर्छ । बरु मलाई बाटो देखाउने कोही पाइन्छ कि खोज्नु पर्छ’ यस्तो सोच्दै आफ्नो बख्खु लगाएर हतार-हतार हिउँमा घसँदै आफू आएको प्वाल पुरिएको ठाउँतिर अन्दाजले बढ्न थाल्यो । लडाइँ भएको ठाउँबाट नदेखिने भएपछि ऊ एक्कासि उफ्रेर भाग्न थाल्यो । उसको उफ्राइले नजिकै बसेको एउटा सिल माछा तर्सेर गल्छीमा हाम्फाल्यो ।

रमेश विकल

त्यतिखेर हिउँको आँधिबेरी चलेर सारा अँध्यारो भयो । त्यो अजङको हिउँ-दानव, उसका सेता भालुहरूसँग सुनकेस्राका भालु र भकुन्डे भाइको केही सीप लागेन । उनीहरूले कतै केही देखेनन्‌ । उतातिर हिउँ-दानवका भालुहरू पनि केही नदेखेर अलमलिए ।

‘गीता !… आशिष ! भालु भाइ ! तिमीहरू एक अर्काको हात बलियो गरी समात ।’ भकुन्डे भाइले कराएर भन्यो’ नत्र आँधीले उडाउला र बेपत्ता होऔला ।’

गीताहरूले एक अर्काको हात समाते । कतै केही देखिदैनथ्यो । सेता भालुहरू पनि केही नदेखेर उनीहरूलाई खोज्न थाले । गीताहरू त्यहाँबाट भाग्दै गए । उनीहरू सेता भालुको हात परेर दानवको कैदी बन्न चाहँदैनथे ।

‘दानवहरू अलमलेका छन्‌’ भकुन्डे भाइले भन्यो । यही मौकामा हामीले भाग्नु पर्छ ।’

क्रमश….

उपन्यासकाे याे श्रृङ्खला लामो भएकोले यसलाई खण्ड खण्डमा विभाजन गरेका छौँ । धन्वाद,