सिर्जना पनि एउटा लत नै होला। अनि परिवेश लतको प्रेरक तत्त्व होला । त्यसैले राम्रो परिवेशले सदैव राम्रो लत लगाउनुमा सहयोग गर्दछ । कोहीबेला कुनै माध्यम र चर्चा पनि परिवेश बन्नपुग्दछ अनि त्यो माध्यममा भएका चर्चाहरूमा भाग लिनु अथवा ती चर्चाहरूमा आफ्ना प्रतिक्रिया राख्नु, चर्चाको विषय उपस्थापन गर्नु आदि पनि कसैको लतमा परिणत हुनसक्छ । राम्रो माध्यम र चर्चाले जीवनको उद्देश्यलाई पनि धेरै प्रभावित पार्न सक्छ । हो, यस्तै चर्चा र माध्यमको छेउछाउमा मैले भेटेको थिएँ एकजना कविलाई । आज सामाजिक सञ्जाल साहित्य सम्बन्धी चर्चाको प्रमुख माध्यम बनेकै बखत उल्लिखित कविलाई यही माध्यममा आविष्कार गर्दा उनी भर्खरै कवितासँग भेट भएको अनुमान गर्न सकिन्थ्यो । उनका कविताहरू पढ्दा। तर, उनमा रहेको लगनशीलता र कविताप्रतिको मायाले गर्दा होला हेर्दाहेर्दै केही कविताका प्रतियोगिताहरूमा उनी पुरस्कार बटुल्न सक्षम भइन्। कविताहरू पनि दिनप्रतिदिन तिखाँरिदै गए । उनले सामाजिक सञ्जालमा साहित्य चर्चाको पुरै फाइदा उठाइन् । अनका कविताहरूमा पनि धेरै वास्तविक विषयलाई उठान गर्दै जनतालाई सजग बनाउने पक्षधरता रहेको हुँदा सामाजिक सञ्जालका पाठकहरूले औधी मन पराए । लाइक गरे, कमेन्ट गरे कतिपयले अझ बढी प्रोत्साहनका दृष्टि निक्षेप गर्दै सेयर पनि गरे । अरू बढी पाठकहरूबिच पुग्यो उनको कविताको विस्तार। यसैबिच इन्द्रेनी प्रकाशन, असमले १० जुलाई २०२२ मा शोणितपुर जिल्लास्थित जामुगुडीको बापुजी भवनमा गरेको साहित्य सम्बन्धित कार्यक्रममा उनको पहिलो कविताकृति ‘अनुहारभित्रको अनुहार’ पनि लोकार्पण भयो। प्रकाशकको दायित्वमा पनि इन्द्रेनी प्रकाशन नै रहेको छ । हो, मैले शोणितपुर जिल्लाअन्तर्गत कुसुमतोला निवासी पूजा आचार्यको यसै पुस्तकको समीक्षात्मक लेख हजुरहरूसमक्ष प्रस्तुत गर्न खोजेको ।

अनुहारभित्रको अनुहार हेर्नसक्ने क्षमता मानिसमा छैन। यद्यपि अनुहारभित्र अनुहारहरू लिएर हिँडिरहने मानिस नै हो। बाहिर हेर्दा झलक्क राम्रो लाग्ने व्यक्तिको पनि भित्री अनुहार कुत्सित हुनसक्छ। बाहिरको सन्यासी भित्री चोर, डाका पनि हुनसक्छ भन्ने कुरा मेरो व्यक्तिगत होइन, यो कुरा हामीले दिनौँ दूरदर्शन, खबरकागजमा देखेका, पढेका हौँ। यिनै दोहोरो चरित्र अथवा अनुहारले गर्दा मान्छेमा विश्वासको कमी भएको हो, अविश्वासको भाव व्यप्त भएको हो। कुनै व्यक्तिले कसैलाई सोझै विश्वास गर्न गाह्रो भएको पनि यही दोहोरो चरित्रले गर्दा हो। यो अविश्वासले नै सन्देह जन्माउँछ अनि यो सन्देहले सम्पर्क प्रगाढ बनाउन दिँदैन। यस्तै दोधारमा आजका प्राय:जसो मान्छे बाँचेका छन्। यसो भन्दैमा सुन्दर अनुहार, स्वच्छ विचार, भावना भएका मानिसहरू छैनन् भन्न पनि खोजिएको होइन। यी असल मानिसहरूलाई चाहिँ यी दोहोरो चरित्र भएकाले पिरोलेका छन्। यस्तै पिर-व्यथाहरूलाई नै पूजाले कविताको रूप दिने प्रयत्न गरेकी छन्। पूजाले कवितामार्फत् मान्छेको दोहोरो चरित्र, विचार आदिलाई पाठकसमक्ष पुर्‍याउने प्रयास गरेकी छन्। कविताको राप र तापले मान्छेको मुखौटो खोल्ने चेष्टा गरेकी छन्। यसअघि पनि धेरै कविहरूले यसखाले प्रयास गरेका हुन्। कविवर हरिभक्त कटुवालले पनि ’यो जिन्दगी खै के जिन्दगी’ कविता कृतिमा भएको ‘दाइ कविता, खै कविता’ शीर्षक कवितामा यसखाले भाव व्यक्त गरेको पाइन्छ-

‘यस सहरमा ओहरदोहोर गर्ने आकृतिहरूमा

कविता खोजेर धेरैपल्ट निराश भएको छु भाइ। 

तर सधैँ मेरैजस्ता ती अनुहारहरू पनि

अल्झिरहेका पाएको छु दाल, भात, डुकुकै समस्यामा

मानो हामीले बिर्सिसकेका छौँ मानिस हुनुको अर्थ।’

अनुहारहरूभित्रको अनुहार सन्दर्भमा पूजाको भित्री मनले के भन्छ त ? काव्यिक अनुसन्धान त पूजाले पक्कै गरेकी छन् । अब जम्मै पुस्तकका कविताहरू अध्ययनमा थाहा पाइन्छ- के पूजाका कविताहरूले अनुहारभित्रको अनुहारलाई खुलेआम चुनौती दिएकी छन् क्या हो ? अथवा अनुहारलाई केवल निरीक्षण गरेकी छन् । तसर्थ यस लेखमा पूजाको काव्यकृतिको केन्द्रीय भाव वा कथ्य अनुहारभित्रको अनुहारलाई छाम्ने प्रयाय गरिने छ ।

कृष्णनील कार्की (असम)

अब केन्द्रीय कथ्य वा भावभन्दा कविताको तत्त्वको कुरा आउँछ। शीर्षक, संरचना, लय, भाषाशैली, कथनपद्धति, विम्ब, व्यञ्जना, आयाम साथै भाव पनि कविताको तत्त्व अन्तर्गत आउँछ। भावलाई कविताको रस या गुदीका रूपमा जानिन्छ। आत्माविनाको शरीरको अर्थ नभएजस्तै भावविनाको कविताको पनि कुनै अर्थ हुँदैन। कविताका अंशमा भावको प्रस्तुति गर्दै समग्र भावमा कविता पुग्नुपर्ने हुन्छ। अत: कवितामा केन्द्रीय भाव एवं कथ्यको विशेष महत्त्व रहेको हुन्छ।

उनका कवितामा विविधता हुँदाहुँदै पनि विषय दोहोरिएका छैनन्। कतिपय प्रसङ्गहरू उस्तै उस्तै लागे पनि उस्तै छैनन्। ‘अनुहार’ शब्द उनको कवितामा धेरैपटक दोहोरिएको छ। तर, दोहोरिएका हर अनुहार फरक छन्। उनले हेर्ने अनुहारभित्रका अनुहारहरू अलग्गै अलग्गै मुखौटा भिरेर उभिएका छन्।

पूजाले ‘पीडा’ कवितामा अनुहारभित्रको अनुहारलाई खुलेआम चुनौती दिएकी छन्। अहिले त यहाँ मुखौटो फेर्ने प्रतियोगिता भइरहेको छ। कसले कति मुखौटो फेर्न सक्छ। मुखौटो फेरेर कति हत्याउन सक्छ। हत्याउनेबित्तिकै कहाँ चुप लागेर बस्छ र ऊ? फेरि मुखौटो फेर्छ। मुखौटोहरूको पिर र उत्पात खप्न नसकेर कविले पनि सग्ला अनुहारहरूकै मात्रै जुलुस निकाल्दै अनुहारभित्रको अनुहारलाई चुनौती दिन कविताको हतियार लिएर प्रस्तुत भएको देखिन्छ। यसरी –

‘मुखौटो फेर्ने प्रतियोगितामा कम्मर कसिरहेको छ मानिस

राम्ररी हेर्नुहोस्,

हजुरले देखेको अनुहार अनुहार होइन, मुखौटो हो ।

 

छेपारोझैँ रङ बदलाएर मानिस सिंहासनमा चढ्छ

अनि फेरि मुखौटो फेर्छ

यी मुखौटाहरूको विजय जुलुसलाई

प्रतिहत गर्न

मुखौटारहितहरूको अर्को जुलुस निकाल्नु छ …’ (पीडा, पृ-३२)

यो विश्वासको डोरी पनि अचम्मको हुन्छ। कसैलाई विश्वास गरिएको छ भने विश्वासको डोरीले खिँचेर एकदमै नजिकको सम्बन्ध बनाउँछ। चाहे त्यो रगतको सम्बन्ध होस् कि नहोस्। यदि दुवै पक्षको विश्वासमा स्वार्थ छैन केवल मानवता, भाइचारा मात्र छ भने त्यो विश्वासको भरमा टिकेको सम्बन्ध दिगो र सुन्दर हुन्छ। तर, विश्वासमा स्वार्थ लुकेको छ भने यही विश्वासकै सहारामा मुखुन्डाधारीहरूले स्वार्थसिद्धि गर्छन्। यस्ता अनुहारभित्रका अनुहारहरूका विरोधमा कविमन यसरी चर्किएको छ –

‘अन्योलमा परिन्छ जतै पनि हेर्दा

आफ्नो वरिपरि नाचिरहेका छन् मुखुण्डाहरू

विश्वासको बर्की फिँजाएर …।’ (मुखुण्डो, पृ-३४) 

वेश्या बनाउने मान्छे अनि वेश्यालय धाउने मान्छे पनि दिउँसो भद्रताको मुखौटो भिरेर वेश्याको विरोधमा स्वर उकेल्छ। वेश्याहरूको आफ्नै नाम छ तर उनीहरूको नाम सुन्न खोज्दैन समाजले, उनीहरूलाई हेर्ने तरिका समाजको अलग्गै छ, त्यसैले त नाम पनि समाजले नै दिएको छ – ‘गणिका’। भलादमीले वासनाको आडमा रातहरू रङ्गीन पार्दछ, भलादमी आफ्नै थानमा हुन्छ। उसको मान छ, इज्जत छ, समाजमा प्रतिष्ठा छ। थुकिन्छे, लुटिन्छे, तिरस्कृत हुन्छे, बहिष्कृत हुन्छे भने केवल वेश्या हुन्छे। कस्तो मानसिकता? अनुहारभित्रका अनुहारहरूदेखि विरक्त भएर पूजाले कलम चलाएकी छन्। त्यसैले उनी लेख्छिन् –

‘छि: छि: र दुरदुर सबैको

अपवित्रताको कात्रो ओढाइदिन्छ समाजले

भलादमीको मुखौटा लगाएकाहरूका

आँखा बिझाउँछन् उसलाई देख्ता …….” (मुखौटो नलगाएको सौन्दर्य, पृ-७३) 

सत्कर्मबाट पनि सुन्दर तरिकाले आफू चल्न सकिन्छ संसार चलाउन सकिन्छ। तर, मुखौटो भिर्न र फेर्न सिपालु मान्छे असल अनुहारलिएर बाँच्न खोज्दैन। उसलाई त मुखौटोको आडमा स्वार्थसिद्धिको यज्ञ गर्नु छ। सुन्दर संसारलाई ध्वंस पार्दै सृष्टिको ध्वजिया उडाउनु छ। संसार रहोस् नरहोस् ऊ रहनु छ। मुखौटो भिरेपछि सबै सुझबुझ बिर्सिएको मान्छेप्रति कविमन आक्रोशित भएको छ। त्यसैले पूजा अनुहारभित्रको अनुहार भिरेर हिँड्नेलाई कलमले उनीहरूको कर्तुत बारे अरूलाई यसरी सचेत गराउँछिन् –

‘सत्ता, स्वामित्त्व, स्वार्थ र स्वाभिमान टिकाउन

उसले के गरेन ?

छँदाखाँदाको सुन्दर पृथ्वीमा ध्वंसको बिउ रोप्यो

विभाजनका मानचित्रहरू को:यो

रगतका रङहरूले बाँध्यो स्वार्थको साँध-सीमाना ..’’ (मस्तिष्कको प्रदूषण, पृ-८०)

हाम्रो देशमा नारीलाई पूजा गरिन्छ। कतै देवीका रूपमा, कतै आमाको रूपमा कतै दिदी-बैनीको रूपमा। तर, सुरक्षाको जब प्रश्न आउँछ, कति सुरक्षित छन् नारीहरू? आज पनि नारी एक्लै हिँड्ने राम्रो परिवेश छैन। कसैको सहारामै हिँड्नुपर्छ। चारैतिर बाघ, स्याल, कुकुर, ब्वाँसा, गिद्धहरू लुछ्न तयार भइरहेका हुन्छन् अनुहारभित्रको घिनलाग्दो अनुहार लिएर। अनि एक्काइसौँ शताब्दीमा पाइला टेकेर विज्ञान र प्रविधिको पछि लाग्ने मान्छे केवल देखावटी कुरा मात्रै गर्छ – नारी सुरक्षाको। वास्तवमा नारीले पाउने अधिकार पाएकै छैनन्। आफ्नै गाउँ-घरमा नारी सुरक्षित छैनन्। अनुहारभित्रको अनुहारमा नारीप्रति सम्मान छैन। त्यसैले कवयित्री पूजाले यिनै सत्य कुराहरू कवितामार्फत् यसरी पोखेकी छन् –

‘सुनसान गल्ली र बाटाहरू

कसले जान्दछ मृत्युको वारेन्ट लिएर पर्खिरहेका छन् 

कुन निर्दोष र निरीह हरिणको काँचो मासुको आशा कुरेर बसेका छन् 

घोर्ले बाघहरू, ब्वाँसाहरू……’’ (भोलि कसको पालो ?, पृ-८१)

कर्तव्य र दायित्व भुलेर होला अथवा माया-ममताको मोल नबुझेर होला, मूल्यबोधको स्खलन हुँदैछ। दिनौँ वृद्धाश्रम निर्माण हुँदैछन्। समाचारपत्र, दुरदर्शन, सामाजिक सञ्जालहरूमा पनि बाबुआमाहरूको क्रन्दन सुनिँदैछ। कस्ता सन्तान? बाबुआमाका सपनाहरू सबै आँसुमा बगेर जान्छन् अनि सन्तानहरू चाहिँ कुन सपनाको महल बनाउनुमा व्यस्त छन्? अनुहारभित्रको अनुहारले आज बाबुआमालाई पनि निलिसक्यो। मानवताको कति घिन लाग्दा तस्बिर? जसले बाबुआमालाई छोडेन त्यसले अरूलाई के छोड्छ अथवा त्यो स्वार्थपूर्तिका लागि कतिसम्म तल झर्न सक्छ? अनुमान गर्नुहोस् त। तर, पूजा त्यसै बसेकी छैनन्। हातमा कलम लिएर प्रतिवाद गर्न निस्किएकी छन्। अनुहारभित्रको अनुहारलाई कडा चुनौती दिएकी छन्। शब्दवाणले यसरी सत्यलाई उजागर गरेकी छन् –

‘धेरै कुरा खेलाए मनमा

जब मूल्यबोध हराउँछ मान्यताबाट

पुत्र हुनुको अर्थ व्यर्थ बन्छ

बुबाआमाको मर्यादा पाउनु व्यर्थै ठहरिन्छ

निष्ठुर भएर आउँछ भाग्य

माकुराले झैँ आफ्नै सन्तानले निलिदिन्छ

जननीका जीवनका रहल पाता….’’ (वृद्धाश्रम, पृ-८९)

पूजा आचार्य केवल कवयित्री मात्रै नभएर ‘वारिवर्स’ नामको एनजिओ-को एकजना कर्मकर्ताको नाताले सामाजिक कार्यहरूमा संलग्न छन्। यसै नाताले पनि उनले धेरै अनुहार र अनुहारभित्रका अनुहारहरू देख्ने अवसर भएको होला। जे होस्, उनको काव्यिक मनले मानवीय स्खलनको चित्र प्रस्तुत गर्न सफल भएको देखिन्छ। यो काव्यकृति पूर्वायण प्रकाशन, गुवाहाटीमा छापिएको हो भने यसको मूल्य १८० रुपियाँ रहेको छ। दार्जिलिङका साहित्यकार राजा पुनियानीले पुस्तकको गहकिलो भूमिका लेखेका छन्। शुभकामनाका सन्देशहरू डा. इन्दु प्रभा देवी, कृष्णनील कार्की र अञ्जन बाँसकोटाले लेखेको पाइन्छ। ११० पृष्ठाको पुस्तक सुन्दर हार्ड कभरमा सजिएको छ। आवरणले पनि अनुहारभित्रको अनुहारलाई दर्शाउन सफल भएको देखिन्छ।

प्रस्तुत कृतिमा रहेका कविताहरूको केन्द्रीय भाव अनुहारभित्रको अनुहारलाई छाम्दा के पाइन्छ भने पूजाले समाजमा व्याप्त धेरै मुखौटाहरूलाई काव्यिक लहरमा उभ्याएकी छन्। जे जतिलाई उभ्याएकी छन् उनीहरूको कर्तुत खोल्नुका साथै उनीहरूलाई कडा चेतावनी समेत दिन हिचकिचाएकी छैनन्। अनुहारभित्रको अनुहारलाई छाम्ने कार्यमा निराशावादी स्वरलाई भने अँगालेको पाइँदैन। कविताहरूमा आशावादी स्वर नै छ। विद्रोह छ, हुङ्कार छ, आक्रोश छ। केन्द्रीय भावलाई अझ प्रभावकारी तरिकाले प्रस्तुत गर्नसक्ने सिपका लागि पूजाले अरू मेहनत गर्नुपर्नेछ।

कृतिभित्रका अरू केही कविताहरू पनि केन्द्रीय भावकै छेउछाउ घुमेका छन्। दाइजो, धनमाया, परिचय, विधवाको आत्मकथा, कन्यादान, भुइँ टेक्ने मान्छे आदि कविताहरूमा यसखाले मिश्रित भाव पाइन्छ। पूजाले मुखुन्डाहरूलाई सक्तो कठघरामा उभ्याएकी छन्। तर, कति मुखुन्डाहरूलाई उभ्याएर सक्नु? जता हेर्‍यो त्यतै अनुहारभित्रका अनुहार लिएर हिँडेका, बसेका, निदाएका घिनलाग्दा चेहरा देखिन्छन्। यी चेहरामा दिनौँ अरू अरू चेहरा थपिँदै जाँदैछन्। कम्ने कुरै छैन। यी घिनलाग्दा अनुहारहरूबिच असल अनुहार भयभीत भएका छन्। त्रसित भएका छन्। उनीहरूले आफ्नो व्यथा सुनाउनु अथवा यी अनुहारहरूबाट समाजलाई जोगाउन कसैले साहित्यको सहारा लिएका छन्। साहित्यको सहारा लिनहरूभित्र पूजा आचार्यको नाउँ पनि आउँछ। असमेली अग्रज कविहरूबाट पनि यसखाले कविताहरू सिर्जिएको पाइन्छ। इन्द्रकान्त कार्कीको ‘मेरो अनुहार’, रुद्र बरालको ‘अस्मिता लुट्न पल्किएको सहर’, अर्जुन निरौलाको ‘अवरोधहरू’, कृष्णबहादुर रावत नानीको ‘विषालु जिब्राहरू’, टीकाराम उपाध्याय निर्भीकको ‘तिमीलाई एउटा दन्त्य कथा सुनाउँदा’, डिल्लीराम खनालको ‘कौरवराज’, दुर्गाप्रसाद घिमिरेको ‘घाइते युग’, दैवकी देवी तिम्सिनाको ‘मान्छे जङ्गल पस्दैछ’, रिजु देवीको ‘होला कि बिहान फेरि’, गोमा अधिकारीको ‘अनुहारहरू’, टीका भट्टराईको ‘मानवले मानवलाई मानव ठानेको भए’ आदि कविहरूका कवितामा अनुहारभित्रको अनुहारलाई छाम्ने प्रयास नै केन्द्रीय भावका रूपमा देखिएको पाइन्छ। यी धेरै कविताहरू कृष्णनील कार्की सम्पादित ‘समकालीन असमेली नेपाली कविता'(२०२०) सङ्कलनमा छापिएको पाइन्छ।

कविता लेखनको मूल मेरुदण्ड नै कला हो । कलाको सौन्दर्यमा एउटा कविता सशक्त बन्दछ । प्रस्तुति, बुनौट, बिम्ब, प्रतीक, मिथक, उपमा आदिको प्रयोग कविताहरूमा भएका छन् । कृतिका अधिकांश कविताहरू धेरथोर मात्रामा कलात्मक छन् । बिम्बात्मक छ्न् । विचारजस्तै विषयपक्ष पनि दर्बिलो छ। कविताहरूको मुख्य स्वर अनुहारभित्रको अनुहार छाम्न पूजा धेरथोर मात्रामा सफल भएकी छन्। यस उप्रान्त यहाँ अरू विषयका कविताहरू पनि समावेश भएको पाइन्छ। पूजाका कवितामा जीवनबोध छ, कविताहरूमा नारीचेत पाइन्छ। प्रेम-प्रणय पनि छ। देशप्रेम, मातृप्रेम साथै जातीय अस्मिताका प्रसङ्गहरूले पनि कवितामा ठाउँ पाएका छन्। पर्या कविताहरू पनि छन्। समय चेतका कविताहरू छन्। निम्नवर्गका सुस्केराहरू छन्। युद्ध कविताले पनि ठाउँ पाएको छ। सुधारवादी मानवतावादी दृष्टिका कविताहरू पनि यस कृतिमा पाइन्छन्। तेस्रो लिङ्गीहरूको पीडालाई पनि पूजाले कवितामा भित्रियाएकी छिन्। यो असमेली नेपाली कवितामा नौलो प्रयोग हो।

पूजाका कवितामा फगत कल्पनाकै प्रलेप मात्र छैन, उनका कविता यथार्थको धरातलमा उभिएका छन्। पूजाका कवितामा मिठास छ। अर्थ र प्रयोजन दुर्बोध्य छैन। बोधीय छ। पूजा आचार्यको पहिलो काव्यकृति ‘’अनुहारभित्रको अनुहार’’ले नेपाली साहित्यमा जगतमा एक इँटा थप्ने कार्य गरेको छ भन्दा अत्युक्ति नहोला। यस कृतिका लागि पूजालाई अजस्र बधाई तथा आगामी सिर्जनाका लागि शुभकामना।