साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

अपरिचित नेपाल, परिचित गीत

बर्मादेखि नेपालसम्म: भाग चार

Chovar Blues Mobile Size

 

 

म्यान्माको उत्तर पूर्वी राज्य छिन हुँदै अघि बढेको एसियाली राजमार्गमा गाडी दौडिरहेको छ । हाँसो, ठट्टा, रमाइलो, फोन–फानपछि बिस्तारै साथीहरु उँङ्न थाल्नु भयो । मलाई भने खासै निद्रा परेन । कुनै चिन्ताले होइन, आदतले । लामो होस् या छोटो, गाडीमा मलाई हत्तपत्त निद्रा पर्दैन । सुन्सान रातमा गाडीको स्पिडसँग म बाहिरी वातावरणको अनुमान लगाउन थाल्छु ।
रातको अँध्यारोमा हाम्रो गाडी पहाड जस्तो ठाउँ वा जंगल जस्तो जग्गाबाट हिँड्दै थियो । टेडो–मेडो हुँदै घरी उकालिन्छ भने घरी एकतमासले ओरालिन्छ । घरी चकमन्न वन छिचोल्थ्यो त घुमाउते पारामा खाइ र खोल्सा नाघ्थ्यो । लामा–छोटा, नयाँ–पुराना पुलहरू कति हो कति ! तर त्यति दुःख भएन जति मैले कल्पना गरेकी थिएँ ।
खासमा ४ वर्षअघि यही जनवरीतिर म यही छिन् स्टेटको  तमु नगरतिर जाँदै थिएँ । दिनको उज्यालोमा गाउँबस्ती र स–साना सहर छिचोल्दै गाडी अघि बढेको थियो । त्यो बेला डरले मेरा चिम्रा आँखा झन् खुम्चिन्थे । रहेक मोडमा मलाई आफ्नै खालको अत्यास लाग्दै जान्थ्यो । बाटो डरलाग्दो र साँघुरो थियो । उताबाट गाडी आउँदा यताबाट गाडीले साइड दिनुपर्ने वा कम्तीमा स्पिड कम गर्नुपर्ने बाध्यता थियो । त्यो बेला मलाई घरिघरि डरले सताउँदथ्यो । निद्रा नलाग्ने खास कारण त्याे कुरा मनमा गढेका कारणा पनि हुन   सक्छ ।
अाज भने यो मध्य रातमा गाडीले केही मोडमा शरीरलाई ढल्काउनुबाहेक खासै केही गर्न सकेन । खोल्सा, खाइ, वन–जङ्गल उही भए पनि मध्य रातमा गाडीले स्पिडमा धेरै परिवर्रतन गरेन । एकतमासले हुइँकिरहेको बस बिना कुनै घच्याक् मच्याक्अघि बढ्दा मलाई लाग्दथ्यो, अब बाटो खराब आउने बेला भयो होला । तर बिहान हुन्जेलसम्म मैले डराउनु पर्ने कुने किसिमको अप्ठ्यारो अनुभव गरिनँ ।
मिर्मिरे बिहान भएपछि देखेँ, सडक साँच्चै नै नाम जस्तै एसियाली राजमार्ग नै थियो । नेपालदेखि भारत हुँदै बर्मा र थाइल्याण्ड जोड्ने यो बाटो राम्रो बनेको रहेछ । बर्मामा बसेका अधिकांश यात्रीहरू छिन् स्टेटको टमू हुँदै भारततिर पस्ने यही बाटोको उपयोग गर्नुको कारण पनि यही रहेछ । छिन म्यान्मारको सातवटा स्टेटमध्ये एक हो जो भारतको सिमानासँग जोडिएको छ । छिन जातिको बसोबासको मुख्य थलो रहेको यहाँ नेपालीहरुको पनि हजारौँको सङ्ख्यामा बसोबास छ । विशेषगरी छिनको मुख्य नगर कलेम्यो र टमूमा नेपालीहरूको बाक्ला बस्तीहरु छन् । यहीँ नेपाली पाठशालाहरु पनि छन् ।
चार वर्षपछि अहिले गाडीबाटै टमूको सानो सहरलाई हेर्न थालेँ । फाट्टफुट्ट बस्ती हुँदै गाडी बाक्ला घरतिर लाग्यो । सहर केही परिवर्तन भएको हो कि लाग्यो ।
त्यो बेला टमूस्थित कृष्णा मन्दिरको शताब्दी वर्ष मनाइँदै थियो । नेपालीहरुको पौरख सिञ्चित भएको मन्दिर सय वर्ष पुग्नु एउटा ठूलो उपलब्धि हो । यस्तो समयमा यसलाई भव्यता दिन टमूबासीले कुनै कसर छाडेका थिएनन् । जहाँ एक साता सप्ताह लागेको थियो । ठूला पुरस्कार राशिका विभिन्न प्रतियोगिता, युवा सम्मेलन र साहित्य सम्मेलनहरु आयोजन गरिएका थिए। युवा सम्मेलनमा अन्य खालका युवाहरुले भाग लिएका थिए । साहित्य सम्मेलनमा भने नेपाली साहित्य डिप्लोमा अध्ययनरत हाम्रो ब्याजले विभिन्न किसिमका भूमिका पाएको थियो । नेपाली भाषा डिप्लोमा भर्खरै सकेको मेरोलागि सार्वजनिक समारोहमा यस किसिमको भूमिका पाउनु निकै ठूलो अवसर भइदियो । म केही जान्दिन थिएँ । अरुको साथ लागेर मैले केही कुरा गरेँ, सिकेँ । भाषा साहित्यमा लाग्दा पनि सार्वजनिक समारोहमा यस किसिमको काम गर्न पाइन्छ भन्ने मेरो कल्पना थिएन, जुन अनुभव गर्न पाइरहेको थिएँ ।

मैले यसअघि बर्माबाहेक नेपाली भाषीलाई भेटेकी थिइनँ । बर्मा बाहिरका नेपालीले कसरी नेपाली बोल्छन्, मेरालागि कौतुहलको विषय थियो । त्यहाँ सिक्किम, दार्जिलिङ, मणिपुर र अन्य क्षेत्रहरुबाट पनि साहित्यिक टोलीहरुको उपस्थिति रहेछ । नेपालको काठमाण्डौंबाट लेखक त होइन, केही पत्रकारहरू पनि आउनु भएको रहेछ । त्यहाँ फरक फरक तरिकाले नेपाली बोल्ने मानिसहरु देख्दा निकै रामाइलो लाग्यो र नेपाली बोल्ने आत्मविश्वास पनि जाग्यो । नत्र के हुन्छ भने कुनै शब्द आएन भने हामी आफू आफू बर्मेली बोल्न थालिहाल्छौँ । यसले नेपाली भाषामा निखार आउँदैन र शब्दको कमी जहिल्यै पनि महसुस हुन्छ ।
तर यो सम्मेलनमा सबैले बोलेको नेपाली मेले राम्रैसँग बुझिरहेकी थिएँ, जसले मलाई आत्मविश्वास दिइरहेको थियो । अहिले उहाँहरु कहाँ हुनुहुन्छ, को को हुनुहुन्छ, सबैको नाम र चिनारी सम्झन सक्दिनँ तर उहाँहरुको बोली र अनुहार भने याद आइरहन्छ । यो अवसरका लागि मेरो मनबाट अहिले पनि टमू शाखाप्रति कृतज्ञताको अनुभव भइरहन्छ ।
टमु सहर सीमा क्षेत्र भएकाले पनि छिन जातिसँगै नेपालीहरुको आयको स्रोत व्यापार बनेको छ । आय बढेकाले पनि हुन सक्छ, यहाँका नेपालीहरुले आफ्ना भाषा र संस्कृति जोगाउन बढी नै खर्च गरेका हुन सक्छन् । टमूतिर नेपाली भाषा र संस्कृतिको विकासले पारी भारतको मनिपुरतिर पनि त्यसको प्रभाव परेको भन्ने सुनिन्छ । सत्य के हो मलाई थाहा छैन । पहिलोपटक सीमा पारि जाँदै गर्दा केही थाहा होला कि बुझ्न मन भने औधि नै छ ।

सहरको छेउमा एउटा रेस्टुराँको अघि गाडी रोकियो । मोबाइल हेरेँ, बिहान सात बजेको रहेछ । गाडी रोकिएपछि सबैको निद्रा बिस्तारै खुल्यो । गाडीवालाले छिटो गर्नु भन्दै थियो, तर हामी हात मुख धोएर खाजा खानुभन्दा हलुका मेकअप गर्न तिर लाग्यौँ ।

‘बरु गाडी छुट्दा केही हुन्न, सिङ्गारपटार चाहिं नछुटाउने है!’ राजनले व्यङ्ग्य गर्दै भने, ‘केटीहरु भोकै बस्न राजी हुन्छन् तर मेकअप छाड्न मन गर्दैनन् ।’

sagarmani mobile size

सीमाले जबाफ फर्काउनु भयो, ‘नेपाल पो हिडेंको ! नसजिएर भो ?’
हतारमा खाजा खाएपछि हामी गाडी चढ्यौँ । गाडीका सबै यात्रु सीमा पार गर्नेहरु नै थिए । गाडी त्यसैगरी रिजर्भ गरिएको थियो । यही कारण तमु सहरलाई बाहिरबाटै परिक्रमा गर्दै गाडी करिब १० बजेतिर बर्मा–भारतको सिमानामा गएर रोकियो ।
‘मेरो नाम त यहाँ पो रहेछ,’ सीमा दिदीले फेरि ठट्टा गर्नुभयो, ‘अब म यहीँ बस्ने, तिमेरु जाओ ।’
चञ्चले स्वभावकी सीमा दिदी बेलाबेला रमाइलो गरिरहनु हुन्छ । यसले यात्रालाई ताजा गराउँछ ।
ठीक १० बजे कार्यालय खुल्नेबित्तिकै हामी अध्यागमन भवन पुग्ने योजना थियो । यसो गर्दा चाँडै काम सकेर साँझसम्म मणिपुरतिरको राजधानी इम्फाल पुग्न सकियोस् । यही हतारका कारण हामीले टमूतिर छिरेर समय गुमाउन चाहेका थिएनौँ । धनगढीमा हुने विश्व नेपाली साहित्य सम्मेलन सुरु हुन अब केही दिन मात्र बाँकी थियो । यस्तो अवस्थामा समय गुमाउने अवस्था पनि थिएन । तर हामी यहाँ आएको टमूबासीलाई थाहा नहुने कुरै थिएन । हामीलाई बिदा गर्न टमू निवासी अर्जुन दहालजी धर्मपत्नीसहित अध्यागन कार्यालय नपुग्दै बाटो छेक्न आइपुग्नु भयो ।
‘यसरी बाटो काटेर हिँड्न मिल्छ ?’ दाहाल सरले भन्नुभयो, ‘आज रात यतै बासौँ, भोलि जानुहोला ।’
हाम्रो टोली नेताले समयको अभावबारे राम्रोसँग कुरा बुझाएपछि भने उहाँहरु शुभकामना दिँदै फर्कनु भयो । तर उहाँहरुको सर्त थियो–फर्कंदा टमूमा कम्तिमा एक रात बस्ने र सबै जनालाई जम्मा गरेर नेपालको यात्रा कथा सुनाउने । हामीले मञ्जुर गर्यौँ । किनभने हाम्रो फर्कने बाटो यही थियो । के थाहा, चीनबाट संसारभर कोरोना भाइरस फैलँदैछ भन्ने कुरा ? हामीलाई उहाँहरुलाई दिएको वचन पूरा हुन्न भन्ने कुरा सयमा एक पनि थिएन ।
अध्यागमनमा सुरक्षा कडा थियो । बाहिरै बन्दुक जस्तो केही कुराले हाम्रो ज्वरो नापियो । मास्क लगाएर सुरक्षित साथ नेपाल पुग्नु भनेर अध्यागमनले भनिरहँदा पनि हामीले जीउ धनको सुरक्षा भन्ने मात्र बुझ्यौँ । केरेनाको गम्भीरता यसअघि हामीले बुझेका थिएनौँ। हामी जस्ता धेरैले त्यो बेला बुझ्ने कुरा पनि भएन ।
अध्यागमन बाहिर निस्कँदा ठूलो पहाड आँखाअघि ठोकियो । पहाडले घेरिएको भूमि सबै ठाउँ भारतीय सीमा रहेछ । पहाडवारी इन्डिया, पहाड कटेपछि बर्मा । पहाड र समथर भूभागका  बीचमा बगिरहेकाे एउटा खोलाले भारत र बर्माको सिमाना छुट्याएको थियो ।

हामी बाहिर निस्कँदा इम्फालका लागि एउटा ट्याक्सी तयार थियो । एक हजार भारतीय रुपैयाँ तिरेपछि उसले इम्फाल लैजान तयार भयो । तर गाडी सिधै इम्फाल हिँडेन, मोरेको नेपाली बस्तीमा गएर रोकियो । त्यहाँको कृष्णा मन्दिरमा पाण्डे सरले खानाको बन्दोबस्त मिलाउनु भएको रहेछ ।
भारत र बर्मा दुवै सीमा छेउभरी छ नेपाली बस्ती । जहाँ धार्मिक वा अन्य पर्वमा नेपालीहरु भेला हुँदोरहेछन् । दुवै देशका नेपालीभाषीबीच बिहेबारी हुने गरेको सुनेकी थिएँ । यहाँ अएपछि थाहा भयो, पारि पनि नेपालीहरूको हेटल लगायत धेरै बिज्नेस पनि चल्रदाे रहेछ ।
नेपाल जाने कारणले हुन सक्छ, यहाँ हाम्रो मानमनितो राम्रो भयो । त्यसमाथि हाम्रो टोलीनेता पाण्डे सरका मामा नाता पर्ने मन्दिरका पूजारी हुनुहुँदोरहेछ । धार्मिक स्थल भएकाले उसै पनि खाना खान पाइन्छ नै । त्यसमाथि हामी टाढाका यात्रु, पेटभरि, थपीथपी हामीलाई खाना खिलाउनु भयो। भारतको यात्राभर यही खाना हाम्रालागि विशेष हुन्छ भन्ने कुरा थाहा थिएन ।
खाना खाएर पुनः ट्याक्सी चढ्यौँ । ट्याक्सीले पहाडको उकालो चढाउँदै गर्दा हामी पुनः नेपाली गीत गाइरहेका थियौँ । नेपाल अझै टाढा थियो तर अपरिचित नेपाल हाम्रालागि गीतका गेडाहरूमा थिए, जुन हामी गाउँदै थियौँ।

प्रतिक्रिया
Loading...