मेरो परिचय हुँदा शारदा शर्माको पहिलो कृति “सीमान्त अनुभूति” प्रकाशित भइसकेको थियो । मैले उनका फुटकर रचना खासै पढेको थिइन, त्यसैले फुटकर रचनाहरुबाट वा कुनै साहित्य सम्मेलनको माध्यमबाट होइन, “सीमान्त अनुभूति” को माध्यमबाट उनीसँग परिचय भयो । उनको रचनासँग परिचय भयो । त्यतिबेला उनी नेपाल परिवार नियोजन संघको त्यतिबेला लैनचौरमा अवस्थित कार्यालयको भुइँतलाको कोठामा कार्यरत थिइन् । “नियोजन” पत्रिकाको सम्पादक थिइन् । तिनमा अलिक परिवार नियोजनलाई बढावा दिने खालका कथा कविता पनि प्रकाशित हुन्थे र मूल कुरो, त्यहाँ प्रकाशित भएपछि पारिश्रमिक पाइन्थ्यो । त्यो पारिश्रमिकको लागि स्थापित तथा स्वनामधन्य साहित्यकारले समेत रचना प्रकाशनार्थ दिन्थे भने म अपवाद हुने कुरै थिएन ।

उनी ५ बजेपछि पनि काममै हुन्थिन् । अतः आफ्नो अफिस सकेपछि उनको अफिस पुग्थेँ । आफ्ना रचना दिन्थेँ । उनी विभिन्न साहित्यकारहरुको बारेमा सोध्थिन् र म फरर बताइदिन्थेँ । साहित्यकारहरु, नयाँ पुस्तक र गतिबिधिको सूचना पाएर उनी “ए ! हो ? हगी ! “ भन्दै चाख लिएर स्वाद मानीमानी सुन्थिन् । र आफ्नो पुस्तक सीमान्त अनुभूति किताब दिन्थिन् । कतै त्यो किताबको बारेमा लेखियोस् भनेर उनले एकभन्दा बढी प्रति केही पटक दिएकी हुन्, तर यसको सदुपयोग भने हुन सकेन, उनले पनि त्यस बारेमा फलोअप गरिनन् । म चाहिँ उनको किताब र परिवार नियोजन संघको निशुल्क चिया, मिठो गफ र नियोजन पत्रिकामा रचना प्रकाशन गरेर त्यसको पारिश्रमिकमा रमाइरहेँ । चालिसको दशकमा सय पचास पारिश्रमिकको पनि कम्ता आकर्षण हुन्थेन । तीन चार सय महिनावारी तलब पाउने म एकाउण्टेण्टका लागि र अरुका लागि पनि ।

साझा प्रकाशनका तत्कालीन अध्यक्ष क्षेत्रप्रताप अधिकारीको सपना “गरिमा” पत्रिका मासिक रुपमा प्रकाशन सुरु भएपछि नयाँ र पुराना साहित्यकारलाई यसले आकर्षित गर्न थाल्यो । पुराना र एक प्रकारले सक्रिय लेखन नगरिरहेका गोविन्द बहादुर मल्ल गोठाले, कृष्णभक्त श्रेष्ठजस्ता लेखकहरु गरिमामा देखिन थाले भने हामीजस्ता तीसको दशकमा देखा परेका नयाँ लेखक कविले पनि आफ्नो पहिचान बनाउन गरिमालाई सहयोगी पायौँ । कविताको पुस्तक मात्र प्रकाशित शारदा शर्माका कथाहरु गरिमामा देखिन थाले ।

प्रेमा शाहले सक्रिय कथा लेखन छाडिसकेकी थिइन् । तर उनको मार्ग पछ्याउँदै सीता पाण्डे कवितासहित कथा लेखनमा सक्रिय थिइन् । उनका “बोल्ड” कथाले नेपाली साहित्य जगतमा उत्सुकता उमारिरहेको थियो ।चर्चा बटुलिरहेको थियो । चुम्बकीय आकर्षण थपिरहेको थियो । यसै सन्दर्भमा शारदा शर्मा पनि त्यस्तै उत्सुकता उमार्ने त्यही मार्गका कथाहरु लेखिरहेकी थिइन् । उनको “नागपास” कथा निकै हिट भयो र यो कथाले सीता पाण्डेका कथाहरुलाई छायाँमा पार्यो भनेर गसिप पनि साहित्यिक क्षेत्रमा चल्न थालेको थियो । चर्चा बटुल्दै, पाठकलाई आकर्षित गर्दै शारदाका कथाहरु फुटकर रुपमा प्रकाशित भइरहे र साझा प्रकाशनबाट उनको पहिलो कथा सङ्ग्रह “आस्थाको भग्नावशेष” छापियो ।

कतिपय साहित्यकारका परिवारका अन्य सदस्यहरुसँग पनि बेग्लाबेग्लै हैसियत, बेग्लाबेग्लै परिप्रेक्षमा चिनिन्छ । पछि पात्र उनीहरुको नाता सम्बन्ध थाहा हुन्छ । जस्तो अभिव्यक्तिका सम्पादक नगेन्द्रराज शर्मा र जगदीश घिमिरे सहोदर दाजुभाइ । ध.च. गोतामे र ध्रुवचन्द्र गौतम सहोदर दाजुभाइ । त्यस्तै नरहरी आचार्य र शारदा शर्मा पतिपत्नी । म नरहरि आचार्यलाई त्रिभुवन विश्वविद्यालयका बौद्धिक शिक्षक र लेखको रुपमा चिन्दथेँ । शारदा शर्मालाई कवयित्री र परिवार नियोजन संघमा काम गर्ने नियोजन पत्रिकाकी सम्पादकको रुपमा त चिन्थेँ । नरहरिजीको श्रीमती हुन् भन्ने थाहा थिएन । पछि मात्रै थाहा पाएको हुँ । त्यस्तै लेखक महेश्वर शर्मा शारदाका पिता हुन् भन्ने पनि पछि मात्र हेक्का भएको हो । माइतीमा पिता लेखक र घरमा पति लेखक भएका नेपाली साहित्यकार कमै होलान् भन्ठान्छु म । शारदा शर्मा त्यस्ती भाग्यशाली लेखिका हुन् ।

शारदाले कथा लेखन गर्दा गर्दै पनि कविता लेखनलाई निरन्तरता दिइरहिन् । उनको कविता सङ्ग्रह “युद्धोपरान्त” नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट अफसेट प्रविधिबाट प्रकाशित पहिलो कृति हो । अफसेट प्रविधिको छापाखाना नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा जापानको अनुदान सहयोगमा उपलब्ध थियो । तर टाइप सेटिङ महङ्गो पर्ने हुनाले कुनै कवि लेखकको कृति त्यो प्रविधिबाट प्रकाशन हुन्नथ्यो । तर शारदाले त्यसो हो भने म आफैं टाइप सेटिङ गर्छु भनेपछि प्रज्ञा प्रतिष्ठान तयार भयो र उनको कृति त्यसरी छापियो । त्यसपछि कतिपय लेखक लेखिकाका कृतिहरु शारदाकै शैली प्रकाशित भए, लेखकले नै टाइप सेटिङ्ग गरेर । पछि मात्र प्रज्ञा प्रतिष्ठानले आफैंले टाइप सेटिङ गरी प्रकाशन गर्न थालेको हो ।

शारदाको पहिलो कविता कृतिको भूमिका सरदार यदुनाथ खनालले लेखेका हुन् । मदनमणि दिक्षितले पनि उनको भूमिका लेखे । यस मानेमा नेपाली साहित्यका हेभी वेट साहित्यिक मनिषीहरुले उनको कृतिको भूमिका लेखे । त्यतिमात्र होइन ईश्वर बराल र ईन्द्रबहादुर राई जस्ता शिखर विद्वान् समालोचकहरुले उनको कृतिमा समालोचना गरे । मलाई लाग्छ, यदुनाथ खनाल, ईश्वर वराल अनि ईन्द्रबहादुर राईले हाम्रो पुस्ताको स्वतन्त्र रुपमा व्यक्तिपरक समालोचना कसैको लेखेका छन् भने शारदा मात्रै एक मात्र दुर्लभ भाग्यशाली लेखिका हुन् ।

कविताबाट लेखन सुरुवात गरेकी शारदाले कवितालाई निरन्तरता दिँदै कथा विधामा फड्को मारिन् । उनी कविता र कथामा मात्र अडिइनन् । उनले वीपी कोइराला नेपाल भारत फाउण्डेसनको परियोजना अन्तरगत “ वीपी कोइरालाका उपन्यासका नारी पात्र “ नामक अनुसन्धानात्मक कृति तयार गरिन् । उनका श्रीमान् नरहरि आचार्य नेपाली काङ्ग्रेससम्बद्ध थिए त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन गर्दा गर्दै पनि । यो अध्ययन अनुसन्धानमा त्यसको पनि प्रभाव वा प्रसङ्ग थियो कि ? तर उनको यो कृति उनको अहिलेसम्मको कृतिहरुको सूचिमा एक मात्र बेग्लै विधाको हो । त्यसअघि र पछि यस प्रकारको रचना प्रकाशित भएको पाइन्न । साथै उनको त्यस कृतिसँग उनको नाम जोडेर वा त्यस कृतिलाई स्वतन्त्र रुपमा खासै चर्चा गरिएको पाइन्न, यद्यपि यो कृति आफैंमा उत्कृष्ट मानेको थिएँ मैले ।

वीपी भन्ने बित्तिकै आधुनिक नेपाली कथा र उपन्यासको एक शिखर व्यक्तित्वको तस्बिर खडा हुन्छ मानसमा, उनको राजनीतिलाई पन्छाएर हेर्दा पनि । पछिल्लो चरणमा प्रकाशित आफ्नो कथा र जेल जर्नल एवम् आत्म वृतान्तको बेग्लै विशिष्ट महत्त्व छ । तर पनि उनी नेपाली काङ्ग्रेसका अग्ला नेता हुन् भन्ने कुरा कसै गरी भुल्न सकिन्न । शारदा पनि राजनीतिक हिसाबले नेपाली काङ्ग्रेसको निकट हुनु अस्वाभाविक होइन । परिवार नै प्रजातान्त्रिक तथा पार्टीगत हिसाबले नेपाली काङ्ग्रेसको निकट त हो नै । यसको प्रतिफल पनि शारदाले पाइन् । उनले संयुक्त राष्ट्र संघको महासभामाभाग लिने अवसर पाइन् । यो यौटा ठूलो प्रतिष्ठित अवसर थियो । तत्कालीन समयमा राजनीतिमा भएको उतारचडावका कारण उनले नरहरि आचार्यको राजनैतिक वर्चश्वका हिसाबले सो अवसर चिट्ठा परेको सुनिन्थ्यो । जुनसुकै कारणले भए पनि उनले संयुक्त राष्ट्र संघको महासभामा भाग लिएर इतिहास् बनाइन् ।

परराष्ट्र मन्त्रालयका एक अधिकृत मित्रको भनाइ थियो, “शारदाले मैले मेरै हैसियत र व्यक्तित्वका कारण यो अवसर पाएको हुँ भनेर गर्वका साथ भनिन्, तर हामीले मजासँग पत्याएनौँ ।“

शारदा बौद्धिक सुन्दरीको रुपमा चर्चित थिइन्, लेखनको शक्तिका साथसाथै । उनको सौन्दर्यको उपयोग मोडलिङमा पनि भयो । साप्ताहिक विमर्शको सहप्रकाशन विमोचन मासिकको मुखपृष्ठमा उनको रङ्गीन तस्बिर प्रकाशित भएको थियो । यो बेग्लै कुरा हो, त्यस अङ्कमा अरु पनि नारी लेखिकाहरुका विचारहरुको प्रस्तुति रहेको थियो तर मुखपृष्ठमा उनको मात्रै भव्य तस्बिर छापिएको थियो ।

विसं २०४६ सालको आन्दोलनमा शारदा साहित्यिक हिसावले सक्रिय भइन् । समानान्तर रुपमा नरहरि आचार्य प्राध्यापकहरुको आन्दोलनमा सक्रिय थिए । त्रिचन्द्र क्याम्पसमा भएको साहित्यकार कलाकारले मुखमा पट्टी बाँध्ने कार्यक्रममा उनी पनि सहभागी भइन् र सामूहिक गिरफ्तारीमा पर्नेहरुमा उनी पनि थिइन् । उनले मलाई पछि निकै पटक त्यो कालोपट्टी बाँध्ने कार्यक्रममा किन सहभागी नभएको भनेर प्रश्न गरेकी थिइन् ।

शारदाको कलम कविताबाट, समालोचना, कथा हुँदै उपन्यासमा पुग्यो । उनको राप उपन्यास प्रकाशित भयो र त्यसले पद्मश्री साहित्य पुरस्कार पनि प्राप्त गर्यो । मैले सो कृति अमेरिका मगाएरै पढेको थिएँ । तर त्यो उपन्यासमा फ्रान्सको पेरिसमा कला प्रदर्शनीको प्रसङ्गमा कलाकृतिको मूल्य डलरमा चर्चा गरिएको अमिल्दो लागेर उपन्यास पढ्दाको टिप्पणी नोट गरेको अझै सम्झन्छु ।

शारदाको कलम उपन्यासमा थामिएन । यद्यपि, उनले दोश्रो उपन्यास पनि प्रकाशित गरिन् । तर यसपल्ट उनको कलम नियात्रातर्फ अग्रसर भयो, र उनले लगालग संस्मरणात्मक निबन्धहरु, नियात्राहरु प्रकाशित गरिन् । उनको पछिल्लो कृतिमा दिल्लीमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले उनलाई अँगालो हालेको प्रसङ्ग निकै चर्चित र विवादास्पद मानिएको थियो ।

शारदाको लेखन र प्रकाशनको बारेमा अन्य अधिकांश लेखकहरुको भन्दा फरक छ । उनी शुद्ध लेखिनुपर्छ, आकर्षक ढङ्गले छापिनुपर्छ भन्ने मान्यतामा सदा चनाखो रहन्छिन् र उनका पुस्तकहरु त्यही रुपमा देख्न पाइन्छ । बरु पछिल्लो समयमा प्रकाशित उनको निबन्धात्मक कृतिहरुको मुखावरणमा आफ्नै आकर्षक फोटो राखिनाले त्यसको प्रयोजन केका लागि भन्ने प्रश्न उठाउनेहरु पनि छन् ।
तर उनको लेखनले पाउँदै गरेको प्रौढता नै उनको लेखकीय पूँजी हो । त्यसले नै उनको चिनारी दिन्छ र पछिसम्म सम्झाइरहन्छ ।