Chovar Blues Mobile Size

९. सुनकेस्रा मैयाँ र तीन भालु 

गीता एउटा गद्दा चिप्लेटीको मुखमा राखेर बसी । अनि बेतोडले हुर्रिदै ऊ तलतिर चिप्ली-हुइँ…….. उसको धक्काले घोप्टे जोडसँग खुल्यो । ऊ गद्दा समेत

झ्याउको बाक्लो गद्दामा खसी । ऊ उठ्ने तरखर गर्दै थिई, त्यत्तिकैमा आशिष पनि जोडले खस्यो । अनि भकुन्डे भाइको पालो । ऊ त पाकेको आँपझैँ झ्याउमा खस्यो ।

“यो चिप्लेटी खेल्नु पनि कति मजा हगि आशिष दाइ !’ गीताले भनी “म त दिनभरि खेल्न पाए पनि खेल्थे ।’

“म पनि’ आशिषले भन्यो ‘तर भकुन्डे भाइको घरसम्म रूख चढ्नु पर्छ र पो !”…

भकुन्डे भाइले सुसेलीले रातो लोखर्केलाई बोलाएर गद्दाहरू जिम्मा दियो । अनि उनीहरू रेलगाडीको बिसाउनीतिर लम्के । जुनको उज्यालोले जङ्गल झलमल्ल झल्किरहेको थियो । केटाकेटीहरूले टाढैबाट रेलको छक्‌ छक्‌ छक्‌ सुने । उनीहरू अनौठोसँग त्यो सानो रेलगाडी नजिक आइरहेको हेर्न थाले । रेल आएर बिसाउनीमा अड्यो । त्यो गीताको एउटा खेलौना रेलजस्तै थियो । त्यो त्यसैलाई जादुले ठूलो तुल्याएजस्तो लाग्थ्यो । त्यसको इन्जिनको प्वालमा अझै साँचो झुन्डिइरहेको थियो ।

एनिड ब्लाइटन

भकुन्डे भाइ गीता र आशिषको हात समातेर धिच्याउँदै रेलतिर दगुर्यो । त्यसका डिब्बामा टिनका झ्याल-ढोका थिए । आशिषले एउटा ढोका जोडसँग खोल्न खोज्यो, तर खुल्दै खुलेन । त्यत्तिकैमा रेलले हिँड्ने सिटी बजायो ।

“लौ रेल हिंड्न लाग्यो, छिटो गर’ भकुन्डे भाइले गीता र आशिषलाई धकेल्दै भन्यो । तर त्यो रेलमा कसरी चढ्ने, उनीहरूलाई थाहा थिएन । भकुन्डे
भाइले उनीहरूलाई छानामा चढायो । अनि सबैजना त्यहाँबाट चिप्लेर डिब्बाभित्र पसे ।

त्यो पक्कै पनि खेलौना रेललाई चटक गरेर ठूलो तुल्याएको होला’ गीताले रेलको डिब्बामा पुगेर भनी ‘मैले यस्तो हाँसो उठ्दो रेल त देखेकै छैन ।’

भकुन्डे भाइले डिब्बामा बस्ने ठाउँ पाएन । ऊ उभिएरै रह्यो । गीता र आशिष पनि उभिएरै रहे । किनभने झ्यालबाट केही देखिँदैनथ्यो । रेल अर्को बिसाउनीमा पुगेर रोकियो । यस बिसाउनीको नाउँ ‘सिंगारिएका काला पुतलीको बिसाउनी’ थियो । त्यहाँ तीनमध्ये एउटा त गीताकै घरको पुतलीजस्तो थियो । गीता छक्क परेर हेर्न थाली । रेल फेरि हिँड्यो ।

अर्को बिसाउनीमा रेल फेरि अडियो । त्यहाँ पनि तीनजना नराम्रा आइमाइहरू चढे । एउटी उनीहरूकै डिब्बामा चढी र गीतालाई धक्याउँदै बसी “पर जा, फुच्ची ।… मलाई बस्न दे ।’

त्यो आइमाई बडो अप्ठ्यारी थिई । ऊ चुप लागेर बस्नै नसक्ने, यता र उति चलिरहन्थी । उसको ढकीका काँडे गुलाफका काँडाले गीतालाई घोचिरहन्थे । गीता ज्यादै अप्ठेरोमा परी ।

‘आइपुग्यो !… आइपुग्यो !’ अर्को बिसाउनीमा रेल अडिनासाथ भकुन्डे भाइ खुसी हुँदै करायो । त्यो बिसाउनी “भालु बिसाउनी’ थियो । त्यहाँ थुप्रै अल्छी भालुहरू यताउति लरखराइरहेका थिए। ती कुनै खैरा, कुनै नीला, कुनै गुलाफी रङका थिए । तिनीहरू कुरा गर्दा एकै ठाउँमा ठोस्सिएर बस्थे, घुँक-घुँक गर्दै कुरा गर्थे । त्यो बडो हाँसो उठ्दो लाग्थ्यो ।

“मलाई सुनकेस्रा मैयाँ र तीन भालुको घर देखाइदिन सक्छौ ?’ भकुन्डे भाइले एउटा भालुसँग सोध्यो । त्यो नीलो भालुले अल्छी मानेर भन्यो ‘पहिले त्यो गल्लीमा मास्तिर उक्ल अनि तलतिर ओर्ल, अनि घुमेर जाऊ ।’

धन्यवाद !’ भकुन्डे भाइले भन्यो । अनि सबै गल्लीतिर लागे । गल्ली डोरीझैं बटारिएको थियो । उनीहरू घुम्दै त्यसमा चढे, घुम्दै त्यसबाट झरे र अनि घुम्ती घुम्दै एउटा बाक्लो झाडीमा आइपुगे । त्यस झाडीका माझमा एउटा राम्रो, चिटिक्क परेको घर थियो । त्यसलाई गुलाफका फूल र लहराले ढपक्क छोपेको थियो । त्यसका सानासाना झ्याल जुनको उज्यालोमा पुतलीका आँखाजस्तै चम्किरहेका थिए ।

भकुन्डे भाइले ढोका ढक्ढक्यायो । ‘भित्र आऊ ।’ एउटा मीठो स्वरले बोलायो । उनीहरू भित्र पसे । कोठामा एउटा टेबिल थियो । टेबिलमाथि तीनओटा कचौरा थिए । कचौरामा तातो-तातो हलुवाबाट बाफ छुटिरहेको थियो । टेबिल वरिपरि तीनोटा मेच थिए एउटा ठूलो, एउटा मझौला र एउटा सानो । यो साँच्चै परीकथाको सिनेमामा देखिने घरजस्तै लाग्दथ्यो । तर त्यो कोठामा कोही थिएन ।

‘हामी यता छौँ, सुत्ने कोठामा ।’ अर्को कोठाबाट आवाज आयो । केटाकेटीहरू भित्र पसे। त्यो सानो सुत्ने कोठामा तीनओटा ठूलो, मझौला र साना पलङ थिए । ठूलो पलङमा एउटा ठूलो खैरो भालु, मझौलामा एउटी धम्मरधुस पोथीभालु र सानोमा एउटा नीला आँखा भएको मायालाग्दो बच्चो भालु पल्टिरहेका थिए ।

‘सुनकेस्रा खोइ त ?’ भकुन्डे भाइले सोध्यो । सुनकेस्रा बजार गएकी छिन्‌ भनेर पोथी भालुले भनी । त्यस रात मोहिनी वनमा हाट लागेकोले सुनकेस्रा त्यहीँ गएकी थिइन्‌ । ‘उनी एकैछिनमा आउँछिन्‌’ भालुले भनी ।

“परीकथामा पनि तिनी यसै गरी हाट जान्छिन्‌, भालुकै घरमा बस्छिन्‌ ।’ गीताले खितखित्‌ हाँस्तै भनी- “कस्तो अचम्म !’

“कुन परीकथा ?’ सानो भालुले खुब चाख मान्दै सोध्यो । गीताले भनी “हामीलाई हजुरआमाले सुनाउने परीकथामा – तीन भालु र सुनकेस्रा मैयाँको कथा !’

“लौ सुनकेस्रा पनि आइहालिन्‌’ सानो भालुले ताली बजाउँदै भन्यो । साँच्चै सुनकेस्रा खेलौना र मिठाईको पोको बोकेर भित्र पसी । झोला टेबिलमा राखेर सानो भालुलाई बोकेर म्वाइँ खान थाली ‘ए सानो भालु ! … तँ कतिको ज्ञानी भएर बसिस्‌ ?’

‘ज्ञानी भएर बसेँ दिदी !” सानो भालुले भन्यो । …अनि सुनकेस्राले गीताहरूलाई देखी । ‘ओ !… यी को हुन्‌ ?’

‘यिनीहरू गीता र आशिष हुन्‌” भकुन्डे भाइले भन्यो । अनि उसले अमर हिउँ-दानवको धरतीमा हराएको र उनीहरू मद्दत माग्न आएको कुरा भन्यो। ‘त्यो हिउँ-दानवको कैदबाट अमरलाई छुटाउन हाम्रो मद्दत गर ।’

“तर मलाई त्यहाँ जाने बाटो थाहा छैन’ सुनकेस्राले भनी । अनि भाले भालुले ‘मलाई थाहा छ’ भन्दै ‘ती सेता भालु त मेरा मामाका छोराछोरी हुन्‌’ भनेर बतायो । अनि उसले भन्यो- ‘भकुन्डे भाइ, तिमी जादु गर्न सक्छौ भने हामी त्यस धरतीमा तुरुन्त पुग्नेछौँ ।’

रमेश विकल

भालुले एउटा ठूलो घैंटोमा पानी भरेर ल्यायो । त्यसमा के हो पहेँलो धुलो हालेर चम्चाले चलायो । अनि भकुन्डे भाइले त्यस घैंटोमा हात हालेर मन्त्र जप्न थाल्यो । त्यो पानी घैंटाको मुखबाट निस्केर भुइँमा चारैतिर फैल्यो । कस्तो अचम्म । त्यो पानी त हिउँको नदी बनेर ढोकाबाट बाहिर फैल्यो । गीताले झ्यालबाट बाहिर हेरी । आशिषले पनि हेर्यो । बाहिर त जताततै हिउँ फैलेको । ‘ए यो त अमर हराएको हिउँको धरती पो भएछ ।’

‘हो, यो हिउँ दानवको धरती हो । भालुले भन्यो र उसले सबैलाई एक एक भुवाको न्यानो कोट दिएर भन्यो, लौ अब हामी तुरून्त बाहिर जाऔँ । नत्र फेरि यो धरती हराउने छ ।’

अनि सबैजना न्यानो कोट लगाएर हिउँको धरतीमा निस्के । चिसो सिरेटोले उनीहरू कान एकपल्ट रन्काइदियो ।