युवा सर्जक दीपेन प्रधानको पहिलो कृति ‘बाछिटाहरू’ मुक्तक संग्रह सन् २०१४ सालमा प्रकाशित भएको हो। बाछिटाहरूको बाछिटा नयाँ पुस्ताका सर्जकहरूलाई लागेकै हो। मुक्तकको पकड़देखि अलि पन्सिएर सन् २०१९ सालमा उनको दोस्रो कृति ‘काव्य मीमांसा’ – समीक्षा संग्रह प्रकाशित भएको छ। समीक्षा संग्रहभित्र समीक्ष्य कृतिहरू दश जना सर्जकहरूको समन्वित गरिएको छ। उक्त संग्रहभित्र ६ वटा कविता कृति, एउटा गीत संग्रह, एउटा खण्डकाव्य, एउटा मुक्तक संग्रह अनि एउटा संयुक्त संग्रह (कथा-कविता)-बाट कविताबारे चर्चा गरिएको छ।

प्रत्येक कृतिबारे दीपेन प्रधानले आफ्नो समीक्षीय पकड़ अनुसार व्याख्या-विश्लेषण गर्ने कोशिस गरेका छन्। उनको यो प्रयास सकारात्मक एवं प्रंशसनीय देखिन्छ। उनको यस सत्प्रयासले उनलाई युवा व्याख्याकारको रूपमा चिन्हित गरेको छ। इबराको समालोचनाको समालोचना भने जस्तो मेरो सानो चर्चा यस पुस्तकबारे।

कृतिउपर व्याख्या विश्लेषण गरिने प्रक्रियालाई समीक्षा-समालोचना भनिँदै आएको छ। तर समालोचनाको परिपाटी अरूको लेखनमा नयाँ नयाँ अवधारणा लिएर आइरहेका छन्। पाठक प्रतिक्रिया समालोचकीय सिद्धान्त अहिलेको लेटेस्ट प्रक्रिया मानिन्छ। रोलाँ बार्थको निबन्ध ‘डेथ अफ दि अथर’ – ले नयाँ मोड़ लियो। उनका भनाइ अनुसार लेखकको मृत्यु होइन तर पटक पटक उनको जन्म भइरहने प्रसंग उठान भएको मानिन्छ। समालोचनाका नयाँ अवधारणा अहिलेलाई चल्दै आएका परिपाटीहरू – (क) उत्तर-आधुनिक समालोचना, (ख) मनोवैज्ञानिक समालोचना, (ग) नारीवादी समालोचना, (घ) मार्क्सवादी समालोचना, (ङ) उत्तरउपरिवेशवादी समालोचना, (च) इकोक्रिटिसिजम, (छ) व्यवहारिक समालोचना, (ज) समकालीन समालोचना, (झ) साहित्यिक समालोचना, (ञ) संरचनावादी समालोचना, (ट) नव समालोचना आदि मानिन्छन्।

‘काव्य मीमांसा’-का समीक्षाहरूलाई मेरो निजी हेराइमा निफन्नुपर्दा व्यवहारिक समालोचना मूलतः प्रयोग गरिएको पाएँ। व्यवहारिक समालोचना भनेको काव्यकृतिहरूबारे विश्लेषण गरिने प्रक्रिया बुझिन्छ। कृति पठनपछिको समीक्षकीय अथवा समालोचकीय टिका टिप्पणी, व्याख्या आदि बुझिन्छ। गीत अथवा गीति कविता पनि यो परिपाटीमा पर्दछ। आइ.ए. रिचर्डसले शुरू गरेको यो व्यवहारिक समालोचना (Practical Criticism 1920) विश्वमा चर्चित भएको छ। रिचर्डसका प्रसिद्ध कृतिहरू (क) The meaning of meaning, (अर्थहरूको पछिल्तिर – इबरा), (ख) Practical criticism, (ग) Principle of literary criticism आदि आज पनि चर्चित छन्।

काव्य मीमांसाभित्र समावेश समीक्षाहरू प्रायशः ओझेलमा परेका कृतिहरूलाई नै समीक्षक दीपेन प्रधानले प्राथमिकता दिएका छन्। साहित्यिक कृतिहरूको मापदण्ड दिइने प्रक्रियामा यी कृतिहरू पनि पर्न सक्छन् भन्ने धृष्टता हो – दीपेन प्रधानको। कृतिको वैशिष्टता पाठकउपर अन्तर्निहित हुने हो भन्ने पनि समीक्षकको दृष्टिकोण हो। चन्द्र वानुछाका कविताहरूमाथि थोरै चर्चा भएका छन्। यहाँ चर्चामा उठान गरेर समीक्षकले कृतकार्य गरेका छन्। ‘समयका पाइलाहरू’ नारीवादी स्वर भनेर कवि कमला राईको काव्यकृतिलाई किटान नै गरेका छन् समीक्षक दीपेन प्रधानले यहाँ। उक्त कृतिउपर सक्दो न्याय दिने कोशिस गरेका छन्। नारी स्वतन्त्रताको आन्दोलन साठीको दशकमा शुरू भएको हो। नारी समानताको आवाज, असमानताको विरोध, समाजमा नारी-पुरुषको समानता हुनुपर्छ भन्ने एप्रोच टड्कारो रूपमा अघि आएको हो। नारी समाजमा र उन्मुक्तिबारे चर्चित पुस्तकहरू प्रकाशित भएर आए। Marry Willstoncraft को A Vindication of the Rights of Women, Virginia Wolf को A room of one’s own, सिमोन दि वुभाको The Second Sex, फ्रेडरिक एँगल्सको The origin of the family आदि विश्व चर्चित नारीवादी स्वरका कृतिहरूले नारीहरूलाई समाजमा समानताको पहिचान दिइने सम्भवत: घोषणा नै गरे। एमी रिचर्डसनको कृति निक्कै टड़्कारो रूपमा अघि आएको छ। क्रिस्टिभाले त women can never be defined नै भनेका छन्। इरीगेरीले The sex which is not one भनेर अझ थप नारीवादी बुलन्द स्वरमा कुर्लिएका थिए। Stoddert Kennedy को कविता Passing the love of Women मा नारी सशक्तिकरणको आवाज पाइन्छ। यहाँ समीक्षक दीपेन प्रधानको समीक्षा अत्यन्त प्रभावशाली भएको देखिन्छ – नारीवादी स्वरको पक्षमा। इको राइटिङ अथवा पर्यावरण लेखनमाथि लेखिएको कृति ‘वृक्ष सम्वाद’-लाई समीक्षकले सलल… सरर व्याख्या गरेका छन्। इको राइटिङ अथवा इको क्रिटिसिजम वर्तमान समयमा चलेको नयाँ लेखनका अवधारणा हुन्। वातावरणीय अथवा पर्यावरणीय साहित्य लेखनतिर पश्चिमेली लेखकहरूको ध्यान निक्कै अघिदेखि नै गएको हो। लेज्ली मार्मोन सिल्कोको कृति ‘सेरेमोनी’ र लिण्डा होगानको ‘सोलार स्टम्ज’ विश्वप्रसिद्ध इको राइटिङसम्बन्धी लेखिएका कृतिहरू हुन्। त्यस्तै अर्को एउटा अंग्रेजी अमर कविता थोमस हार्डीको ‘In the time of the Breaking of Nations’ इको क्रिटिसिजमभित्रको एउटा धारिलो नमूना मान्न सकिन्छ। कवितालाई यहाँ राख्न उपयुक्त सम्झें –

किशन प्रधान (दार्जीलिङ)

Only a man harrowing clods

In a slow silent walk

With an old horse that stumbles and nods

Half asleep as they stalk.

 

Only thin smoke without flame

From the heaps of coach grass

Yet this will go onward the same

Through Dynasties pass.

 

Yonder a maid and her wight

Come whispering by

War’s annols will cloud into night

Eve there story die.

इकोसेन्ट्रिक अथवा इकोलजिकल विषयगत धारणाका सर्वोत्कृष्ट मानिएका कविता हुन्।

यहाँ ‘वृक्ष सम्वाद’ कृतिलाई समीक्षकले पर्यावरणीय चेतना बोकेको कृतिको रूपमा सविस्तार व्याख्या गरेका छन्। कृतिको औचित्यलाई सकेसम्म निफन्ने काम गरेका छन्। समीक्ष्य कृति ‘अनुहारमा भूगोल’ र ‘फलेदो’ कविद्वय सुकराज दियाली अनि नवीन सिलासका काव्यकृतिहरूमाथि समीक्षकको समीक्षीय लेखनको बनावट प्रायः एकै खालको देखिन्छ, कुनै कृतिका केही कवितांशहरूबारे आफ्नो नितान्त व्यक्तिगत धारणा अभिव्यक्त गरेका छन्। कविताका अर्थहरूको निर्क्यौल गर्ने प्रयास गरेका छन्। कविताका गहिराइमा डुबेर चिरफार भने गरिहालेका छैनन्। बरु तुलनात्मक विश्लेषण भने सुन्दर प्रकारले गरेका छन्।

शरण राईद्वारा लिखित मुक्तक संग्रह ‘आगोका झिल्काहरू’ – बारे समीक्षकले संक्षिप्तरूपमा कृतिको सांगोपांग केलाउने प्रयास गरेका छन्। राहुल राई बोगिकोका कविताहरूबारे पनि समीक्षकले छोटकरीमा नै समीक्षात्मक अभिव्यक्ति दिएर काव्यप्रवृत्तिको औचित्य पर्गेल्ने अभीष्ट राखेका छन्। क्रमशः सुकराज दियाली, नवीन सिलास अनि बोगिकोका कविताहरूमा भेटिएका पक्षहरू मानवकेन्द्रित कविता, आत्मकेन्द्रित, समयकेन्द्रित कविताहरूको पनि विश्लेषण सम्भवतः गरिन सक्ने पक्षहरू छुटिन गएको अनुभव हुन्छ। सर्जक सतीस दियालीको गीत संग्रह ‘यो मनको भाका’ कृतिबारे प्रधानले संक्षिप्त समिक्षण गरेर कृतिलाई सुन्दरताको कसीमा बाँध्ने काम गरेका छन्। गीतको प्रसंग उठ्नेबित्तिकै हामीलाई दलसिंह गहतराजको गीतको सम्झना आइहाल्छ –

‘नेप्टी चेप्टी दार्जीलिङ कस्तो छ?

झिलि र मिलि बिजुली बत्ती इन्द्रासन जस्तो छ।’

अम्बर गुरूङको कृति ‘कहाँ गए ती दिनहरू’ – भित्र एउटा रचना छ – ‘सी माइनरको मेरो जिन्दगी’। त्यहाँ एक ठाउँ यसरी लेखिएको छ – ‘एउटी युवतीले आफ्नो परिचय यसरी दिई – तपाईंको भाषण सुनेर म यति प्रभावित भएँ कि मेरो आँखामा आँसु  आयो। मैले सोधिसकेको रहेछु – उसो भए मेरो कुन चाहिँ गीत मन पर्छ? उसको जवाफ थियो – गीत त तपाईंको मैले एउटा पनि सुनेकी छैन।’ आज त्यस्तै अवस्था छ कलाकारहरूको। सतीसको गीत कसले पढ़ेका छन् र? कसले सुनेका छन् र? समीक्षकले उनको गीत संग्रहको समीक्षात्मक टिप्पणी लेखेर उनीप्रति न्याय गरेका छन्।

समीक्षकीय कृतिहरूमा अर्का दुई कृतिहरू क्रमशः ‘जल्दा सपनाहरू’ अनि ‘मूर्दाहरूसित म’ कविद्वय विष्णु कुमार बराइली एवं भास्कर देवानलाई आफ्नो समीक्षामा स्थान दिएर पाठकदेखि ओझेल हुन वञ्चित गरेका छन्। दुवै कृति समीक्षणको शुरूवात एकैनासे छन्।  प्रथम उदाहरण ‘जल्दा सपनाहरू’ – हरियाली हराभरा, सौसम्या स्निग्ध प्रकृतिको काख सुरम्य डुपिटनको पाखामा बसेर नब्बेको दशकदेखि आफ्नो साहित्यिक यात्राको आरम्भ गर्ने एक प्रतिभाशाली कवि हुन् – विष्णु कुमार बराइली। दोस्रो उदाहरण – हरियाली चियाबारीका कलिला मुनाहरूले सजिएको, हरियाली पाखाभित्ताले भरिएको त्यो सुन्दरता थप्ने चियाबारीमा जन्मिएर पहिलो कृति ‘मूर्दाहरूसित म’ कविता संग्रह लिएर उदाएका युवा कवि हुन् भास्कर देवान।

प्रधानले दुवै काव्यकृतिबारे आफ्नो पारखी नजरले भेटिएको निगुड़ कुराहरूलाई विश्लेषण गरेका छन्। काव्यिक औचित्यको संरचनागत ढाँचालाई सम्प्रेषणीय बनाउने सत्प्रयास गरेका छन् अनि सफल भएका छन्। ‘जल्दा सपनाहरू’-का कविताहरू पढ़्दा मलाई सरूभक्त श्रेष्ठको ‘इतर समय’- काव्यकृतिको सम्झना आयो। ‘मूर्दाहरूसित म’ कविताहरू हेर्दा गीता कार्कीको काव्यकृति ‘मलाई अँध्यारो मन पर्छ’-को सम्झना हुन्छ।

अन्त्यमा – काव्य मीमांसाभित्र दश कृतिहरूलाई समीक्षक दीपेन प्रधानको पारखी लेखनले सजाउन खोजिएको विश्लेषणीय कृतकार्यलाई प्रशंसा नगरी सकिनँ । पहिला उनी मुक्तककार/कवि अब युवा समीक्षकको रूपमा पाएका छौं।