‘साताका पुस्तक’ स्तम्भअन्तर्गत नयाँ तथा पुराना कृतिहरुलाई समेट्दै कृति तथा स्रष्टालाई साहित्यका पाठकसम्म पुर्याउने हाम्रो उदेश्य हो । अगामी दिनमा पाठक तथा स्रष्टाहरुको सहयोगले यस स्तम्भलाई थप सशक्त रुपमा अगाडि बढाउन सकिने विश्वास लिएका छौँ ।

यसैक्रममा ‘साताका पुस्तक’मा यो साता पाँच पुस्तक । ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’देखि ‘शेक्सपियरका नाटक’सम्म; पुस्तककाे छाेटाे परिचयसहित ।

====

१. एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म – शरद निरोला

शरद निरोलाकृत नियात्रासङ्ग्रह हो, ‘एट्लान्टिकदेखि प्रशान्त महासागरसम्म’ । लामो समयदेखि अमेरिकामा बसोबास गर्दै आएका शरद निरोला आख्यान क्षेत्रमा एक स्थापित नाम हो । जासुसी उपन्यासमा थुप्रै कृतिहरु प्रकाशित गरिसकेका निरोला नेपालमा छँदा प्राध्यापन र पत्रकारिता क्षेत्रमा आबद्ध थिए ।

‘यात्रामा रमाइलो पनि हुन्छ, गाह्रो पनि हुन्छ । यो संसारमा सबैले कुनै न कुनै रुपमा यात्रा गरिरहेकै हुन्छन्, तर ती यात्राको अभिलेख राख्ने या नियात्रा नै लेख्ने सीप र जाँगर सबैमा हुँदैन ।’, पुस्तकको भूमिकामा पवन आलोक लेख्छन्, ‘नेपाली साहित्यमा नियात्रा, यात्रा/भ्रमण संस्मरण वा यात्रानिबन्ध लेखनमा पछिल्लो समयमा निकै तीव्रता आएको देखिन्छ । पाठकहरुले पनि धेरै रुचाएको विधा हो यो, तर लेखकले इमानदार हुनुपर्छ । कुनै किसिमको छलछाम नगरी नढाँटी यथार्थपरक ढङ्गले नियात्रा लेखिनुपर्दछ । पाठकलाई मिस गाइड गर्नुहुन्न । नियात्रामा यो महत्त्वपूर्ण पक्ष हो ।’

कृतिको पहिलो खण्ड ‘एट्लान्टिक महासागरतर्फ’अन्तर्गत आठ र दोस्रो खण्ड ‘प्रशान्त महासागरतर्फ’अन्तर्गत आठ गरी जम्मा १६ शीर्षकका नियात्राहरु सङ्ग्रहित छन् । दायित्व वाङ्मय प्रतिष्ठान, नेपालले प्रकाशनमा ल्याएको कृतिको मूल्य ४ सय ५० रुपियाँ रहेको छ ।

 

२. अँध्यारोको अगुल्टो – जगन्नाथ दाहाल

जगन्नाथ दाहालकृत ‘अँध्यारोको अगुल्टो’ गजलसङ्ग्रह हो । यो दाहालको अठारौं गजलसङ्ग्रह हो । सङ्ग्रहमा छन्द र बहर, सममात्रिक, सवाई लय, झ्याउरे लयलगायत प्रकारका गजलहरु रहेका छन् । दाहालले जीवनयापनको विभिन्न कालखण्डमा आइपरेका मीठा नमीठा अनुभूतिरुलाई गजलको रुप दिने प्रयास गरेका छन् ।

‘अँध्यारोको अगुल्टोभित्रका धेरै गजलमा स्वभाविक भाषाको प्रयोग भए पनि बहरमा लेखिएको गजलहरुमा केही कसरतको आवश्यकता भने देखिन्छ ।’, पुस्तकको भूमिकामा प्रभाती किरण लेख्छन्, ‘समग्रमा गजललाई माया गर्ने निरन्तर गजल साधना गर्ने स्रष्टा दाहालको यो कृति समसामयिक नेपाली गजलले समातेका विभिन्न धारहरुको प्रतिनिधि पनि हो । अँध्यारोमा अगुल्टो बालेर समाजलाई उज्यालो दिन चाहने स्रष्टालाई निरन्तर परिष्कार, परिमार्जनका साथ गजल लेखिरन अनुरोध गर्दै यो कृतिको सफलताका लागि शुभकामना ।’

पुस्तकलाई भुँडीपुराणले प्रकाशनमा ल्याएको हो । १ सय पृष्ठमा फैलिएको कृतिको मूल्य १ सय ५० रुपियाँ रहेको छ ।

 

३. यथार्थमा अमेरिका (भाग–दुई) – मन्जु निरौला

मन्जु निरौलाकृत ‘यथार्थमा अमेरिका, भाग–२’ जेष्ठ नागरिकमा आधारित निबन्धसङ्ग्रह हो । पुस्तकमा ‘९०१४ एटिक टावर: जहाँ जेष्ठ नागरिकको बसाइ छ’देखि ‘सेक्सी बूढो: ग्रीन टी’सम्म गरी १९ शीर्षकमा जेष्ठनागरिकसँग जोडिएका निबन्धहरु सङ्ग्रहित छन् ।

‘हार्दिकता विमुख बन्दै गएको अमेरिकी जीवनशैली र जेष्ठ नागरिकहरुले पाउने सुविधालाई जीवन्तरुपमा उतार्न सक्नुभएको छ – मन्जु निरौलाले ।’, पुस्तकको शुभकामना सन्देशमा श्रीओम श्रेष्ठ ‘रोदन लेख्छन्, ‘सहजता र चित्रात्मकता उहाँको लेखनको विशेषता बनेको छ । यथार्थमा अमेरिक पुस्तक पढेपछि अमेरिका नगए पनि अमेरिका पुगेको अनुभूति गराउँछ ।

अमेरिकामा शिक्षण पेसामा संलग्न निरौलाका यसअघि प्रवासका सुस्केराहरु र यथार्थमा अमेरिका गरी दुई कृति प्रकाशित भइसकेका छन् ।
पुस्तकलाई लेखक स्वयंले प्रकाशनमा ल्याएका हुन् । १ सय २० पृष्ठमा फैलिएको नियात्रा कृतिको मूल्य २ सय ५० रुपियाँ रहेको छ ।

 

४. शेक्सपियरका नाटक (भाग–१)

विश्व प्रसिद्ध नाटककार विलियम शेक्सपियरका १६ वटा नाटकहरुको नेपाली अनुवादको सङ्ग्रह हो, ‘शेक्सपियरका नाटक – भाग २’ । पुस्तकमा ‘जुलियस सिजर’, ‘हैमलेट – डेनमार्कका युवराज’, ‘किंग जान’, ‘क्याकबेथ’, ‘किंग रिचर्ड द सेकेन्ड’, ‘राजा लियर’, ‘ओथेलो’, ‘किंग हेनरी द फिप्थ’, ‘ट्रायलस र त्रेसिडा’, ‘किंग हेनरी द सिक्स्थ (प्रथम, द्धितीय र तृतीय’, ‘रोमियो एण्ड जुलियट’, सिम्बेलिन’, ‘किंग हेनरी द एट्थ’, ‘एन्टोनियो एण्ड क्लियोपेट्रा’, ‘कारियोलेनस’ र ‘टिमान अप एथेन्स’को नेपाली अनुवाद सङ्ग्रहित छन् । नेपाली अनुवाद मधुसूदन पाण्डेयले गरेका हुन्छ ।

‘मधुसूदन पाण्डेय (एम.ए., बी.एल.) करिब अढाई दशकदेखि नेपाली साहित्यका क्षेत्रमा कलम चलाउँदै आउनुभएको छ । हालसम्म उहाँका मौलिक र अनुवाद गरी करिब एक सय पुस्तक प्रकाशित छन् ।’, पुस्तकको अन्तिम पृष्ठमा लेखिएको छ, ‘शेक्सपियर यस्ता महानतम् स्रष्टा हुन् जो मात्र बाउन्न वर्ष भौतिक शरीर लिएर बाँचे तर रचनाका माध्यमबाट आजपर्यन्त विश्वभर बाँचिरहेका छन् र हजारौँ लाखौँ वर्षपछिसम्म पनि बाँचिरहने छन् ।’

पुस्तकलाई भुँडीपुराण प्रकाशन गृहले बजारमा ल्याएको हो । ३ सय ८ पृष्ठमा फैलिएको पुस्तकको मूल्य ४ सय ८० रुपियाँ रहेको छ ।

 

५. फेसिङ अ लिटल भोल्क्यानो – उदय अधिकारी

समालोचक उदय अधिकारीले लिएको साहित्यकार महेश पौड्यालको अन्तरवार्ता हो, ‘फेसिङ अ लिटल भोल्क्यानो’ सार्वजिक भएको छ । पुस्तकमा साहित्यसम्बन्धी २२ फरक फरक विषयमा समालोचक अधिकारी र स्रष्टा पौड्यालबीचको गहन संवाद समेटिएको छ ।

संवादले एउटा लेखकको निर्मिति, सिर्जनाको पक्ष, समकालीन नेपाली साहित्य र अन्तर्राष्ट्रियकरण, अनुवादका सजिला–अप्ठेरा, बालसाहित्यको वर्तमान अवस्थाजस्ता सार्वजनिक साहित्यिक चासोका विषय समेटेको छ भने स्रष्टा पौड्यालको जीवनमा सबैभन्दा बढी प्रभाव पारेका २५ देशी–विदेशी पुस्तकको विवेचना पनि समेटिएको छ ।

पुस्तकलाई बि।एन। पुस्तक संसारले बजारमा ल्याएको हो । समालोचक अधिकारीको यो दोस्रो संवाद–पुस्तकक हो ।