सन् १९४६ को नोबल पुरस्कार विजेता हर्मन हेस्सेको सिद्धार्थ पढ्ने अवसर भर्खरै जुर्‍यो ।

भाषा अनुवादक सुशील शर्मालाई हृदयबाट नै हार्दिक आभार व्यक्त गर्दछु। नेपाली भाषामा उल्था गरिएको कृति भए पनि हर्मन हेस्सेले जुन भाव र मर्मका साथ उपन्यास लेखेका थिए अनुवादकले लेखकीय भावलाई मर्न नदिएर कृतिमाथि न्याय गरेर कृतिलाई अमर पारेका छन् ।

सिद्धार्थका प्रत्येक अक्षरहरूमा जीवन दर्शन ओतप्रोत छ । हरेक शीर्षकले गहिरो भाव र अर्थ बोकेका छन्। विषयवस्तुको उठानले प्रत्येक मानव हृदयलाई झक्झक्याएको छ । अँध्यारोबाट उज्यालोको मार्ग हिँड्न सिकाएको छ। संसारबाट प्राप्त हुने सम्पूर्ण सुखहरूको सीमा हुन्छ । भौतिक सुखबाट आर्जन गरेका सम्पूर्ण खुसीहरू क्षणिक हुन्छन्, जब त्यो सुख प्राप्त हुन्छ फेरि मान्छे अर्को सुखको खोजीमा भौँतारिन्छ । त्यसैले शान्तिबाट आर्जित आनन्दले मात्र मान्छेलाई पूर्णता दिन्छ । सिद्धार्थका कथाहरू जीवन्त हुनुका साथै मननीय, पठनीय र अनुकरणीय छन् ।

सिद्धार्थ जर्मन या अङ्ग्रेजीमा कस्तो छ मैले पढेको छैन । तर पनि हर्मन हेस्सेको कालजयी साहित्यको पूर्णरूपमा रसस्वादन मज्जाले गर्न सकेँ।

सिद्धार्थको बाल्यकाल, गोविन्दसँगको मित्रता र चेतनाको उच्च स्तरलाई निकै सुन्दर तरिकाले उल्लेख गरिएको छ ब्राह्मण पुत्रमा । बाल्यकालमा नै ऊँ अक्षरको पवित्रताको बोध सिद्धार्थलाई थियो । श्वासप्रश्वासको स्थिरतामा निहित ऊँ तत्त्वको बोध गर्न सिद्धार्थ सिद्धहस्त भइसकेका थिए। सिद्धार्थको चेतना विराट् थियो । जडमा पनि चेतन तत्त्व देख्न सक्ने सम्यक् दृष्टि थियो। आत्मज्ञानले छपक्क भिजेका सिद्धार्थजस्ता ज्ञानी पुरुषले पनि अझ जान्ने, बुझ्ने र अनुभव गर्ने तीब्र ईच्छा अँगालेर घर छोडेको प्रसंगले एक पटक पाठकलाई सोच्न बाध्य पार्छ ।

आफूभित्रको तृष्णा, इच्छा, आकाङ्क्षा, राग, द्वेष अनि सुख र दु:खका अनुभूतिहरूबाट पूर्णत: मुक्त हुनको लागि सिद्धार्थ श्रमणहरूको निकट जान्छन् । अनुभूतिबाट प्राप्त गरेको ज्ञान र वैराग्य नै शाश्वत ज्ञान हो भन्ने खोजीमा श्रमण पनि छोड्छन् र सहर पस्छन् ।

मानिसहरू जति- जति वयस्क हुँदै जान्छन्, शरीरमा मासुका डल्ला मात्र बढ्दै जान्छन्। विचारको पवित्रता, भावनाको शुद्धता, हृदयको संवेदनशीलता, शान्तिको अनुभूति गर्ने क्षमता आदि सम्पूर्ण कुराहरू नष्ट भएर जाँदारहेछन् ।(११०) वास्तवमा हेस्सेले लेखेको माथिको वाक्यले मेरो हृदय छियाछिया भयो । हामी जन्मजात विछिप्त हुँदा रहेनछौँ। आफ्नै कर्म, अव्यवस्थित आहारविहार र नकारात्मक सोचको कारणले हामी भित्रको दैविक गुणहरू बिस्तारै आफ्नै हातले नष्ट पारेर अशान्त भएपछि पुनः बाहिर शान्ति खोज्दै भड्किरहेका हुन्छौँ ।

शान्ति त साधनामा निहित भएको विज्ञान सिद्धार्थका हरेक शब्द शब्दमा भेटेँ ।

सिद्धार्थभित्रका हरेक अक्षरले मेरो हृदय छोयो । उमेरअनुसारका पाठकहरूले सिद्धार्थको व्याख्या पनि फरक फरक गर्न सक्छन् । कसैलाई सिद्धार्थ एक युवाको जीवन कथा मात्र पनि लाग्न सक्छ ।

अनिता काेइराला

जब मैले सिद्धार्थ पढ्न थालेँ । मेरो उत्साह झन्झन् बढ्दै गयो । राम्रोसँग पुस्तकलाई अध्यन गर्ने हो भने, सिद्धार्थ भित्र के छैन ? विश्व ब्रह्माण्डलाई बुझ्न सक्ने चेतना प्रवाहित छ । सिद्धार्थ त्यो ज्ञानगङ्गा हो जहाँ जीवन र जगत् चेतनाको आदि, अनादि र अनन्त ऊर्जा प्राप्त गर्न सकिन्छ । त्यस्तै त्याग, तपस्या, परमानन्द, प्रेम, शान्ति, पवित्रता, सन्तुष्टि र पूर्णताको निर्मल जलले पाठकको हृदयलाई प्रज्वलित गर्न सक्छ । साधारण पाठकहरूलाई अचम्म लाग्न सक्छ नदीसँग पनि कहीँ वार्तालाप गर्न सकिन्छ ? नदीबाट समस्याको समाधान भेट्न सकिन्छ ? सायद हेस्से बुद्ध पुरुष थिए र त काव्य पनि अलौकिक छ ।

ज्ञानविज्ञान, जीवन दर्शन, अध्यात्म र प्रज्ञालाई बोध र अनुभूतिको शाश्वत धरातलमा उभिएर जन्मिएको साहित्य रहेछ सिद्धार्थ।

सिद्धार्थलाई हेस्सेले दुई खण्डमा समेटेका छन् । पहिलो खण्डमा ब्राह्मण पुत्र, श्रमणहरूको निकटतामा, गौतम र जागरण शीर्षकमा मानव जीवनको सुन्दर अवस्थालाई सुन्दर शब्द, संवाद र बिम्बले सजाएका छन् भने दोस्रो खण्डमा कमला, मनुष्यहरूको समुदायबीच, दुनियाँ, नदी किनार, माझी, छोरा, ऊँ र गोविन्द रहेका छन् । अध्यात्मको बेजोड संगम छ सिद्धार्थमा। सम्पूर्ण मानव जीवनलाई सन्तुलित र दीगो शान्ति प्राप्त गर्न चेतनाको स्तरलाई फराकिलो पार्नै पर्ने रहेछ । जुन कामको अभ्यास जति बढी गरिन्छ त्यही काममा हामी माहिर हुन्छौँ । त्यसैले होसपूर्ण दैनिकी व्यतीत गर्न मानवलाई नितान्त आवश्यक छ भन्न सन्देश पनि दिन्छ सिद्धार्थले ।

सम्यक् दृष्टिले सोच्न सक्ने क्षमता, धर्य र उपवास यी तीन गुणनै काफी हुन्छ, मानवलाई महामानव बनाउनका लागि तर मान्छेले आफ्नो यही सवल पाटोलाई भुल्न पुग्दा दीनहीन भएर अमूल्य जीवनलाई नष्ट पारेर दु: खी हुँदै जीवन घिसारिरहेका हुन्छन् ।

सतही रूपमा हेर्दा सिद्धार्थभित्र एक ब्राह्मण पुत्रको कहानी छ । एक अद्भुत बालक, जो ध्यान साधन, नियम, प्रणायाम र प्रत्याहारले अभ्यासले सामान्यबाट असामान्य बनेका युवक दुनियाँभित्र प्रवेश गर्दा होस गुमाउन पुग्छन् र संसारको भोगविलासबाट प्राप्त सुखको आनन्द पूर्णरूपमा लिन सक्दैनन्। लामो समय गलत कर्मको अभ्यास गर्दा पनि सिद्धार्थभित्रको प्रज्ञा पूर्णरूपमा मरिसकेको हुँदैन । साँच्चै हो रहेछ जस्तो सुकै परिस्थितिमा पनि हामीभित्र सम्भावनाको बिउ लुकेर बसेको हुनेरहेछ । सिद्धार्थ भित्र अपार क्षमता भएर पनि अव्यवस्थित जीवनशैली अपनाउन पुग्दा अद्भुत विद्वता, विराटता, सत्य , कैवल्य चेतना र ब्रह्म ज्ञानले सुसंस्कृत प्रज्ञावान् पुरुष पनि शिथिल भएर पतनको गर्तमा डुब्न सक्छन् भन्ने चेतना जागृत गराएका छन् हेस्सेले ।

भगवान् बुद्धसँग सिद्धार्थको सात्क्षातकार भएको हुन्छ, तर गौतम बुद्धलाई छोडेर सिद्धार्थ दुनियाँतिर लम्कन्छन् । गोविन्दले भगवान् बुद्धको सानिध्यता प्राप्त गरेर पनि कैवल्य प्राप्त गर्न सक्दैनन् । गोविन्दको कथाले हामीलाई अर्को एउटा पाठ सिकाएको छ । ठुलो कुरो प्राप्त गर्नु मात्रै सफलता होइन, प्राप्त गरेको ठूलो कुराबाट केही कुरा सिकेर जीवनमा लागू गर्न सक्नु ठूलो कुरा रहेछ । सिद्धार्थजस्तो प्रज्ञाले आलोकित पुरुष पनि लोभ, माया, मोह, आमोद, प्रमोदको दलदलमा जाक्किएर अशान्ति, तनाव, पीडा र छट्पटी वाहेक केही प्राप्त गर्न नसक्नु सिद्धार्थको मात्र कहानी होइन हामी सम्पूर्ण मानव समुदायको यथार्थ हो ।

उनलाई लागेको थियो – मैले आफ्नो महत्त्वपूर्ण जीवनलाई अत्यन्त निरर्थक र महत्त्वहीन कुराहरूमा अपव्यय गरिरहेको छु । जीवनलाई यो ढङ्गले अपव्यय गरेर उपलब्धि के भयो त ? केवल हीनभावनाहरू, कुविचार, निरर्थक अहङ्कारहरू, व्याकुलताहरू र अन्त्यहीन पीडाहरू ? (१२८)