स्याङ्जाको सुदूर गाउँ माझकोट बाङ्खेबाट म हुर्कौलो उमेरका पखेटा लाएर भविष्य अजमाउन काठमाडौं उक्लेको थिएँ, झण्डै साढे दुई दशक अगाडि । त्यतिबेलै हो, मैले लीलबहादुर क्षेत्रीलाई पढेको– बसाइँ उपन्यासमार्फत । बसाइँका धने र मैनाले धेरै दिनसम्म मेरो हृदय कोतरेका थिए; मेरो निद्रा खोसेका थिए । यतिका वर्षसम्म कुखुराको डाकमा मूल–दैलोबाट तीन प्राणी बाहिर निस्केको दृष्य मेरो स्मृतिबाट हटेकै छैन । ती कहाँ पुगेर थामिए होलान्, सम्झेर आज पनि मेरो मन भुक्क हुन्छ ।
बसाइँ पनि के भन्नु यसलाई, शोषक सामन्तको जालमा परी आफ्नो भूमिबाट जबर्जस्ति धपाइएका ती अबोध प्राणीहरू मुगलान पसे होलान्– दार्जिलिङ, सिलगडी, आसाम, शिलोङ, मणिपुर वा त्यस्तै कुनै ठाउँ । अझ त्यहाँबाट पर भुटानका सुदूर गाउँहरू पारु, थिम्पु कता–कता हुँदै म्याना दोरखा भासिए कि ! कल्पनै–कल्पनाको वर्तमान बर्दलीमा उभिएर मेरो मन अझै भुट्भुटिन छोडेको छैन ।
धने र मैनाले जस्तै गोता नखाए पनि गोविन्दराज भट्टराईको मुगलानका ठूले, सुतार कान्छो र कार्कीहरू सम्झेर त्यसपछिका मेरा दिनहरू अझ पिरोलिएका थिए । दोर्लिङ्गसम्म घिउ बेच्न हिँडेका उनीहरू मुगलानको रंगिचंगी हेर्ने उत्कट अभिलाषाले ट्रक चढेर हुर्रिए । भुने र ठेकीमा दही र मोहीको भारी हालेर पातालको मालिङ्गेनी घारीबाट सुसेल्दै बेँसीको घरतिर झर्ने यी अबोध मुर्तिहरूले, संसारको विचित्रता चाख्न हिँडेर खानु हण्डर खाए । ठूले र कार्कीले त एकबारको जुनी मुगलानलाई नै अर्पण गरेर बिदा भए; सुतार कान्छो अधमरो भयो ।
यो वियोगको सामाजिक कथाले मेरो मन र मुटु हल्लाएर रातरातभरि निदाउन सकेको थिइनँ । रातभरिको ऐंठन बोकेर एका–बिहानै बासी आँखा मिच्दै म पाउ छुन पुगेको थिएँ, त्यो श्रद्धाको मन्दिर कीर्तिपुरस्थित सुकर्म टोलको भट्टराई निवास । ती डिपाइटेहरूको अनुहार, धने र मैनाहरूको विगोगको कथालाई जोड्ने सन्धिकर्ता लीलबहादुर क्षत्री र गोविन्दराज भट्टराईले नेपाली साहित्यलाई लगाएको तिरिनसक्नुको गुनकै कारण आज यो फुल्न र फक्रिन पाएको अनुभूति भइरहन्छ ।
मलाई आज पनि लागिरहन्छ; धने र मैनाहरू ठूले र सुतार कान्छो झैँ डिपाइटेमै भर्ति हुन पुगे र एक बारको चोला त्यतै बिसाए । बसाइँ सम्झ्यो कि त्यो अपरिचित जस्तै लाग्ने परिचित धने र मैनाको छोरो सम्झेर म निकै बेरसम्म घोरिने गर्छु । म जन्मिनु भन्दा २३ वर्ष अगाडि जन्मेको बसाइँ तथा धनेको छोरो त्यतिबेला दुई वर्षको भएको अनुमान लाउँदा पनि आज ६७ वर्षको प्रौढ भइसकेछ ।
ऊ त मेरो काका उमेरको भएछ, आज भेट्न पाएको भए सोध्ने थिएँ– ए, काका तिमेरु पहाडबाट त्यसरी लघारिएपछि कसरी जीवन गुजार्यौ ? तिमेरलाई मुगलानमा कसैले टिठाएकी टिठाएनन् ? तिम्रा बा–आमा (धने र मैना) ले कति गोता खाएर तिमीलाई हुर्काए ? बा–आमा परलोकतिर बसाइँ गए कि यतै छन् ? उत्तरै नभएका यी मनका प्रश्नहरूले पनि कहिले–कसो मलाई पिल्स्याइरहन्छन् ।
समाजको यति जीवन्त तस्बिर उतार्न सक्ने, पात्रलाई यति भित्रसम्म प्रवेश गराएर कथावस्तुका केस्रा–केस्रा केलाएर पाठकका हृदयमा तिनको बास गराउन सक्ने ती महान साहित्यकार लीलबहादुर क्षत्रीप्रति जति नै सम्मान प्रकट गरे पनि मलाई नपुग लाग्छ । समय–प्रवाहसँगै पितातुल्य उहाँका ब्रम्हपुत्रको छेउछाउ र लीलबहादुर क्षत्रीका कथाहरू पढेँ । यी कृतिको पठनले समेत मेरो हृदयमा एउटा अमिट छाप छोड्न सफल भए ।
बसाइँ पढेको २३ वर्षपछि मेरो हातमा लीलबहादुर क्षत्रीका चर्चित नाटकहरू हात पर्यो; सम्पादन तथा भूमिकाकार अर्थात् मेरा आस्थाका धरोहर डा.गोविन्दराज भट्टराईमार्फत । मैले नाटककार लीलबहादुर क्षेत्रीलाई चिनेकै रहेनछु; उहाँ अभिनयकलाका समेत सिद्धहस्त शिल्पी हुनुहुँदो रहेछ । यो कृति पढिसकेपछि, मेरा मनमा अनेक तर्कना उठ्दै र बस्दै गर्न थाले । भावनाका तरंगलाई शान्त पार्न मैले नाटकहरूका कथाभित्र पस्ने चेस्टा गरेको छु ।
भूमिकाभित्र
नाटकको मञ्चमा उक्लिनु अगाडि २८ पेज लामो सम्पादक गोविन्दराज भट्टराईको भूमिका पढ्न शुरू गरे– लीलबहादुर क्षेत्रीका नाटक संकलनको पुष्ठभूमि र प्रकाशन सन्दर्भ ।
गोविन्द गुरुले लेखेका हरेक कृतिका भूमिका होस् वा सन्दर्भहरू पढ्दा अलग्गै आख्यान पढेजस्तो अनुभूत हुन्छ । मलाई ती भूमिकाहरू लघु–उपन्यास जस्तै लाग्छन् । ती कहीँ कथाका रूपमा आउँछन्, कहीँ उपन्यासको सागर बोकेर भित्रिन्छन् त कहीँ समालोचकीय दृष्टिले उत्तरवर्ती खुट्किलो उक्लेर भञ्ज्याङबाट नयाँ बाटो देखाइरहेका भेटिन्छन् । उहाँले अरूका कृतिमाथि लेखेका भूमिकाको मात्र अध्ययन गर्यो भने पनि साहित्य लेखनको नयाँ मार्ग पहिल्याउन मद्दत पुग्छ भन्ने मेरो ठम्याई हो ।
लीलबहादुर क्षत्रीका नाटक संकलनपछिको भूमिकामा पनि एउटा छुट्टै आख्यानको बान्की फेला पर्छ; जहाँ लेखन शिल्पको लयले साहित्यको धून बजाइरहेको भेटिन्छ । नेपाल–भारतको भौगोलिक सीमाभन्दा माथि र परका एक इतिहासभन्दा अग्ला साधक लीलबहादुर क्षत्रीसित बारम्बर भेट सम्पर्क भई नै रहन्छ । यो वाक्यांशले समान संस्कृति, भूगोल, विचार र भावनालाई मात्र जोडेको छैन । नेपाली साहित्यका दुई धुरीलाई समेत एकाकार गराएको छ । नेपाली साहित्यलाई शिखरतिर उचाल्न यी महान साधकहरूले खनेका बाटाहरू हिँड्न सकियो भने पनि सिर्जनामा गुणताको स्वाद भर्न सकिन्छ ।
यो अन्न पानीको शरीरबाट धेरैले धेरै आशा राख्तछन्; रोगव्याध पनि नजिकै बस्न चाहन्छन् । यो भावना कति मार्मिक छ, जसले हरेक प्राणीले जगतमा रहेर निर्वाह गर्नुपर्ने भूमिका उल्लेख गर्दछ । साथै, तिनले बहोर्नुपर्ने सामाजिक, मानसिक, वैयक्तिक एव्म शारीरिक कष्टको भेद खुलाएको छ । अर्कोतर्फ, एक स्रष्टा/कलाकारको जीवनले धेरै डाँडा काटेर द्यौरालीमा पुगेपछि उहाँलाई अझै सिर्जना दिइरहनोस् भन्न मिल्दैन । स्रष्टाबाट सधैं मागिरहने तर दिन कन्जुस्याइँ गर्ने समाज, राज्य र यसका अंगका लागि यो गहनतम पाठ हो ।
उमेरका उर्वर यामहरू धुलीसात पार्दै सिर्जनाको भण्डार भरेर द्यौरालीमा पुग्ने बेलासम्म पनि उसले के गर्यो र ! भन्दै खिसिटिउरी गर्ने समाजका तन्तुहरूले यसको मर्म बुझिदिए वर्तमान र भविष्यका पुस्ताले समेत त्यसलाई अनुशरण गर्न सक्छन् । साहित्यमा फस्टाएका गुणस्तरीय विरुवालाई गोड्दै, मलजल गर्दै, हुर्काउँदै, तिनलाई कलमी गर्दै नयाँ–नयाँ भूमिमा सार्दै जाने परिपाटीको विकास हुन सक्छ । यसर्थ, हामीले ती मुर्धन्य स्रष्टाबाट लिने मात्रै होइन दिने बानी बसाउनुपर्छ; तिनका कृतिको चर्चा–परिचर्चा, अध्ययन, खोज–अनुसन्धान गर्दै अप्रकाशित पाण्डुलिपिहरू भेटिए तिनमा प्राण भर्नुपर्छ भन्ने पाटो हामीले पाठ गर्नैपर्ने अलग्गै पुस्तक हो ।
उहिलेदेखि नेपालीहरू कृषि, पशु र सैन्य सेवा लिएर त्यता पसे र आज आफ्नो कर्मभूमिका सचेत नागरिक बनेर अघि बढ्दैछन् । लीलबहादुर क्षत्री पनि पुर्वजले उता पुर्याएपछि जीवनको गीतमा उतै धून भरेर दुनियाँभर गुन्जाइरहनुभएका शिखरपुरुष हुनुहुन्छ । उहाँले गुवाहटी बसेर पनि पूर्वी पहाडका जनबोलीलाई साहित्यको रागमा गाइरहनुभएको छ । फाट्टफुट्ट आसामेली भाषिका समेत जडित ठिमाह सिर्जनाको स्वाद झन् अलग्गै हुँदो रहेछ ।
मेचीवारि र पारि बसेर साहित्य सिर्जना गरिरहँदा भेद के पाइन्छ त ? वास्तवमा यतैका उता गए, उताका यहाँ आए; यो नदीको अविरल बहावजस्तै आज पनि बगिरहेकै छ । नाटककारसहित उता बस्नेको एउटा चिन्ता केमा गहिरिएको पाइन्छ भने- कसरी जातीय यो विधा बढाउनु, कसरी भाषा संस्कृति जोगाउनु, कसरी जनतामा सचेतना ल्याउनु, कसरी उन्नति गर्नु । यसरी भाषा संस्कृतिप्रति यत्रो चिन्ता प्रकट हुनु सारा नेपाली जातिका लागि गर्वको विषय हो ।
‘नेपाली साहित्यमा एउटा कहिल्यै पुरानो नहुने सेतुको निर्माण गर्नु परेको छ,’ गोविन्द गुरु लेख्नुहुन्छ, ‘हाम्रा साझा सम्पदा लीलबहादुरप्रति हामी कत्रो श्रद्धा प्रकट गर्दा रहेछौं उहाँको ऐतिहासिक जीवनले सारा नेपाली जातिलाई कसरी जोडेको रहेछ ? साँच्चै यस कृतिको ऐतिहासिक महिमा अपरिमित छ ।’
लीलबहादुर क्षत्रीले दुई भूगोलका नेपाली जातिलाई जोडे जस्तै गोविन्द गुरुले नेपाललाई विश्वसँग जोडिरहनु भएको छ । एकातिर, उहाँले विश्वका सरलदेखि जटिलतम साहित्यलाई नेपाली आँगनमा ओरालेर स्वदेशी पाठकका अघि पस्किदिनुभएको छ । अर्कोतिर, नेपाली साहित्यलाई अनुवाद गरी विश्व साहित्यको उकालोतिर धकेलिरहनुभएको छ ।
अब गोविन्दराज भट्टराईलाई पनि नेपाली साहित्यको फाँटबाट उठाएर चीरकालसम्म चिनिने गरी मेचीपारि पुर्याउनु छ, कालीपारि चिनाउनु परेको छ । सात समुद्र पारिसम्म उहाँको व्यक्तित्व र कृतित्व पुर्याएर सिर्जनाको रोदीघरमा गोविन्द गुरु गाउँदै समालोचकीय मादल घन्काएर खरी झार्नुछ, पुनः नयाँ खरी भरेर बजाइरहनु छ । उहाँ हाम्रा लागि ज्याक डेरिडा भन्दा कम कहाँ हो र ! त्यसो हो भने उहाँलाई नोबेल पुरस्कारको ढोकासम्म किन नपुर्याउने ?
गोविन्द गुरुले आफ्नो विद्वतालाई परिधितिर धकेलेर लीलबहादुर क्षेत्रीलाई केन्द्रमा उभ्याउने भरभग्दुर प्रयास गर्नुभएको छ । यसअघि नचिनिनुभएका नाटककार लीलबहादुर क्षेत्री अब नेपाली पाठक, साहित्यकार र समालोचकहरूबीच चिनिनुभएको छ । छरिएर रहेका उहाँका नाटकहरू यसरी संकलित भएर नेपाली साहित्यमा आउनु साँच्चै खुसीको विषय हो । उहाँका नाटकबाट नेपाली साहित्यले मेचीपारिको तत्कालीन नेपाली समाज, परिवेश, भाषिक आन्दोलन, पहिचान जस्ता विषयहरू बुझ्न पाएको छ ।
मैले पो त्यति सजिलै जसलाई तसलाई कहाँ दिन्छु र पस्न त्यो मेरो संरक्षित वनभित्र ? भन्नुहुने लीलबहादुर क्षत्रीले गोविन्द गुरुलाई आफ्नो त्यो घनघोर जंगलभित्र पस्न दिएर आफ्ना बहुमूल्य नाटक–कृति प्रकाशनमा ल्याउन स्वीकृति दिनुभएकोमा उहाँप्रति नमन गर्नैपर्छ । अनि, अति कष्टसाध्य मिहिनेतले संकलित रचनालाई पाठक, साहित्यसेवी र समालोचकसम्म पुर्याउने अभिभारा काँधमा बोक्नुहुने गोविन्द गुरुप्रति कोटी–कोटी प्रणाम !
मञ्च, भूमि र भाष्य
लीलबहादुर क्षेत्रीका चर्चित नाटकहरूभित्र दुई वटा लामा पूर्णाङ्की (लक्ष्य र दोबाटो) तथा तीन वटा एकाङ्की नाटक (शुरूको शुरू, माग र भाइटीकाभित्रै) र पाँच वटा रेडियो रूपकहरू (प्रतीक्षा, अर्धशताब्दीभित्र एक जोर परेबा, कन्यार्थी, मिलन र महिषासुर वध) संकलित छन् ।
अधिकांश नाटकको मञ्च र भूमिको केन्द्र गुवाहटी एवम् गुवाहटी वरपर डिब्रुगढ जस्ता क्षेत्र नै छन् । कतै गाउँ त कतै सहरका प्रशंग आउँछन्; सँगसँगै आसाम, दार्जिलिङ, सिक्किम, मणिपुर, शिलोङ, मेघालय र इम्फालसम्मको परिवेश घरिघरि झुल्किन्छ । नाटकहरूमा बारम्बार दोहोरिइरहन्छ– हाम्रो पहाड, हाम्रो जाति, हाम्रो भाषा; अनि फाट्टफुट्ट जोडिन्छ भोजपुर । त्यहाँ पूर्वी पहाडहरूको गन्ध प्रस्टै थाहा पाइन्छ ।
घटित घटना, परिवेश, पात्र–पात्री, भाष्य, उखान–टुक्काको प्रयोगले नेपालका पहाडी गाउँहरू जुरुक्क उठेर उता सरे जस्तो लाग्छ । कताकती गण्डकी (कास्की, स्याङ्जा र पर्वत) प्रदेशभित्र प्रयोग हुने लवज पनि पाइन्छ (जस्तैः उछार, गइथ्यौ, दगुर्नु) । पूर्वदेखि पश्चिमसम्मका नेपाली जाति पुग्ने थलो आखिर त्यही आसाम, गुवाहटी र मणिपुर नै त हो । सबै एकैथलोमा पोको परेपछि त्यहाँ प्रयोग हुने भाषिका छ्यासमिसे हुने नै भयो । अझै, त्यसमा हिन्दी र आसामेली मिसिएर बोलिँदा अनौंठो पनि लाग्छ ।
नाटकमा प्रयुक्त लवस्तरी, ढुंग्री, बाँहकाटे, राँडी, टोपी, दौरा–सुरुवाल, धोती, गुन्यू–चोली जस्ता शब्दावलीले नेपाली ग्रामीण परिवेशलाई झलझली सम्झाउँछ । उता घुर्नु, कुमिटी, पथार, दोरख, राइज, गोहाली घर, दामडा, दामडीले आसामी लोकजीवन टिप्न खोजेको देखिन्छ भने अच्छा, सौतेली, चारपाई लगायत हिन्दी शब्दावली पनि प्रयुक्त छन् ।
माटोबारी शब्दले नयाँ अर्थको खोजी गरेको हो कि भन्ने अड्कल काट्न सकिन्छ । माटो किन्नु वा माटोबारी किनेर बस्नुको भावमा घोत्लिँदा; अर्कैको भूमिमा माटोमात्र किनेर बसोबास गरेको अर्थ लाग्न सक्छ । यद्यपि, स्थानीय जनबोलीले जग्गा वा भूमि किन्नुलाई माटो किन्नु उच्चारण गरेको पनि हुन सक्छ ।
यसैगरी, लक्ष्य पूर्णाङ्कीको द्वित्तीय अंक प्रथम दृश्यमा प्रयुक्तः मर्दले दसोटी गर्छन, खुकुरी भन्दा कर्द हान्ने, बाउभन्दा छोरो जान्ने; नाम न जस, खरानी खस, ज्योतिषीका छोरी राँड, सबै कुकुर काँशी गए, गुहु केले खाने जस्ता उखानले नेपाली जनजीवन जुरुक्क उचालेर त्यता थापना गरेको आभास हुन्छ । कुनै–कुनै उखान ठाउँ अनुसारको भावमा प्रयोग भएका छन् ।
अघि राजाका एक गोठ रानीहरू हुन्थे, बायाँ आँखो फर्फराउनु, एउटै आत्माका दुई शरीर, भुस निफनेर चामल खानु, लोग्ने मरिहाल्छन्, म पोइला गइहाल्छु जस्ता लोक–भाषिकाले पर देशमा समेत नेपाली जातिले आफ्नो समाज, परिवेश र जीवनशैलीलाई जीवन्तता दिइरहेको छर्लङ्ग हुन्छ ।
महिनावारी हुँदा बार्ने नेपाली महिलाको चलन र जोगीले फेरी लाउने परम्परा जस्ताको तस्तै गोवाहाटी, आसामेली नेपाली गाउँमा पुगेका छन् । यसर्थमा, नेपाली पहाडी गाउँहरूबाट बगेर गएको झर्रो जीवनशैली विस्तारै त्यताकोमा मिसिन संघर्ष गरिरहेको देखिन्छ तर त्यसले भुइँ टेक्न नसकेको, हाँगो समाउन चुकेको पक्ष लुकाए पनि लुक्न सकेको छैन ।
उत्तरवर्ती परिवर्तनको खोज
नाटकहरूमा परम्परागत अँध्यारोबाट बाहिर निस्केर परिवर्तनको उज्यालो घामको खोजी गरिएको छ । सबैभन्दा शक्तिशाली र परिवर्तनकारी नाटक लक्ष्यमा आजभन्दा ६०–६५ वर्ष अगाडि नै छुवाछुत अन्त्य र विधुवा विवाहको छुट दिनुपर्ने आन्दोलन शुरू भएको पाइन्छ; जसमा पात्रहरूको जीवन्त अभिनय भेटिन्छ ।
नन्दे महाजनमा बहुबिवाह र बासनाको भोक छ । मर्दका दसोटी वाक्यांशले महिलामाथिको अत्याचार र थिचोमिचो देखाइएको छ । कुरीतिको विरोध हुन थालेकोमा सचेतना एवम् अंग्रेजी शिक्षालाई दोष दिइन्छ । पैसामा छोरीको मोलमोलाई गर्ने प्रथा समेत लक्ष्यमा देख्न सकिन्छ तर लीला पात्रको बलियो उपस्थितिले प्रतिरोध गरेको छ । उसले सौतेनी आमालाई भनेका के अधिकार छ तिमीलाई मेरो जीवनको दर गर्न भन्ने उद्गारले नै थिचोमिचोको खुलेर विरोध गरेको छ ।
सौतेनी आमाबाट जबर्जस्ति बेचिएपछि लीलाले नन्देसामु आफूलाई सुम्पिन चाहन्न । तपाईंको धनले यो कुहुने रगत मासु किन्न सक्छ । यसलाई बाँधेर राख्न सक्छ तर मेरो आत्मा बाँधिदैन भन्नुलाई लीलाको क्रान्तिकारी उद्घोषको रूपमा लिन सकिन्छ ।
अर्कोतर्फ, लीलाको प्रेमी केशवले प्रेमलाई नयाँ सिराबाट विश्लेषण गर्नुपर्ने वकालत गरेको छ । लीलाले प्रेम हृदयमा बस्छ, त्यो स्वतन्त्र हुन्छ भनिरहँदा केशवले मिलन नै नहुने प्रेमको औचित्य देख्दैन । प्रेमी–प्रेमिका दुईतिर तड्पिएर, जीवन त्यागेर प्रेम अमर रहला ? यसले प्रेमको पुरानो परिभाषालाई भत्काएर नयाँ परिचय खोजेको बुझिन्छ ।
पुरोहित बाजेले एक ठाउँमा नन्दे साहुलाई लक्षित गर्दै ‘हजुरको लागि त ज्यानै दिन पनि मलाई नाई नास्ती छैन’ भन्नुले तत्कालीन समयमा टपरे काममात्र गर्ने चाकडीबाज बाहुनको लोभी प्रवृत्ति झल्किन्छ भने अर्को ठाउँमा गोपालले बाबुलाई भन्छ– बा, म यो युगसँगै दर्गुन चाहन्छु । यसले धोद्रे सिमल फोरेर पीपल उम्रिन लागेको संकेत गरेको छ; जुन उत्तरआधुनिक बाटोतर्फको दृष्टि हो ।
सत्य र निष्ठाको मार्ग अपनाउन राम र भीष्मको उदाहरण प्रस्तुत गरिएको छ, ऋषिमुनिहरूको त्याग (यौन र बासना) को चर्चा छ । हिन्दू धर्मको मर्म आत्मसात गर्दै मान्छेद्वारा धर्मभन्दा बाहिर स्थापित प्रथाले समाज बिथोलिएको चिन्ता प्रकटित छ ।
समाज सुधारको बाटोमा हिँडिरहँदा केशवको हातबाट अज्ञानबश नन्देको छोरो गोपालको ज्यान जान्छ । यसबाट, मर्ने मरेर गए पनि बाँच्नेले परिवर्तन भोग गर्छन्, दोषीले पश्चाताप गर्दै सत्मार्ग अपनाउँछन् भन्ने सन्देश दिएको छ । यद्यपि, यसले गोपालको निधनबाट बाबु–आमा तथा परिवारमा परेको चोटको पाटो उत्खनन् गरेको छैन ।
यति हुँदा–हुँदै पनि नन्देले आफूले विवाह गरिसकेकी लीलालाई छोरी मान्नु, आफूलाई केशव तथा गोपालले शुरू गरेको परिवर्तनको मार्गमा समाहित गराउनु र लीलालाई आफ्नै हातले कन्यादान गर्ने घोषणा गर्नुलाई अकल्पनीय परिवर्तनको रूपमा लिनुपर्छ ।
अर्को नाटक दोबाटोले जीवनप्रतिको प्रेम दर्शाएको छ– जतिसुकै संकट तथा विध्नबाधा आइपरे पनि समाज चलिरहन्छ; यो प्राकृतिक न्यायको सिद्धान्त हो । यसले, समाज सञ्चालन गर्ने उपरिसंरचनाभित्र– मान्छे, रीतिरिवाज, संस्कार, सह–सम्बन्ध एकअर्काका पूरक हुनुपर्छ भन्ने गतिलो सन्देश बोकेको छ ।
उपरिसंरचनाभित्रको एउटा सामान्य अंग नष्ट हुँदैमा समाजको चक्र रोकिँदैन । यसका लागि, कुप्रथा चिर्दै मानव जीवनचक्रको घट्ट घुमाइरहन पनि विधुवा विवाह, पुनः विवाह जस्ता नयाँ परम्पराको शुरूवात गर्नुपर्छ भन्ने सन्देश नाटकको बलियो पक्ष हो; जसमा गीता, मदन र धनवीर जस्ता पात्रले जीवन्त भूमिका निभाएका छन् ।
गीता फौजी श्रीमान मदनलाई कुरेर बसिरहनु, मदन मरेको तार आउनु, गीतालाई धनवीरले शरण दिनु र पछि विवाह गर्नु यी सबै यथार्थको कुलेसो हुँदै अगाडि बढिरहन्छन् । एक्कासी मदन जिउँदै फर्किनु, धनवीरले मदनको नासो भन्दै गीतासँग छोडपत्र गरेर जिम्मा लाउनु, गीताले मदनलाई त्यागेर धनवीरलाई नै अँगाल्न खोज्नुले भ्रान्तिमा रुमल्लिएको देखिन्छ ।
गीताको मनोदशालाई कहिले कर्तव्यपथमा डोर्याउनु त कहिले आत्माको प्रेमतिर एकोहोर्याउनुले यथार्थभित्रको भ्रमजालमा फनफनी घुमाइरहे जस्तो लाग्छ । उसलाई कहिले यता त कहिले उता लखेट्दा नाटककारले न्याय गर्नुभएन कि भन्ने शंका गर्ने ठाउँ रहन्छ । अन्ततः नाटकको मूल आशय छ; समाजमा जे जस्ता बाधा परिआए पनि कतव्र्य बिर्सनु हुँदैन ।
यसैगरी, एकाङ्की र रेडियो रूपकमा पनि परिवर्तनका शृङ्खलाले निरन्तरता पाएका छन् । तिनमा नेपाली जाति संगठित हुँदै जातभात अन्त्यको संकेत, बढ्दो महँगी र उताको हुन नसक्नुको पीडा छन् । रेडियो रूपकहरूमा प्रेम, समाजमा महिला श्रीमती, बुहारी, आमा, हजुरआमामा रूपान्तरण हुँदै जाँदाको परिवेश झल्किएको छ । दशैं जस्तो महान पर्वको धार्मिक महत्व दशाउँदै जिम्मेवारी र कर्तव्य निर्वाह गर्न कहीँ कतै चुक्न नहुने पक्षलाई सतर्ककताका साथ उठाइएको छ ।
अस्तित्वको खोजी
लीलबहादुर क्षत्रीका चर्चित नाटकहरूले पहिचान खोजेका छन् । उताको भूमिमा अस्तित्व रक्षाका लागि लडाइँ गरिरहेको प्रस्ट देखिन्छ । शुरूमै भनिएको छ– हे ! खड्ग वीरको तँ अमर निशान । गोर्खाको छस् तँ सदा सान । यो अस्तित्वको खोजी हो ।
लक्ष्य नाटकमा पूर्वी पहाड र आसामको मिश्रित लवजमा जङ्गे पात्रले हाम्रो पहाड, हाम्रो मुलुक बोल्छ, अनि हाम्रो फुथे कामीलाई एउटा दरो पितलको मसीदानी बनाएर पठाइ दे भनेर चिट्ठीमै लेखी पठाउँछ भन्नु मातृभूमिप्रतिको स्नेहको तस्बिर हो । सबै कुरा उतैको राम्रो तर यो मुगलान …
यसो भनिरहे पनि बाध्यता, परिबन्धले दुःखका डोका बिसाउन फेरि मुगलान नै धाउनु उही गरिबीको पीडा हो; यसैमा अल्झिएर आफ्नो पहिचान खोज्ने काम भइरहेकै छ । उता केशवले बरु एउटा खुकुरी पनि ल्याएर यहाँ राख न । यस्तो समयमा हाम्रो जातीय निशान छेउमा रहन उचित हो भन्नुले जातीय अस्तित्व स्थापित गर्न खोजिएको प्रस्ट हुन्छ ।
प्रायः हरेक ठाउँमा खुकुरीको उच्चारण गर्नु, त्यसलाई साथैमा राख्नु, ढाका टोपी, दौरा–सुरुवाल, गुन्यू–चोली नछोड्नु पहिचानको खोजी । भाषा आन्दोलनका कुरा गर्नु, कमिटी गठन हुनु, नेपाली जातिले मान्यता पाउनुपर्छ भन्नु जस्ता पक्षहरू अस्तित्व खोजीकै निरन्तरता हुन् ।
देशमा गरिबी थियो, त्यो उता जाँदा पनि सँगै गएको छ तर अस्तित्व रक्षापछि मात्र गरिबी हट्ने मीठो कल्पना गर्नु आशाको उज्यालो हो । शुरूको शुरू एकाङ्कीमा श्यामलाल भन्छ– हामी भारतीय नेपाली हौं । नेपालको चासो हामीले लिने काम छैन । बरु हाम्रो समस्याको कुरा गर्नोस् । अर्को ठाउँ हवलदार भन्छ– म त गोर्खा फौजको जवान, गोर्खा पो हो त, नेपाली त होइन त ।
त्यहीँनिर मरिचे भन्छ– नेपाल छ र हामी नेपाली भयौं, नेपाली हुँदा पासोमा पर्यौं ।
यी सबैले के देखाउँछन् भने; मनमा नेपाल बसेको छ, मातृभूमि, पितृभूमि छ तर जबर्जस्ति उताको अस्तित्व खोज्नुपरेको छ । त्यो रहर, खुसी नभएर बाध्यता भई आएको छ । अस्तित्वको खोजीसँगै नेपालको चिन्ता छ । नेपाल–भारत बोर्डर सिल गरेर पासपोर्ट लागू गर्नुपर्ने बोली छ; जसले यस्तै दुःख पाउन नेपालीहरूलाई यता आउनबाट रोकोस् । यस्ता चिन्ताका आवाज पात्रका कथनमा अविरल आइरहन्छन् ।
केही प्रश्नहरू
यी नाटकहरूले मुगलानमा बसोबास गरेर पहिचान खोज्दै अस्तित्व रक्षाका लागि संघर्ष गर्न तथा संगठितरूपले अगाडि बढ्न प्रेरित गरेको त छ नै; सँगसँगै पाठकहरूमा केही प्रश्न समेत उत्पन्न गराइदिएको देखिन्छ ।
पहिलो प्रश्नः लक्ष्य पूर्णाङ्कीको नन्दे महाजनले समाजमा थिचोमिचो र अत्याचार गरेको छ । ५०–६० वर्ष अगाडि मात्र होइन आज पनि बहुसंख्यक प्रवासी नेपालीहरू गासबासकै जोहो गर्न संघर्षरत छन् । त्यतिबेला झन् यताबाट दुःख बिसाउन वा कामको खोजीमा उता गएका केही लाहुरे परिवारबाहेक अरू साहु–महाजन भए कि भएनन् होला ? यसको जवाफ नाटकमा भेटिँदैन ।
दोस्रो प्रश्नः पुरोहित बाजेले विवाहको प्रसंगमा नन्देलाई सम्बोधन गर्छ– हजुरलाई के नपुग्दो छ र त्यस्तो डडेकी ठुटाजस्तीलाई भित्र्याइबक्सिन्छ । यो उच्च अदारार्थी दरबारीया ठकुराई भाषा नेपालमा मात्र प्रचलनमा थियो; त्यसबखत त्यता प्रचलनमा थियो कि थिएन ? गरिबी र दुःख लिएर गई बसेकाहरूले यस्ता शब्दावली कसरी प्रयोग गरे होलान् ?
हुन त; दार्जिलिङ, सिम्ला, दिल्ली, कलकत्तासम्म देश निकालामा परेका ‘सि क्लास’का राणाहरूको बसोबास पुगेको इतिहासले बताउँछ । तिनीहरूले प्रयोग गर्ने लवज पोखिँदै–पोखिँदै साहु–महाजनसम्म पुगेन भन्न सकिन्न तर नन्देका घरमा सबैले सामान्य अझ निम्न कोटीको लवज प्रयोग गर्नु र पुरोहितले मात्र ठकुराई बोली बोल्नुले पाठकलाई आश्चार्यमा पार्न सक्छ ।
अतः नाटकमा यसको पृष्ठभूमि थोरै खुलेर आएको भए पाठकहरू प्रस्ट हुन्थे कि !
तेस्रो प्रश्नः यो प्रश्न महिलाहरूको भेषभुषा अर्थात् पोशाकसँग जोडिएको छ । दुई पूर्णाङ्की, तीन एकाङ्की र पाँच रेडियो रूपक सबैमा महिलाको पहिरन गुन्यू–चोली र सारी उल्लेख छ । तत्कालीन समयमा परिवर्तन चाहने, शिक्षित महिलाले आधुनिक पहिरन लगाउँथे कि !
यसमा किन पनि अनुमान गर्न सकिन्छ भने भारत ब्रिटिशबाट उपनिवेशित थियो; उनीहरूको गन्ध नेपालसम्म आयो भने दार्जिलिङसम्म कब्जा जमाएकै हुन् । उता आसामतिर नपुग्नै कुरै रहेन । यसो हुँदा मेट्रिक पास गरेका, कलेज तहसम्म पढ्ने, जमाना फेरिनुपर्छ भन्ने केटी वा छोरीहरूले समयअनुसार कुर्ता–सुरुवाल लगाउन सक्थे कि !
नाटकहरूमा पुरुषको पोशाकमा परिवर्तन पाइन्छ, महिलाकोमा पाइँदैन । परिवर्तनको उज्यालो खोजिरहँदा नाटकले यथास्थितिको अड्कल काट्न नसकेको त होइन ? यो प्रश्नको जवाफ पनि नाटकका पात्रहरूले दिँदैनन् ।
चौथो प्रश्नः शुरूको शुरू एकाङ्कीमा हवलदारले म गोर्खा फौजको जवान, गोर्खा हो नेपाली होइन भनिरहँदा शुरूमा ‘गोर्खा’ शब्द कसरी उत्पत्ति भयो र यसको भाव के हो ? यसबारे पाठकले जान्न खोज्छन् । गोरखा आज नेपालको एउटा जिल्ला हो तर यो इतिहासमा एउटा शक्तिशाली राज्य थियो । त्यहाँका राजा तथा नेपाल एकीकरणका सुत्रधार पृथ्वीनारायण शाहले भुरे–टाकुरे राज्य गाभेर एउटै बनाएपछि मुलुकको नाम गोर्खा रह्यो र प्रकारान्तरमा नेपाल हुन गएको इतिहास छ । यहाँ, गोर्खा र नेपाल उही हो; गोर्खा भएपछि नेपाली भयो वा नेपाली भएर गोर्खा, यो एउटै हो ।
ब्रिटिशकालदेखि नेपालीहरू गोर्खा रेजिमेन्टमा भर्ति हुन जाने प्रचलन रहिआएको हो । समयान्तरमा उतै स्थायी बसोबास गरेका नेपालीहरूले आफूलाई नेपाली भन्दा गोर्खाको रूपमा चिनाउँदा बढी सुरक्षित महसुस गरेर यसप्रकारको संवाद प्रयोग गरिएको पनि हुन सक्छ । यी विषयमा अल्झिनुभन्दा आफ्नो पहिचान, त्यहीँको बासिन्दा भएको प्रमाण जुटाउन पात्रलाई प्रेरित गरेको भए सुन्दर हुन्थ्यो होला ।
पुछारतिर
रहर, कहर, सैनिक होस् वा कृषि, पशु वा व्यवसाय गर्न नेपाली मुगलानिएको इतिहास लामो छ । उनीहरूले विदेशी भूमिमा बसेर आफ्नो अस्तित्व खोज्दै संघर्ष गरेका कथा पनि अनगिन्ती छन् । त्यो गोरखा भूतपूर्व सैनिक संघ (गेसो) ले बेलायतमा पुनर्बास र ब्रिटिश सेना सरह सुविधा पाउनुपर्ने भन्दै गरेको आन्दोलन होस् वा दार्जिलिङमा गोर्खाल्याण्ड माग गर्दै समय–समयमा चर्किने विरोध वा आसाम, मणिपुर, मेघालय वा विश्वका जुनसुकै देशमा बसोबास गरिरहेका नेपाली जातिले भाषा, संस्कृति र पहिचानका लागि लडेका र लड्दै गरेका कथाहरूका चाङ छन् ।
ती कथाहरूमध्ये एउटा सानो आँखिझ्याल मात्र हो, यो लीलबहादुर क्षत्रीका चर्चित नाटकहरू । यस्ता नाटक, उपन्यास, नियात्रा, कथा–व्यथाहरू कति लेखिनु छ कति; त्यसको चर्चा गरिसाध्य छैन । यहाँ, ती अनेक विषयबाट फर्किएर लीलबहादुर क्षत्रीका चर्चित नाटकहरूले स्थापित गर्न खोजेका मुद्दाकै निचोडमा घोरिनु मनासिव देखिन्छ ।
ब्रिटिशकाल अझ त्यो भन्दा पहिलादेखि सैनिक सेवाबाट अवकास पाएपछि त्यतै बसोबास गरेका पूर्वोत्तर भारतका हजारौं नेपालीभाषीहरू आजसम्म पहिचानको लडाइँमै देखिन्छन् । तत्कालीन समयमा त्यहीँको हुनुको गतिलो प्रमाण जुट्न नसकेको पीडा र दुखेसो पटक–पटक छचल्किएको छ, हरेक नाटकमा । राम्रो योग्यता भएका, शिक्षा–दिक्षा पाएका कलाकार, चित्रकार, साहित्यकार, शिक्षक, प्राध्यापक, डाक्टर, इन्जिनियर सबै नेपाल धाउने हुँदा त्यहाँ पहिचानको लडाइँ एकत्रित हुन नसकेको गुनासो पनि छ ।
ती नाटकहरूमा भन्दा आज परिस्थिति धेरै बदलिएको छ । भारतमा नेपाली भाषाले मान्यता पाएको छ, हरेक वर्ष नेपाली भाषा दिवस मनाइने गरेको छ । प्रान्तीय वा केन्द्र सरकारका उच्च ओहोदासम्म नेपालीहरूले पहुँच पाएका छन् । पछिल्लो समय भारतले त्यहाँ बसोबास गर्ने नेपालीभाषीलाई विभेद गर्न नपाइने कानुनी व्यवस्था गरेको छ ।
नेपाली जातिले भाषा साहित्यमा योगदान गरेबापत राज्य तहकै ठूला–ठूला पुरस्कार प्राप्त गरेका छन् । स्वयम् नाटककार लीलबहादुर क्षत्रीको ब्रह्मपुत्रको छेउछाउ (उपन्यास) ले भारतको सहित्य अकादमी पुरस्कार प्राप्त गर्यो; आसाम पूर्वाञ्चलमा नेपालीभाषीले पाएको यो सबैभन्दा ठूलो पुरस्कार हो । सन् २०२० मा उहाँले भारतका राष्ट्रपतिबाट पद्मश्री सम्मान पाउनुभयो– यो चानचुने उपलब्धि होइन ।
ती उपलब्धिहरू लीलबहादुर क्षत्रीकै नाटकहरूको प्रभाव र नेपाली जातिको निरन्तरको लडाइँले स्थापित नतिजा हुन् भनेर सजिलै भन्न सकिन्छ । यद्यपि, भारतमा नेपाली जातिको बसोबास २०० वर्ष नाघिसक्दा समेत पहिचानकै लागि लडिरहनु परेको व्यथा २०७८ साल मंसिरमा कविडाँडा साहित्य समाज, चितवनद्वारा आयोजित अन्तरदेशीय साहित्य सम्मेलनमा दार्जिलिङका कवि मनप्रसाद सुब्बाले नमीठो गरी सुनाउनु भएको थियो ।
यहाँ के प्रस्ट हुन्छ भने; उहिले लीलबहादुर क्षत्रीले नाटक लेख्दाताका होस् वा आज मनप्रसाद सुब्बा वा राजेन्द्र भण्डारीले कविता लेख्दा उताको पिरलो अझै पहिचानकै छ । अस्तित्व रक्षाकै छ । मणिपुरे युवा सर्जकहरू राहुल राई ‘बोगिको’, डा. सिताराम अधिकारी, नवीन पौड्याल वा हर्कबहादुर लामगादे ‘रोहित’ लगायत हरेकको एउटै दुखेसो पाइन्छ– हामी पहिचानको लडाइँमा संघर्ष गरि नै रहेका छौं ।
यताकाले उताका भन्ने उताकाले यताका भन्ने समस्या आज पनि उच्छेदिन सकेको छैन । अबका आन्दोलनले यी कुराहरूमा उपलब्धि हासिल गर्ने विश्वास लिन सकिन्छ । अतः यहाँ लीलबहादुर क्षत्रीका नाटकहरूले देखाएको बाटो भनेको– नवपरिवर्तनका लागि सधैं एक कदम अगाडि बढ । पहिचानको लडाइँ नछोड र अस्तित्व रक्षामा एक जुट होऊ । यो गतिलाई आजका अनुहारले समेत काँधमा बोकेर समयको नयाँ देउरालीसम्म पुर्याउनुपर्ने देखिएको छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।