आराधना प्रा.डा. गोविन्दराज भट्टराईद्वारा लिखित पिल्ग्रिमेजिजको नेपाली रूपान्तरण गरिएको निबन्ध सङ्ग्रह हो । टेकनारायण ढकालद्वारा अनुवाद गरिएको प्रस्तुत पुस्तकमा डा. भट्टराईले आफ्नो बाल्यकालदेखि जीवनका विभिन्न मोडमा घटेका घटनाहरूलाई सूक्ष्म ढङ्गबाट प्रस्तुत गरेका छन् । वास्तवमै अनुवाद गर्नु भनेको चानचुने कुरा होइन अझ त्यसमाथि कृतिको मूलसार, लेखकको विचार र भावलाई नमारी अनुवाद गर्नु निकै कठिन नै हुन्छ तर अनुवादक ढकालले यस पुस्तकमा लेखकीय विचार र भावमा अझै आफ्नो मौलिकपन थपेर सशक्त र मिठासपूर्ण बनाएका छन् । त्रिभुवन विश्वविद्यालयका स्तातक तथा स्नातकोत्तरको पाठ्यक्रममा समाविष्ट अङ्ग्रेजी निबन्धको यो सरल तथा परिष्कृत नेपाली भाषामा अनुवाद गरिएको यो कृतिले अझै सहजै बुझ्न र बुझाउन सक्छ भन्ने उद्देश्य राखेको छ । नेपाली साहित्यमा अङ्ग्रेजी भाषा साहित्यको चर्चा परिचर्चा गरिरहँदा अङ्ग्रजीमा लेखिएका साहित्य र नेपाली साहित्यकारका कृति औंलामा गन्न सकिने मात्र छन् । ती मध्ये पनि एक उत्कृष्ट कृति त निकै कम पाइन्छ ती मध्ये एक उत्कृष्ट अङ्गे्रजी कृतिका रूपमा रहेको डा. भट्टराईको पिल्ग्रिमेजिज एक उत्कृष्ट अंग्रेजी निबन्ध सङ्ग्रह हो जसमा विभिन्न शीर्षकका बाह्र निबन्ध सङ्गहित छन् ।

नेपाली साहित्यमा नेपाली तथा अङ्ग्रेजी भाषा साहित्यमा लामो समयदेखि उत्कृष्ठ रचना गर्ने डा.भट्टराई अंग्रेजी विषयका प्राध्यापक हुन् । त्रिभुवन विश्वविद्यालयमा लामो समय प्राध्यापन गरेका डा.भट्टराईको सुकरातका पाइला, मुग्लान, मणिपुरको चि, सुकरातको डायरी जस्ता उत्कृष्ट उपन्यास, सङ्गै बसौँ यो रात, गोधूलीमा दश पाइला, मिर्मिरेमा दश पाइला निबन्ध सङ्ग्रह मेरो पहिलो बेलायत यात्रा यात्रा निबन्ध प्रकाशित छन् भने उनको मुग्लान र सुकरातका पाइलाको अङ्ग्रेजी अनुवाद प्रकाशित भइसकेको छ । उनको आराधना नामक नेपाली रूपान्तरण अङ्ग्रेजी उत्कृष्ट निबन्ध पिल्ग्रिमेजिजको भाव अनुवाद हो भन्न सकिन्छ । उत्तर आधुनिक साहित्य विमर्शमा उत्कृष्ट सैद्धान्तिक विचार राख्न सक्ने डा.भट्टराईका कृतिहरू विश्वसाहित्यमा उभिन सक्ने खालका देखिन्छन् ।

उनको अंग्रेजी निबन्धहरूको नेपाली अनुवाद गरिएको यस कृतिको पहिलो निबन्ध ‘इन्द्रेणी टाँगिएको आकाश रहेछः मेरो बाल्यकाल’ शीर्षकको निबन्धमा बाल्यकाललाई बिम्बात्मक तरिकाबाट प्रस्तुत गर्दै इन्द्रेणी टाँगिएको आकाशका रूपमा तुलना गरिएको छ । बाल्यकालमा पिताजीको साथ लागेर विद्यालयमा भर्नाका लागि गएको प्रसङ्गलाई चित्रण गर्दै मिठासपूर्ण बाल्यकाल र विद्या आर्जनका लागि गरिएको सङ्घर्षपूर्ण प्रयत्नलाई वर्णन गरेका छन् । अङ्ग्रेजी स्कुलमा देखिएको तात्कालिक नवीन वातावरण र आफ्नो अङ्ग्रेजीप्रतिको लगावलाई चित्रण गर्दै बालककालमा गरेको प्रकृतिको विचरणलाई स्मृतिका भावसँग जोडेका छन् । दाजुभाइको पठनकला सहकार्य तथा अङ्ग्रेजीप्रतिको धार्मिक अन्धविश्वासलाई सोदाहरण सहित प्रस्तुत गरेका छन् । पिताजीको विश्व वातावरणप्रतिको चेतना र छोरालाई अङ्ग्रेजी भाषामा अब्बल बनाएर राम्रो मान्छे बनाउने सपनाको प्रतिफल आफू विश्वविद्यालयको प्रोफेसर भएको घटनावस्तुलाई कथानकीय स्वरूप दिएर रचना गरिएको यस निबन्धमा अङ्ग्रेजी नेपालीसँगै संस्कृतका ग्रन्थमा अध्ययन र कर्मकाण्ड कार्यमा समेत सामेल भएको प्रसङ्गको व्याख्यान गर्दै आफ्ना नानी बाबुहरूलाई नेपाली भाषाका साथसाथै अङ्ग्रेजी र संस्कृतको पनि साथै अध्ययन गराउन आग्रह गरिएको छ ।

‘नदेखिएका एक स्वप्नदर्शीको सम्झना’ शीर्षकको निबन्धमा अन्यायी शासकका विरूद्ध गरिएका आन्दोलन, सरकारका ज्यादती, विश्वेश्वरप्रसाद कोइरालाले गरेका प्रजातान्त्रिक कार्यहरू, सुवर्ण समशेरको गतिविधिको चर्चा गर्दै राजाविरूद्धको चर्चा परिचर्चालाई प्रस्तुत गरेका छन् । प्राकृतिक सुन्दरताको चित्रणमा जोन किट्सले लेखेका कविताको भावलाई शरद ऋतुको उल्लासपनसँग सामिप्य राखेका छन् । राजा महेन्द्रको २०१७ सालको ‐कू) राजनीतिक दलप्रति प्रतिबन्ध, वीपी कोइरालाको निर्वासन र लेखकले ताप्लेजुङको च्याङ्थापुमा बिताएका जीवनका आयामलाई चित्रण गर्दै विश्वेश्वरजस्ता सन्त प्रधानमन्त्रीले भोग्नुपरेको कठीन जेलजीवन र उनको साहित्यिक पठन, लेखन र प्रकाशनको चर्चा गरेका छन् । ‘हृदयको गानासँगै रमाउँदै सिर्जनामूल’ शीर्षकमा डा.भट्टराईले आफू नै साहित्यिक लेखनको थालनी, यात्रा र यसप्रतिको लगावले जीवनको उत्तरार्धमा आइपुग्दाको सिर्जनात्मक अनुभूतिलाई वर्णन गरेका छन् । सिर्जनात्मक लेखनको विस्तारमा आफू लीन हुँदै आख्यानात्मक सिर्जना लेखनलाई ईश्वर पुकार गरेको र साहित्य सृजनारूपी सरोवरमा डुबुल्की मारेको प्रसङ्गलाई व्यक्त गरेका छन् ।

‘सुन्दर जीवन–कला सिक्ने हेतुले पुस्तक पढौँ ’ शीर्षक निबन्धमा र नेपाली संस्कृति र संस्कारमा बिस्तारै हट्दै र घट्दै गएको पठन संस्कृतिप्रति चिन्तित बन्दै पठनशैली र संस्कृतिको विवेचना गरेका छन् । प्राज्ञिक संस्कृतिमा आएको ह्रास पाठक र विद्यार्थीले विद्याप्रति गरेको निष्प्रभाव कार्यशैली र हल्कापनले भविष्यमा निकै प्रभाव पार्ने हुँदा जीवन कला सिक्नका लागि सही तरिका र पद्धतिबाट पुस्तक पढी सार र भाव बुझ्न आग्रह गरेका छन् । नयाँ पिँढीलाई पुस्तकप्रति सम्मोहित बनाउन अध्यापन वा प्राध्यापनमा लागेका विशिष्ट व्यक्तित्वहरूलाई प्रभावकारितामा जोड दिन आव्हान गरेका छन् । विश्व साहित्यका उत्कृष्ट कृतिको चर्चा गर्दै त्यस्ता जीवनोपयोगी पुस्तकको गहन अध्ययन गर्दै आनन्दित हुन, पढाइप्रति रूचि बढाउन पनि आग्रह गरेका छन् ।

‘पूर्वको स्कटल्याण्डमा रातभर जाग्राम’ शीर्षकको निबन्धमा भारतीय राज्य मेघालयको राजधानी शिलाङको भ्रमण, यात्राको कठिनपल, यात्राका अवस्थामा घटेका घटना, प्रकृतिको चित्रण, भारतमा नेपाली साहित्य र भाषाको अवस्था, विशिष्ट साहित्यकारसँगको भेटघाट, नेपाली कलासंस्कृति र खुसीका कारणले रातभरि जागा रहेको प्रसङ्गलाई चित्रण गरिएको छ । ‘एक अद्वितीय साहित्य मन्दिरको यात्रा संस्मरण निबन्धमा रुस र यसको राजधानी मस्को सहर, त्यसको वातावरणीय प्राकृतिक सुन्दरताको विशद् वर्णन गरिएको छ ।

महान् रूसी साहित्यकार लियो टाल्सटायको जन्मस्थल, त्यसप्रतिको श्रद्धा, त्यहाँका नदी, जङ्गल थुम्का, मानव निर्मित स्मारक, कलात्मक तस्वीरहरू, लियो टाल्सटायको पुख्र्यौली सम्पत्ति, प्राचीन वस्तुको सङ्ग्राहलय, त्यसको भ्रमण गर्दा पाएको सुखदपल, आनन्द विभोर भइ उनीप्रतिको श्रद्धालाई निबन्धमा प्रकट गरिएको छ ।

‘सेक्सपियरको जन्मभूमिको यात्रा संस्मरण’ शीर्षकको निबन्धमा बेलायत भ्रमणमा देखिएका प्राकृतिक तथा मानव निर्मित सम्पदाको चर्चा गर्दै अङ्ग्रेजी साहित्यका नाट्यसम्राट सेक्सपियरको जन्मभूमिको यात्रामा खिचिएका प्रसङ्गको वर्णन गरिएको छ । अङ्ग्रेजी साहित्यको अध्येता र अङ्ग्रेजी साहित्यमा विशिष्ट व्यक्तित्वहरूले सेक्सपियरको जन्मस्थलप्रतिको गरिने अगाध आस्था श्रद्धाभाव निबन्धमा अभिव्यक्त भएका छन् ।
सेक्सपियरको जन्मघर, मावली गाउँ ट्रिनिटी गिर्जाघर, सङ्ग्राहलय उनले प्रयोग गरेका वस्तुहरू तथा सङ्कलन गरेर सजाइएका सङ्ग्रहालयको चर्चा गरिएको छ । ‘ज्ञानप्राप्ति भनेको गाग्रीमा पानी जस्तो नभएर समिधाबाट अग्निस्थापना गरेजस्तो हो’ भन्ने लामो वाक्य शीर्षकको निबन्ध शीर्षक नै एक विशिष्ट विचार बनेर आएको छ । मानिसको जीवन सार्थक र सफल बन्न शारीरिक तन्दुरूस्ती मात्र नभएर मानसिक वैभव पनि चाहिन्छ भन्ने भाव यहाँ पाइन्छ ।

हाम्रो पूर्वीय चिन्तन परम्पराको जगेर्ना गर्दै त्यस भित्रको विशिष्ट ज्ञान र चेतनालाई आत्मसात् गर्न सके जीवन सुखद बन्छ। जीवनमा बाहिरी र क्षणिक आनन्दभन्दा आत्मिक चेतनाको माध्यमबाट जीवनको सार्थकपन खोज्नुपर्दछ भन्ने विशिष्ट भाव यस निबन्धले प्रस्तुत गरेको छ ।

‘युगान्तकारी आयाम परिवर्तनको सँघारमा उभिँदा’ शीर्षकको निबन्धमा विश्वसाहित्य र विश्व पर्यावरणको चर्चा गर्दै उत्तरआधुनिक विचार विमर्श र नविनतम प्रणालीलाइ आत्मसात् र अवलम्बन गर्दै नेपाली भाषा साहित्यको उन्नयनमा अगि बढ्नुपर्छ भन्ने भाव अभिव्यक्त भएको छ ।

उत्तरआधुनिकता भित्रका विभिन्न आयाम, विचार र पद्धतिलाई भित्र्याइ विज्ञान र प्रविधियुक्त वर्तमान विश्वमा आफूलाई उभ्याउनुपर्ने विचार राख्दै निबन्धकारले उत्तरआधुनिक ऐना र उत्तरआधुनिक विमर्श जस्ता कृतिका समेत रचना गरेका छन् । जसभित्र डायस्पोरा, इकोक्रिटिसिजम, डिकस्ट्रक्सन, सीमान्तकृत अवस्था, लैङ्गिक अध्ययन, साइवर संस्कृति जस्ता विषयलाई समावेश गरी त्यसको चिन्तन र विश्लेषण गर्नुका उद्देश्यलाई स्पष्ट पारेका छन् ।

‘मेरो सृजनाको उद्देश्य’ शीर्षक निबन्धमा निबन्धकारको साहित्ययात्रा, लेखनकला, लेखनको उद्देश्य, जीवनको उतारचढावका अनुभूतिको चर्चा गरेका छन् साथै जीवनका अध्ययन र प्राध्यापनका विविध पक्षलाई निबन्धमा समेटिएको छ । समाजको यथार्थ चित्रणसँगै सामाजिक रूपान्तरण र सभ्यता निर्माणका लागि सृजित साहित्यको चर्चा यहाँ गरिएको छ ।

जीवनसापेक्ष विशिष्ट विचार र भावद्वारा कृति अमर हुने प्रसङ्गलाई जोड्दै काव्यिक रचनाको ओजलाई निबन्धमा चित्रण गरेका छन् । ‘विलुप्त वैकुण्ठलोकको तिर्सना’मा सन्तति र उनीहरूप्रतिको प्रेम, लगाव र कार्यशैलीको चित्रण गर्दै जीवनको पूर्वाद्र्धमा गरिएका कर्म र उत्तराद्र्धमा गरिएका स्मृति समाविष्ट छन् ।

यी प्रकृति, तिनका मनोरम जीवनका भोगाईलाई सूक्ष्म रूपमा केलाउँदै जीवनको भाव र लयलाई तालमेल गरिएको छ । जननी र जन्मभूमिको माया र ममताले मानिसलाई खिचिरहन्छ भन्ने यथार्थ यहाँ प्रस्तुत भएको छ भने वैशाख १२ को मध्यान्हकालीन विनाशकारी उत्पात, भूकम्पको भोगाइलाई निबन्धकारले आफ्नो निवासमा घटेको घटना, त्यहाँको वातावरण, भू–विचलन, झड्का, त्रासमय पल, जीवनप्रतिको माया र आपत्को घडीमा आफूलाई सम्हाल्ने उपायका लागि गरिएका प्रयत्नको वर्णन गरेका छन् ।

मानव निर्मित असुरक्षित संरचना र प्राकृतिक विनाशलाई वर्णन गर्दै ईश्वर र आध्यात्मवादी विचारद्वारा जीवन एक सङ्ग्राम वा सङ्घर्ष हो भन्ने कुरालाई स्रष्टाबाट राम्ररी चित्रण गरिएको छ ।

२४० पृष्ठमा संरचित प्रस्तुत आराधना निबन्ध सङ्ग्रहमा जीवनका यात्रा, विभिन्न भोगाइ अनुभूति, जीवनको सार्थकता र आनन्दका साथसाथै जीवनलाई एक सुन्दर तीर्थयात्राका रूपमा विविध प्रसङ्गबाट वर्णन गरिएको छ । विश्वजनीन मानव संस्कार, संस्कृति र सभ्यताका चर्चा–परिचर्चासँगै प्रकृति र मानवबीचको सम्बन्ध, ईश्वरीय सत्ता, कर्म र भोगको चर्चा गरिएको छ । ओरिएन्टल पब्लिकेशनले प्रकाशनमा ल्याएको प्रस्तुत पुस्तकले जीवनलाई हेर्ने सुन्दर दृष्टिकोण प्रस्तुत गरेको छ ।