केही दिनअघि एउटा ट्वीटमा आँखा अड्कियो । प्रयोगकर्ताले साहित्यमा निकथा नामको नयाँ विधा आएको भन्दै व्यङ्ग्य गरेका थिए । केही दिनअघि मात्र “चोभार ब्लुज” का लेखक विक्रम भक्त जोशीका हाइकिङ्ग पार्टनर एवम् उनकै कथा “यात्राका अनुत्तरित प्रश्नहरू” का एक पात्र राजु नेपालले यसको विषयमा कुरा गरिसकेको हुँदा मलाई भने यो शब्द सुन्नासाथ यात्रासँग जोडिएका कथाहरू भएकोले निकथा भनिएको होला भन्ने लाग्यो । सामान्यत: पुस्तक किनेरै मात्र पढ्ने बानी भएकोले परख नगरी किताब किन्दिनँ । यसै बीचमा यो किताब किनौँ कि नकिनौँ भइरहेकै बेलामा दशैंको छेको राजुले मसँग दुईप्रति छ भन्दै दक्षिणा सरह लाग्ने गरी पुस्तक उपहारमा दिए ।

आफ्ना कथाहरूलाई पनि नियात्रामूलक कथा लेखिएछन् भनी प्रतिकृया पाइरहेकै अवस्थामा कुनै लेखकले निकथा भनेरै लेख्ने आँट गरेकोमा उत्साहित भएँ । गैरआख्यानलाई आख्यानसँग मिसाउँदा आख्यानको गुण मासिनुहुन्न भन्ने धारणा बनाएरै पुस्तक पढ्न सुरू गरेँ । कसैले लेखेको हजारौं शब्दको किताबलाई एक डेढ हजार शब्दमा बताइसक्नु सजिलो कुरा होइन । त्यसमाथि पनि किताबको बाहिरि पृष्ठमा कोरिएका चित्र, शीर्षक र सीमित शब्दबाट पुस्तकलाई बाहिरबाटै बुझ्ने बनाउनु त झन् सजिलो कुरा होइन । तथापि प्रकाशकहरूले न्यायपूर्ण तरिकाले कभर पृष्ठ डिजाइन गरेका छौँ भनेर गरिएको दाबी सही छ कि छैन परीक्षण गर्ने हुटहुटी चल्यो ।

यो लेखनी लेखकको शिल्प मात्र नभई प्रकाशकको दाबीको समेत लेखाजोखा हो । नाम चलेका समालोचकहरूको समीक्षा भन्दै छापिएका छरपष्ट शब्द समूह र आफूलाई समीक्षक होइन भन्दै डराएर लेखिएका तर बलवान् समीक्षाहरूको बीचमा यो लेखाईलाई उपयुक्त लागेको जुनसुकै नाम दिन सकिन्छ ।

पुस्तकको अग्रभागमा चोभारको चित्र र पात नभएको रूखको चित्र छ भने पृष्ठ भागमा कथाकार अश्विनी कोइरालाका शब्द भन्दै सन्तावन्न शब्द लेखिएका छन् । यी सन्तावन्न शब्दले भन्न खोजेका कुराहरूमा; कथाहरूको कथन शैली नयाँ छ, नयाँ प्रयोग गर्ने प्रयास गरिएको छ, स्वैरकल्पना र निकथा कथा सङ्ग्रहको प्राण हो, पढ्दा रमाइलो लाग्छ, काठमाडौँ उपत्यका र वरपरका कुराहरू बताउँछ, ज्ञान नबाँढेको इतिहास नभनेको संस्कृतिको व्याख्या नगरेको जसरी यी कुराहरू पनि बताउँछ । लेखकको परिचयको रूपमा उनका निजी कुराको अतिरिक्त पुस्तकलाई जोशीको पहिलो निकथासङ्ग्रह दाबी गरिएको छ ।

विश्‍व कुइकेल

यस कथा सङ्ग्रहमा जम्मा उन्नाइस वटा कथा समेटिएको छ । केही फरक नाममा भए पनि शुभकामना, आभार, प्रकाशकीय, भूमिका आदि विषयलाई परम्परागत शैलीमा नै समेटिएको देखिन्छ । प्रत्येक कथाको अगाडि पाठ्यपुस्तकको शैलीमा चित्रहरू कुदिएको छ । केही कथाहरूमा केही वाक्य कथाको पृष्ठभूमि बताउन खर्च गरिएको समेत देखिन्छ । कथाका शीर्षकहरूले कथाको विषयवस्तुलाई समेट्न सके कि सकेनन् भन्ने विषयमा भने घोरिनैपर्ने हुन्छ । अधिकांश कथाको प्लट काठमाडौँ उपत्यकाको दक्षिणी भूगोल नै देखिन्छ र केही कथामा खास स्थान उल्लेख नगरिए पनि यही भूगोलको कुनै ठाउँलाई नयाँ नाममा आख्यानीकरण गरिएको अनुमान गर्न सकिन्छ । यसरी व्याख्या गरिएका क्षेत्रको स्पष्ट चित्र लेखकले सिर्जना गरेका देखिँदा ठाउँको नाम परिवर्तन गरिएको दक्षिण ललितपुरको कुनै भागको नै कथा हो भन्ने अनुमान गर्न सकिन्छ ।

कथाहरूमा प्रयोग गरिएको शैलीहरूको खोजी गर्दा लेखकले पात्र भेट्न यात्रा गर्नु, केही कथाहरूमा कथाको सुरुवातमा केही पृष्ठभूमि लेखिनु, कतै निबन्धको शैली अपनाउनु, केही स्थानमा नाटक लेखनको शैली पछ्याउनु, केहीमा स्वैरकल्पनाको प्रयोग गर्नु, हिन्दु मिथक कथाहरूलाई कथामा जोड्नु, संस्मरणजस्तो कथा लेख्नु जस्ता शैलीहरूको प्रयोग भएको देखिन्छ । यसरी हेर्दा प्रयोगकै हिसाबले यी शैलीहरू नयाँ नभई अरू लेखकहरूले समेत प्रयोग गरिसकेका शैलीहरू हुन् । तथापि परम्परागत लेखन शैलीलाई मात्र पछ्याएको भने देखिएन । कथा प्रवाहको हिसाबले पनि नयाँ लेखक हुन् जस्तो लाग्दैनन् लेखक जोशी अर्थात् कथा भन्ने शैलीमा एक तहको पाकोपन नै देखिन्छ । तथापि कथामा पात्र होइन, लेखक बोलिरहेको छ भन्ने अनुभूति भने हुन्छ कतै कतै । “धिर्बाको विदेश यात्रा” “पर्खाल” लगायतका केही कथाहरूमा पात्रको स्तर अनुरूपका सम्वादहरू प्रयोग नभएको अवस्थामा समेत यो विषय खट्किन्छ ।

कथा सङ्ग्रहको प्राणको रूपमा स्वैरकल्पनालाई लिइए पनि उन्नाइस मध्ये चार वटा कथाहरू पढ्दा स्वैरकल्पनाको स्पष्ट अनुभूति हुन्छ । यी मध्ये “फ्लानर फेन्टासी” भन्ने कथामा उपत्यकाको निर्माणको व्याख्या लोभलाग्दो तरिकाले गरेका छन् लेखकले ।

कथा सङ्ग्रहलाई नै निकथा सङ्ग्रह हो भनी दाबी गरिएको छ । नेपाली शब्दकोषमा नै नभएको यस शब्दलाई यात्रामूलक कथाको लागि प्रयोग गरिएको हुनुपर्छ । सात वटा कथाहरू यात्रामूलक छन् जसमध्ये दुई कथाले विदेश यात्राको र बाँकी पाँचले नेपालभित्रैको कथा बोक्छ । यी मध्ये केही नियात्रालाई कथाको रूप दिन लेखक यति धेरै हतारिएका छन् कि पाठक नै अलमलमा पर्छन् र दोहोर्‍याएर कथा खोज्न बाध्य हुन्छन् । “धिर्बाको विदेश यात्रा” भन्ने कथामा डायस्पोरा स्वादलाई अलिक फरक तरिकाले पस्किएको पनि देखिन्छ ।

कभर पृष्ठमा दाबी गरिएझैँ यसले काठमाडौँ उपत्यका र वरपरको कथा नै बताउँछ । त्यसमा पनि विशेष प्रभाव बुङ्गमती, खोकना, चोभार, चम्पादेवी लगायतका क्षेत्रको छ । लेखकले काँठ भन्ने शब्द प्रयोग गर्न लजाए पनि अधिकांश कथाहरू उपत्यकाको दक्षिणी काँठसँग जोडिएका छन् । नेवारी संस्कृतिको अत्याधिक प्रभाव देखिन्छ कथाहरूमा । ख्याक जस्ता मिथकलाई पनि कथामा सुन्दर तरिकाले जोडेका छन् लेखकले । ख्याक भुत होइन, संरक्षक हो भन्ने कुरा पस्केका छन् । ख्याचा, बुख्याचा, बाख्याचा लगायतका ख्याकका प्रकार र उपत्यकामा पनि पाटन, भक्तपुर र काठमाडौँमा यसप्रतिको विश्वास फरक फरक छ । ख्याकको कथा भन्न काठमाडौँ छानेका लेखकले यी विश्वासलाई ध्यान दिएकै होलान् भन्ने अनुमान गर्न सकिन्छ । कथामा नेवार पात्रले नेवारी लवजमा नै बोलेको पाइन्छ भने ग्रामीण परिवेशका कथाहरूमा ग्रामीण शैलीकै लवज प्रयोग गरिएको छ तथापि यो कुन भूगोल वा समुदायको लवज हो भन्ने लेखकले खुलाउन भने सकेका छैनन् ।

पुस्ताले ज्ञान बाँढ्दैन, इतिहासको बारेमा बताउँदैन र संस्कृतिको बारेमा भन्दैन भन्दै यी सबै कुरा समेटिएको घुमाउरो सङ्केत गरिएको छ । यसले कतिपय हिन्दु देवीदेवता र मन्दिरको बारेमा, जात्रा चाडपर्वको बारेमा, परम्परा र अभ्यासको बारेमा प्रशस्त बोल्छ । कभर पृष्ठमा पात नभएको रूखको प्रयोग गरे पनि वातावरणीय सचेतनाको बारेमा प्रशस्त बोलिएको छ । “म मोरिक्वल” कथामा त मार्क्सवाद र वर्ग संघर्षको चिरफार गरिएको छ । त्यसैले पुस्तकले ज्ञान पनि बाँढ्छ, इतिहास पनि बताउँछ, भाषा र संस्कृतिको कुरा पनि गर्छ । कतै कतै भने पोलिटिकल्ली करेक्ट कुरा लेख्ने ध्वावन्नमा लेखक चिप्लिएका छन् । जस्तो : “फ्लानर फेन्टासी” भन्ने कथामा संविधानमा लेखिसक्दा पनि राज्य नै धर्म निरपेक्ष हुन नसकिरहेको अवस्थामा लेखक निरपेक्ष हुन खोज्दा कुराहरू चिप्लिएका छन् । कथाहरूमा प्रयोग भएका कतिपय: शब्दहरू पटक्कै अपाङ्गतामैत्री छैनन्, पुनर्प्रकाशन गर्दा यिनलाई सच्याउनैपर्ने छ किनकि यस्ता शब्दहरू पात्रको सम्वादमा मात्र नभई लेखककै माउथपिसको रूपमा समेत प्रयुक्त देखिन्छन् ।

शीर्षक कथाको बारेमा केही नबोली यसको अन्त गर्नुहुन्न । यो कथा चोभार डाँडाको वरिपरि घुमिरहन्छ । स्वैरकल्पनाको प्रयोग गरिएको कथाको विषयवस्तु भने प्रेम छ । प्रेमको विषयमा आँफैसँग गरेको संघर्ष वा उल्झनलाई यसमा देखाइएको छ । कथा अघि बढ्दा त्यहाँको धार्मिक, साँस्कृतिक लगायतका विषयवस्तु समेत सान्दर्भिकरूपमा छिर्दै जान्छन् । कथाको अन्तमा मूल पात्र पागलपनको शिकार हुन्छ । कथा ठीकठाक नै अघि बढ्छ र अनपेक्षित तरिकाले नै अन्त हुन्छ । कथा सक्किँदा मूल पात्र पागल भैदिँदा पागलपनका कथा लेख्न माहिर ललित बिष्ट र उनको कथा सङ्ग्रह “मोहपथ” को झल्को समेत आउँछ ।

साहित्य किन लेख्ने भन्ने वहस छुट्टै होला तर नेपाली साहित्य आकाशमा धेरै लेखकहरू हतारमा प्रवेश गर्छन् । छपाइको मूल्य आफै ब्यहोर्ने र केही पुस्तक लिएर चित्त बुझाउने; आफै छाप्ने र बिक्रीको जिम्मेवारी नि आफै लिने, पारिश्रमिक पाउने आशामा छाप्ने र लामो समय केही नपाउने एवम् गुजारा हुनेगरी पारिश्रमिक बुझ्ने चार खाले लेखकहरू भेटिन्छन् । प्रकाशित पुस्तक गुण र दोषको आधारमा भन्दा पनि त्यसका विषयमा चलाउन सकिएको हल्ला तथा सम्बन्धको आधारमा पाठकको हातमा पुग्ने मात्र होइन, यिनै आधारमा पुरस्कृतसम्म हुने विषय जगजाहेर नै छ । त्यसैले बिक्रम भक्त जोशीको “चोभार ब्लुज” को भविष्य यिनै परिदृश्यले निर्धारण गर्ने नै छ । तथापि पुस्तक हातमा लिएर स्वतन्त्र मूल्याङ्कन गर्दा यो हतारिएर आएजस्तो भने लाग्दैन । कथाहरू पाठकलाई अत्याउने खालका देखिँदैनन् । प्रकाशकले एक हजारप्रति छापिएको भनी इमान्दारिपूर्वक उल्लेख गरे पनि पुस्तकको मूल्य कतै पनि उल्लेख गरेको देखिएन । आइएसबिएन नम्बरको माथि लेखिएको फो फाइभ जिरो नै यसको मूल्य हो भने जम्मा दुई सय सत्ताइस पृष्ठको उदियमान लेखकको पुस्तकको मूल्य अलिक बढी नै हो । सबै पुस्तक पढिसक्दा निकथा सङ्ग्रह भनी नभनेको हुन्थ्यो भन्ने लाग्दो रहेछ । “यात्राका अनुत्तरित प्रश्नहरू” “बोसन हाइट” र “बाली बैजनी” शीर्षकको कथा कथाभन्दा बढी यात्रा संस्मरण र “बिर्सिएको त्यो इमेल” संस्मरण बन्न पुगेका छ । कथानकताको दृष्टिबाट “पर्खाल” कथामा कथा टुङ्ग्याउन नै पात्रलाई मारेको जस्तो देखिनु, “अनि म विरही भएँ” कथामा पहिला टाइट लिप्पड देखिएको पात्र एकै पटक खुल्न थाल्नु, “जगल्टे घर फर्किन्छ” भन्ने कथा बाहिरबाट सुकुम्बासी बस्तीलाई हेर्ने दृष्टिकोणमा मात्र आधारित देखिनु, “अनिच्छित सम्बन्ध” भन्ने कथा कथा बन्दाबन्दै टुङ्गिनु जस्ता कमजोरीहरू पनि देखिन्छन् ।

अन्त्यमा “चोभार ब्लुज” कथा सङ्ग्रह एक पठनीय नै सामग्री हो । दोषमुक्त लेख्नु असम्भवप्राय: हो तथापि बजारमा आएका स्थापित लेखकका औषत सामग्रीसँग डराउनुपर्ने छैन । लेखक बन्ने हुटहुटीमा लेखिएका पुस्तकहरूको बाढीमा बगिजाने खालको किताब पनि होइन । तथापि पहिलो पुस्तकबाट पाठ सिकेर अघि बढ्नुपर्ने प्रशस्त ठाउँ छन् । कभर पृष्ठको सार्थकता सम्बन्धमा हेर्दा शैलीगत हिसाबले नौलो भनिएको दाबीमाथि प्रश्न गर्ने ठाउँ छ । निकथा शब्दको प्रयोगमाथि बोल्ने ठाउँ छ । सोबाहेक अन्य दाबीमा न्याय गर्ने प्रयास गरेकै छ पुस्तकले । लेखनमा अघि बढ्नको लागि जोशीजीलाई शुभेच्छा छ ।