सहरमा बस्ने कुनै एक व्यक्ति बाहिरफेर हिँड्दा लगाउने लुगा लगाएर मुख्य सडकको चोकमा पुग्छ । उसले एउटा ब्याग पनि भिरेको छ । चोकमा पुगेर उसले कुनै ट्याक्सीलाई पूर्व जाने हो ? भनेर सोध्छ; कुनैलाई सोध्छ, पश्चिम जाने हो ? भनेर । कुनैलाई फेरि उत्तर जाने हो ? भनेर सोध्छ । जता जानु छ त्यताका लागि पो सोध्नुपथ्र्यो । ऊ कस्तो मान्छे होला ? किन उसले त्यसरी सोध्यो ? तपाईँ बताउन सक्नुहुन्छ ? मलाई सोध्नुहुन्छ भने क्षणभरमै भनिदिन्छु– ‘म यसको उत्तर दिन सक्दिनँ किनभने मसँग यसको कारण छ । मेरै कमजोरी छ उत्तर दिन नसक्ने ।’

हिजो एउटा किताब हात पर्यो । के हातपर्नु ! नगदनारायण तिरेर किनेँ । मैले जुन किताब किनेँ वास्तवमा म त्यो किताब किन्न गएको थिइनँ । सम्पूर्ण (पुस्तकपसल) का भाइले भने– “तपाईँ लेखिरहने मान्छे, यो लैजानुहोस् । यसले मार्केटमा खुब चर्चा पाएको छ ।” यसो भनेर उनले मलाई एउटा किताब देखाए–प्रश्न । यथार्थमा म इतिहाससम्बन्धी एउटा प्रश्नको उत्तर नजानेर त्यसको समाधानका लागि कुनै किताब पाइन्छ कि भनेर गएको थिएँ । उत्तर पाइन्छ कि भनेर गएको थिएँ तर पाएँ प्रश्न । त्यति नै बेला याद आयो, एक दिन उदय अधिकारीले भन्नुभएको थियो– ‘तपाईँको हात चल्छ, जाँगर चलाउनुस् यार ।’ आज बल्ल बुझेँ यसै किताबमाथि लेख्न भन्नुभएको रहेछ । ‘मार्केटमा चर्चा छ’ भन्ने र ‘जाँगर चलाउनुस् भन्ने दुवै जनाका कुरा हार्न सकिनँ र उत्तर लिन गएको म प्रश्न लिएर फर्केँ । यस्ता व्यक्तिबाट तपाईँ उत्तरको अपेक्षा गर्नुहुन्छ ? कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भनेझैँ एउटा काम गर्न गएको व्यक्तिले अर्कै काम गरेर आउँछ भने त्यस्ता व्यक्तिबाट उत्तर सम्भव छ ?

तर रोचक कुरा के छ भने दिउसो किनेको पुस्तक साँझ यसो मन नलागी–नलागी पल्टाएको थिएँ । बाहिर प्रश्न लेखे पनि भित्रचाहिँ मैले खोजेको उत्तर रहेछ ! मन प्रफुल्ल भयो । नगदनारायणले पनि सार्थकता पायो भन्ने लाग्यो । भोलिपल्ट पूरा पढेर सकेँ । फेरि उदयको कुरा याद आयो र साच्चिकै जाँगर पनि चल्यो तर अचम्म के भयो भने जब लेख्न बसेँ तब पहिलो वाक्यमै रोकिएँ । कहाँबाट सुरु गर्ने ? लेखक कसलाई मान्ने ? प्रश्नकर्तालाई केन्द्रमा राख्ने कि उत्तरदातालाई ? लेखकले यसो भनेका छन् भनेर ‘लेखक’ कसलाई भन्ने ? गुरुले प्रश्न सोध्ने र विद्यार्थीले उत्तर दिने हाम्रो चलन हो तर यहाँ त विद्यार्थी गुरु बनेका छन् र गुरु विद्यार्थी ! एक वाक्य पनि लेख्न नसकेपछि म आफैसँग दिक्क भएर सुतेँ । पढेको कुरा एक वाक्य पनि लेख्न नसक्ने मजस्तो व्यक्तिले ट्याक्सीलाई त्यस मानिसले किन त्यसरी सोध्यो होला भनी कसरी उत्तर दिन सक्छु ? यसकारण भनेको हुँ कि मसँग मैले उत्तर दिन नसक्ने प्रमाण छ ।

ठिक छ, त्यस व्यक्तिका बारेमा मलाई कुनै सरोकार छैन । उत्तर नदिएर पनि वा दिन नसके पनि खास फरक परेन तर किताब किनेर त फसेँ नि । प्रश्न (अन्तर्वार्तासङ्ग्रह) मा नराम्रोसँग फसेँ । भोलि सम्पूर्णका भाइलाई के भन्ने ? उदयका अगाडि के भन्ने ? उदयजी, मेरातर्फबाट तपाईँका भागमा चालिस–पैँतालिस रुपैयाँ पर्ला, यसैमा चित्त बुझाउनुहोस् भन्ने ? एम.ए. पढेर जागिरे भई सेवा निवृत्त हुने बेलामा एउटा सामान्य किताब पढेर एक वाक्य पनि लेख्न सकिनँ भन्दा अभिसरले के भन्नुहोला ? फोन गरेर नमस्कार भन्नुपूर्व जहिले पनि ‘के छ हो एकनारायण भाइ ?’ भन्ने वहाँले के सोच्नुहोला ? सौराहाको कार्यक्रममा भेट हुँदा थोरैथोरै भए पनि लेख्नेपढ्ने व्यक्ति होला भनी अड्कल काट्ने नारायण ढकालले अब कसरी हेर्नुहुन्छ होला मलाई ? एल.बी., उदय, ईश्वर र भूपिनको साथी हुँ भन्दा सरुभक्तले के ठान्नुहोला ? प्रभाकर पण्डितका कविताको श्रव्यदृश्य माध्यमले व्याख्या गर्ने व्यक्तिले एक पङ्क्ति पनि लेख्न नसकेको कुरा श्यामलदाइले पत्याउनुहोला ? मेरा कविताको अर्थ लगाउन पो अप्ठ्यारो होला, कुराकानीलाई कुराकानीकै शैलीमा लेख्न पनि केको असजिलो भन्नुभयो भने मनु मञ्जिललाई के भनेर उत्तर दिने ? बिसे नगर्चीको बयानजस्तो त होइन नि हाउ तपाईँको लेखन भनेर श्रवण मुकारुङले भन्नुभयो भने वहाँलाई कुन उत्तर दिने ? मान्छे भासमा वा दलदलमा फस्छ भनेको सुनेको थिएँ, किताबमा पनि फस्दोरहेछ । आज आफैले अनुभव गरेँ ।

यावत् प्रश्नले घोचिरहेका बेला मनमा अचानक सुझ्यो– अब आत्तिन हुँदैन । उदयले प्रश्न सोधेका व्यक्तिलाई पनि फेरि सोध्ने । प्रश्नमाथि प्रश्न अर्थात् उपरप्रश्न सोध्ने र प्रश्न गर्ने उदयलाई पनि प्र्रतिप्रश्न गर्ने । यसो गरेपछि उत्तर लेख्न पनि नपर्ने र लेखेजस्तो पनि हुने । पुस्तकभित्र के छ भन्ने कुरा थाहा पाइने । यो मनले गरेको निर्णय थियो । कहिलेकाहीँ मनले निर्णय गर्न सक्दा मात्र पनि ढुक्क हुँदोरहेछ र शरीरमा आनन्दको भाव सञ्चरण गर्दोरहेछ ।

भोलिपल्ट बिहान चियाका निहुँले उदयजीकै घर गएँ । गायत्री मेडमले हतपत चिया ल्याउनुभयो । एकछिन चियागफ चल्यो । यसैबिच वहाँले ‘आज मार्खेजलाई फेरि पढ्नुछ’ भन्नुभयो । सायद वहाँले त्यसो भनेर मलाई छिटो बाहिरिन सङ्केत गर्नुभएको थियो तर मैले वहाँका कुरापट्टि ध्यान नदिई आफ्नो कुरा राखिहालेँ –

उदय सर ! तपाईँले प्रश्नमा नेपाली साहित्यका अघिल्लो र बिचको पुस्ताका स्रष्टासँग अन्तर्वार्ता लिनुभएको रहेछ । पढ्दा धेरै कुराका बारेमा जानकारी पनि भयो र आनन्द पनि आयो । अन्तर्वार्तानायकको रुचि, विषयक्षेत्र, बानीबेहोरा आदि सबै कुराको विचार गरेर प्रश्न गर्नुभएको रहेछ । विधालाई पनि समेटेर स्रष्टा चयन गर्नुभएको रहेछ । खेलाईखेलाई सबै कुरा फुत्काउनुभएको रहेछ । खुसी लाग्यो । हुन त फरकफरक शैलीमा लेखिएका अन्तर्वार्ताका पुस्तक यसअघि पनि प्रकाशनमा नआएका होइनन् तथापि यसको आफ्नै महत्त्व छ । उत्तरदाताका कुरालाई तपाईँले इमान्दार भएर जस्ताको त्यस्तै राखिदिनुभएको छ । यसबाट वहाँहरू पनि खुसी नै हुनुपर्दछ । मैले सुनेँ – “उदयले पक्षपात गर्यो । महिलालाई स्थान दिएन । संविधानको मर्मविपरीत भयो । समानुपातिक समावेशी भएन । काखा र पाखा भयो ।” अरू पनि कुरा सुनेँ । यी सबै कुरा काम नगर्ने कुरा मात्र गर्ने व्यक्तिका हुन् । साहित्यिक अन्तर्वार्ता लिँदा संसारभर कहीँ पनि संविधान पढेर, मुलुकमा भएका ऐन, नियम, कानुन, कार्यविधि आदि पढेर लिने चलन छैन । यसबाट तपाईँ हतोत्साही हुन पर्दैन, बरु यसबाट सहयोग पुगेको मान्नुपर्दछ । आवश्यक परे आगामी दिनमा यस्ता कुरामा पनि विचार गर्न सकिन्छ । मनन गर्नुहोला ।

उदयसर ! झर्को मान्नुहुन्न भने एकदुईवटा जिज्ञासा राख्न चाहन्छु । प्रश्न गर्ने व्यक्तिलाई नै प्रतिप्रश्न गर्यो भन्ने नठान्नुहोला । होइन, तपाईँले वहाँहरूको जीवनी, व्यक्तित्व र कृतित्वका बारेमा छुट्टै किताब नलेखेर यो अन्तर्वार्ता किन लिनुभयो ? पछिल्लो पुस्ताका व्यक्ति समेटिएनन् कि ? छिमेकमा दुईचार कक्षामा पढ्ने भाइछोरालाई ‘बाबू, कोर्सबाहिरको कुनै बुक पढेका छौ ?’ भनेजसरी मैले यो यो पढेको छु तपाईँलाई मन पर्ने र तपाईँले पढेका पुस्तकका बारेमा बताउनुहोस् भन्ने प्रश्न अलि गह्रौँ भयो कि ? यो कुरा मैले आग्रहले भनेको होइन, अभिसरको उत्तरबाट अनुमान गरेको हुँ । सरले भन्नुभएको छ– “मैले आजसम्म पढेका किताबमध्येबाट केही किताबका नाम भन्नु भनेको नै नभन्नु हो, किनकि त्यो गर्न सकिँदैन । …. लाग्छ केही किताबका नाम भन्नु बनावटी हुनेरहेछ” (अधिकारी, २०७८, पृ.२७) ।

अन्त्यमा के भन्न चाहन्छु भने जसरी म प्रश्नको टिप्पणीमा फसेँ तपाईँ पनि अन्तर्वार्तामा फस्नुभएको छ । अब तपाईँले चाहेर पनि यसबाट छुटकारा पाउनुहुन्न । तपाईँले आजसम्म प्राप्त गरेको ज्ञानराशिलाई फरक किसिमले व्यक्त गर्ने बाटो समात्नुभएको छ । यसलाई नछोड्नुहोस् । यो थोरै मात्र यात्री हिँड्ने बाटो हो । यसमा भिडभाड कम भएकाले गन्तव्यमा पुग्न सजिलो पनि छ । तपाईँको नाम पर्मानेन्ट मार्करले अन्तर्वार्ताकारका रूपमा लेखिसकिएको छ । यसलाई कृतिम तरिकाले मेटाउन नखोज्नुहोस् । तपाईँले बुझ्नुभएकै छ कि स्रष्टाहरूले हाम्रो पालो कहिले आउँछ भनी अन्तर्वार्ता दिन पर्खिबसेका छन् । त्यस्तै प्रश्न पढेका पाठक पनि अर्को प्रश्न पढ्न पाउने आशामा बसेका छन् । कतिले त प्रश्न नै सोधेहोलान् अर्को कहिले आउँदै छ भनेर । म पनि प्रतिप्रश्न गर्छु– अर्को प्रश्न कहिले आउँछ ? महिलास्रष्टाहरूमा केन्द्रित आउँछ कि आउँदैन ? सुनेको छु अङ्ग्रेजीमा पनि छुट्टै अन्तर्वार्तासङ्ग्रह आउँदै छ रे ! हो ?

सायद उदयसरलाई भित्रबाट उनै मार्खेजले यो कुराकानी छोट्याउन दबाब दिइरहेका थिए । त्यसैले वहाँले मेरा जिज्ञासाका बारेमा छोटो उत्तर दिनुभयो । वहाँले भन्नुभयो– मैले सानैदेखि पढ्ने कुरामा ध्यान दिएँ । मेरो गाउँका बाल्यकालीन साथीहरू पनि खुब पढैया थिए । त्यही लतले गर्दा मैले स्वदेशी र विदेशी लेखकका धेरै किताब पढेँ, धेरै जना साहित्यकारसँग भेट्ने र वहाँहरूलाई नजिकबाट बुझ्ने अवसर पाएँ । अनि मलाई लाग्यो जसलाई सबभन्दा बढी मैले बुझेको ठानेँ वहाँहरूका कुरा मैले नलेखे कसले लेख्छ त । यसो भनेर मैले घमन्ड गरेको होइन । हुन त यसअघि पनि उत्तम कुँवर, नेत्र एटम, श्रीओम श्रेष्ठ रोदन आदि व्यक्तिले अन्तर्वार्ता लिइसक्नुभएको छ र त्यसलाई आआफ्नै किसिमले प्रस्तुत गर्नुभएको छ । तर पनि यो काम एकदुई जनाले गरेर मात्र पूरा हुने होइन । त्यसैले मैले पनि यसमा हात हालेँ । जहाँसम्म पछिल्लो पुस्ताका स्रष्टा समेटिएनन् भन्ने तपार्ईँको जिज्ञासा छ त्यसमा के छ भने यो अन्तर्वार्ता धेरै समय अघि लिइएको हो र थप समावेश गर्न मेरै समयका अभावले नसकिएको कुरा पक्का हो ।

पढेका पुस्तकबारे बताइदिनुहोस् भन्ने जुन प्रश्न सोधेँ, त्यसमा मैले आफूलाई धेरै पढेको छु भन्ने प्रमाणित गर्न सोधेको होइन, बरु पाठकलाई राम्रा कृतिबारे जानकारी होओस् भनी सोधेको हुँ । अर्को कुरा मेरो बानी नै के बस्यो भने अरूले सन्चै छ ? चिया खानुभयो ? कता हिँड्नुभएको ? भन्छन् । मचाहिँ जसलाई पनि के पढ्दै हुनुहुन्छ, के लेख्दै हुनुहुन्छ ? भन्छु । मलाई लाग्छ अब यसबाट बदलिन सक्दिनँ । यसैले साथीहरू जिस्काउनुहुन्छ – “तिमीले त चितामा राखिएको मुर्दालाई पनि कतिवटा किताब पढेर गयौ भनी सोधेरै हैरान पार्छौ होला ।” समावेशी र अन्य कुराका बारेमा त तपाईँले नै भनिसक्नुभएको छ । त्यतातिर जान चाहन्नँ । पर्यो भने तिनीहरूसँग मुद्दा लड्न तयार छु, यत्ति मात्र । तपाईँले चाहेजस्तै अब थप अन्तर्वार्ता लिने र लिइसकेका अन्तर्वार्ताका पाण्डुलिपिलाई पुस्तकाकार रूप दिने सोचमा छु तर यसका लागि सबै कुराको चाँजोपाँजो मिलाउन बाँकी छ । खै, तपाईँलाई कति चित्त बुझाउन सकेँ कुन्नि ?

यसरी उदयसरलाई प्रतिप्रश्न गर्ने धोको पूरा भयो । कहिलेकाही लाटाको खुट्टा बाटामा पर्छ भनेझैँ अनिच्छाले किनेको किताबले पनि धेरै कुराको जानकारी दिँदो रहेछ । कुराकानी सकिएपछि घरमा आएँ । घरमा आएपछि अब फेरि उदयसरको अन्तर्वार्ताबाट स्रष्टाहरू कत्तिको खुसी हुनुहुन्छ भनी बुझ्न मन लाग्यो तर यो काम उदयजीलाई भेटेजस्तो सहज थिएन । सोच्दासोच्दै साँझ पर्यो । भात खाएपछि बाँकी रहेका पृष्ठ पढ्दै थिएँ । कतिबेला निदाएँछु थाहै भएन । प्रश्नकर्तालाई प्रतिपश्न गर्ने धोको पूरा भयो तर उत्तरदातालाई प्रश्न सोध्ने धोको भने पूरा हुन सकेन । हेरौँ समयले साथ दियो भने मेरो प्रश्न गर्ने धोको पनि पूरा होला । स्रष्टाहरूको अन्तर्वार्ता दिने चाहना पनि पूरा होला । उदयसरको पाण्डुलिपिहरू प्रकाशन गर्ने जमर्को पनि सफल होला र पाठकको प्रतीक्षाको घडी पनि छोटिएला ।

सन्दर्भसूची

अधिकारी, उदय २०७८). प्रश्न. काठमाडौँः शिखा बुक्स ।