५. खानपान

‘खानपानको सम्बन्धमा हामीलाई बताउनुहोस्‌,’ भट्टीवाला बूढोले सोध्यो ।

उसले भन्यो :

तिमी पृथ्वीको सुगन्धमा बाँच्नसके कति जाती हुन्थ्यो, अमर बेलजस्तै सूर्यको किरणमात्रै तापेर बाँच्ने ऊर्जा पाउन सके कस्तो हुन्थ्यो होला ।

तर पेट भर्न तिमीले हिंसा गर्नैपर्छ र प्यास मेट्न बाच्छाबाच्छीको दूध चोर्नैपर्छ भने यो कार्य तिमी ईश्वरको पूजनका रूपमा गर ।

आफ्नो भोजको थाललाई बलिवेदी सम्झ जहाँ निर्दोष प्राणी र वनस्पतिको जीवन शुद्ध र श्रेष्ठ मनुष्यहरूका निम्ति बलि दिइन्छ ।

कुनै प्राणीको हिंसा गर्ने बेला मनमनै भन :

जुन शक्तिले तिम्रो प्राण लिँदै छ त्यसैले एकदिन मलाई पनि हत्या गर्छ, मलाई पनि कसैले उपभोग गर्नेछ ।

किनभने जुन नियतिले तिमीलाई मेरो हातमा सुम्प्यो त्यसैलेनै मलाई अधिक शक्तिशालीको हातमा सुम्पनेछ ।

तिम्रो र मेरो रगत त्यही जीवन रस हो जसद्वारा अस्तित्व परिपोषित हुन्छ ।

खलिल जिब्रान

एउटा स्याउ खाँदा पनि स्मरण गर :

तिम्रा बीजहरू मेरो शरीरमा जीवित रहनेछन्‌ ।

भोलिका तिम्रा कोपिलाहरू, मेरै शरीरमा फक्रनेछन्‌ ।

तिम्रो सुवास मेरो श्वास हुनेछ ।

सबै मौसममा साथसाथ हामी उल्लासित हुनेछौं ।

शरदमा अंगुरका झुप्पाहरू कोलमा पेल्न राख्ने बेला हृदयमा यो स्मरण गर :

मै स्वयं पनि अंगुरको झुप्पा भरिएको लता हुँ र मेरा फलहरू पनि पेल्नका निम्ति चुँडिनेछन्‌ ।

र नयाँ शराब जस्तै टिकाउ सिसीमा म राखिनेछु ।

हिउँदमा जब त्यसबाट शराब झिक्छौ, तिमी आफ्नो हृदयमा हरेक प्यालाको निम्ति सङ्गीत भर ।

त्यसबेला अंगुर भित्र्याइएका ती शारदीय यामहरूलाई सम्झ, अंगुरलतिकाहरूलाई सम्झ र अंगुर पेल्ने कोलहरूलाई सम्झ ।

मूल लेखकः खलिल जिब्रान । 

अनुवादः नेत्र आचार्य र पुष्प आचार्य ।