ग्रेगोरी डेभिड रोबर्ट्सको प्रख्यात आत्मपरक उपन्यास शान्तारामलाई यति बेला एप्पल टेलिभिजनले १२ भागको टेलिफिल्म बनाएको छ । हरेक साता एक भाग प्रसारण गर्ने गरेको यो टेलिफिल्मको तीन भाग प्रसारण भइसकेको छ ।

सो उपन्यासलाई केही समीक्षकहरूले विरलै प्रकाशन हुने उपन्यासका रूपमा लिने गरेको भए पनि यसको दृश्यलाई भने समीक्षकहरूले खासै भाउ दिएका छैनन् ।

सन् २००३ मा पहिलो पटक प्रकाशित भएको यो उपन्यासले सन् १९८० को दशकमा मुम्बईमा लगभग एक दशकसम्म अन्डरवर्ल्ड र अपराधजगतमा बिताएका क्षणहरूमाथि लेखिएको छ । उपन्यासमा सन् १९७८ मा रोबर्ट्स र उनका साथीहरूले केही ठाउँमा गरेको चोरी डकैतीमा १९ वर्षे जेल सजाय पाएको र पछि भिक्टोरिया राज्यको कुख्यात पेन्ट्रिज जेलबाट दिउँसै भागेर मुम्बई पुगेर १० वर्षसम्म गायब भएको कथा छ ।

रोबर्टले मुम्बईमा रहँदा लिन्डसे फोर्डको नाममा न्युजिल्यान्डको नक्कली राहदानी बनाएका थिए । उनी अस्ट्रेलियाका सबैभन्दा कुख्यात व्यक्ति मात्र होइन, उनका बारेमा पत्ता लगाउनेलाई ठूलो रकम पुरस्कार समेत तोकिएको थियो ।

न्युजिल्यान्डबाट उनी मुम्बईमा केही समयका लागि मात्र बस्ने र त्यसपछि जर्मनी पुग्ने योजनामा थिए तर १० वर्षसम्म मुम्बईको जञ्जालमा परे ।

लेखकले यस उपन्यासलाई वास्तविक घटनामा आधारित भएको बताए पनि उपन्यासमा वर्णित केही पात्रले भने सो कुरालाई पछि खण्डन गरेका थिए ।

टेलिशृङ्खलाको पहिलो भागको सबैभन्दा रोचक चाहिँ नक्कली नाम लिन राखेका रोबर्ट्सले अमेरिकी दूतावासको कर्मचारी बनेर एक जना महिलालाई वेश्यालयबाट भगाएको दृश्य निकै रोचक बन्न पुगेको छ । यसका साथै, पहिलो भागमा नै जब रोबर्ट्स अस्ट्रेलियाली जेलबाट दिउँसै भाग्छन्, त्यो दृश्य पनि कम यादगार भने छैन ।

समीक्षकहरूले भने यस उपन्यासमा भएका दार्शनिकतालाई गायब पारिदिएको भन्दै गाली गरेका छन् ।

शृंखलामा त्यो बेलाका प्रख्यात अन्डरवर्ल्ड डन अब्दुल कादर खानसँग लिन नामक पात्रको सामीप्य, त्यहाँको कुख्यात फोहोरी छाप्रो बस्तीमा नक्कली डाक्टर बनेर बिताएका क्षणहरू देखाइएका छन् ।

रोचक त के भने, यस उपन्यासलाई यसअघि प्रख्यात हलिउड अभिनेता जोनी डेपले निर्माण तथा अभिनय गर्ने तथा यसमा भारतीय डन अब्दुल कादर खानको भूमिका अमिताभ बच्चनले निभाउने हल्ला चलेको थियो तर हलिउड निर्माताले यसलाई फिल्ममा अवतरण गराउन सकेनन् । पछि एप्पल टिभीका लागि प्यारामाउन्ट टेलिभिजनले फिल्म बनाउनका लागि महँगो दाममा किनेको थियो ।

यसअघि नै ६० लाख प्रति पुस्तक बिक्री भइसकेको छ । यो शृंखलाको प्रसारणपछि किताबको बिक्री अझ चम्कने विश्वास गरिएको छ । २०१५ मा उनको द माउन्टेन स्याडो र त्यसपछि हालै द स्पिरिचुअल पाथ नामक पुस्तक बजारमा आइसकेको छ ।