Chovar Blues Mobile Size

लेखक परिचय

अन्ना स्विरको जन्म ७ फेब्रुवरी सन्‌ १९०९ मा पोल्यान्डको वार्सामा भएको थियो । उनको पूरा नाम अन्ना स्विस्ज्यानस्का थियो । उनी कलामा समर्पित तर सामान्य आर्थिक अवस्थाको परिवारमा जन्मी हुर्किएकी थिइन्‌ ।

स्विरले सानै उमेरदेखि जीविकोपार्जनका लागि विभिन्न जागिर खान शुरू गरिन्‌ । उनले काम गर्दै पोलिस साहित्य अध्ययनका लागि विश्वविद्यालयमा भर्ना लिइन्‌ । तीसको दशकमा उनले शिक्षक सङ्गठनमा सम्पादकको रूपमा काम गरिन्‌ र आफ्ना कविताहरू पनि प्रकाशित गराउन थालिन्‌ ।

अन्ना स्विर दोस्रो विश्वयुद्धमा नाजी सेनाले पोल्यान्ड कब्जा गर्दाताका प्रतिरोधमा संलग्न भइन्‌ र वार्सा विद्रोहका बेला सैनिक नर्स भएर काम गरिन्‌ । त्यस बीचमा एकपल्ट उनी एक घन्टासम्म घोषित मृत्युदण्डको पालो पर्खेर बसिन्‌, तर पछि त्यसै छाडिइन्‌ ।

अन्ना स्विर

स्विरका कवितामा युद्धलाई प्रत्यक्ष अनुभव गर्दाका भोगाइहरू तथा जीवनदर्शनका गहन पक्षहरू जति पाइन्छन्‌, नारी शरीर र यौनका बारेमा शिष्ट ढङ्गले गरिएका कलात्मक भभिव्यक्तिहरू पनि उत्तिकै खुलस्तरूपमा भेटिन्छन्‌ ।

अन्ना स्विरले कविताबाहेक नाटक तथा बालकथाहरू पनि प्रसस्त लेखिन्‌ र बालनाटकहरूको निर्देशन पनि गरिन्‌ । नाटक तथा बालकथा र अन्य पुस्तकबाहेक उनका पोलिस भाषामा ‘छ्यर्ने स्वोभा’ (काला शब्दहरू), ‘रियात्र’ (बतास), ‘यस्तेम बाबा’ (म नारी हुँ। लगायतका नौ वटा कवितासङ्ग्रह प्रकाशित रहेका छन्‌ ।

उनका अङ्ग्रेजीमा अनुदित कविताहरू विभिन्न सङ्ग्रहका रूपमा प्रकाशित छन्‌ । बिल्डिङ द ब्यारिकेड, ह्याप्पी एज अ डग्‌ज टेल, ‘फ्याट लाइक द सन, र टकिङ्‌ टु माई बडी’ कवि तथा अनुवादकद्दय चेसलफ्‌ मीओस तथा लेनाड नथनको अङ्ग्रेजी अनुवादमा प्रकाशित छन्‌ ।

अन्ना स्विरको सन्‌ १९८४ मा क्यान्सरका कारण पोल्याण्डको पोल्यान्डको क्राकाउमा निधन भयो ।

 

समुद्र र मान्छे

बाँध्न सक्नेछैनौ तिमीले यस समुद्रलाई ।
न विनम्रताले,
न त आक्रोशले नै ।
उसको खिसी गरेर हाँस्न भने सक्नेछौ तिमी ।

हाँसोकै खित्काजस्तै क्षणिक बाँच्नेहरूले पत्ता लागाएका हुन्‌ हाँसो ।

यो सनातन समुद्रले
हाँस्न कहिल्यै सिक्ने छैन ।

सुमन पोखरेल