Chovar Blues Mobile Size

८. अमर र जादूको हिउँदानव

अमर बादलमाथि हराएकोमा सबैभन्दा दु:खी भकुन्डे भाइ भयो ‘मैले त नजाऊ कि नजाऊ भनेर भनेकै हुँ उसले रुँलाझैँ गरेर भन्यो ।

“कहाँ नजाऊ भन्यौ र तिमीले ?’ गीताले अलि ठुस्सिएर भनी तिमी त खाली “माकुम्‌…माकुम्‌…पाकुम्‌…पाकुम्‌ मात्रै गरिरह्यौ । अनि तिम्रो कुरा कसरी बुझ्ने ?’

“अमर दाइ कहाँ गए ?’ आशिष पनि रुन थाल्यो । ‘कहाँ छ दाइ ?’

साँच्चै कहाँ छ अहिले अमर ! एउटा झुसैझुस सिस्नुले झैं पोल्ने हातले उसलाई उठाएर बादलपारि लगेपछि उ हिवैं-हिउँको धरतीमा पुग्यो । अनि उसले त्यहाँ एउटा अचम्मको कुरा- सूर्य र चन्द्रमा दुई दिशामा एकैपल्ट चम्किरहेको देख्यो । तर त्यहाँ लुगलुग मुटु कमाउने जाडो थियो । उसका हात-गोडा कठाङग्रिएका थिए । अनि उसले आफ्नासामु एउटा अजङ्गको हिउँ-दानवलाई डर लाग्दोसँग हाँस्तै उभिइरहेको देख्यो । त्यस दानवले अङ्ग्रेजी टोप लाएको थियो र मुखमा अङ्ग्रेजले खानेजस्तो पाइप च्यापेको थियो । अमरले सम्झ्यो, यस्तो हिउँ-दानव त गएको हिउँदमा उसले भाइ-बहिनीसँग मिलेर आफ्नै घरपछाडि चौरमा बनाएको थियो तर त्यो यहाँ, जिउँदो भएर कसरी आइपुग्यो ?

एनिड ब्लाइटन

आज मेरो खुब भाग्य खुलेको दिन रहेछ’ त्यस दानबले भयङ्करसँग हाँस्तै भन्यो ‘म कैयौं दिनदेखि एउटा नोकर खोज्दै थिएँ । यहाँका सेता भालु र सिल माछादेखि वाक्कै आयो । आज आफ्नो कुरा बुझ्ने तँ आइपुगिस्‌ । अब मलाई आनन्द भयो, हा: हा: हा: हाः हि: हि: हि: हि: हू: हू… हू…हू….’

‘ओ: म… म… नोकर बन्दिनँ,’ अमरले गिड्गिडाउँदै भन्यो ‘मैले कसैको नोकरी गर्न जानेकै छैन । …फेरि तिमीलाई त मैले नै बनाएको हुँ । बिन्ती छ; मलाई घर फर्कन देऊ।’

“घर फर्कने ? हा: हा: हा: हा: दानवले खित्का छोड्दै भन्यो। उसको हाँसोले त्यहाँको धरती पनि काम्यो -अब त तेरो घर जाने बाटोको त्यो प्वाल नै बन्द भइसक्यो ।’

साँच्चै नै त्यस बादलको दुलोमाथिको धरतीमा हिउँको बाक्ला पत्र

जमिसकेको थियो, त्यसलाई फोर्न अब सकिन्नथ्यो । अमर भित्रभित्रै आत्तियो । तर बाहिर डर नदेखाई भन्यो ‘तर तिमीलाई त मैले र मेरा भाइ-बहिनीले मिलेर ‘ बनाएका । …तिमी ममाथि हुकुम गर्न कसरी सक्छौ ? …फेरि मेरा भाइ-बहिनी तल इन्द्रजाली रूखका हाँगामा छन्‌ ।’

“तर यो धरती तेरो होइन, यो धरती मेरो हो ‘ दानवले छाती ठोक्तै भन्यो

“तेरो धरतीमा पो तैँले मलाई बनाइस्‌। … तँ मेरो मालिक बनेर ममाथि ढुङ्गामुढा गरिस्‌ । …मेरो हात भाँचिस्‌, टाउको फोरिस्‌ । तर यहाँ त जति छन्‌ सबै मेरा नोकर हुन्छन्‌ । …म यहाँको राजा ।…’

‘तर तिमी यहाँ कसरी आयौ ।’ अमरले अचम्म मानेर भन्यो। ‘मैले त घामले पग्लेर पानी भइसक्यौ भन्ठानेको ।’

“हो तैंले मलाई दिनमा बनाएर छोडिस्‌ ।’ दानवले भन्यो ‘दिनभर ममाथि हाँस-ठट्टा गरिस्‌ । …राती अलपत्र छोडिस्‌। अनि फर्केर पनि आइनस्‌ । तैँले ठानिस्‌, म घामले पग्लेर पानी भएँ। तर, होइन, म तेरो रिसले उफ्रेर यस धरतीमा आइपुगे र आज म यहाँको राजा बनेँ । यहाँका सिल माछा, हिउँ-भालु, हिउँ-चरा सबै मेरा नोकर छन्‌ । तर उनीहरू मेरो कुरा बुझ्न सक्तैनन्‌ । मलाई बडो अप्ठ्यारो पर्छ । अब तँ आइस्‌..।’

“तर म तँजस्ता हिउँको पुत्लोको नोकर भएर बस्न चाहन्न ।’ अमरले आँटिलो भएर भन्यो । ‘बरु तँ नै मेरो नोकर होस्‌ । मलाई मेरा भाइ-बहिनी भए ठाउँ लगिदे ।’

“बा: तँ मेरो मालिक !’ …दानव गर्ज्यो ‘यहाँ मैले जे भन्यो त्यही तैले गर्नु पर्छ। …नत्र… लौ, तुरुन्त मेरा लागि एउटा दरबार बनाइहाल्‌। …म यहाँ जाडाले कठाङ्‌ग्रिन थालेँ ।’

कैले कसैको दरबार बनाएको पनि छैन, बनाउन पनि जान्दिनँ’ अमरले भन्यो ।

तैँले जान्नै पर्छ ।’ दानव झन्‌ गर्ज्यो ‘लौ ऊ त्यो कोदालो उठा। हिउँका इँटा काट। अनि एकमाथि अर्को राखेर दरबार बना । …तैँले दरबार बनाइसकिस्‌ भने म तँलाई पुरस्कार दिउँला-भुवाको कोट, होइन भने !’

अब अमरले बुझ्यो, उसले यस दानवको आज्ञा नमानी सुखै छैन । उसले धरतीमा हिउँका ससाना घरहरू बनाएको थियो । त्यही सीप लाएर अहिले उसले दानवका लागि खुबै ठूलो दरबार बनाइदियो । …यो उसलाई एउटा खेलजस्तो रमाइलै पनि लाग्यो । तर ऊ खुसी भने थिएन । …ऊ यहाँ कैदी थियो र यहाँबाट कसरी उम्कने भन्ने कुरा सोचिरहेको थियो ।

अहा खुब राम्रो घर बनाइस्‌ ।’ घर तयार भएपछि हिउँ-दानव अमरसित खुब खुसी भएर उफ्रियो । अब म यसमा आनन्दले बस्छु ।

यति भनेर उसले अमरलाई एउटा हिउँ-भालुको नरम भुत्लाबाट बनेको न्यानो बख्खु-कोट हुर्याइदियो । अनि घरभित्र पसेर आनन्दसँग सुत्यो । बाहिर असाध्य जाडो भएकोले अमर पनि भित्र पस्यो । तर हिउँ-दानवले कोठा सबै ढाकेको थियो । त्यसैले उसलाई सासै फेर्न मुस्किल भयो ।

त्यति बेला बाहिरबाट एउटा गुर्राहट सुनियो । दानवले गर्जेर भन्यो “को हो ?… भुत्ले !… ए भुत्ले यस केटालाई आफ्नो ओडारमा लैजा । मलाई यसले ज्यादै साँगुरो तुल्यायो ।

“घ्वाँक्‌ – घ्वाँक्‌ – घ्वाँक्‌’ भुत्ले भालुले आवाज निकाल्यो । अनि उसले अमरलाई बाहिर निकाल्यो । अमरले उम्कने कुनै जमर्को गरेन । किनभने उसले भालुका आँखामा दयाको भाव देख्यो ।

“घ्वाँक्‌ – घ्वाँक्‌ – घ्वाँक’ भालुले विचित्र स्वर निकाल्यो । तर अमरले उसको कुरा बुझेन । भालुले उसलाई बोकेर धरतीमुनि आफ्नो ओडारमा लग्यो । त्यो ओडार निकै न्यानो थियो । त्यहाँ भालुका पाँच-छ ओटा बच्चा थिए । उनीहरूले बडो खुसी भएर अमरको स्वागत गरे । खुसी हुँदै उसका चारैतिर नाच्न थाले । अमरको मनमा यिनीहरूले उसलाई त्यहाँबाट भाग्न मद्दत गर्नेछन्‌ भन्ने आशा पलायो ।

“के तिमीहरू मलाई इन्द्रजाली रूखमा ओर्लने बाटो देखाइदिन सक्छौ ?’ उसले भालुहरूसँग सोध्यो । तर उनीहरूले उसका कुरा बुझ्न सकेनन्‌ र मुखामुख गरे ।

‘तिमीहरूले मेरो कुरा बुझेनौ’ अमरले दु:खी हुँदै भन्यो । अब यहाँबाट भाग्न पाइएला भन्ने उसको आश ओइलायो । उसले अब भाग्ने जुक्ति फेला नपरेसम्म चुप लागेर बस्ने विचार गर्यो ।

हिउँ-दानव अति दुष्ट थियो । ऊ अमरलाई एकछिन पनि आरामसँग बस्न दिँदैनथ्यो । एक न एक थोक गर्न अह्राइरहन्थ्यो । केही नपाए बाहिर हिउँमा

आफूसँग खेल्न भन्थ्यो । बिचरो अमरलाई जाडोमा कठाङग्रँदै त्यै दुष्टसँग खेल्न कर लाग्थ्यो । अनि आफूले व्यर्थै बादलको प्वालबाट चियाएर हेरेछु भनेर पछुताउँथ्यो । भालु नभइदिएका भए उसले त्यहाँ ज्यादै दु:ख पाउँथ्यो ।

तर भालुहरूको भाषा पनि त ऊ बुझ्दैनथ्यो । अनि उनीहरूले जति माया गरे पनि ऊ आफ्ना भाइ-बहिनीलाई सम्झेर रोइरहन्थ्यो । के गीता र आशिष घर फर्के होलान्‌ ?… के उनीहरूले आमा-बासँग ऊ हराएको कुरा बताए होलान्‌ ?… के बा-आमा उसलाई खोज्न आउनुहोला ?… यिनै सबै कुरा सम्झेर उसलाई रुन मन लाग्थ्यो।

अर्कोतिर इन्द्रजाली रूखको हाँगामा बसेका गीता र आशिष पनि दाजुका लागि धेरै दुःखी थिए । भकुन्डे भाइ उनीहरूलाई फकाउँथ्यो, तर उनीहरू घरि घरि रुँदै भन्थे ‘भकुन्डे भाइ !… अमरदाइलाई कसरी भेट्ने !’

‘जसरी भए पनि छुटाऔंला, धन्दा नमान’ भकुन्डे भाइको चन्द्रमाजस्तो चम्किलो अनुहारले भन्थ्यो । तर कसरी छुटाउने ?… आफैलाई पत्तो थिएन । ऊ बडो बुज्रुक पाराले भन्थ्यो ‘पख, मलाई सोच्न देऊ ।’

भकुन्डे भाइले केही बेर आँखा चिम्लेर विचार गर्यो। अनि एक्कासि आँखा खोलेर खुसी हुँदै करायो भेट्टियो । भेट्टियो ।’

“के भेट्टियो ?’ गीता र आशिषले एकैपल्ट सोधे ।

रमेश विकल

‘अमरलाई छुटाउने जुक्ति भेट्टियो । भकुन्डे भाइले भन्यो ‘सुन हामी सुनकेस्रा मैयाँ र उसका तीन भालु कहाँ जान्छौँ । तिनीहरू माथिका हिउँ-भालुका नाता पर्छन्‌ । अमरलाई छुटाउन उनीहरूले अवश्यै मदृत गर्छन्‌ ।’

“के सुनकेस्रा मैयाँ साँच्चै हुन्छिन्‌ ?’ गीताले अनौठो मानेर सोधी ‘उनी त कथाको एकादेशमा मात्र हुन्छिन्‌ भन्ठानेकी- मैले त । के उनी… साँच्चैको एकादेशमा पनि छन्‌ ?’

“हो ।’ भकुन्डे भाइले भन्यो “उनी साँच्चैकी छन्‌ । उनी मोहिनी वनमा बस्छिन्‌ । …छिटो हिँड । हामीले रेलगाडी पक्रनु पर्छ ।’ अनि उनीहरू झटपट भकुन्डे भाइको चिप्लेटीमा चिप्लँदै रूखबाट धरतीमा झरे ।’